चर्चित उपन्यास ‘घनचक्कर’ र ‘हंस’ का लेखक सञ्जीव उप्रेतीले अमेरिकाको ब्राउन विश्वविद्यालयबाट विद्यावारिधि तथा हार्वर्ड र युसी–बर्कले विश्वविद्यालयबाट उत्तर–विद्यावारिधि गरेका छन्। उनले ‘न्यायप्रेमी’, ‘सपनाको साबिती’, ‘सान्दाजुकाे महाभारत’ र ‘मकैको अर्कै खेती’ नाटकमा भूमिका निर्वाह गरेका छन् । प्राज्ञिक दृष्टिले महत्त्वपूर्ण गैरआख्यान ‘सिद्धान्तका कुरा’का लेखक उप्रेतीको भर्खरै नयाँ पुस्तक ‘संरचनात्मक लाभांश’ सार्वजनिक भएको छ । यस पुस्तकमार्फत उनले व्यक्तिको सफलता, मेरिट र सामाजिक न्यायबारे स्थापित मान्यतामाथि आफ्नो धारणा सार्वजनिक गरेका छन् । यही ‘संरचनात्मक लाभांश’ को अवधारणा, नागरिक आन्दोलन, रंगमञ्च र लेखनयात्राबारे उप्रेतीसँग हिमालखबरका लागि गुरुङ सुशान्तले गरेको संवादको सम्पादित अंश:
• तपाईंको पुस्तक भर्खरै प्रकाशित भएको छ र त्यसपछि विशेषगरी राज्य, समाज र नागरिकबीचको सम्बन्धलाई लिएर विभिन्न तहमा बहस शुरू भएको देखिन्छ । सामाजिक सञ्जालमा पनि यसबारे उल्लेख्य चर्चा भइरहेको छ नि ?
‘सिद्धान्तका कुरा’ सन् २०११ मा प्रकाशित भएको हो । २०१२–१३ तिर ‘जस्टिस प्रोजेक्ट’ भन्ने परियोजनामा नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायत पाँच देश सहभागी थिए । प्रत्येक देशबाट एक जना फिल्ममेकर र एक जना समीक्षक वा विश्लेषकले न्यायसँग सम्बन्धित एउटा काम गर्नुपर्ने थियो । नेपालका तर्फबाट म र मेरा विद्यार्थी तथा पछि त्रिभुवन विश्वविद्यालयमा सहकर्मी बनेका बलबहादुर थापाले नेपालको मुलुकी ऐन र न्याय प्रणालीमाथि अध्ययन गरेका थियौं । त्यतिबेला हामीले योहान गाल्टुङले सन् १९६९ मा प्रयोग गरेको ‘संरचनात्मक हिंसा’ (स्ट्रक्चरल भ्वोइलेन्स) को अवधारणा प्रयोग गरेका थियौं । त्यही क्रममा ‘संरचनात्मक लाभांश’ भन्ने शब्द पहिलो पटक मेरो मनमा आएको थियो । त्यसबेला गहिरिएर सोचेको भने थिइनँ । त्यो आफैंलाई दोहोर्याएर सोधिने एउटा प्रश्नजस्तै थियो ।
२५ वर्षे अध्यापन यात्रालाई बिट मार्दै सन् २०१५ मा त्रिभुवन विश्वविद्यालयबाट स्वैच्छिक अवकाश लिएपछि मैले समय पाएँ । त्यही समयमा ‘बर्डवाचिङ’ प्रति रुचि बढ्दै गयो र चराहरूको संसारसँग मेरो निकटता बन्यो । त्यसै अनुभवको जगमा ‘हंस’ पनि लेखें । विश्वविद्यालयको नियमित दैनिकीबाट मुक्त भएपछि जंगलतिर—कहिले शिवपुरी, कहिले अन्य ठाउँमा—एक्लै घुम्न जाँदा अनेक विचार मनमा आउन थाले ।
त्यस क्रममा मैले आफ्नै स्थानबारे सोच्न थालें। हामी असमानताको कुरा गर्छौं । तर, त्यो असमानताभित्र आफू कहाँ उभिएको छु भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण रहेछ । म कुन वर्गीय, लैंगिक, जातीय र भौगोलिक स्थानबाट बोलिरहेको छु ? मैले अहिलेसम्म व्यक्त गर्दै आएका विचार साँच्चै मेरा आफ्नै मौलिक विचार हुन् कि म जुन सामाजिक परिवेशमा हुर्किएँ, त्यही परिवेशका भाष्य नै मेरो मुखबाट निस्किएका छन् र मैले तिनैलाई आफ्नो मौलिक विचार ठानेको छु ? यिनै प्रश्नले मलाई आत्मालोचनातर्फ डोर्याए । कतै मैले आन्तरिकीकरण गरेका भाष्य मात्रै दोहोर्याइरहेको त छैन भन्ने प्रश्न आफैंसँग गर्न थालें । यही आत्मालोचनात्मक प्रक्रियाबाट यो अवधारणा बिस्तारै विकसित हुँदै गयो ।
पछि म बृहत् नागरिक आन्दोलनमा सक्रिय हुन थालें । त्यहाँ मिटरब्याज पीडित, सुकुम्बासी, न्याय नपाएका बलात्कारपीडित महिला, मधेशका आन्दोलनकारी, उखु किसानलगायत विभिन्न समुदायका मानिससँग प्रत्यक्ष भेटघाट भयो ।
विश्वविद्यालयमा अध्यापन गरिरहँदा यो संसार मेरो लागि लगभग अदृश्य थियो । मैले प्राज्ञिक संसारलाई नै वास्तविक संसार ठानेको रहेछु । त्यसको आफ्नै महत्त्व छ । तर, त्यसबाहिर पनि समाजका धेरै यथार्थ रहेछन्, जसप्रति म पर्याप्त सचेत थिइनँ । मिटरब्याज पीडित वा गरीब मानिसहरूलाई देख्थें। तर, उनीहरूको जीवनले मेरो आफ्नै अस्तित्वमाथि प्रश्न उठाउँदैनथ्यो ।
तर, सडकमा उनीहरूसँग प्रत्यक्ष जोडिन थालेपछि ती यथार्थ मैले अनुभूत गर्न थालें। जति ती अनुभवसँग नजिकिंदै गएँ, त्यति नै आफैलाई प्रश्न गर्नुपर्ने आवश्यकता महसूस हुन थाल्यो । समाज परिवर्तन गर्नु महत्त्वपूर्ण लक्ष्य हो र कुनै पनि सचेत नागरिक वा अभियानकर्मीको उद्देश्य त्यही हुनुपर्छ । तर, त्यससँगै आफूलाई पनि निरन्तर पुनरावलोकन गर्नुपर्छ भन्ने बोध भयो । यही सोच, आत्मालोचना र अनुभवबाट यो अवधारणा बिस्तारै विकसित भएको हो।
• ‘संरचनात्मक लाभांश’ को अवधारणाबारे तपाईंले करीब एक दशकअघि नै सार्वजनिक रूपमा बोल्न र लेख्न थाल्नुभएको थियो । त्यसयता तपाईं नागरिक आन्दोलन र जनसरोकारका सवालमा निरन्तर सक्रिय रहनुभएको छ । के यो पुस्तक त्यही बौद्धिक र सामाजिक यात्राको निरन्तरता हो ?
