दस्तावेज विहीबार, पुस १९, २०७५

बहाना शान्ति स्थापना योजना भोट विजय

ज्ञानमणि नेपाल

चीनमा विद्रोह भएको बेला शान्ति स्थापना गर्न फौज पठाउने भन्दै श्री ३ जंगबहादुर राणाले भोटमाथि हमला गर्ने रणनीति बुनेका थिए।

जंगबहादुर राणा ।

वि.सं. १९०३ मा कोत पर्वपछि जंगबहादुर राणाले सर्वशक्तिमान बन्दै सत्ता हत्याए । हरेक पाँच वर्षमा चीनका बादशाहकोमा अर्जी–सौगात लिएर जानुपर्ने नियम अनुसार त्यसको अर्को साल उनले काजी सुरथसिंह पन्थलाई पठाए । उनी सौगात पुर्‍याएर बादशाहबाट प्राप्त उपहार लिएर आउँदा बाटामै आकाशचली (हृदयघात) का कारण बिते । उपहार सरदारले ल्याएर श्री ५ समक्ष बुझाए ।

संवत् १९०९ मा काजी गम्भीरसिंह र सरदार शमशेरबहादुर थापाको नेतृत्वमा प्रतिनिधिमण्डल चीन पठाइयो । त्यसबेला चीनमा छिङ (क्विङ) वंशको शासनविरुद्ध ताइपिङ विद्रोह चलिरहेको थियो । उक्त गृहयुद्धकै कारण खानपिनको राम्रो जोहो हुन नसकेर होला, काजी र सरदार दुवैको बाटैमा निधन भयो । 

नेपाली प्रतिनिधिमण्डलले खेपेको बिजोगको खबर चिनियाँ बादशाहकोमा पनि पुग्यो । सुवेदार भीमसेन राना र जीवित अन्य सदस्यहरूले बादशाहको उपहार ल्याए र विद्रोहले ल्याएको अशान्तिको समाचार पनि सुनाए । बादशाहले यस्तो वातावरण रहुन्जेल राम्रो स्याहारसम्भार पुर्‍याउन नसक्ने र अब उप्रान्त शान्ति कायम नहुन्जेल प्रतिनिधिमण्डल नपठाउनू भन्ने खबर पठाए ।

त्यसपछि एकैचोटि संवत् १९२५ मा काजी जगतशेर सिंजापतिको नेतृत्वको प्रतिनिधिमण्डल गयो । तर, त्यसबेला पनि चीनको इलाकामा शान्ति स्थापना नभइसकेको समाचार सुनेर नेपाली टोली ल्हासास्थित चिनियाँ प्रतिनिधि अम्बाकोमा अर्जी–सौगात बुझएर फर्कियो ।

पाँच–पाँच वर्षमा चिनियाँ बादशाहकोमा जानुपर्ने नियम खलबलियो । रणोद्दीपसिंह राणाको पालामा तेजबहादुर राणाको नेतृत्वमा एक पटक र वीरशमशेरको पालामा रणविक्रम राणा र इन्द्रविक्रम राणाको नेतृत्वमा गरी नेपाली प्रतिनिधिमण्डल दुई पटक चीन गयो ।

चन्द्रशमशेरको पालामा संवत् १९६३ मा काजी भैरवबहादुर गड्तौला क्षेत्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाइएको थियो । सरासरी पेचिन पुगेर आउँदा १४/१५ महीना लाग्थ्यो । बाटोमा बस्दै आरामसाथ जाँदा वर्षौं लाग्थ्यो । भैरवबहादुर जाँदा सवा तीन महीना ल्हासामै बसे, पेचिनमा पाँच महीना बसेर आउँदा तीन वर्ष आठ महीना लाग्यो ।

संवत् १९९८ मा चीनमा बादशाहको शासन ढलेर प्रजातान्त्रिक शासन चल्न लाग्यो । त्यसपछि पाँच वर्षमा नेपालबाट प्रतिनिधिमण्डल जाने क्रम पनि टुंगियो । २०१२ सालमा चीनसँग नेपालको सन्धि सम्झाैता भएपछि १०० वर्षसम्म चलेको नेपाल–भोट सन्धि स्वतः तोडियो । भोट चीनको स्वशासित क्षेत्रमा परिणत भयो ।

चीनका बादशाहसँग नेपालको प्रत्यक्ष सम्बन्ध संवत् १८४६ देखि प्रारम्भ भएको हो । हरेक पाँच वर्षमा अर्जी–सौगातसहित नेपालबाट काजी र सरदारको नेतृत्वमा पहिले २५ र पछि ४५ सदस्यीय प्रतिनिधिमण्डल जान्थ्यो ।

