टिप्पणी मंगलबार, चैत २५, २०७६

यो मन त हाम्रो नेपाली हो !

शेखर खरेल

यो मन त हाम्रो नेपाली हो !
तस्वीर: हिमाल आर्काइभ

भलै सरकारी तथ्यांकमा नेपालमा थोरै मात्र कोरोना संक्रमित भेटिएका हुन्, रोजगारी र उच्च अध्ययनका खातिर दूरदेशसम्म पुगेका नेपालीमा महामारीको जोखिमका कारण यतिबेला मातृभूमि ठूलो चिन्तामा छ ।

शेखर खरेल

दक्षिण—पूर्वी लण्डनको क्विन एलिजावेथ हस्पिटलमा नेशनल हेल्थ सर्भिस (एनएचएस) का स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस (कोभिड—१९) संक्रमित बिरामीको सेवामा अहिले अहोरात्र खटिएका छन्। बीबीसी टेलिभिजनले संयुक्त अधिराज्य र त्यसमा पनि सबैभन्दा बढी कोभिड—१९ को चपेटामा परेका लण्डनका अस्पतालहरूबाट निरन्तर रिपोर्टाज पस्किरहेको छ।

सन् २००१ मा क्विन एलिजावेथ हस्पिटलमा रूपान्तरित हुनु अघिसम्म यो अस्पताललाई ग्रीनबिच डिस्ट्रिक हस्पिटल भनिन्थ्यो, त्यही अस्पताल जहाँ सडक दुर्घटनामा खुट्टा भाँचिएपछि सन् २००० को मे महीनाको पहिलो साता बिताएको थिएँ।

कोभिड—१९ ले नराम्ररी लपेटेको मुलुकमध्ये बेलायत एक बनेको छ । स्वयं बेलायती सिंहासनका उत्तराधिकारी युवराज चाल्र्स, सरकार प्रमुख प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट ह्यानकक् सम्मका हाई प्रोफाइल व्यक्ति भाइरसबाट संक्रमित भइसकेका छन् ।

स्व—एकान्तवासपछि राजकुमार चाल्र्स भाइरसमुक्त भए पनि ज्वरो नघटेका कारण अस्पताल भर्ना भएका प्रम जोन्सन सघन उपचार कक्ष (आईसीयू) मा सारिएका छन् । युवा स्वास्थ्यमन्त्री ह्यानकक् स्वास्थ्यलाभपछि कोरोना विरुद्धको मोर्चामा उत्साहसाथ होमिएका छन् ।

बेलायती महारानी एलिजावेथले राज्यको नाममा सम्बोधन गर्दै कोरोना महाव्याधि आक्रान्त जनता र खासगरी रोगविरुद्धको पहिलो मोर्चा सम्हालिरहेका एनएचएस स्वास्थकर्मीको मनोबल बढाएकी छिन् ।

विगत ६७ वर्षदेखि बेलायती सिंहासनकी अधिपति र संसारमै सबैभन्दा लामो समय राष्ट्रप्रमुख हुने कीर्तिमान बनाएकी महारानीको वार्षिक क्रिसमस सम्बोधन बाहेक यो पाँचौं असाधारण सम्बोधन थियो । दोस्रो विश्वयुद्ध प्रत्यक्ष देखेकी महारानी स्वयंको असाधारण सम्बोधनले कोभिड—१९ बाट बेलायत कतिसम्म आक्रान्त रहेछ भन्ने दर्साउँछ ।

स्व—एकान्तवासपछि राजकुमार चाल्र्स भाइरसमुक्त भए पनि ज्वरो नघटेका कारण अस्पताल भर्ना भएका प्रम जोन्सन सघन उपचार कक्ष (आईसीयू) मा सारिएका छन् । युवा स्वास्थ्यमन्त्री ह्यानकक् स्वास्थ्यलाभपछि कोरोना विरुद्धको मोर्चामा उत्साहसाथ होमिएका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुपेई प्रान्तको वुहानमा कोभिड—१९ सबैभन्दा पहिले देखिदा यो यति छिट्टै ‘पान्डेमिक’ अर्थात् महाव्याधि बन्न पुग्नेछ भन्ने शायदै कसैले अनुमान गरेका थिए । तर, चैते डढेलोसरी यो संक्रामक रोग चीनको सरहद पार गरेर छिमेकी कोरिया, इरान र मध्यपूर्वका देशहरू, यूरोपेली मुलुकसम्म फैलिएपछि यसलाई समान्य मौसमी फ्लू मान्नेहरू अत्तालिए।

यूरोपमा कोभिड—१९ फैलिइरहँदासम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसलाई सामान्य चाइनिज भाइरस बताउँदै त्यो एक दिनमै छुमन्तर हुने अभिव्यक्ति दिइरहेका थिए, जुन अहिले उनैका निम्ति निकै महँगो सावित भइरहेछ।