त्यसकै निरन्तरता हो । जति सडकमा गएँ, त्यति नै म एउटा नयाँ सामाजिक यथार्थसँग परिचित हुँदै गएँ । म आफैं मध्यमवर्गीय परिवारबाट आएको, पुरुष, शिक्षित र काठमाडौंमा बसोबास गर्ने व्यक्ति भएकाले एउटा निश्चित ‘कम्फर्ट जोन’ भित्र बाँचेको रहेछु भन्ने बोध भयो । त्यसबाट बाहिर निस्किएपछि मभन्दा संरचनागत रूपमा धेरै वञ्चित अवस्थामा रहेका मानिसको जीवनलाई नजिकबाट देख्ने अवसर पाएँ ।
उनीहरूप्रति दया वा सहानुभूति राख्नु एउटा कुरा हो । दया गर्नु आफैंमा नराम्रो होइन । तर, त्यतिमै सीमित रहँदा त्यो पर्याप्त हुँदैन भन्ने महसूस भयो । सहानुभूतिभन्दा एक कदम अगाडि बढेर समानुभूतिको तहमा पुग्न सकियो भने त्यसले अरूलाई मात्र होइन, आफूलाई पनि परिवर्तन गर्छ भन्ने लाग्यो । यही अनुभव र सोचबाट यो पुस्तक जन्मिएको हो ।
जहाँसम्म निरन्तरताको प्रश्न छ, मैले समय दिन सक्नु र निरन्तर सक्रिय रहन सक्नु पनि म संरचनात्मक लाभांशकै एउटा उदाहरण मान्छु । वर्ग, लैंगिकता र अन्य सामाजिक अवस्थाले दिएको लाभका कारण नै म यसमा निरन्तर लागिरहन सक्ने अवस्थामा थिएँ ।
मैले धेरै दलित साथीहरू र महिलाहरूमा पनि यही प्रतिबद्धता र हुटहुटी देखेको छु । उहाँहरूको चाहना मेरोभन्दा कम छैन । तर, हाम्रो पुरुषप्रधान समाजमा महिलाहरूले घरपरिवारका जिम्मेवारीमा धेरै समय खर्चिनुपर्छ । त्यस्तै, दलित समुदायका धेरै मानिस बिहान–बेलुकाको जीविकोपार्जन, बालबच्चाको शिक्षा र दैनिक जीवनका आधारभूत आवश्यकताकै संघर्षमा व्यस्त हुन्छन् । म तीमध्ये धेरै जिम्मेवारीबाट केही हदसम्म मुक्त भएकाले नै यस विषयमा बढी समय र ऊर्जा दिन सक्ने अवस्थामा थिएँ ।
• यो पुस्तकलाई कुनै राजनीतिक नाराभन्दा पनि ‘म कहाँ उभिएको छु र किन उभिएको छु ?’ भन्ने आत्मालोचनात्मक तथा नैतिक प्रश्नबाट शुरू भएको भन्न मिल्छ ?
पक्कै पनि । सरल रूपमा भन्नुपर्दा, ‘संरचनात्मक लाभांश’ भन्नाले हामीले जीवनमा हासिल गर्ने उपलब्धिको पछाडि व्यक्तिगत प्रतिभा र मिहिनेतबाहेक पनि संरचनागत कारणको भूमिका हुन्छ भन्ने बुझिन्छ । सफलतामा प्रतिभाको भूमिका हुन्छ । केही मानिस वास्तवमै प्रतिभाशाली हुन्छन् । मिहिनेतको पनि उत्तिकै महत्त्व हुन्छ । मिहिनेतबिना उपलब्धि हासिल गर्न सकिंदैन । तर, यी दुईबाहेक पनि केही यस्ता कारक हुन्छन्, जो व्यक्तिको सामाजिक संरचनासँग जोडिएका हुन्छन् ।
उदाहरणका लागि, तपाईं पुरुष हुनुहुन्छ, समाजले उच्च मान्ने जातमा जन्मिनुभएको छ, काठमाडौंमा बस्नुहुन्छ भने यी सबै पक्षले तपाईंको सफलता र उपलब्धिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका हुन्छन् । तर, तपाईं दलित, महिला वा मधेशी हुनुहुन्छ भने अवस्था फरक हुन सक्छ । नेपालको सन्दर्भमा धेरै मधेशीको मातृभाषा नेपाली हुँदैन । तर, लोकसेवा, सरकारी प्रशासन र सञ्चारमाध्यमलगायत अधिकांश सार्वजनिक क्षेत्र ‘नेपाली भाषा’कै प्रभुत्वमा छन् । त्यसैले उनीहरूले अतिरिक्त चुनौती सामना गर्नुपर्ने हुन्छ ।
त्यस्तै, कुनै महिला प्रतिभाशाली र मिहिनेती भए पनि पुरुषप्रधान सामाजिक संरचनाका कारण समान उपलब्धि हासिल गर्न उनले पुरुषभन्दा बढी संघर्ष गर्नुपर्ने हुन सक्छ । यही कुरा दलित वा अन्य सीमान्तकृत समुदायका व्यक्तिका हकमा पनि लागू हुन्छ ।
यसको अर्थ मैले मिहिनेत, मेरिट वा प्रतिभालाई अस्वीकार गरेको होइन । मेरो भनाइ यति मात्र हो— हामीले सफलता, मेरिट वा प्रतिभाका रूपमा बुझ्ने उपलब्धिमा संरचनाबाट प्राप्त हुने लाभांशहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
मेरो आफ्नै उदाहरण लिऊँ । म बाहुन परिवारमा जन्मिएँ । त्यसका लागि मैले कुनै मिहिनेत गरेको थिइनँ, न त कुनै प्रतिभाका कारण त्यहाँ जन्मिएको थिएँ । म एउटा निश्चित वर्ग र सामाजिक संरचनामा जन्मिएँ मात्र । तर, जन्मकै कारणले प्राप्त भएका केही संरचनागत लाभले मेरो जीवनका अवसर, सफलता र उपलब्धिलाई सहयोग गरे ।
• ‘संरचनात्मक लाभांश’ को कोणबाट परम्परागत रूपमा बुझिने मेरिट, व्यक्तिगत प्रतिभा र मिहिनेतलाई कसरी पुनर्परिभाषित गर्न सकिन्छ ?
