‘अग्रज लेखकहरू बार्दलीमा बसेर तल हेर्थे। यसरी हेर्दा त टाउको, आँखा मात्र देखिन्छ। अहिलेका लेखकहरू पिंधमै गएर, त्यही समाजसँग साक्षात्कार गर्दै लेख्दै छन्, यो राम्रो पक्ष हो।’
कविसँगै स्थापित गीतकार हुन् श्रवण मुकारुङ। जनआन्दोलन २०६२/६३ का वेला ‘बिसे नगर्चीको बयान’ कविता मार्फत आन्दोलनलाई बल दिएका उनलाई कविता वाचनको नयाँ अभ्यास थालनी गरेको श्रेय समेत जान्छ। पहिलो कविता संग्रह देश खोज्दै जाँदा (२०४८) बाटै सशक्त सर्जकको पहिचान बनाएका मुकारुङले यलम्बर (२०५३) र मितिनीबाट नाटककारको परिचय पनि थपे। निबन्धहरूको संग्रह भावालय (२०७१) पनि प्रकाशित छ। आफ्ना सिर्जनामा बहुलता र भुइँमान्छेका कथा भन्ने मुकारुङसँग लेखन जीवनका विविध आयामबारे गणेश खनियाले गरेको कुराकानीः
आजकल के पढ्दै हुनुहुन्छ? के लेख्दै हुनुहुन्छ?
साहित्यमै लती भइसकेको मान्छे नलेखी बस्ने कुरै भएन। अलि पछि एउटा कविता संग्रह आउँछ, संस्मरण सँगालो पनि निस्किन्छ। एउटा उपन्यास पनि लेख्दै छु। अहिले चाहिं पद्मसुन्दर जोशीलिखित हिति प्रणाली पढ्दै छु।
तपाईं कवितालाई मूल कर्म बनाएको मान्छे, आख्यानमा अवतरण गर्दाका सीमा र सम्भावना कस्ता हुँदा रहेछन्?
मेरो हरेक कविताले एउटा कथा भनिरहेको हुन्छ। तर, कविता अलि कसिलो संरचनामा लेखिने भएकाले सबैलाई सजिलै छुँदैन। उपन्यासको आफ्नै दुनियाँ छ। फेरि, एउटै विधामा लेखिरहँदा दिक्कलाग्दो पनि भइरहेको हुन्छ। अर्को कुरा, समाजलाई असाध्यै मसिनो गरी पर्गेल्न उपयुक्त विधा हो कि उपन्यास? मेरो जुन काव्यिक भाषा छ, त्यो त उपन्यासमा आइहाल्छ। अलि बृहत्तर आयामबाट समाजलाई हेर्न खोजेको पनि हो। आफैंमाथिको परीक्षण पनि हो यो।
भोजपुरको भूगोल छोडेर राजधानीलाई कर्मथलो बनाइरहँदा तपाईंले आफ्नै शैलीको सशक्त लेखन पहिचान बनाउनुभयो। तपाईंको लेखनमा आफू जन्मेको भूगोल र दूरत्वको असर चाहिं कस्तो रह्यो?
नयाँ ठाउँ आइसकेपछि लेखकले त्यहाँको भाषा, संस्कृति र सौन्दर्यसँग पनि साक्षात्कार गर्छ। छोडेको ठाउँको सम्झनामा लेख्ने एउटा पाटो भयो। नयाँ ठाउँमा नयाँ चेतना, नयाँ धारणा सहित लेख्ने अर्को पक्ष हो। यी दुवै पाटा आउँछन् लेखनमा। त्यही भएर लेखकहरू यायावर जस्ता हुन्छन्। स्मृतितिर फर्केर लेख्ने र नयाँ ठाउँमा यायावर बन्दै लेख्ने दुवै प्रक्रिया चलिरहन्छ। भोजपुरबाट काठमाडौं आएर लेख्नु मेरा लागि त यहाँबाट अमेरिका गएर लेखे जस्तै एउटा नयाँ अनुभूति हो। बसाइ काठमाडौं भए पनि भोजपुरकै गाउँ–परिवेशलाई टपक्क टिपेर धेरै गीत/कविता लेखें। फेरि भोजपुरलाई टाढाबाट हेरेर लेख्ने अर्को पाटो छ। यी दुवै प्रक्रिया स्वाभाविक हुन्।
तपाईं कविता/गीत मार्फत आफ्नो परिवेशबाट तराई हुँदै सुदूर पश्चिमसम्म विचरण गर्नुभएको छ। रचनामा यस्तो फैलावट कसरी सम्भव भयो?
