कला/साहित्य शनिबार, पुस ७, २०७५

एक पत्रकारको ‘पपुलर शोध–पत्र’

शेखर खरेल

‘बीपीको विद्रोह’ एक यस्तो एक राजनीतिक ऐतिहासिक यथार्थ हो जसका बहुल प्रसंग र पात्रताका कारण कृति कुनै उपन्यास जस्तो महसूस हुन्छ ।

इतिहासमा केही यस्ता विरल पात्र पाइन्छन्, जसमाथि बग्रेल्ती सामग्री मुद्रित हुँदाहुँदै पनि थप लेखिने पाठले कौतूहल जगाउँछ । नेपाली राजनीतिका यस्तै एक पात्र हुन्, बीपी कोइराला । उनीबारेका लेखनी तथा कहावत कहिल्यै पट्यारलाग्दा हुँदैनन् ।

आत्मकथा, अन्तर्वार्ता, जर्नलमार्फत बीपीले आफ्ना राजनीतिक, साहित्यिक र वैयक्तिक पाटाहरू सार्वजनिक गरिसकेका छन् । बीपीकै हस्ताक्षरमा जति पाठ्यसामग्री उपलब्ध छन्, त्योभन्दा धेरै गुणा बढी उनका बारे लेखिएको छ । त्यसैले बीपी एक खुला किताब पनि हुन् ।

यति विघ्न लेखिसकिंदा पनि बीपी कोइराला नाम मात्रमा किन यो हदको आकर्षण ! जवाफ उनको व्यक्तित्वमै निहित छ, जसको उँचाइ र फैलावटको तुलना आधुनिक नेपालका कुनै अर्का पात्रसँग हुन सक्दैन ।

जगत नेपालद्वारा लिखित पुस्तक बीपीको विद्रोह हात पर्दा ममा विछट्टको कौतूहल थियो, त्यतिविघ्न लेखिसकिएका बीपी माथि नेपालले के नयाँ कथ्य र तथ्य उजागर गर्ने हुन् ?

विद्यार्थी र प्राज्ञले शोधपत्र तयार पारे जसरी नै जगत नेपालले अत्यन्त चातुर्यपूर्वक बीपीका अनेकौं आयामहरूमध्येको एक र प्रमुख– ‘विद्रोह’ लाई लिपिबद्ध गरेका छन् । तर, प्राज्ञिक कर्ममा लागेकाहरू शोधका सामल अक्सर कृतिहरूबाट जुटाउँछन् ।

कर्मले पत्रकार नेपालले भने पाठ्य सामग्रीका चिसा अक्षर भन्दा पनि जिउँदा मान्छेका न्याना स्पन्दन लिपिबद्ध गरेका छन्, यस कृतिमा । पत्रकार हुनुका कारण उनले प्राज्ञिक भन्दा ‘पपुलर’ शैली रोजेका छन् । परिणामतः भाषा शब्दजाल मुक्त, सरल र संप्रेषणीय छ ।

पुस्तकका कुनै पनि सन्दर्भ वा प्रसंग काल्पनिक वा अतिरञ्जित छैनन् । बरू ती सन्दर्भको पुनर्पुष्टि र विस्तृतीकरणका निम्ति सम्बद्ध (जीवित) पात्रसँग अन्तर्वार्ता गरेका छन् लेखकले ।

‘बीपीको विद्रोह’ एक यस्तो एक राजनीतिक ऐतिहासिक यथार्थ हो जसका बहुल प्रसंग र पात्रताका कारण कृति कुनै उपन्यास जस्तो महसूस हुन्छ । बीपी सबैभन्दा पहिले राणाशाही विरुद्ध लडे ।

२०१५ सालको पहिलो आम निर्वाचनबाट मुलुकको प्रमुख कार्यकारी बनेका बीपी त्यस उप्रान्त अर्का ‘एन्टागोनिस्ट’ राजा महेन्द्रसँग ठोक्किन्छन्, जससँग उनको प्रेम र घृणाको सम्बन्ध रहन्छ । बीपीका भाइ तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखक नेपालसँग एउटा रमाइलो खुलासा गरेका छन्– ‘राजा भन्थे– बीपी अमूल्य छन् ।’