केही साथीले मलाई सोध्नुभएको छ—‘संरचनात्मक लाभांश’ को अवधारणाले के मेरिट, प्रतिभा र मिहिनेतलाई नकार्छ ? मेरो उत्तर हो— नकार्दैन । यसको अर्थ मेरिटको महत्त्व छैन, प्रतिभाको अर्थ छैन वा सफलताको कुनै मूल्य छैन भन्ने होइन । बरु यसले सफलतालाई एउटा सन्दर्भमा राखेर हेर्न आग्रह गर्छ । अर्थात्, त्यो सफलता कुन सामाजिक र संरचनागत परिस्थितिमा हासिल भयो भन्ने प्रश्न पनि सँगसँगै उठाउँछ ।
मेरिट त हुन्छ नै । उदाहरणका लागि, काठमाडौंमा बस्ने तथाकथित उच्च जातको मध्यमवर्गीय परिवारको एउटा बालक र दुर्गम क्षेत्रको दलित परिवारको अर्को बालकलाई हेरौं न । दुवै उत्तिकै प्रतिभाशाली र मिहिनेती हुन सक्छन् । तर, काठमाडौंको मध्यमवर्गीय बालकका लागि सफल हुने अवसर तुलनात्मक रूपमा बढी सहज हुन्छ भने अर्काका लागि त्यही सफलता हासिल गर्न धेरै कठिन हुन्छ ।
• एउटा पाठकले मलाई अर्को प्रश्न पनि सोध्नुभएको थियो—एउटै परिवारमा जन्मिएका दुई बालबालिकामध्ये एक जना सफल हुन्छ र अर्को हुँदैन भने त्यसलाई कसरी बुझ्ने ?
मेरो उत्तर थियो— त्यहाँ पनि मेरिट र मिहिनेतको महत्त्व रहन्छ । मानौं, एउटै उच्च मध्यमवर्गीय परिवारका दुई बालबालिकामध्ये एक जना निकै मिहिनेती छ र अर्को अत्यन्तै अल्छी । यस्तो अवस्थामा मिहिनेती व्यक्ति सफल हुन सक्छ र अल्छी सफल नहुन सक्छ । यसले व्यक्तिगत प्रयास र मेरिटको भूमिकालाई देखाउँछ ।
तर, त्यसो हुँदाहुँदै पनि यदि त्यो व्यक्ति उच्च मध्यमवर्गीय परिवारकै हो भने सफल नभए पनि ऊ सहजै सडकमा पुग्दैन किनभने उसलाई सम्हाल्ने, जोगाउने र फेरि उभिन सहयोग गर्ने अन्य धेरै संरचनागत लाभ उपलब्ध हुन्छन्। तर, अत्यन्त गरीब परिवारको कुनै व्यक्ति मिहिनेती पनि छैन र उसले आवश्यक प्रयास पनि गर्दैन भने ऊ धेरै छिट्टै गम्भीर आर्थिक र सामाजिक संकटमा पर्न सक्छ । त्यहाँ पनि संरचनात्मक लाभांशको प्रभाव स्पष्ट देखिन्छ ।
त्यसैले मेरो तर्क के हो भने मेरिट, प्रतिभा र मिहिनेतको महत्त्व अवश्य छ । तर, ती गुणले कसरी परिणाम दिन्छन् भन्ने कुरा जन्मदेखि प्राप्त हुने संरचनागत लाभ वा वञ्चनासँग पनि गहिरो रूपमा जोडिएको हुन्छ । संरचनात्मक लाभांशले कसैको यात्रालाई सहज बनाइदिन्छ भने त्यस्तो लाभबाट वञ्चित हुनु आफैंमा अर्को व्यक्तिका लागि अतिरिक्त अवरोध बन्छ ।
• नेपालको सन्दर्भमा ‘संरचनात्मक लाभांश’ कुन–कुन क्षेत्रमा प्रकट हुन्छ ?
नेपालको सन्दर्भमा संरचनात्मक लाभांश धेरै तहमा देखिन्छ । वर्ग, लिंग, जात, भाषा, प्रविधिमा पहुँच, यौनिकता र शारीरिक अवस्थासम्म यसका विभिन्न आयाम छन् ।
सबैभन्दा पहिले वर्गको कुरा गरौं। यदि तपाईं उच्च वर्ग, उच्च मध्यमवर्ग वा मध्यमवर्गमा हुनुहुन्छ भने प्रविधिमा पहुँच तुलनात्मक रूपमा सहज हुन्छ । इन्टरनेट देशका धेरै ठाउँमा पुगेको भए पनि त्यसको प्रभावकारी उपयोग गर्ने अवसर सबैलाई समान हुँदैन । दुर्गम क्षेत्रमा इन्टरनेट सेवा नै अविश्वसनीय हुन सक्छ, बारम्बार अवरुद्ध हुन सक्छ । त्यसैले प्रविधिमा पहुँच पनि संरचनागत अवस्थाले निर्धारण गरिरहेको हुन्छ । मैले यसै सन्दर्भमा ‘डिजिटल पूँजी’ को कुरा गरेको हुँ ।
यो कुरा यौनिकताको सन्दर्भमा पनि लागू हुन्छ । म ‘हेटेरोसेक्सुअल’ पुरुष हुँ । आफ्नो यौनिक पहिचान लुकाएर बाँच्नुपर्ने अवस्था मैले कहिल्यै भोग्नुपरेन किनभने समाजले यसलाई ‘सामान्य’ मान्छ । तर, कुनै व्यक्ति समलिंगी, गे वा लेस्बियन भए आफ्नो पहिचान सार्वजनिक गर्दा नै डर र असुरक्षाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यहाँ पनि संरचनात्मक लाभांशको असमानता देखिन्छ ।
जातका आधारमा पनि यही कुरा लागू हुन्छ । उदाहरणका लागि, कुनै दलितको थर ‘सार्की’ भएकै कारण कतिपय अवस्थामा घर भाडासमेत नपाउने अवस्था हुन्छ । अहिले नागरिक अभियानकर्मी दीपा नेपालीले माइतीघरमा यही विषयलाई लिएर आन्दोलन गरिरहनुभएको छ । यस्तो परिस्थितिमा राम सार्कीले घरभाडा पाउन आफ्नै नाम परिवर्तन गरेर ‘राम कार्की’ बनाउनुपर्ने अवस्था आउन सक्छ । यो संरचनात्मक लाभांशको अभावको स्पष्ट उदाहरण हो।
शारीरिक अवस्थाको हिसाबले पनि यही कुरा लागू हुन्छ । मेरा दुवै आँखा देख्छन्, कानले सुन्छन् । यसका लागि मैले कुनै विशेष मिहिनेत वा प्रतिभा देखाएको होइन । यो जन्मसिद्ध प्राप्त अवस्था हो । तर, कुनै व्यक्तिले देख्न वा सुन्न सक्दैन भने उसले दैनिक जीवनमा थप संरचनागत अवरोध सामना गर्नुपर्छ। त्यसैले संरचनात्मक लाभांश बहुस्तरीय अवधारणा हो र यसलाई एउटै आयामबाट मात्र बुझ्न सकिंदैन ।