लेखनको प्रारम्भ मैले आफैंलाई खोज्ने प्रयत्नबाट गरें, सौन्दर्यको खोजी गर्न थालें। मेरो पहिलो कविता संग्रहको नामै छ देश खोज्दै जाँदा (२०४८)। अलि वर्षपछि प्रकाशित मेरो पहिलो नाटक थियो यलम्बर (२०५३)। जानेर होस् वा नजानेर, अलग पहिचान बनाउने चेतनाले मलाई डोर्यायो। अनि आफूलाई अझ फैलाउँदै जाने क्रममा सिर्जनामा बहुलताको खोजीतर्फ डोरिएँ। २०४६/४७ को वाम–लोकतान्त्रिक आन्दोलनले पनि केही नयाँ चेतना थप्यो होला। २०६२/६३ को आन्दोलनमा सरिक भएँ। अलग घटना र समय चेतनासँग सहकार्यको मौका पाएँ। एउटा राम्रो लेखक बन्न आफ्नो देशको इतिहास, भूगोल, समाजशास्त्र बुझ्नुपर्छ भन्ने लाग्छ। अझ सकिन्छ भने संसारलाई नै बुझ्ने सामर्थ्य राख्नुपर्यो।
श्रोताहरू टिकट काटेरै तपाईंका कविता सुन्न ओइरिएको पनि देखियो। कवितालाई जनजनमा पुर्याउन अथवा यसको सामाजिकीकरणका लागि के गर्नुपर्ला?
सामाजिकीकरण भनिरहँदा कवितालाई समाजसँग कसरी जोड्ने भन्ने सवाल आउँछ। खास कुरा अपनत्वकै हो। पाठक त विभाजित हुन्छन्। विविधताले भरिएको हाम्रो समाजमा विविध भूगोलका कुरा नलेखिए हामीलाई किन पढ्ने? मैले मधेश, सुदूरपश्चिम, महिला वा अन्य तहतप्काबारे लेखिनँ भने मलाई सम्झनुपर्ने, कवि भन्नुपर्ने आधार रहँदैन नि। बहुल राष्ट्रवादको पक्षमा लेखिँदै छ अहिले, एकल राष्ट्रवादले हामीलाई जोड्न सकेन। यही साझा चिन्तनले पनि हामीलाई मार्गनिर्देश गर्छ। जहाँसम्म कवितालाई तल लैजाने र समाजसँग जोड्ने सन्दर्भ छ, कविता बौद्धिक विलास मात्र होइन, समाजले यसलाई उपभोग गर्ने चीज हो भन्ने बुझ्न आवश्यक छ।
पृथ्वीनारायण, भानुभक्तका सीमालाई पर्गेल्दै गर्दा बिसे नगर्ची अनि अर्को भानुभक्त जन्मिए। मोहन कोइरालाको साहचर्यमा रहनुभयो। किराती संस्कृति र मिथक त तपाईंका आदिस्रोत नै भइगए। वैचारिक रूपमा यस्तो सन्तुलन बनाइरहनु कत्तिको कठिन रहेछ?
हठयोगमा बस्नु जस्तै हो यो, तर तटस्थताको तहमा रहेर सोच्नुपर्छ। तटस्थ रहनु विचारविहीन हुनु होइन। यो एउटा लोकतान्त्रिक पद्धति हो। पीडित छ भने लेखनमा प्रतिरोधी स्वर त आउँछ नै। तर, उसको अभिव्यक्तिमा चिच्चाहट, कर्कशपना हुनुभएन। विविधताले भरिएको समाजमा एकले अर्काको अस्तित्व स्वीकार गर्न पनि सक्नुपर्छ।
कोभिड कहरबीच तपाईंले चलाएको ‘क्वारेन्टिनबाट कविता’ले आफैंमा कविताको पैरवी गरे जस्तो लाग्छ। सडकमा कविता वाचनसँगै आन्दोलनमा सहभागी तपाईंलाई सधैं अभियन्ता नै बनिहिंडूँ झैं लाग्दैन कहिलेकाहीं?