गिरिजाप्रसादसँगको भेटमा राजा महेन्द्र भित्तामा टाँसिएको बीपीको तस्वीर देखाउँदै भन्छन्, “सबैको मूल्य छ । बीपी अमूल्य छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस्तो मानिस छैन ।”

दृश्यमा राजा (महेन्द्र र वीरेन्द्र) ‘एन्टागोनिस्ट’ देखिए पनि बीपी र राजाको मिलापविरुद्ध अरु धेरै ‘एन्टागोनिस्ट’ को चलखेल देखिन्छ । २०१७ को शाही ‘कु’ पछि सुन्दरीजल कारावासमा आठ वर्ष बसेर १४ कात्तिक २०२५ मा रिहा भएका बीपी, राजाबारे विराटनगरमा गरेको टिप्पणीका कारण स्वनिर्वासनको बाटो समाउन पुग्छन् ।

राजा र बीपीबीच मेल हुन नदिने पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको डिजाइनमै बीपी निर्वासनमा जानु परेको खुलासा गिरिजाप्रसादमार्फत नै गरेका छन्, नेपालले ।

पञ्चायत व्यवस्थालाई असफल बनाएर राजालाई घुँडा टेकाउन बीपीले अनेकौं प्रयत्न (विद्रोह) गरे पनि ती परिणाममुखी हुन सक्दैनन् । बरू, राजासँगको टक्करबाट राजनीतिक लाभ उठाउने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको कुटिल चालबारे भलिभाँती जानकार बीपी स्वदेश फर्किनु नै बुद्धिमानी देख्छन् ।

नेपाललाई अर्को भूटान बनाउने गान्धीको चालदेखि बीपीलाई राष्ट्रपति बनाइदिने एक शक्तिकेन्द्रको प्रस्तावका रोचक प्रसंग पनि पुस्तकमा पढ्न पाइन्छ ।

भनिन्छ, इतिहास दोहोरिंदैन, तर त्यो गुञ्जायमान भइरहन्छ । आज बीपी छैनन्, तर उनले कल्पना गरेजस्तै जनता जनार्दनको व्यवस्था छ ।

त्यसैले नेपाल फेरि निरंकुशतावादी व्यवस्थामा फर्किने वा इतिहास ठ्याक्कै दोहोरिने संभावना छैन । तर, भू–राजनीतिक चेपुवामा रहेको नेपाललाई आफ्नो स्वाधीनता र अस्तित्व जोगाउने चुनौती अद्यावधि छ । बीपी किन ‘मेलमिलाप’ नामको ‘यू–टर्न’ लिन बाध्य भए, त्यो आजको नेतृत्वपंक्तिले बुझ्नु जरूरी छ ।

बीपी कोइरालाको नायकत्वको नेपालको राजनीतिक इतिहासको एक सुन्दर कथ्य हो, ‘बीपीको विद्रोह’ । यस कृतिको सबैभन्दा सबल पक्ष यसको आधिकारिकता र सरलपन हो । तर, सन्दर्भसामग्री र स्रोत प्रस्तुत गरेर पुस्तक ग्राह्य र आधिकारिक बनाउने प्रयत्न गरेका नेपालले पाठसँग मिल्ने केही ऐतिहासिक तस्वीर र अनुसूचीमा केही महत्वपूर्ण दस्तावेज समेत समावेश गरिदिएको भए, पुस्तकको ओज अझै बढ्नेथियो ।

पुस्तक बीपीको विद्रोह

विधा राजनीतिक इतिहास 

लेखक जगत नेपाल

प्रकाशक बाह्रखरी बुक्स

पृष्ठ ३३६

मूल्य रु.५२५

प्रतिकृया दिनुहोस