यसलाई सञ्चारमाध्यमको प्रतिनिधित्वबाट पनि बुझ्न सकिन्छ । मैले पुस्तकमा प्रेमप्रसाद आचार्य र रामदेव मरिक डोमको उदाहरण दिएको छु । उहाँहरू दुवैले झन्डै एउटै समयमा आत्महत्या गर्नुभएको थियो । दुवैको जीवन आर्थिक संकट, सहकारी, बैंक, मिटरब्याजलगायतका समस्याले गम्भीर रूपमा प्रभावित भएको थियो ।
प्रेमप्रसाद आचार्यले आत्महत्याअघि आफ्नो निर्णयका कारण स्पष्ट रूपमा लेखेर छोड्नुभएको थियो । त्यसले समाजलाई गहिरो रूपमा झकझकायो । आत्महत्या आफैमा अत्यन्त गम्भीर र दुःखद घटना हो, त्यसैले त्यसले समाजलाई हल्लाउनु स्वाभाविक पनि थियो ।
तर, रामदेव मरिक डोमको मृत्यु भने सामान्य समाचारका रूपमा मात्र सीमित रह्यो । यसको अर्थ एउटा घटना महत्त्वपूर्ण र अर्को कम महत्त्वपूर्ण थियो भन्ने होइन । दुवै घटना समान रूपमा दुःखद र गम्भीर थिए । तर, प्रेमप्रसाद आचार्य काठमाडौंका र नेपाली भाषी परिवारका हुनुहुन्थ्यो । उहाँसँग आफ्ना कुरा प्रभावकारी रूपमा लेखेर सार्वजनिक गर्न सक्ने क्षमता थियो र सञ्चारमाध्यमले पनि उहाँको घटनालाई व्यापक स्थान दियो ।
रामदेव मरिक डोमका हकमा त्यस्तो भएन । उहाँ वर्गीय रूपमा पनि बढी वञ्चित अवस्थामा हुनुहुन्थ्यो, जातीय रूपमा पनि सीमान्तमा हुनुहुन्थ्यो र भाषिक लाभांश पनि उहाँसँग थिएन । उहाँको मातृभाषा नेपाली थिएन । त्यसैले आफ्ना अनुभवलाई त्यही रूपमा अभिव्यक्त गर्ने अवसर पनि सीमित थियो । त्यसैले मैले यी दुई घटनालाई एउटालाई ठूलो र अर्कोलाई सानो देखाउन होइन, संरचनागत लाभांशले कसरी मानिसको आवाज, दृश्यता र प्रतिनिधित्वलाई समेत प्रभावित गर्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरेको हुँ ।
• तपाईंले पुस्तकमा नवराज विकको घटनालगायत दलित समुदायमाथि भएका हिंसाका घटनालाई ‘संरचनात्मक लाभांश’ को दृष्टिकोणबाट विश्लेषण गर्नुभएको छ । यस्तो अवस्थामा पीडितहरूको राज्यका निकाय र न्याय प्रणालीसँगको पहुँचलाई संरचनात्मक लाभांशले कसरी प्रभावित गर्छ ?
पक्कै प्रभावित गर्छ । नवराज विकको घटनाबारे धेरै विस्तारमा जान चाहन्नँ किनभने त्यो धेरैका लागि परिचित विषय हो । अन्तर्जातीय प्रेमका कारण नवराज विकसहित पाँच जना दलित युवाको हत्या भयो । त्यसपछि सार्वजनिक रूपमा आएका धेरै प्रतिक्रिया एकअर्कासँग विरोधाभासी थिए । एकातिर दोषीलाई कारबाही गर्नुपर्ने भनियो अर्कोतिर घटनालाई ‘दुर्घटना’ का रूपमा व्याख्या गर्ने प्रयास पनि भयो ।
यो कुनै एकल घटना होइन । पछिल्ला वर्षमा दलित समुदायमाथि भएका धेरै हिंसात्मक घटनामा यस्तै प्रवृत्ति देखिएको छ । कतिपय अवस्थामा घटनालाई दुर्घटनाका रूपमा प्रस्तुत गर्ने प्रयास हुन्छ, त कतिपय अवस्थामा अनुसन्धानमै ढिलाइ हुँदा प्रमाण कमजोर बन्न पुग्छ र न्याय प्रक्रिया प्रभावित हुन्छ ।
मेरो विचारमा, यसलाई सूक्ष्म र बृहत् दुवै तहबाट हेर्नुपर्छ । सूक्ष्म तहमा एउटा विशेष घटना हुन्छ । तर, त्यसको अनुसन्धान, व्याख्या र न्याय प्रक्रिया भने बृहत् सामाजिक संरचनाले प्रभावित गरिरहेको हुन्छ । हामी न्यायका लागि प्रहरी, अदालत र अन्य राज्य संस्थामा पुग्छौं । तर, ती संस्था पनि अन्ततः मानिसहरूले नै सञ्चालन गरेका हुन्छन् । ती व्यक्ति समाजमा विद्यमान जातीय र लैंगिक भाष्यबाट पूर्णतः मुक्त हुन्छन् भन्ने मान्न सकिंदैन । अझ ती संस्थामा ऐतिहासिक रूपमा पहाडी बाहुन–क्षत्री समुदायको वर्चस्व रहेको र दलित समुदायको उपस्थिति अत्यन्त न्यून रहेको यथार्थ पनि छ ।
यस्तो अवस्थामा न्यायिक प्रक्रियामा संलग्नहरूले आफैभित्र आन्तरिकीकरण गरेका जातीय वा पितृसत्तात्मक दृष्टिकोणले घटनालाई हेर्ने तरिकामै प्रभाव पार्न सक्छ । त्यसैले हत्या वा हिंसाजस्तो गम्भीर घटनालाई समेत शुरूमा ‘दुर्घटना त होइन ?’ भन्ने कोणबाट हेर्ने प्रवृत्ति विकसित हुन सक्छ ।
यही कारणले दलित समुदायमाथिका हिंसाका घटनामा मात्र होइन, यौन हिंसामा परेका महिलाहरूको न्यायिक यात्रामा पनि न्याय प्राप्त गर्न असाध्यै कठिन हुने अवस्था देखिन्छ । संरचनागत असमानताले पीडितहरूको न्यायमा पहुँचलाई निरन्तर प्रभावित गरिरहेको हुन्छ ।
• तपाईंले पुस्तकमा ग्रिक मिथक ‘हाइड्रा’ को उदाहरणमार्फत पुरुषसत्तात्मक नेपाली समाजलाई संरचना, सोचाइ र कानूनका तीन आयामबाट व्याख्या गर्नुभएको छ । यी तीनवटामध्ये कुनै एउटामा मात्र परिवर्तन गरेर पुग्छ कि सबैलाई एकैसाथ बदल्नु आवश्यक छ ? यस सन्दर्भमा नेपालको जातीय र वर्गीय संरचनालाई तपाईं कसरी हेर्नुहुन्छ ?