कविलाई विधायक मान्थे पीबी शेली। विधायक हुनु भनेको कविताको पैरवी गर्नु नै हो। लेखन एकाग्रता चाहिने क्षेत्र हो, सधैं आन्दोलित भइहिंड्न सम्भव छैन। तर, खास खास समयमा अभियन्ता भने भएको छु म पनि। एकल वाचन मार्फत कवितालाई व्यवसायीकरणको थालनी गरें। कोरोनाकालमा त मलाई एक प्रकारको छटपटी नै भयो। धेरै मान्छे कोठाभित्रै बन्दी भएका थियौं। त्यसैले फेसबूक मार्फत लाइभ वाचन शुरू गर्न मन लाग्यो। त्यो कविता सुनाउने काम पनि अभियानै थियो। कविता वाचनबाट सुन्नेलाई अलिकति भए पनि मानसिक राहत मिल्यो।

गीत र कविता सरोबरी लेख्नुहुन्छ। यी दुई विधाका सजिला/अप्ठ्यारा केकस्ता छन्?
छन्द कविता लेख्ने पनि छन्। कसैलाई बन्धन लाग्दो हो, कसैलाई सहज। कविले जुन विधामा समय दियो, बढी अभ्यास गर्यो, त्यसैमा उसलाई सहज हुन्छ। सबभन्दा गाह्रो हुन्छ, मुक्त छन्दमा लेख्न। पाठकलाई ग्राह्य हुने बनाउन सक्नुपर्यो। स्वेच्छाचारिता हुँदै होइन, यसरी लेख्नु। तपाईंले जति बढी स्वतन्त्रता पाउनुभयो, उति अनुशासित हुनुहुन्छ। यही प्रसङ्ग गीत र कवितामा जोडिन्छ। गीत सबै कविताको जननी हो। पहिले गीत नै गाइन्थ्यो, कविता पछि आयो। गाउनुपर्ने भएकाले र सँगसँगै सङ्गीतकार पनि जोडिएकाले गीत रचना सहकार्यबाट हुन्छ।
कवितामा लामो कथा भन्न सकिन्छ। तर, गीतमा दुई हरफ भए पनि सूक्ति समावेश हुनुपर्छ। त्यसपछि मात्र त्यो गीत जीवन्त हुन्छ। म चाहिं यी दुइटै विधामा आनन्द लिन्छु। गीत पनि नयाँ ढङ्गले लेखूँ भनेर सोच्छु।
बाहिरी जगत्मा लेखकहरूले समीक्षा, समालोचना समेत गर्ने गरेको प्रचलन समात्दै तपाईंले आफ्नो निबन्ध संग्रह भावालयमा केही कविताकृतिको समीक्षा समेत गर्नुभएको छ। यस आधारमा हाम्रो समीक्षाको अवस्था कस्तो देख्नुहुन्छ?