महाव्याधिको पहुँच बाहिर नेपाल पनि रहन सकेन । नेपाल भित्रिने पर्यटक मात्र नभएर आप्रवासन, रोजगारी, अध्ययन र घूमघाममा निस्कने नेपालीका कारण केही ढिलो भएपनि भाइरस भित्रिई छाड्यो ।

अझ रोजगारीका लागि लाखौं नेपाली मुख्यतः खाडी मुलुक र मलेसिया अनि आप्रवासन, रोजगारी र अध्ययन निम्ति यूरोप, अस्ट्रेलिया र अमेरिकासम्म फैलिएपछि चाहे देश भित्र रहून् वा परदेश, नेपाली समेत संक्रमणभेद्य रहेका छन् । छिमेकी भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या र आयतनको त झनै लेखाजोखा छैन ।

‘वेस्ट’ सँग जोडिएको ‘रेस्ट’
सन् २०११ को महेशचन्द्र रेग्मी लेक्चरमा नेपालविद् अमेरिकी मानवशास्त्री प्राध्यापक जेम्स एफ फिसरले ‘ग्लोबलाइजेसन इन् नेपाल’ शीर्षकमा अत्यन्त घतलाग्दो प्रवचन दिएका थिए। ‘ग्लोबलाइजेन’ अर्थात् विश्वव्यापीकरण विश्वका सबै मुलुकलाई एकअर्का प्रति आबद्ध र अन्तरनिर्भर बनाउने प्रक्रिया रहेको प्राध्यापक फिसरको मत थियो ।

‘वेस्ट’ (पश्चिम) लाई ‘रेस्ट’ (बाँकी विश्व) सँग जोड्ने प्रक्रिया नै विश्वव्यापीकरण हो भन्ने उनको तर्क थियो। एउटा चाखलाग्दो उदाहरण पेश गर्दै फिसरले भनेका थिए, “हेर्नुस्, आज जति शेर्पा नाम्चेमा छन्, त्यो भन्दा बढी न्यूयोर्कमा छन् । यदि तपाईं न्यूयोर्क पुग्दा आफ्नो क्याब (ट्याक्सी) चालक शेर्पा भेट्नुभयो भने आश्चर्यमा नपर्नु भए हुन्छ ।”

विश्वव्यापीकरणको पुष्ट्याइँ महाव्याधि भन्दा बढी अरू के कुराले गर्न सक्छ र! आज जति नेपालमा कोभिड संक्रमित छन्, त्यो भन्दा कैयौं गुणा कुनै दूरदेशको कुनै शहर वा वस्तीमा छन्। मध्यपूर्वका सबैजसो मुलुक कोभिड—१९ संक्रमित भएपछि नेपाली आप्रवासी कामदारको ठूलो बजार जोखिममा परेको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा एक नेपालीको महामारीकै कारण मृत्यु भइसकेको छ भने बहराइनमा एकै पटक नौ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यूरोपेली मुलुक पोर्चुगलको एक शहरमा एउटै फ्ल्याटमा बस्ने आठ जना संक्रमित बनेका छन् । एकै ठाउँमा एकैपटक धेरै नेपाली आप्रवासी कामदार संक्रमित बन्नुको मुख्य कारण विकसित मुलुकमा आवास महँगीका कारण एउटा कोठा वा फ्ल्याटमा कोचिएर बस्नु हो। मध्यपूर्व होस् वा यूरोप र अमेरिका नेपाली श्रमिक संक्रमणको उच्च जोखिममा छन् ।

‘वेस्ट’ (पश्चिम) लाई ‘रेस्ट’ (बाँकी विश्व) सँग जोड्ने प्रक्रिया नै विश्वव्यापीकरण हो भन्ने उनको तर्क थियो। एउटा चाखलाग्दो उदाहरण पेश गर्दै फिसरले भनेका थिए, “हेर्नुस्, आज जति शेर्पा नाम्चेमा छन्, त्यो भन्दा बढी न्यूयोर्कमा छन् । यदि तपाईं न्यूयोर्क पुग्दा आफ्नो क्याब (ट्याक्सी) चालक शेर्पा भेट्नुभयो भने आश्चर्यमा नपर्नु भए हुन्छ ।”

इटाली, फ्रान्स, स्पेन, बेलायत, अस्ट्रेलिया र अमेरिका आदि मुलुकमा यदि नेपालीको बाक्लो बसोवास हुँदैनथ्यो भने यस रोगबारेको चासो ‘मंगलग्रहमा पानी भेटियो रे’ भन्ने खालका समाचारको हाराहारी मै सीमित हुन्थ्यो, दूरदेशका नेपालीका निम्ति। तर विश्वव्यापीकरणका कारण ती मुलकमा फैलिंदो संक्रमणको शिकार रैथाने मात्र नभएर आप्रवासी जमात र त्यसभित्र नेपाली पनि छन्।