यी तीनवटै आयाम एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । त्यसैले एउटामा मात्र परिवर्तन गरेर दीर्घकालीन रूपान्तरण सम्भव हुँदैन । हामीजस्ता आम नागरिकले गर्न सक्ने भनेको यी विषयमा निरन्तर आवाज उठाउनु हो । सडकमा गएर, लेखेर, बोलेर, पत्रकारिता, नागरिक समाज र आवश्यक परे आन्दोलनमार्फत यी प्रश्न उठाइरहनुपर्छ । तर, संरचनागत परिवर्तनका लागि राजनीतिक दलहरूको इच्छाशक्ति अपरिहार्य हुन्छ ।
संरचनाको अर्थ राज्यका संस्थाहरू मात्र होइन । सञ्चारमाध्यम, राजनीतिक दल, न्युजरुम, व्यापारिक क्षेत्र, न्याय प्रणालीलगायत सबै क्षेत्रमा महिला, दलित र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्नुपर्छ । त्यससँगै समाजको सोच पनि बदलिनुपर्छ । हामीले आन्तरिकीकरण गरेका जातीय, लैंगिक र अन्य विभेदकारी भाष्य परिवर्तन नगरी संरचनागत रूपान्तरण सम्भव हुँदैन ।
त्यसैगरी कानूनमा पनि आवश्यक सुधार हुनुपर्छ । तर, कानूनको भाषा परिवर्तन गर्नु मात्रै पर्याप्त हुँदैन । त्यसको प्रभावकारी कार्यान्वयनका लागि संरचना र त्यसलाई सञ्चालन गर्ने मानिसहरूको सोच दुवै बदलिनुपर्छ । अन्यथा, कानून राम्रो भए पनि दलित वा अन्य सीमान्तकृत समुदायका मानिसले न्याय पाउन सक्दैनन् ।
नेपालको सन्दर्भमा जात र वर्गको सम्बन्ध पनि यही संरचनागत यथार्थसँग गाँसिएको छ । युरोप वा अन्य समाजको भन्दा नेपालको सामाजिक संरचना फरक छ, किनभने यहाँ जात व्यवस्थाले वर्गीय अवस्थालाई गहिरो रूपमा प्रभावित गरेको छ । धेरैजसो अवस्थामा जातीय रूपमा सीमान्तमा रहेका समुदाय वर्गीय रूपमा पनि कमजोर अवस्थामा छन् ।
यसको अर्थ सबै दलित गरीब छन् भन्ने होइन । दलित समुदायभित्र पनि सम्पन्नहरू छन् । तर, अपवादभन्दा समग्र प्रवृत्तिलाई हेर्नुपर्छ । उपलब्ध तथ्यांकले पनि दलित समुदाय गैरदलितहरूको तुलनामा सम्पत्तिमाथिको स्वामित्व, शिक्षा, स्वास्थ्य सेवा र न्यायमा पहुँचजस्ता धेरै सूचकमा पछाडि रहेको देखाउँछ । त्यस्तै, महिलाहरू पनि अधिकांश सूचकमा पुरुषहरूको तुलनामा वञ्चित अवस्थामा छन् । त्यसैले नेपालको जातीय र वर्गीय संरचनालाई छुट्टाछुट्टै होइन, एकअर्कासँग अन्तरसम्बन्धित रूपमा बुझ्न आवश्यक छ ।
• तपाईं लामो समय विश्वविद्यालयमा प्राध्यापन र प्राज्ञिक लेखनमा संलग्न रहनुभयो । तर ‘सिद्धान्तका कुरा’ देखि यस पुस्तकसम्म तपाईंको लेखनमा जटिल सैद्धान्तिक विषयलाई पनि अत्यन्त सरल, बोधगम्य र नेपाली समाजका उदाहरणमार्फत प्रस्तुत गर्ने शैली देखिन्छ । यस्तो लेखन शैली तपाईंले कसरी रोज्नुभयो ?
शुरूदेखि नै सकेसम्म सरल रूपमा लेख्नुपर्छ भन्ने मेरो धारणा थियो र त्यही शैली मलाई स्वाभाविक पनि लाग्छ ।
मैले विश्वविद्यालयमा साहित्य सिद्धान्त र सांस्कृतिक सिद्धान्त पढाएँ । यी विषयहरू नेपालमा मात्र होइन, अमेरिकालगायत अन्य ठाउँमा पनि दुरूह मानिन्छन् । तर, त्यहाँ पनि यिनै विषयलाई अत्यन्त सरल र स्पष्ट भाषामा लेख्ने विद्वानहरू छन् ।
मैले पीएचडी गर्दा मेरा सुपरभाइजर रबर्ट स्कोल्स हुनुहुन्थ्यो । उहाँको लेखन शैली अत्यन्त स्पष्ट र सहज थियो । त्यस शैलीको प्रभाव मेरो लेखनमा पनि परेको छ । मेरो प्रश्न सधैं एउटै रह्यो— जुन कुरा सरल रूपमा भन्न सकिन्छ, त्यसलाई अनावश्यक रूपमा जटिल किन बनाउने ? अवश्य, कुनै विषय अत्यन्त जटिल हुन्छ भने अत्यधिक सरलीकरण गर्दा त्यसका केही सूक्ष्म पक्ष छुट्न सक्छन् । त्यसप्रति सजग रहँदै पनि सकेसम्म स्पष्ट र बोधगम्य रूपमा लेख्नुपर्छ भन्ने मेरो विश्वास हो ।
‘सिद्धान्तका कुरा’ लेख्दादेखि नै मेरो उद्देश्य यही थियो । यो पुस्तक लेख्दा पनि त्यही दृष्टिकोण कायम राखें। यो सामाजिक न्यायको पक्षमा उभिएको र आन्दोलनसँग जोडिएको पुस्तक हो। माइतीघर मण्डललगायत विभिन्न ठाउँमा संघर्ष गरिरहेका दलित, महिला र अन्य सीमान्तकृत समुदायका मानिससँग भेट्दा मलाई लाग्यो— यदि यो पुस्तक उहाँहरूको संघर्षका लागि एउटा वैचारिक औजार बन्न सक्यो भने त्यसको अर्थ हुनेछ । त्यसले कति योगदान पुर्याउँछ, त्यो त पाठकले नै मूल्यांकन गर्नुहोला । तर, त्यस दिशामा थोरै भए पनि सहयोग गर्न सक्यो भने मेरो उद्देश्य पूरा भएको ठान्नेछु । त्यसैले यस पुस्तकलाई ‘सिद्धान्तका कुरा’ भन्दा पनि अझ सरल, सहज र पाठकमैत्री बनाउने प्रयास गरेको हुँ ।

• तपाईं ‘संरचनात्मक लाभांश’ को चर्चा गर्दा बारम्बार आफ्नो ‘लोकेसन’ अर्थात् आफू समाजमा कहाँ उभिएको छु भन्ने प्रश्न उठाउनुहुन्छ । तपाईं स्वयं उच्च शिक्षा हासिल गरेको, विश्वविद्यालयमा लामो समय अध्यापन गरेको, ब्राह्मण पुरुष र विभिन्न संरचनात्मक लाभ प्राप्त व्यक्ति हुनुहुन्छ । यस्तो अवस्थाबाट नागरिक आन्दोलन र सडकसम्मको यात्रा कसरी सम्भव भयो ? तपाईंको लेखक, बौद्धिक र सार्वजनिक व्यक्तित्व निर्माणमा कस्ता अनुभवले निर्णायक भूमिका खेले ?