दुइटा सन्दर्भ जोड्छु। पहिलो, भूपी शेरचन दाइले के भन्नुहुन्थ्यो रे भने (मलाई रत्नशमशेर दाइले सुनाउनुभाको)– उहाँ चाहिं कवि, उहाँ चाहिं गीतकार। यसरी चिनाउँदा कविभन्दा गीतकार कमसल भन्ने भाव झल्किन्थ्यो रे। दोस्रो, जो कवि–लेखक बन्न सकेन, उसले समात्ने बाटो चाहिं समीक्षक, समालोचक हो भन्ने धारणा साहित्यिक बजारमा छ। अब समीक्षक चाहिने समय होइन। मैले लेखेको कुरा अर्कोले बुझेन भने बुझाइदिन चाहिने हो समालोचक। सजिलै बुझिने लेखाइ छ भने किन चाहियो समालोचक? ज्ञानको प्रसारणको सहजता र सूचना प्रविधिका कारण पनि अब समीक्षा/समालोचना त्यति जरुरी लाग्दैन।
अर्को कुरा, समालोचकहरूले जति नै लेखे पनि परिवर्तन नहुने, विश्वविद्यालयका नीति निर्माताहरूको प्रभाव ज्यादा रहने गरेको छ। उनीहरूले पाठ्यसामग्री जे जे राखे, त्यसैमा सीमित हुन्छ आम पाठकको जानकारी र धारणा। यस्ता चुनौतीसँग जुधेर लाग्ने समालोचक छ त अहिले? सरकारी दालभात खाएर विश्वविद्यालयमा सेवारत समालोचकबाट यो सम्भव छैन। उनीहरू नयाँ कवि/लेखकबारे त्यति चासो पनि राख्दैनन्। विप्लव ढकालले प्रोफेसर शर्माको डायरीमा भने जस्तै पाठ्यक्रममा संलग्न कवि/लेखकबारे सीमित रहँदा उनीहरूलाई सजिलो हुन्छ, धेरै मिहिनेत गर्नु पर्दैन। तापनि, यो एउटा विशाल क्षेत्र हो। त्यसैले नयाँ समालोचकहरू बढी जिम्मेवारीसाथ आउन जरुरी छ। अहिले आग्रह–पूर्वाग्रह बढी देखिन्छ। नियोजित समालोचना गर्ने, पक्षधरता रहनेहरूबाट गतिलो समालोचना आउँदैन।
पछिल्लो समय लेखिएका साहित्यमा समाजको बदलिँदो झलक कत्तिको पाउनुहुन्छ?
नेपाली भाषामा लेखिएको मात्रै नेपाली साहित्य होइन। तामाङ, नेवारी, मैथिली, लिम्बू लगायत धेरै भाषामा लेखिएका साहित्य छन्। भाषाकै कारणले हामीले सबै पढ्न पाएका छैनौं। अर्को कुरा, हरेक लेखकका आआफ्ना सीमा हुन्छन्। तर, एउटा गतिलो लेखक आउन समय लाग्छ। पहिलेका लेखकका रचनामा भावुकता ज्यादा थियो। अहिलेका रचनामा मानवीय पक्ष बढी छ। अग्रज लेखकहरू बार्दलीमा बसेर तल हेर्थे। यसरी हेर्दा त टाउको, आँखा मात्र देखिन्छ। अहिलेका लेखकहरू पिंधमै गएर, त्यही समाजसँग साक्षात्कार गर्दै लेख्दै छन्, यो राम्रो पक्ष हो।
नेपाली कांग्रेससँग राजनीतिक आबद्धता पनि छ तपाईंको। राजनीतिले साहित्यमा कस्तो ऊर्जा थप्दो रहेछ?
नेपाली कांग्रेससँग आबद्ध नेपाली लेखक संघको नेतृत्व गरें एक पटक। तर, राजनीतिमा लागेर लेख्ने ऊर्जा मिले जस्तो लागेन, बरु लेखनमा असरै पुर्यायो। यो संलग्नताले मेरो लेखनमा लोकतान्त्रिक धार भने मुखर बनायो। अहिले पनि लेखनमा राजनीति सीधै नझल्कियोस् भनेर सचेत रहन्छु। वामपन्थी लेखक साथीहरूलाई पनि यही आग्रह छ– तपाईंको आस्था सिर्जनामा नदेखियोस्। त्यस्ता लेखन तत्कालै कमजोर ठहरिन्छन्।
अन्त्यमा, आफ्नो लेखनको उद्देश्य के हो जस्तो लाग्छ तपाईंलाई?
जतिखेर आफ्नो पहिचानको सङ्कट थियो, आफ्नो स्पेस बनाउन लेख्छु भनें। अहिले त कविका रूपमा परिचित छु, सानो ठाउँ बनिसक्यो। सर्वप्रथम त आफ्नै आनन्दका लागि लेख्छु। अनि आफ्नो लेखाइले समाज, देश अनि समग्र मानव जातिलाई सुखमय बनाओस् भन्ने उद्देश्य पनि जोडिन्छ। सुन्दर मानव सभ्यताको निर्माणमा मेरो पनि सानो योगदान र उपस्थिति होस् भन्ने आकांक्षा हुन्छ नै। त्यसैले स्वान्त सुखाय र सर्वे भवन्तु सुखिनः, यी दुवै ध्येयसाथ मेरो लेखन यात्रा गुज्रिरहे जस्तो लाग्छ।
(हिमालको २०७९ असोज अंकबाट।)