खेलकुद सोमबार, चैत २४, २०७६

बन्दाबन्दीमा खेलाडीः कोही फिल्म हेर्ने, कोही टिकटक बनाउने

नुनुता राई

बन्दाबन्दीमा खेलाडीः कोही फिल्म हेर्ने, कोही टिकटक बनाउने

बन्दाबन्दीले खेल गतिविधिहरु ठप्प छन्। नियमित रुपमा शारीरिक अभ्यास, प्रशिक्षण गर्नुपर्ने खेलाडी पनि यति वेला घरभित्रै छन्। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न शारीरिक दुरी कायम गर्नैपर्ने अवस्था छ। त्यसैले अवस्था सामान्य नभएसम्म खेल गतिविधि हुने सम्भावना छैन। बन्दाबन्दीमा खेलाडीहरु के गरिरहेका छन्? हिमालखबरले केही खेलाडीसँग कुराकानी गरेको छ।

 

रुबिना क्षेत्री
कप्तान, राष्ट्रिय क्रिकेट टोली

क्रिकेटसम्बन्धि पुस्तक पढिरहेकी छु

कोरोनाभाइरस संक्रमणबाट बच्न हामी पनि बन्दाबन्दीमा नै छौं। प्रतियोगिता हुने निश्चित नभएसम्म सामुहिक अभ्यास हुँदैन। अहिले पनि म आफ्नो क्षमता निखारिरहेकी छु। त्यसैले मलाई खास असर गरेको छैन।
म खेलाडी मात्रै नभएर ‘टिम लिडर’ पनि हुँ। आफुले मात्रै प्रशिक्षण गरेर हुँदैन। सबै टोली सदस्यहरुलाई पनि निर्देशन, सल्लाह दिनुपर्छ। ‘तिमीले आज यो शारीरिक अभ्यास गर’ अथवा ‘यो पक्षमा केन्द्रित रहेर आज अभ्यास गर’ भन्नुपर्छ र भनिरहेकी छु। म आफै चाँहि बिहानको समयमा आमालाई घरायसी काममा सहयोग गर्छु। त्यसपछि बल ट्यापिङ, नकिङ गर्छु। यो घरैमा बसेर गर्न सकिन्छ। साँझ ५ देखि ७ बजेसम्म व्यायाम गर्छु। मैले र मेरो टिमले यो समयलाई पनि फलदायी बनाउन लागेका छौं।
यो समय आफ्नो फरक क्षमता देखाउने मौका पनि हो। जस्तो चित्रकला, गायन जस्ता कुरा गर्न सकिन्छ। हेर्न मन लागेको फिल्म, पढ्न मन लागेको पुस्तक थाँती छन्। समय अभावले नपाईरहेको कामहरु पूरा गर्न सकिन्छ। म अहिले गतवर्षको वल्र्डकपको विषयमा लेखिएको पुस्तक अनलाईनमा पढिरहेकी छु। नेपाली टोलीको कमजोरीहरु कसरी सुधार्न सकिन्छ भनेर उपायहरु सिकिरहेकी छु। अब हुने विश्वकप छनौट प्रतियोगिता जसरी पनि जित्नुपर्छ भन्ने लक्ष्यका साथ तयारी गरिरहेकी छु।

 

बिनोद भण्डारी
खेलाडी, राष्ट्रिय क्रिकेट टोली

 

नियमित व्यायाम र ब्याटिङ अभ्यास गर्छु

अहिले म घरमा छु। विदा हुने भएपछि म महेन्द्रनगर आएको हुँ। कोरोनाभाइरसले सबैतिर नै असर गरिरहेको छ। हाम्रो नेपालमा मात्रै समस्या भएको भए गाह्रो हुन्थ्यो। अहिले गाह्रो मान्नेभन्दा पनि घरमा बसेर सहयोग गर्नुपर्ने अवस्था हो। महेन्द्रनगरको गाउँमा छ मेरो घर। यहाँ घरहरु टाढा टाढा छन्। मानिसको भीडभाड हुँदैन। बिहान मर्निङ वाक, शारीरिक अभ्यास गर्न सकिन्छ।
म विहान ५ देखि ७ बजेसम्म दौडने र अन्य शारीरिक व्यायाम गर्छु। त्यसपछि फेरि घरमा भएको ट्रेडमिलमा कुद्छु। फिटनेस कोचले दिनुभएको व्यायामहरु नियमित रुपमा गरिरहेको छु। ब्याटिङको लागि पनि आफैँ अभ्यास गरिरहेको छु। बन्दाबन्दीले केही त पक्कै पनि असर गर्छ नै। समुहमा अभ्यास गरेजस्तो हुँदैन। तर, यो बन्दाबन्दीलाई सकारात्मक रुपमा लिएर सक्नेजति गरिरहेको छु।

