दस्तावेज शनिबार, पुस १४, २०७५

कुतीमा सटही बेपार

ज्ञानमणि नेपाल

वीरशमशेरले वि. सं. १९५३ मा ब्रिटिश सरकारसँग नून किन्ने सम्झौता गरेपछि भोट सीमा क्षेत्रका बजारबाट नून ल्याउने चलन हटेर भारतका सीमा बजारबाट ल्याउन थालियो।

तस्वीर स्रोत- वर्थपोइन्ट डट कम ।

भोटबाट अन्नले नून साटेर ल्याउने चलन वि.सं. १९५३ सम्म नै चलिआएको थियो। तीन शहर नेपाल अर्थात् नेपाल दुन र यस आसपास जिल्लाका मानिस थुन्से, डाला, फाली आदि जिन्सी माल लिएर कुती केरुङ जान्थे र आफ्नो माल बेचेर वा अन्नले साटेर नून ल्याउँथे। यहाँ सटही बेपार व्यवस्थाको बयान प्रसिद्ध कुती बजारको गरिएको छ। तापनि अरू सीमा नाकाका बजारमा यही र यस्तै व्यवस्था चल्दथ्यो।

पूर्वमा चल्तीका यस्ता सटही बजार सोलुखुम्बुको नाम्चे र ओलाङचुङगोला प्रसिद्ध थिए। पश्चिममा कोरला नाका र यारी प्रसिद्ध सीमा बजार थिए। यताबाट दैनिक ६ थरी अन्नका भरियाको ताँती जान्थ्यो। नूनका भारीका भारी लिएर दोहोरीलत्त ढाक्रेहरू आउँदा बाटो पाइनसक्नु हुन्थ्यो। धेरै नून खेप्ने हुन्थे तापनि अरू मालवस्तु यताबाट लैजाने उताबाट ल्याउने पनि हुन्थ्यो। ६ थरी अन्न भनेको चिउरा, चामल, मकै, कोदो, गहुँ र उवा हुन्थ्यो। घिउसहित सात थरी खाद्य वस्तु पुग्थ्यो।

यी अन्न र नून सटहीमा यता र उताका बेपारीबीच झगडा पर्थ्यो। फाम वा फुरुले नापेर लेनदेन गर्दा लिँदा ठूलोले, दिँदा सानोले नाप्ने, जोख्दा ढक-तराजुमा घटीबढी पार्ने, नूनमा बालुवा-माटो मिसाउने र अन्नमा भुस मिसिएको कुरामा झ्गडा हुन्थ्यो। अन्न लिएर ढाक्रेहरू एक हूलै जान्थे। कुतीमा भोटे नैबुका बाह्र ओटा कोठी थिए। अरू नेवार महाजनका थिए। मेरोमा आओ, मेरोमा आओ भनेर तानातान हुन्थ्यो। झगडाका यिनै कारण थिए। सानातिना झ्गडा यताका नाइके र उताका ढेवाहरूले छिन्थे। भोटेले तिरेको दण्ड भोटकै हुन्थ्यो भने नेवारले तिरेको नेपालको।

यो त सटही व्यापारको कुरा भयो। बाँकी कुरा यो बेपार सुचारु रूपले चलोस्, झैझगडा नपरोस् भनी खासामै लमीले लेखाएर ल्याउने, त्यहीअनुसार बेपार गर्ने, आफूखुशी पाहुना बस्ने र आफूलाई चाहिने सामल खाजाका लागि ल्याएको चिउरा, चामल बेसी भए त्यहीं बेच्ने र अरू कोठीवालाले कचकच नगर्ने चलन थियो। ल्हा भन्ने डाँडा वारिबाट चौंरीमा बोकाएर ल्याएको नून नैबुहरूले एकमुठी पनि लिन पाउँदैनथे।

