डिजिटल माध्यमलाई जानीजानी महिलासहज नहुने गरी बढी विषाक्त बनाउने सचेत प्रयास भइरहेका छन् । प्राविधिक क्षेत्रका ठूला लगानीकर्ता र सञ्चालकहरूको सचेत प्रयासका कारण नै यस्तो भइरहेको एआई विज्ञ दोभान राईको अध्ययनको निचोड छ । उनी भन्छिन्– ‘अहिलेको सन्दर्भमा प्रविधिलाई शक्तिको सर्वोच्चता कायम गर्ने साधन बनाइँदै छ, यसलाई हतियारको रूपमा प्रयोग गरिंदै छ । यसको सैनिकीकरण भइरहेको छ।’ परम्परागत रूपमा सीमान्तकृत महिलाहरूमाथि एआई जस्ता अस्त्रले कसरी झन् बढी संगठित रूपमा आक्रमण गरिरहेकोछ, भन्ने बारेमा दोभान राईसँग हिमालखबरका निम्ति सुस्मिता सुब्बाले गरेको कुराकानीको सम्पादित अंश
लैंगिक तथा अल्पसंख्यक समुदायको एआईमा सहभागिता, प्रयोग र वैयक्तिक अधिकारमा कस्तो प्रभाव परेको छ ?
आधुनिक प्रविधि पुरुषप्रधान सोच, स्वामित्व र ‘टेक–ब्रो’ संस्कृतिमा केन्द्रित भएकाले यो केही हदसम्म महिलाद्वेषी देखिन्छ, जसले गर्दा महिलाहरू प्रविधिबाट अलग, चिन्तित र त्रसित महसूस गर्छन् । साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथमेटिक्स (स्टेम) अन्तर्गतका कम्प्युटर साइन्सजस्ता क्षेत्रमा महिलाको सहभागिता २५ प्रतिशत मात्र छ । आफ्नो भोगाइ र असुरक्षाका कारण उनीहरू प्रविधिको योजना, स्वामित्व, अंगीकार र प्रयोगमा पछि पर्दै सीमान्तकृत भएका छन् । यसबाहेक एआईमा गोपनीयताको समस्या, ‘डीप फेक’ को जोखिम र एलन मस्कको ‘ग्रोक’ जस्ता एपमा देखिने ‘न्युडिफिकेसन’ एवं लिंगभेदी अभिव्यक्तिले महिलाहरूलाई प्रविधिबाट अझ बढी टाढा धकेलेको छ ।
एआईले महिलाको विशेषता र स्वतन्त्रतालाई कसरी कमजोर बनाउँदै छ ?
टेक समुदायमा— विशेष गरी सिलिकन भ्यालीमा— एपहरू बढी ‘वोक’, नारीवादी र प्रगतिशील भए भन्ने गुनासा आइरहेकै हुन्थे । यसले गर्दा प्राविधिक क्षेत्रभित्र विरोधसमेत भइरहेको थियो । एलन मस्कले ट्वीटर (अहिलेको एक्स) खरीद गरेपछि महिला आवाज बुलन्द गर्ने र ‘अति नारीवादी’ भनिने उक्त प्लेटफर्म अहिले आएर चरम दक्षिणपन्थी विचार र महिलाहरूको ‘डीप फेक’ बनाउनेसम्मको अवस्थामा पुगेको छ ।
यो स्थिति हेर्दा महिलाका लागि प्राविधिक क्षेत्र जति उन्नत र उदार हुनुपर्ने थियो, अहिले आएर झन् संकुचित र सानो घेरामा खुम्चिंदै गइरहेको देखिन्छ । पुस्तान्तर अध्ययनलाई नै हेर्ने हो भने पनि जेन–जी पुरुष अघिल्लो पुस्ताका पुरुषभन्दा धेरै लिंगभेदी पाइएको तथ्यांकले देखाइसकेको छ । यसरी समग्र प्राविधिक क्षेत्र नै नारीवाद विरोधी धारतर्फ गइरहेको स्पष्ट देखिन्छ ।
यसको एउटा उदाहरण ‘बम्बल’ डेटिङ एप पनि हो, जहाँ महिलाहरूसँग पहिलो कदम चाल्ने ‘एजेन्सी’ हुन्थ्यो । तर, अहिले त्यसलाई एआईले प्रतिस्थापन गर्दै छ । यसले महिलाको एजेन्सी त खोस्ने नै भयो, तर यो महिला र पुरुष मात्र नभई समग्र मानवताकै लागि दुःखद पक्ष हो, जहाँ हाम्रा लागि एआईले नै निर्णय गरिरहेको छ ।
अहिलेको एल्गोरिदमले नै हाम्रा लागि वाञ्छनीय कुरा के हो, सम्बन्ध भनेको के हो, रोजाइ र सामीप्यता भनेको के हो भन्ने तय गर्दै छ । एआईले पहिले हाम्रो सोच्न सक्ने क्षमता र ध्यानलाई नियन्त्रण गरेको थियो भने अहिले यो मानवीय सामीप्यता र भावनातर्फ अघि बढ्दै छ । यस्तो अवस्थामा हामीले आफ्नो निर्णय गर्ने क्षमता गुमाउनु र एल्गोरिदम डिजाइन गर्नेहरूले त्यसलाई नियन्त्रणमा लिनु भनेको सबै लिंगका मानिस र समग्र मानवताकै लागि ठूलो पराजय हो ।
डिजिटल प्लेटफर्महरूले ‘महिला सशक्तीकरण’ कस्तो हुनुपर्छ भन्ने कुरा कसरी तय गर्छन् ?