यसको उत्तर बाल्यकालदेखि शुरू गर्न सकिन्छ । तर, त्यसो गर्दा धेरै लामो हुन्छ । त्यसैले संक्षिप्तमा भन्छु । विश्वविद्यालयमा पढिरहेको र पढाइरहेको समयमा आफूसँग भएका संरचनात्मक लाभांशबारे म त्यति सचेत थिइनँ । यो चेतना बिस्तारै विकसित भएको हो । एक समय म पनि विदेशका राम्रो विश्वविद्यालयमा पढ्न पाउनु, उच्च शिक्षा हासिल गर्नु र जीवनमा प्राप्त गरेका उपलब्धि सबै मेरै प्रतिभा र मेहनतको परिणाम हुन् भन्ने ठान्थें ।
तर, बिस्तारै आफैलाई प्रश्न गर्न थालें । प्रतिभा र मिहिनेतको भूमिका त हुन्छ, ममा पनि केही प्रतिभा थियो होला र मैले मिहिनेत पनि गरें हुँला। तर, मभन्दा धेरै प्रतिभाशाली र मभन्दा धेरै मिहिनेत गर्ने मानिस पनि छन् । त्यसो भए किन उनीहरूले आफूले चाहेजति अवसर र उपलब्धि प्राप्त गर्न सकेनन् ? किन केही कुरा मलाई तुलनात्मक रूपमा सहज भए ? यही प्रश्नले मलाई आफ्नै अवस्थाबारे पुनर्विचार गर्न प्रेरित गर्यो ।
यो यात्रा चरासँग पनि जोडिएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वैच्छिक अवकाश लिएपछि मसँग समय भयो । बुबा–आमासँग समय बिताउन पाएँ र फुर्सदमा दुर्बिन बोकेर जंगल–जंगलमा चरा हेर्न जान थालें ।
त्यसरी जंगलमा हिंड्दा एउटा गहिरो अनुभूति हुन थाल्यो—हामी सबै एउटै पारिस्थितिक प्रणालीका अंश हौं भन्ने अनुभूति । म स्पष्ट रूपमा भन्न चाहन्छु, म नास्तिक हुँ । मैले कुनै ईश्वर वा अलौकिक शक्तिको अनुभव गरेको छैन। त्यसैले त्यसबारे दाबी गर्न सक्दिनँ । तर, जंगलमा रहँदा चरा, जनावर, वनस्पति, आकाश र म स्वयं एउटै ‘इकोसिस्टम’ का हिस्सा हौं भन्ने अनुभूतिले मलाई गहिरो शान्ति दिन्थ्यो । त्यसलाई म लौकिक अध्यात्म वा सेकुलर स्पिरिचुअलिजम् भन्छु ।
त्यही अनुभूतिले अर्को प्रश्न पनि जन्मायो । यदि हामी सबै एउटै ‘इकोसिस्टम’का अंश हौं भने चरा, जनावर र प्रकृतिप्रति संवेदनशील हुनुपर्छ । हामीले तिनको बासस्थान नष्ट गरिरहेका छौं, प्रकृतिलाई क्षति पुर्याइरहेका छौं । यही सोचका कारण म ‘बर्ड कन्जर्भेसन नेपाल’ को सदस्य पनि बनें । त्यहाँ मभन्दा धेरै समर्पित साथीहरू चराको संरक्षणमा निरन्तर लागिरहनुभएको छ।
त्यसपछि मेरो सोच ‘लौकिक नैतिकता’ तर्फ विस्तार भयो । पहिले नैतिकतालाई धर्मसँग जोडेर हेरिन्थ्यो— राम्रो काम गर्यो भने स्वर्ग, नराम्रो गर्यो भने नरक । तर, अहिले हामीलाई धर्मभन्दा बाहिर उभिएको एउटा लौकिक नैतिकताको आवश्यकता छ । यसबारे बृहत् नागरिक आन्दोलनको एउटा छलफलमा सीके लालले पनि निकै महत्त्वपूर्ण विचार राख्नुभएको थियो।
त्यसपछि मलाई लाग्न थाल्यो— यदि म चरा, जनावर र वनस्पतिप्रति संवेदनशील हुन सक्छु भने मेरै समाजका, मेरो जस्तै अनुहार भएका तर संरचनागत अन्यायमा बाँचिरहेका मानिसप्रति किन संवेदनशील नहुने ? दलित भएकै कारण विभेद भोगिरहेको व्यक्ति, विभिन्न रूपमा सीमान्तकृत समुदाय, यौन हिंसाका पीडित वा आफ्नो लैंगिक पहिचानकै कारण दोस्रो दर्जाको नागरिकझैं बाँच्न बाध्य मानिसहरूप्रति संवेदनशील हुनु पनि त्यत्तिकै नैतिक दायित्व हो भन्ने महसूस भयो ।
त्यही अनुभूतिले मलाई बृहत् नागरिक आन्दोलनतर्फ ल्यायो । म आन्दोलनमा राजनीतिक विज्ञानका सबै सिद्धान्त बुझेर आएको होइन । आन्दोलनका धेरै साथीले त्यो विषय मभन्दा गहिरोसँग अध्ययन गर्नुभएको छ । म त चराहरू हेर्दाहेर्दै आफ्नै चेतनाको परिवर्तनसँगै यहाँ आइपुगेको हुँ ।
अन्ततः संरचनात्मक लाभांश धेरै पाएको व्यक्ति भएकाले जिम्मेवारीको बोध पनि त्यति नै बढी हुनुपर्छ भन्ने महसूस गरें । मानव समाजमा हुने अन्याय, हिंसा र विभेदका विरुद्ध बोल्नु नै त्यस जिम्मेवारीको स्वाभाविक विस्तार हो भन्ने निष्कर्षमा पुगें ।
• तपाईंको पहिलो उपन्यास ‘घनचक्कर’को समर्पणमै ‘लोकतन्त्र र सामाजिक न्यायका निम्ति संघर्षरत संसारका सबै मानिसलाई’ भन्ने लेखिएको छ । पछिका पुस्तक र सार्वजनिक जीवनलाई हेर्दा सामाजिक न्यायप्रतिको तपाईंको प्रतिबद्धता त्यसबेलादेखि नै देखिन्छ । आज फर्केर हेर्दा ‘घनचक्कर’ र त्यसबेलाको आफ्नो वैचारिक यात्रालाई कसरी सम्झनुहुन्छ?