नेवार महाजनले ल्हा डाँडा वारिबाट ल्याएको नून लिन पाउँथे। भोटे र नेवारको नून चामल किनबेचमा झ्गडा पर्दा अघि सं.१८७१ मा दुईथरी बसेर सनदपत्र भएको रहेछ। तर, फेरि उही कुरामा कचकच गर्दा अब उप्रान्त सनद बमोजिम चल्न आठ भारी चामलमा ३२ फाम नेवारले लिनु अरू बाह्र नैबुले किन्नु भन्दै भोटेले किन्न साट्न पाउने र नेवारले पाउने भन्ने लेखो लगाई सं. १९१० वैशाखमा अर्को सनद गरिएको छ।

यस सनदमा सही गर्ने अधिकारी टिगरीमा पालो बस्ने तालोय धैवुनका दुई जना, कुतीका ढेवा दुई जना, सुब्बा मानसरोवर सिंह र नायक राम सुन्दर छन्। परन्तु यस सनदको व्यवस्थामा कसैले खलल नपारोस् भनेर ९४ जना स्थानीय भोटे र नेवार रैतीहरूको पनि सहीछाप गराइएको छ।

वीरशमशेरले वि.सं. १९५३ मा ब्रिटिश सरकारसँग नून किन्ने सम्झैता गरेपछि भोट सीमा क्षेत्रका बजारबाट नून ल्याउने चलन हटेर भारतका सीमा बजारबाट ल्याउन थालियो। भोट सीमाबाट दैनिक दोहोरीलत्त चल्ने व्यापार-व्यवसाय भारतबाट चल्न थाल्यो।