म पहिले डिजिटल माध्यममा सबैको स्तर एउटै हुन्छ भनेर कल्पना गर्थें। तर, दुःखको कुरा— डिजिटल माध्यमलाई जानीजानी महिलासहज नहुने गरी बढी विषाक्त बनाउने सचेत प्रयास भइरहेका छन् । यसकै कारण डिजिटल क्षेत्रमा भइरहेको खाडल कम गराउनुको सट्टा झन् बढाउँदै लगिएको छ । प्राविधिक क्षेत्रका ठूला लगानीकर्ता र सञ्चालकहरूको सचेत प्रयास नै यसको पछाडि छ । अहिलेको सन्दर्भमा प्रविधिलाई शक्तिको सर्वोच्चता कायम गर्ने साधन बनाइँदै छ, यसलाई हतियारको रूपमा प्रयोग गरिंदै छ । यसको सैनिकीकरण भइरहेको छ ।
एआईको क्षेत्रमा पनि ठ्याक्कै यही भइरहेको छ । जसले एआईको दौड जित्छ, उसैले विश्व जित्छ भन्ने जस्तो मानसिकता बनेको छ । सारा पैसा र अनुसन्धान यसैमा खन्याइँदै छ । पहिले डिजिटल सुरक्षा र नैतिकताका कुरा हुन्थे । अहिले त्यसका लागि दिइने बजेट र नियमलाई पाखा लगाएर जसरी भए पनि एआईको दौडमा दौडिनुपर्छ भन्ने होडबाजी देखिएको छ ।
जब समाज यसरी सैनिकीकरणतर्फ जान्छ र शक्ति–केन्द्रित हुन्छ, तब सीमान्तकृत समुदाय र उनीहरूका सवालका प्राथमिकता झन् तल खस्किंदै जान्छ । यस हिसाबले हेर्दा अहिले हामीले समाजमा एउटा डरलाग्दो शक्ति सन्तुलनको फेरबदल देखिरहेका छौं।
के एआईको प्रयोगले आगामी दिनमा लैंगिकअसमानता अझै निम्त्याउला ?
पहिलो— डिजिटल विभेद नै हुन्छ । यो डिजिटल उपकरणप्रतिको पहुँच मात्र होइन, प्रविधिप्रतिको निपुणता, आत्मविश्वास, स्वनिर्णय क्षमता र स्वामित्व भावको पनि कुरा आउँछ होला । एकातिर, महिलाहरू एआईबाट अलग्गिएको महसूस गर्छन् भने अर्कोतिर, नैतिक चिन्ता पनि जाहेर गर्छन् । एआईको वातावरणीय प्रभाव र नैतिक चिन्ताको कुरा छ; सामान्यतया महिलाहरू नैतिक चिन्ताप्रति धेरै सचेत छन् । यसलाई धेरै आलोचनात्मक र सावधानीपूर्वक हेरिरहेका छन् । एआई पनि एउटा शक्तिको माध्यम भइसकेको छ । जो नैतिक रूपमा सचेत छन्, उनीहरू एआईको होडबाजीबाट टाढा बस्ने र जो नैतिक रूपमा सचेत छैनन्, त्यस्ता मानिस शक्तिको गाडीमा अगाडि–अगाडि बढ्ने हो भने त्यसले डिजिटल विभेद मात्र होइन, सापेक्षिक क्षमता र निर्णय लिन सक्ने सामर्थ्य कम हुँदै जान्छ । नैतिक चेतना भएको समूह पछि पर्ने र यसले गर्दा विश्वभर मानवताको भविष्य चिन्ताजनक हुन्छ ।
त्यसैले म सधैं जोड दिन्छु— प्रविधिलाई अस्वीकार गर्ने होइन, यस्तो खालको प्रविधिलाई प्रतिरोध गर्नुपर्छ । प्रतिरोध हुनुपर्यो, सँगसँगै वैकल्पिक प्रविधिको पनि हामीसँग दृष्टिकोण वा परिकल्पना हुनुपर्यो । दुवै दौड सँगै गर्नुपर्ने छ किनभने अहिलेको दूषित प्रविधिको संसारमा सान्दर्भिक हुनका लागि पछि–पछि कुदेर मात्र पनि भएन । पूरै बहिष्कार गर्दा पनि तपाईं पछि पर्नुहुन्छ । सही दृष्टिकोण भनेको गलत प्रविधिको प्रतिरोध गर्ने तर सही प्रविधिको परिकल्पना पनि गर्ने हो । त्यसैले जसलाई हामी नैतिक प्रविधि र नारीवादी प्रविधि भन्छौं, यस्तोमा हाम्रो सामूहिक स्रोत लगाउनु पर्छ ।
लैंगिक असमानता रहेको समाजमा एआईको बढ्दो प्रभाव वा प्रचलनले के असर गर्ला ?
