एकै रातको वर्षाले गोर्खाको पालुङटारस्थित शेराबजार र विर्दी गाउँमा तहसनहस पारेको छ भने स्थानीय बासिन्दालाई पानी खानै पनि समस्या भएको छ।
गोरखाको पालुङटार नगरपालिका-९ शेराबजारका लोकबहादुर लामा एक रातमै बेघर भएका छन्। गएराति ९ बजेदेखि परेको अविरल वर्षा र राति १२ बजे आएको बाढीले उनको घर ढुंगामुडा र लेदोले भरिएको छ। “निदाउन लाग्दै थियौं, एक्कासी गढढढढ गरेर भूईचालो आए जस्तै भयो,” लामा सुनाउँछन्, “त्यसपछि ज्यान जोगाउन माथि कान्लातिर दगुर्यौं।”
उनी आफू सहित ६ जनाको परिवारलाई सुरक्षित स्थानमा पुर्याएर शुक्रबार बिहानै घर हेर्न पुगेका थिए। पूरै घर बाढीले पुरिएको उनले बताए। त्योसँगै अन्न भित्र्याउन तयारी गरिरहेका लामाको फलेको बाली पनि बाढीले बगाएको छ। अधियाँ गरिरहेको खेत पनि बाढीले बगाएको उनले बताए।
.jpg)
चुप्ती र खार खोलामा आएको बाढीले एक रातमै करीब दुई हजार पाँच सय रोपनी जग्गा कटान गरेको छ। पुल र खानेपानीका पाइप बगाएको छ। विद्युतका पोल ढलेका छन्।
अझै पनि वर्षा भइरहेकाले अति जोखिममा परेका पाँच परिवारलाई उद्धार गरिएकोे पालुङटार-९ का वडाध्यक्ष भेजराज पाण्डेले बताए। बाढीले खानेपानी र विद्युतका पोल बगाएपछि समस्या भएको उनले बताए। “हाम्रो स्रोतले भ्याउने र उद्धार हुनेसम्म गर्दैछौं,” वडाध्यक्ष पाण्डेले भने, “मौषम अझै बिग्रिएको देखिन्छ। सुरक्षित स्थान खोज्दै छौं।”

गएरातिको बाढीले पुर्याएको क्षति स्थानीय सरकारले मात्र व्यवस्थापन गर्न नसक्ने अवस्था रहेको स्थानीय लामाले बताए। यो गाउँमा अझै १६ घर जोखिममा रहेको छन्। “खानेपानीको समस्या भएको छ। खोलाको पानी खान धमिलो छ। मुहान पनि टालिएका छन्,” उनले भने, “पानीको मूल खोज्दै छौं।”
यो बाढी प्रभावित गाउँमा लामा समुदायको बाहुल्यता छ। २०२९ सालको पहिरोले विस्थापित भएपछि धादिङको झार्लङबाट गोर्खा पुगेको लामाले बताए। अहिले फेरि बाढीले विस्थापित गरेको उनले बताए। “धादिङबाट आएका ४० परिवार थियौं। त्यसमध्ये १६ घरपरिवार फेरि जोखिममा परेका छौं,” उनले भने, “गरिखाने खेत पनि लगी हाल्यो।”
.jpg)
पालुङटार नगरपालिका-९ का शेराबजार, विर्दी, भोर्ले लगायतका गाउँमा क्षति पुगेको छ। बाढीले क्षति पुर्याएको बस्तीमा खानेपानीसँग खाद्यान्नको पनि समस्या भएको छ।
त्यस्तै, पालुङटार-९ का दुई वटा पुल पनि भत्किएका छन्। शेराबजार र सिस्नेरी जोड्ने निर्माणाधीन पुल बाढीले बगाएको छ। पुल भत्किएपछि आवातजावत गर्न समस्या भएको छ।
.jpg)
गएरातिदेखि बिजुली नभएपछि फोन सम्पर्क गर्न पनि कठिनाइ भएको वडाध्यक्ष पाण्डेले बताए। स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास भइरहेको उनको भनाइ छ।
मनसुन भित्रिएसँगै गोरखा लगायत विभिन्न स्थानमा बाढी र पहिरोको समस्या आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरो लगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेकाले यस वर्ष देशभर २० लाख मानिस प्रभावित हुने अनुमान छ।