‘घनचक्कर’ लेख्दासम्म मैले ‘संरचनात्मक लाभांश’ को अवधारणाबारे अहिले जति गहिरिएर सोचेको थिइनँ । त्यो चेतना पछि बिस्तारै विकसित भयो । तर, समाजभित्र केही गम्भीर गडबडी भइरहेको छ भन्ने अनुभूति भने त्यतिबेलै थियो । न्याय खोज्ने मानिसले सहजै न्याय पाउनुपर्ने हो । तर, हत्या, हिंसा र अन्यायका बीच मानिसहरू न्यायका लागि निरन्तर संघर्ष गरिरहेका थिए । मलाई त्यो समाजभित्रको एउटा सामूहिक पागलपनजस्तो लाग्थ्यो ।
२०६२/६३ को जनआन्दोलनले पनि मेरो सोचमा गहिरो प्रभाव पारेको थियो । वास्तवमा म त्यस आन्दोलनमा प्रत्यक्ष सहभागी थिएँ । गुरुकुलमा आन्दोलन भइरहेका बेला प्रहरीको हस्तक्षेप हुँदा म पनि कुटिएको थिएँ । त्यतिबेला मैले लगाएको पहेँलो सर्टकै कारण प्रहरीको नजरमा परें र नराम्ररी कुटाइ खाएँ ।
त्यतिबेला ‘कान्तिपुर’का सम्पादक नारायण वाग्लेले त्यस अनुभवबारे लेख्न आग्रह गर्नुभयो । खुट्टा सुन्निएर एक सातासम्म घरबाट निस्कन नसक्ने अवस्थामा मैले ‘स्रष्टाहरूको आन्दोलन’ शीर्षकको लेख लेखें, जुन ‘कान्तिपुर’ मा प्रकाशित भयो । त्यही समयमा ‘घनचक्कर’ पनि पुनर्लेखन र संशोधनको क्रममा थियो ।
त्यो आन्दोलन मेरो चेतनाको एउटा महत्त्वपूर्ण मोड बन्यो । त्यसबेला गुरुकुल राजतन्त्रविरोधी आन्दोलनको एउटा वैचारिक केन्द्रजस्तै थियो । पत्रकार, लेखक, कलाकार, चलचित्रकर्मी र लोकतन्त्र तथा सामाजिक न्यायमा विश्वास गर्ने मानिसहरू त्यहाँ भेला हुन्थे, छलफल गर्थे र आन्दोलनका रणनीति बनाउँथे । त्यस वातावरणले मेरो लेखन र सोच दुवैलाई प्रभावित गरेको थियो ।
• २०६२/६३ को आन्दोलनका बेला गुरुकुल, विश्वविद्यालय र बौद्धिक वृत्तमा निकै सक्रिय राजनीतिक तथा वैचारिक वातावरण थियो । आज फर्केर हेर्दा त्यतिबेलाको विश्वविद्यालयको माहौल र त्यसमा आएको परिवर्तनलाई कसरी सम्झनुहुन्छ ?
विश्वविद्यालयसँग मेरा धेरै सुखद सम्झना छन् । डा. श्रीधरप्रसाद लोहनी, डा. अभि सुवेदी, दुर्गाप्रसाद भण्डारीलगायत गुरुहरूले हामीलाई निकै प्रोत्साहन गर्नुभयो । विभिन्न सिद्धान्त र नयाँ विचार पढ्ने वातावरण थियो, र पछि उहाँहरूसँगै अध्यापन गर्ने अवसर पनि मिल्यो ।
विद्यार्थीहरूसँग मेरो सम्बन्ध पनि औपचारिकभन्दा बढी मित्रवत् रह्यो । सन् १९८९ मा अध्यापन शुरू गर्दा म धेरै विद्यार्थीभन्दा उमेरले सानो थिएँ । त्यसैले कक्षा, चिया र छलफलमार्फत खुला सम्बन्ध बन्यो ।
त्यतिबेला विश्वविद्यालयको वातावरण अत्यन्त जीवन्त थियो । लाइब्रेरी, चौर र छलफलका ठाउँमा नयाँ विचार, आधुनिक दर्शन र राजनीतिक परिवर्तनबारे उत्साहजनक बहस हुन्थे । तर, पछि अत्यधिक दलीयकरण बढ्दै गयो। कर्मचारी, प्रशासक, प्राध्यापक र विद्यार्थी सबै दलगत रूपमा विभाजित हुन थाले, जसले शैक्षिक वातावरणलाई प्रभावित गर्यो । यही कारणले पनि मैले विश्वविद्यालयबाट बाहिरिने निर्णय गरें ।
तर, अहिले फेरि जाँदा लाइब्रेरी, पढ्ने वातावरण र इन्टरनेट सुविधामा सुधार देख्दा खुशी लाग्छ । विश्वविद्यालयको मूल भूमिका भनेको प्रश्न गर्न सिकाउने र आलोचनात्मक सोच विकास गराउने हो र त्यस्तो वातावरण जीवन्त रहनु आवश्यक छ ।
• लेखन, अध्यापन र सामाजिक न्यायको यात्रालाई आज फर्केर हेर्दा आफ्नै जीवनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले कहिल्यै आफूबाट असाधारण अपेक्षा राखेको थिइनँ । म धेरै वर्ष लगाएर ठूलो योजना बनाएर हिंड्ने मान्छे पनि होइन । जीवन बाँच्दै जाने, आफ्ना गल्तीबाट सिक्दै जाने र आफूलाई निरन्तर पुनरावलोकन गर्दै जाने—मेरो यात्रा यही रह्यो ।
फर्केर हेर्दा केही गल्ती नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । तर, मैले सधैं एउटा कुरा सम्झने गरेको छु— एउटै गल्ती दोहोर्याउनु हुँदैन । गल्तीबाट सिक्नु पर्छ भन्ने मेरो विश्वास छ ।
• ‘संरचनात्मक लाभांश’ को अवधारणा विकास गर्ने क्रममा तपाईंले ‘संरचनात्मक अन्धता’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो, पछि त्यसलाई ‘संरचनात्मक असंवेदनशीलता’ मा परिवर्तन गर्नुभयो । त्यो परिवर्तन किन आवश्यक ठान्नुभयो? साथै, सामाजिक आन्दोलन र समुदायहरूसँगको प्रत्यक्ष सम्पर्कले तपाईंको सोचलाई कसरी परिमार्जन गर्यो ?
