अरुणा उप्रेती
महीनावारी सुक्ने वेला देखिने स्वास्थ्य समस्याबारे २५ फागुन–१ चैतको हिमाल मा प्रकाशित विशेष सामग्रीका लागि सविना देवकोटालाई धन्यवाद । रिपोर्ट पढ्दा रजोनिवृत्ति हुँदा अर्थात् महीनावारी सुक्दा सबैलाई समस्या हुने जस्तो बुजीयो । यद्यपि कतिपय महिलालाई लेखिए जस्तो कुनै समस्या हुँदैन ।
उदाहरण म आफैं हुँ । मेरो महीनावारी ५० वर्षको उमेरमा सुकेको थियो । तर, मलाई कुनै समस्या देखिएन । ५० देखि ७० वर्षका झण्डै १०० जना महिलासँग कुराकानी गर्दा उनीहरूले पनि महीनावारी सुक्ने वेला कुनै स्वास्थ्य समस्या नपरेको अनुभव सुनाए ।
रजोनिवृत्ति रोग र समस्या नभई उमेर बढ्दै जाँदा हुने साधारण प्रक्रिया हो । रजोनिवृत्तिको वेला हुने समस्याबारे युवावस्थादेखि नै जानकारी राखेर खानपान र जीवनशैलीमा ध्यान दिंदै सकारात्मक विचार राखियो भने स्वास्थ्य राम्रो हुन्छ । स्वस्थ भोजन गर्ने, शारीरिक व्यायाममा जोड दिने र मानसिक तनावबाट दूर रहने गरेमा रजोनिवृत्ति हुँदा समस्या कम हुने अनुसन्धानहरूले देखाएका छन् ।
नेपालमा कतिपय महिलाले परिवार नियोजनका लागि डिपो–प्रोभेरा वा नरप्लान्ट प्रयोग गर्छन् । उनीहरूमा महीनावारी हुँदैन । ४५–५० वर्षको उमेरसम्म पनि यी साधनहरू प्रयोग गर्नेहरूले साधनको प्रभावले हो वा प्राकृतिक रूपमै महीनावारी सुकेको हो भन्ने छुट्याउन सक्दैनन् । त्यसैले ३५–४० वर्षपछि महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दा बढी नै होशियार हुनुपर्छ ।
दुई वर्षअघि काठमाडौंमा स्त्रीरोग विशेषज्ञहरूको सम्मेलन भएको थियो । एक स्त्रीरोग विशेषज्ञले रजोनिवृत्तिबारे कार्यपत्र प्रस्तुत गर्दा उनले ‘रजोनिवृत्ति एक समस्या, रोग हो भन्दै यो वेला फलानो फलानो औषधि प्रयोग गर्नुपर्छ’ भनिन् ।
मैले प्रतिवाद गर्दै भनें, “महीनावारी शुरू हुनु समस्या/रोग होइन भने सुक्नु कसरी समस्या हो ?” उनले फ्याट्ट भनिन्, “हाम्रो किताबमा नै त्यही लेखिएको छ, मैले तपाईं भन्दा धेरै पढेकी छु ।” पक्कै पनि स्त्रीरोग विशेषज्ञ भएकाले उनी जानिफकार थिइन्, तर महिलाको प्राकृतिक अवस्थालाई पनि रोग मानेर औषधि गर्नुपर्छ भन्नेमा सहमत हुन सकिनँ ।
रजोनिवृत्ति विषयमा अन्य मुलुकहरूमा पनि भ्रम रहेछ । अमेरिकाको द बोस्टन वुमेन्स हेल्थ बुक कलेक्टिभले प्रकाशन गरेको पुस्तक आवर बडी आवरसेल्भ्सः मेनोपज मा केही औषधि कम्पनीले रजोनिवृत्तिलाई हर्मोन कमीको समस्या मान्दै मधुमेह वा थाइराइडलाई जस्तै उपचार नगरे दीर्घरोगमा परिणत हुने भ्रामक प्रचार गरेको पनि उल्लेख छ ।
हामीकहाँ महिलाहरूको स्वास्थ्यबारे कुरा गर्दा प्रजनन् स्वास्थ्य, आमा बन्दाको समस्या, परिवार नियोजन आदिबारे जसरी छलफल गरिन्छ, प्रजनन् उमेर समाप्तिपछि भने छलफल नै हुँदैन । जसरी किशोरी स्वास्थ्यको बारेमा ध्यान दिनुपर्छ, रजोनिवृत्ति भइसकेका महिलाको स्वास्थ्यबारे पनि चेतनामूलक कार्यक्रम गर्न आवश्यक छ ।
महीनावारी शुरू हुँदा किशोरीहरूलाई केही समस्या आए झैं महीनावारी बन्द हुने वेला कसैकसैलाई समस्या आउन सक्छ । निद्रा नलाग्ने, रिस उठ्ने, खानामा रुचि नहुने, शरीरमा एस्ट्रोजेनको कमी भएर छाला सुक्खा हुने, चिलाउने, स्तनको आकार सानो हुँदै जाने जस्ता समस्या देखिन सक्छ ।
चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूमा यस्तो समस्या बढी हुने गरेको देखिएको छ । जीउ चिलाउँदा तोरी वा नरिवलको तेल लगाएर समाधान गर्न सकिन्छ ।
रजोनिवृत्ति समस्या नभए पनि यो अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । खासमा यो अवस्थामा पुग्नु अगावै सजगता आवश्यक हुन्छ । कतिपय महिलाहरूलाई चिल्लो बढी भएको खानेकुरा वा मासु नखाए स्वाद नै नपर्ने, खाना बढी खाने बानी हुन्छ ।
यस्तो प्रवृत्तिले युवावस्थामै शरीर मोटो हुने छँदैछ, रजोनिवृत्तिपछि पनि मोटोपन थप बढ्छ । उमेर घर्केसँगै शरीरका हाडहरू कमजोर हुँदै जाने भएकाले चिनी, प्याकेटका पत्रु खाना त प्रयोग नगरेकै बेस हुन्छ । भोजनमा भटमास समावेश गरे रजोनिवृत्ति हुँदा आइपर्ने समस्या कम हुन्छ ।