 

 

एन्जिला तुम्बापो
गोलकिपर, राष्ट्रिय फुटबल टोली

 

युट्युवबाट गोल किपिङ कला सिक्दैछु
म घरैमा छु। कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले अवस्था जटिल होला कि भन्ने डर पनि छ। बिहान बेलुका व्यायाम गर्ने, युट्युबमा भिडियो हेर्ने गर्छु। तर, मैदानमा खेल्न नपाउँदा फुटबलसँगको सम्बन्ध टाढा भएजस्तो लागेको छ। फुटबल मैदानमा समूहमा खेल्नु पर्ने खेल भएकाले बन्दाबन्दीले खेलाडीलाई असर गरेको छ। हाम्रो लागि ‘सेल्फ ट्रेनिङ’ पर्याप्त हुँदैन। धेरै समय बन्दाबन्दीमा बस्दा खेलाडीको स्फुर्ति र प्रगतिमा बाधा पुग्छ। अहिले बिहान बेलुका दुई दुई घन्टा व्यायाम गर्ने र बाँकी समय युट्युबमा गोल किपिङको भिडियो हेरेर समय बित्छ। त्यसबाट किपिङको कला सिकिरहेको छु। केही बेर पढ्ने पनि गर्छु। सामान्य अवस्था भएपछि स्नातक तेस्रो वर्षको परीक्षा दिनुछ। कहिलेकाँही म्युजिक भिडियोहरु पनि हेरिरहेको हुन्छु।

 

 

 

 

भुमिराज राई
म्याराथन धावक

गाउँको कच्ची सडकमा दौडिन्छु

म नेपाल प्रहरीमा आबद्ध छु। अहिले भने बिदामा पाँचथरको फिदिम नगरपालिका स्थित घरमा छु। कोरोनाभाइरस संक्रमण फैलन सक्ने खताराले गर्दा सरकारले गरेको बन्दाबन्दीको प्रभाव यहाँ पनि परेको छ। घरभित्रै छु। त्यसैले मेरो नियमित तालिममा पनि असर गरिरहेको छ।
बिहान ६ बजे भन्दा अघि एक घन्टा चाँहि दौडने गरेको छु। मेरो घर गाउँमा पर्ने भएकाले मानिसको चहलपहल कम हुन्छ। कच्ची सडकमा एक घन्टा दौडेर आएपछि घरैमा शारीरिक व्यायाम गर्छु। विश्वभर फैलिएको यो महामारीले सबै क्षेत्रमा नै असर गरेको छ। हुन लागेको खेलहरु स्थगित भईरहेको छ। ओलम्पिक छनौट खेलको तयारी गर्नुपर्ने थियो। तर स्थगित भएकाले प्रशिक्षणको ठूलो दबाब छैन। बन्दाबन्दीले म जस्तो फिल्डमा क्षमता देखाउनुपर्ने खेलाडीहरुलाई चाँहि असर गरिरहेको छ ।

 

 

 

रेश्मा भन्डारी
खेलाडी, राष्ट्रिय भलिबल टोली

टिकटक बनाएर समय बिताउँदैछु

म घरमा नै आराम गरिरहेकी छु। कुइनामा समस्या भएकोले डाक्टरले चैतभरि भलिबल नखेल्न सुझाव दिनुभएको थियो। तर, शारीरिक व्यायाम चाँहि साथीहरुसँगै क्लबमा गएर गर्ने सोँच बनाएकी थिएँ। यो बन्दाबन्दीले स्थगित भयो। सबैभन्दा ठूलो स्वास्थ्य नै हो। त्यसैले सरकारको निर्देशन बमोजिम सबै घरमै छौँ। समूहमा नियमित अभ्यास गर्नुपर्ने हामीलाई बन्दाबन्दीले शारीरिक तथा मानसिक रुपमा असर गरिरहेको छ। नियमित अभ्यास र व्यायाम गर्न पाएको छैन। घरमा सामान्य व्यायाम त गरिन्छ तर, क्लबमा गरेको जस्तो हुँदैन। पछि खेलमा फर्कन एकदम गाह्रो हुन्छ।
अहिले घरैमा सामान्य व्यायाम गर्ने, सरसफाई गर्ने, खाना बनाउने गर्छु। फुर्सदमा फिल्म हेरेर र टिकटक बनाएर समय विताउँछु। अहिले मैले अम्बिका गुरुङको भवसागर भन्ने कविता संग्रह पनि पढिरहेकी छु। रमाईलो लागिरहेको छ।

प्रतिकृया दिनुहोस