शुरूमा म ‘संरचनात्मक अन्धता’ भन्ने शब्द प्रयोग गर्थें । मेरो आशय के थियो भने जसले धेरै संरचनात्मक लाभांश पाएको हुन्छ, ऊ आफूभन्दा वञ्चित समुदायका अनुभव र पीडाप्रति असंवेदनशील बन्न सक्छ ।
तर, सुर्खेतमा भएको एउटा कार्यक्रममा दृष्टिविहीन एक महिलाले त्यस शब्दप्रति आपत्ति जनाउनुभयो । उहाँले ‘अन्धता’लाई रूपकका रूपमा प्रयोग गर्दा दृष्टिविहीन व्यक्तिहरूको अनुभवलाई अन्याय हुने कुरा उठाउनुभयो । उहाँको टिप्पणीलाई मैले गम्भीरतापूर्वक लिएँ र त्यसपछि ‘संरचनात्मक अन्धता’ भन्न छाडेर ‘संरचनात्मक संवेदनशीलता’ भन्न थालें ।
यसले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो— विभिन्न समुदायसँग संवाद गर्दै जाँदा आफ्नै भाषा, पूर्वाग्रह र सीमालाई पनि निरन्तर पुनरावलोकन गर्नुपर्छ ।
मलाई अहिले लाग्छ, विश्वविद्यालयभित्र बस्दा हामी एउटा सीमित संसारमा हुन्छौं । सिद्धान्त त्यहाँ सिकिन्छ । तर, समाजको यथार्थसँग प्रत्यक्ष साक्षात्कार भने सडक र समुदायमा पुगेर हुन्छ । त्यसैले म प्रायः भन्छु, मेरो जीवनको सबैभन्दा ठूलो विश्वविद्यालय माइतीघर मण्डल हो ।
नागरिक आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा पुग्दा मैले विश्वविद्यालयको कक्षामा बसेर बुझ्न नसकिने यथार्थ देखें । ती अनुभवले समाजमा अवसर र सम्मान सबैका लागि समान छैन भन्ने कुरा अझ स्पष्ट बनाइदिए।
सिद्धान्तका रूपमा ‘सबै मानव समान हुन्’ भन्ने कुरा सही हो । तर, व्यवहारमा समाज अझै समान भइसकेको छैन । विभेद कायम रहेकै अवस्थामा त्यसलाई बेवास्ता गरेर सबै समान छन् भन्नु भनेको असमानतालाई अदृश्य बनाउनु हो । यही कुरा मैले आन्दोलन र समाजसँगको प्रत्यक्ष सम्पर्कबाट सिकेको हुँ ।
• लेखन र अध्यापनसँगै तपाईंको रंगमञ्चसँग पनि लामो सम्बन्ध रह्यो । थिएटरले तपाईंलाई के सिकायो ? साथै, अहिलेको नेपाली रंगमञ्चलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
थिएटर सधैं मेरो प्रिय विधा रह्यो । विश्वविद्यालयमा साहित्य सिद्धान्त पढाउँदा नाटक कागजका शब्दमा सीमित हुन्थ्यो । तर, रंगमञ्चमा ती शब्दले अभिनय, प्रकाश र संगीतसँगै जीवन पाउँछन् । यही अनुभवले मलाई थिएटरतर्फ आकर्षित गर्यो ।
मैले ‘सपनाको साबिती’, ‘न्यायप्रेमी’, ‘सान्दाजुको महाभारत’ र ‘मकैको अर्कै खेती’ गरी चारवटा नाटकमा अभिनय गरेको छु । ‘मकैको अर्कै खेती’ भने म आफैंले लेखेको नाटक हो, जसमा म र मेरी जीवनसाथी अर्चनाले अभिनय गरेका थियौं । हामी व्यावसायिक कलाकार भने होइनौं । अहिले अभिनय गर्ने योजना छैन । तर, नाटक हेर्न भने उत्तिकै रुचि छ ।
नेपाली रंगमञ्चको अवस्था समग्रमा उत्साहजनक लागेको छ । पहिले गुरुकुल प्रमुख केन्द्र थियो । अहिले मण्डला, शिल्पी, कौसीलगायत विभिन्न रंगसमूह सक्रिय छन् र काठमाडौंबाहिर पनि नाटकप्रतिको आकर्षण बढिरहेको देखिन्छ ।
• अहिले पनि रंगमञ्च वैचारिक बहस र सामाजिक आन्दोलनको एउटा महत्त्वपूर्ण थलो हाे भन्ने लाग्छ ? यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
पक्कै । हिजो गुरुकुलले जुन भूमिका खेलेको थियो, आज मण्डला, शिल्पीलगायतका रंगमञ्चले त्यस परम्परालाई निरन्तरता दिएका छन् । त्यहाँ नाटक मात्र होइन, छलफल, भेटघाट र वैचारिक विमर्श पनि भइरहेका हुन्छन् । हाम्रो धेरै बैठक अहिले पनि शिल्पीमै हुने गर्छन् ।
नाटक आफैंमा एउटा आन्दोलन हो । त्यसको प्रभाव प्रत्यक्ष हुन्छ । सडक आन्दोलनका क्रममा पनि शिल्पी थिएटरका साथीहरूले पटक–पटक सडक नाटकमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । संसद् विघटनविरुद्धको आन्दोलनमा पनि सडक नाटक प्रभावकारी माध्यम बनेको थियो ।
• अन्त्यमा, पाठक र विशेषगरी नयाँ पुस्तालाई केही भन्न चाहनुहुन्छ ?
यो पुस्तक डा. देवेन्द्रराज पाण्डेको नाममा शुरू गरिएको व्याख्यान–शृंखलाको पहिलो कार्यक्रममा विमोचन गरिएको थियो । त्यस दिनको उत्साहजनक सहभागिताले निकै आशावादी बनायो । मलाई लाग्छ, डा. देवेन्द्रराज पाण्डेको पुस्ताले वैचारिक जिम्मेवारी हामीलाई हस्तान्तरण गर्नुभयो । हाम्रो पुस्ताले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रयास गर्यो । अब त्यो जिम्मेवारी नयाँ पुस्ताको काँधमा पुगेको छ ।
सामाजिक न्यायका सवालमा सचेत, नयाँ सोच भएका युवा सक्रिय रूपमा अघि आइरहेको देख्दा खुशी लाग्छ । त्यसैले पुस्तकको विमोचन पनि नयाँ पुस्ताकै प्रतिनिधिहरूबाट गरायौं । हाम्रो उद्देश्य पुरानो र नयाँ पुस्ताबीच एउटा सेतु निर्माण गर्नु थियो ।
नयाँ पुस्ताको आफ्नै संसार, प्रविधि र चुनौती छन् । तर, त्यही संसारमा नागरिक चेत र सामाजिक न्यायप्रतिको प्रतिबद्धतासहित अघि बढिरहेको पुस्ता देख्दा आशावादी हुन्छु । अब हामीले पनि बिस्तारै पछाडि बसेर उहाँहरूलाई साथ र समर्थन गर्ने समय आएको छ।