प्रतिनिधिमण्डलले बादशाहसँग भेटेर संवाद पनि गर्न पाउँथ्यो । बादशाहबाट प्रवानापत्र डबल पारेर सौगातको सामान लिएर आएको प्रतिनिधिले श्री ५ मा र माथिल्ला शासकलाई तक्मा, पोशाकलगायत उपहार टक्र्याउँथे । यस्तो क्रम संवत् १८९९ सम्म नियमित जस्तै थियो । जंगबहादुरको उदयपछि चीनमा ताइपिङ विद्रोहले गर्दा प्रतिनिधिमण्डल जान–आउन असुविधा भएपछि नियमित क्रम तोडियो ।

सं. १९०९ मा गएको प्रतिनिधिमण्डल फर्केर विद्रोहले गरेको तवाहीको समाचार सुनेपछि जंगबहादुरले श्री ५ सँगै आफ्नो तर्फबाट पनि बादशाहलाई प्रवानापत्र पठाए । पत्रमा उनले बादशाहको देशमा उपद्रो गरेर दुःख दिने विद्रोहीलाई दबाउन आफैं दश हजार तालिमी फौज लिएर उपस्थित हुनेलगायतका व्यहोरा पनि उल्लेख गरेका थिए ।

साथै, उनले विद्रोहीलाई दबाउन आउने आफ्नो फौजलाई दैनिक भत्ता, जाडोमा लगाउने पोशाक, रसदपानी, अपुग हातहतियार र गोली गट्ठालगायत आवश्यक वस्तु त्यहींबाट व्यवस्थापन हुनुपर्ने जानकारी गराएका थिए ।

यसको उत्तर समयमा नआएपछि जंगबहादुरलाई शंका लाग्यो । उनको रणनीति बमोजिम भोटमा कारोबार गर्ने नेपालका ठूला बेपारी धर्मनारायण साहुले भोटमा बस्ने नाइके (नेपालका प्रतिनिधि) लाई पत्र पठाएर तागिता गरियो ।

बादशाहलाई हत्तपत्त कुनै दुश्मनले केही बिगार गर्न नसक्ने, तर कथंकदाचित कसैले अशान्ति मच्चाए बादशाहका लागि ज्यान अर्पिन तयार रहेको, शान्ति स्थापनाका लागि आउन ३०/४० हजार फौज जम्मा गरिसकेको, लामो समय खबर नआउँदा फौजका लागि खर्च धेरै भएकाले आवश्यक रसदपानी र बन्दोबस्तीका सामानको खाँचो नपरोस्, हिउँदमा बाटोमा गाह्रो हुने भएकाले भदौअघि नै फौज पठाउनुपर्ने वा नपर्ने कुरा निधो होस् भन्ने व्यहोराले तागिता गरिएको भयो ।

बेपारी धर्मनारायणले सरकारको आदेश बमोजिम पत्र लेखेको भन्दै उक्त पत्र नाइकेले भोटका काजी र चिनियाँ अम्बालाई पनि देखाओस् भनी उल्लेख गरेका थिए । जंगबहादुरले चिनियाँ अम्बालाई फौज ल्याउन उर्दी देओस् भनेर तागिता गर्दै भोटलाई पनि नेपाल र भोट दुवै मिलेर चीनलाई सहयोग गर्ने भनेर थुमथुम्याउने रणनीति अपनाएका थिए ।

खासमा फौज लगेर चीनमा शान्ति स्थापना गर्ने चाहना व्यक्त भए पनि जंगबहादुरको योजना भने भोटमाथि विजय गर्ने थियो । फौज तयारी अवस्थामा राखेर उर्दी आउनासाथ कूच गर्ने व्यवस्था उनी मिलाउँदै थिए । त्यसका लागि उनी देशभरिबाट सामरिक सामग्री तयार पार्ने, पूर्वतिरबाट ढाकर, थुन्से बुन्ने पाटका लागि वेत कुम्भी झिकाउँदै थिए ।

यो खबर केही पञ्चमाङ्गीले भोटमा पुर्‍याएछन् । गोरखाले भोटमा लडाइँ गर्न व्यवस्था मिलाउँदैछ, अब हाम्रो फौज तयार राख्नुपर्छ भन्नेमा उनीहरू लागे ।