अहिलेसम्म बेलायतमा चार जना नेपालीको कोभिड—१९ संक्रमणबाट मृत्यु भइसकेको छ भने अमेरिकाको न्यूयोर्कमा गत शनिबार (२२ चैत) मात्र चार नेपालीले ज्यान गुमाएका छन् । अपुष्ट समाचार अनुसार, न्यूयोर्क शहरमा मात्रै ५०० बढी नेपाली महामारीबाट संक्रमित छन् । तर, अमेरिकाभर कति नेपाली भाइरस संक्रमित छन्, त्यसको आकडा न नेपाली दूतावास न त गैरआवासीय नेपाली संघसँग नै छ।

नेपालभित्र कोभिड—१९ को त्रास रोगको संक्रमण भन्दा पनि श्रमिक र विपन्न वर्गको रोजिरोटीको दुरवस्था र कठोर सुरक्षा निगरानीसँग जोडिएको छ। लकडाउन (बन्दाबन्दी) यस्तो अनुभूत हुन्छ कि, असलमा देश एक कारागार हो र हाम्रा घर त्यस कारागारभित्रको गोलघर । लकडाउन खुकुलो वा ‘भोलियन्टरी’ (स्वेच्छिक) बनाउने हो भने, मानिसको आवागमन र चहलपहल सामान्य अवस्था जस्तै हुन सक्छ।

केही मानिसहरू एक हदसम्म कोभिड—१९ सँग बेफिक्री पनि देखिन्छन्, जसको मुख्य कारक रोगबारेको अल्पज्ञान वा ‘मिथ’ (अप्रामाणिक विश्वास) पनि हो । उदाहरणका लागि, धेरैका निम्ति मास्क कुनै तान्त्रिकको बुटीझैं बनिदिएको छ। मानौं, मास्क कोरोनाभाइरस रोक्ने अचुक कवच हो। ग्यासको लाइनमा होस् वा तरकारी बजार, मास्कधारी निस्फिक्री देखिन्छन्।

अझ अमेरिकाभर फैलिएका नातेदार र मित्रहरूमा व्याप्त संभावित संक्रमणको त्रासले झनै झस्किन्छु। कहिले लाग्छ बीबीसी र सीएनएन च्यानल नै बन्द गरी दिऊँ। तर, संक्रमणबारे निरपेक्ष बस्न मनले पटक्कै दिदैन। मेरो जस्तै हाल सबै नेपालीको छ। संक्रमण एक स्थानमात्र सीमित छैन, यो एक वैश्विक चुनौती बनिसकेको छ।

तर, नेपाल बाहिरको अवस्था हाम्रा निम्ति तनावयुक्त छ। आप्रवासी कामदारका रूपमा खाडी मुलुक र मलेसिया होस् वा अध्ययनसँगै यूरोप, अस्ट्रेलिया र अमेरिकामा घरजम गरेका नेपाली। डीभी परेर होस् वा दलाल मार्फत अमेरिका पुगेका नेपाली वा विविध माध्यमद्वारा ‘सेटल’ भएका नेपाली नै, उनीहरूको तनको नभए पनि मनको डोरो जन्मभूमि नेपालको आफन्तजनको हृदयसँग जोडिएको छ। त्यसैले उता इटाली, फ्रान्स, स्पेनदेखि अमेरिकासम्मको खबरले यताकालाई पल प्रतिपल आतंकित र उद्वेलित बनाइरहन्छ।

आफू बेलायतमा अध्ययन गर्दाको बखत अधिकांश समय टहलिने लण्डनको ट्राफलगार स्क्वायर, पिकाडेली सर्कस र अक्सफोर्ड स्ट्रिट अनि पेरिसको प्लास देला कोन्कोर्द, तोर्कादेरो, श इलिजेका आदि ठाउँका खालीपनाले मन रित्तो हुँदैन। बरु ती ठाउँ रित्ता बनाएर कोठाभित्र बन्दीझैं बसेका स्वदेशी र विदेशी मित्रको स्वास्थ्यावस्था बारे चिन्तित बन्छु।

अझ अमेरिकाभर फैलिएका नातेदार र मित्रहरूमा व्याप्त संभावित संक्रमणको त्रासले झनै झस्किन्छु। कहिले लाग्छ बीबीसी र सीएनएन च्यानल नै बन्द गरी दिऊँ। तर, संक्रमणबारे निरपेक्ष बस्न मनले पटक्कै दिदैन। मेरो जस्तै हाल सबै नेपालीको छ। संक्रमण एक स्थानमात्र सीमित छैन, यो एक वैश्विक चुनौती बनिसकेको छ।

तत्कालीन ग्रीनबिच डिष्ट्रिक्ट अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ गरेर म डिस्चार्ज भएको थिएँ। दक्षिणपूर्वी लण्डनको नेपालीको घना आवादीमाझ उभिएको क्विन एलिजावेथमा रैथाने बेलायतीसँगै नेपाली पनि अहिले कोरोना—१९ संक्रमणको उपचार गराइरहेका छन् । मेरो कामना छ, रैथाने बेलायती र आप्रवासी नेपाली म जस्तै अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ गरेर घर फर्कियून् ।

प्रतिकृया दिनुहोस