स्वस्ति श्री ९ चिन बादशाहा भोट सरकारका हुकुमले आउन्या दिगरि पालो बस्न्या थिन्तालोय धैवुन दोर्जे ध्याल्बो कुतिका ढेवा सिक्षांतावा ढेवा मोनछोवा र श्री ५ गोरखा सरकारका वडावजीर श्री प्राईमिनिस्टर यान कमान्डर ईन् चिफ जनरल जंगबहादुर कुँवर राणाजीका मर्जीले आउन्या सुवा मानसरोवर सिंह नायक राम सुन्दर समेत बसि कुती बजारको गोर्खाका प्रजा मध्ये नेवार महाजनहरूको भोट्याको अन्नले नेवार र नैबु ५ निस्याङ नैवु ७ यी बसि ९४ सालमा सनत पत्र लेखि छाप लायाको नैवु ७ समेत्ज्मा नैवु ठुलोसानु ३७ लाई यसपालादेखि गर्ने कुरो पुरानो समेत थामि सनत २ थरलाइ लेखिया बमोजिम तिमि नेवारले ९४ सालको सनत वमोजिम् ल्हाकोडाडावार ल्याइको नुन् कुतीमा आउन्या किंन बेच्नु ७१ सालको सनत
बमोजिम् नेवार महाजनहरू भोट्याहरूको चामल नुनको कुरामा झगडा भयो र भोट्या हामी २ थरका जाचकिहरूले भोट्या नेवार मध्ये अघिपछिको सनतहरू जाचि तिमि २ थरलाई ठुलै सजाय हुन्याहो नेवार र भोट्या २ थर पनि २ राज्यका प्रजा हुनाले यसपालो हामी २ थरका जाचकीहरूले निसाफमा हाकिमहरूलाई चाहिन्या खुनखत माफ गराइ अवदेखी गन्या वन्देज कुतीको घर पटि नैवु १२ र नैवु ठुलो सानु सबैले आफ्नु चौरिहरू धपाइ ल्हाडाडापारको अघि अघि नुनकिन्या जगाजगा देखि किनिल्यायाको नुन बाहेक कुतीमा ल्हाचिवाले डाडा पारवाट नुन बेचन आउन्याहरूले ल्यायाको नुन नेवार महाजनले किनु ९४ सालको सनत बमोजिम् नेवार नैबु ५ निस्याङ नैबु ७ ज्मा नैवु १२ र अरु नैवुले ल्हाचिवा नुन वेपारिले डाडावारी ल्यायाको नुन १ मुठि पनि किंन पाउँदैन ७१ सालको सनतपत्र बमोजिम् खान्याचावल्मा नेवार महाजनहरूलाई कोठि १ के खान्या चावल महिनादिनमा ८ फाम भरियाको ८ भारि ४के फाम ३२ को दरले जाचकि कुचावाका २ ले सहिछाप गरिदियाको वमोजिम २ ढेवाले जाँचि नेवारलाइ दिनु अरु चावल उवा करिया गहुँ मकै कोदो घिउ १२ नैवुहरू अरुले किन्नु अरुवेला नेवारहरूले १ मुठि पनि किन्नु हुदैन डानाटोयाको भोट्याहरूलाइ नैवुहरूले अनि नुन साट्न पाउछ रुपैयाँले किनबेचन पाउदैन ल्हाचिवागैह्रले ल्याकाऐदेखि यसोवेचनु किंनु अरुले साटनु हुदैन तिमि २ थरले निस्याङ संग द्योछा भनि जिन्सि अन्न घ्यू मिचिलिनु हुदैन जिन्सी ल्याउन्यावारको कोठि पठाउनु अन्न ६ र घिउ ल्याया मोट्याको घर पठाउनु अरु सानो ठुलो जिन्सी फालि थुन्च्या परवतबाट आउन्या सबै जिन्सि गैर नेवारहरूले किन्नु जिन्सि र रुपयाले नुन किन आफना मुनासिवले आउन्या सबैलाइ नेवारको कोठिमा खासाको नैवुले कुचावा संग नाम नमेसीको लमि मागि कुचावाले जाँचि पठाउनु चावल वा उवा करिया गहु कोदो मकै घिउ समेत रुपया लिई नुन किन्न आफना मनासिवले नैवुहरूका घरमा आउना सवैलाई अघिको रित बमोजिम थान्काको कुचावाले जाचि लमिदि १२ नैवु र अरुको घर पठाउनु नेवारको कोठिमा जान्या र भोट्या नैवुहरूको घर जान्या वितवल नपर्न्या गरि थान्का बाट जाचि पठाउनु रुपैयाले नुन किन्न अउन्या ढाक्र्याहरूलाई नैवुहरूका आफना चौरिले अधिको जग्गा जग्गा बाट किनि ल्याएको भया नुन बेच्नु आफु सित नभया नेवारको कोठिमा पाहुना लगि नुन किनि दिनु नेवारहरूको कोठिमा ढाक्र्याहरूले रुपयाले नुन किन्नु आफना मुनासिवले आया नेवारले वेच्नु यति बाहेक गर्न्या कुरो पुराना सनत बमोजिम गर्नु यो बन्देजमा रहनु यस बन्देजमा नाघि जसले अरघ्यालो गर्न्या श्री ५/२ सरकारको निसा भर्नु भराउनु पर्ला। भोट्या नेवार २ थर मिलि आफु आफुले पनि यस बन्देजमा तपशिल बमोजिमका नेवार माहाजनहरू र १२ नैवु समेत अरु साना ठुला नैवु गैह्रले परन्तु सम्म रहन पर्छ।

तपसिल

दिगरि पालो बस्न्या श्री थिन्तोलेयको छाप-

श्रीकुति ढेवा सिक्षंतावाको छाप-

दिगरि पालो बस्न्या श्रीधैवुन दोर्ज्ये ध्याबाको छाप-

श्रीकुतीका ढेवा मोन छोवाको छाप-

श्रीसुवा मानसरोवर सिंहको छाप-

श्रीनायक राम सुन्दरको छाप-

यस बन्देज बमोजिम हामि नेवार भोट्या द्विथरले परन्तुसम्म मन्जुर गरौंला भनि सहि हाल्याको तपसिल-

(भोटे र नेवार चौरानब्बे जनाको सहीछाप छ।)

प्रतिकृया दिनुहोस