जंगबहादुर राणाले लेखेको पत्रः
श्री ५ गोर्खा सर्कारबाट ल्हासाका वडा अम्बालाई लेखिगयाको हाङ फोङ ४ साल ३ मैन्हाका २८ दिन जयादा लेखियाको पत्र आईपुग्यो. ५ वर्षको मामूली बाहेक अरु कुराको अर्जी चह्राउन्या दस्तुर छैन. तर यसपाला अर्जी मुखपेटले एकत्व गरि लेखेको देख्दा अर्जी चह्राई पठाउन्या काम गर्यौं भनी लेख्नुभयाको कुरालाई हुदाता श्री ५ चीन वादशाह वडा अकवाल प्रतापवाला श्रीईस्वरले माया गर्‍याकालाई कसैले पनि हेरिसक्नु छैन. तर श्री ५ बाट बादशाहलाई कसैले दिक गर्‍याको वेलामा श्री ५ वादशाहको हुकुम ली हामी ज्यूदिंछौं भन्या व्यहोराको हामीले चह्राई पठायाको अर्जी र कोही दुस्मनले हामीलाई दुःख दिएको वेलामा हामीले वादशाहका हजुरमा चह्राई पठायाको अर्जी नपठाउनु भन्या आफुहरूलाई हुकूम हवैन येस्ता वेहोराको अर्जी नलेख्नु भन्या हामीलाई पनि हुकुम छैन अर्जि चह्राई पठाउन्या काम बढिया भएछ. श्री ५ बादशाहका हजुरमा अर्जी चह्राई पठायाको हो, फौज लि आउनु भन्या हुकुम र आफुहरूको चिठ्ठी आयो भन्या उसै घडी हाम्रो फौज उठ्नु पन्र्या छ. हाम्रो फौजलाई खान्या र वोझि बेगारी खल्माको हर्कत हुन पावस हिउ पन्र्या बेलामा भन्या आईसक्न्या छैन. वादशाहको हुकुम नमान्या जस्तो पर्न नजावस्. वादशाहको हुकुम आयापछि हिउँ पन्र्या बेलाबाहेक जिउ दिन हामी तयार छौं.

११ साल आषाढ वदि ११ रोज ४ मा ।

धर्मनारायण साहुले भोटमा रहेका नेपालका नाइकेलाई लेखेको पत्रः
धर्मनारान साहुबाट ल्हासामा बस्न्या नाइक्या सिद्धिराजके लेखिगयाको उप्रान्त ताहा हंगमा भयाको कुरो अघि पनि लेखि पठायाको हो. भोटसर्कार गोरखा सरकारले श्री वादशाहलाई मानिरह्याको हो पछि पनि मान्नै पन्र्या छ. श्री वादशाहको र क्वासींको खलल पर्न गयाको समाचार याहाँ थाहा हुँदा श्री ५ वादशाहको घरमा खलल पर्‍याको सुनि हेरिरहनु योग्य छैन. भोट र हामी मिली श्रीवादशाहसंग जाई लाग्या दुस्मनलाई मार्ना निमित्त हामीले ज्यू दिनुपर्छ. श्री वादशाहको वढिया भएपछि हामी दुवैको बढिया भन्या चित्तमा आयो र बडा अम्बा मार्फत श्रीवादशाहलाई अर्जि चह्राई पठायाको हो. वडासंगवाट भयापछि आउनु भन्या आयो भन्या भोट र हामी मिलि भरमगदुर गर्नु पन्र्या छ भनि आफ्ना हातहतियार खजाना रसद लस्करफौज तयारि गरि साविक फौज देखि सिवाये ३०/४० हजार फौज र सोही बमोजिमको खजाना रसद तयार भैसकियो अरु जोरज्मा गर्दै छौं साधि पठायाका कुराको जवाफ केही आयाको छैन. यो साधिपठायाको कुराको थाहा छदै साधि पठायाको काम निमित्त ताकिता गन्र्या कुरामा गोर्खा सरकार भोट चढ्न लाग्यो भन्या छोटाका पछि लागी ताहाँका रैतिलाई उर्दि फिराई टिगरिमा लस्कर वटोलन लाग्या भेन्या हल्ला सुनिंछ यो कुरो कसो हो भोट र गोर्खा सर्कारको अघिदेखि दोस्ति हो पछि पनि रहनु पन्र्या छ. हामीले साधि पठायाको भन्या हामिलाई थाहा थियेन भनि लेखि आउन पन्र्या हो. साधक थाहा भयापछि येस्तो हंगमा पन्र्या वेमुनासिव हो. साधक गयाको ७ ।८ महिना भयो जवाफ केही आयाको छैन. ञाहा र फौज तयार भैरहेछ आउनु भन्या हुकुम आया भन्या फौज खजाना लि जांछौं नआउनु भन्या हुकुम आया फौज ठाउँठाउँमा फिराई पठाउछौं आउनु भन्या भया पनि भदौ भरिमा थाहा हवस् ७ ।८ मैन्हा थामिराखदा रसद खजानाको ताकिति गर्दा हाम्रो खर्च धेरै भैसकियो लडन्या फौज ४० हजारलाई दोचा तयार हवस् भनि यो सवै विस्तार वडा अम्वासंग विंति गर्नु भन्या नाईक्यालाई लेखिपठा भनि दर्वारबाट हुकुम भयो र लेखि पठायाको हो. सो सवै कुरा बुझि विंति गरि चाँडो जवाव लेखि पठाउन्या काम गर ञाहा विंतिगर्नु पन्र्या छ. यो चिठी अम्वालाई लगि देखायोस्.

११ साल मिति भाद्रवदि १ रोज ४ शुभम् ।

प्रतिकृया दिनुहोस