एआईलगायत प्रत्येक प्रविधिले अवसर र जोखिम सँगसँगै ल्याएको हुन्छ । तर, अहिले अवसरभन्दा जोखिम बढी देखिएको छ ।
लैंगिक असमानताभन्दा पनि वर्गको कुरा गर्ने हो भने जोसँग अंग्रेजी भाषाको निपुणता छ, तिनले सधैं फाइदा लिन सक्छन् । यद्यपि, दुर्गम गाउँका नेपाली माध्यमका विद्यालयमा पढेका जसको अंग्रेजी भाषा कमजोर छ, तिनीहरू अवसरबाट वञ्चित हुन्छन् । यसले समाजमा ठूलो प्राविधिक खाडल सिर्जना गर्छ । तर, एआईले सीप र भाषा सिक्नका लागि सजिलो बनाइदिएको छ । ज्ञान र सूचनामाथिको पहुँचलाई बढाइदिएको छ । समाजमा वर्गीय र लैंगिक खाडल छ । तर, विभिन्न कारणले गर्दा एआई प्रविधिमा जुन लैंगिक विभेद वा खाडल छ, म यसलाई पूर्ण रूपमा नकारात्मक दृष्टिकोणले मात्र हेर्न चाहन्नँ किनभने एआईमाथिको अति–निर्भरताले सधैं राम्रो गर्छ भन्ने पनि छैन । एआईमा धेरै निर्भर हुने तर यसको प्रयोगमा निपुण नहुँदा निश्चित रूपमा केही घाटा हुन सक्छ । तर, दीर्घकालीन रूपमा म यसमा नकारात्मकता मात्र देख्दिनँ । एआईमाथिको एकोहोरो निर्भरताबाट टाढा रहनु, यसलाई आलोचनात्मक रूपमा केलाउनु र सावधानीपूर्वक प्रयोग गर्नु आवश्यक छ । यसो गर्दा सहजता र कार्यकुशलताका हिसाबले केही पछि परिए पनि यसको आफ्नै महत्त्व र फाइदा छ ।
एआईले नेपाली समाजमा व्याप्त लैंगिक पूर्वाग्रहलाई भविष्यमा बढाउँला या सामान्यीकरण गर्ला ?
एआईले वास्तविक संसारकै तथ्यांकको आधारमा काम गर्ने हो । एआईलाई ‘डाक्टर’ को चित्र वा विवरण माग्दा एउटा गोरा पुरुषलाई देखाउने अनि कुनै निश्चित पेशाको बारेमा सोध्दा गहुँगोरो वर्णकी महिलालाई देखाउने जस्तो पूर्वाग्रह हामीले देख्दै आएका छौं । यसले निश्चित जात र निश्चित लिंगको मान्छेलाई मात्र देखाउँछ; अर्थात् समाजमा जे अवस्थित छ, त्यसैलाई प्रस्तुत गर्छ । एआईले समाजमा भइरहेको यस पूर्वाग्रहलाई एउटा निरन्तर चक्रमा ढालेर अझ बढाउन सक्छ ।
हामीले पाठ्यक्रम बनाउँदा मानवीय निगरानी वा सचेतता राख्छौं। समाजमा पूर्वाग्रह छ भन्ने थाहा पाएर हामी जानीजानी विद्यालयको पाठ्यक्रममा एउटा महिला प्रधानमन्त्रीको पात्र सिर्जना गरिदिन्छौं । त्यस पूर्वाग्रहलाई हटाउन हामी सोचविचार गरेरै सुधारात्मक कदम चाल्छौं । तर, एआईले त्यही पूर्वाग्रहलाई मात्र प्रतिविम्बित गरिरह्यो भने उसले त्यही पुराना सूचना मात्र दिइरहन्छ । त्यो सूचना पुनः प्रयोग र थप सुदृढ भएर चक्रका रूपमा फर्किरहन्छ ।
यस चक्रले निम्त्याउने अर्को ठूलो खतरा के हो भने ‘एआईले भनेपछि त यो साँचो नै होला’ भन्ने भ्रम पर्न जान्छ । हाम्रो समाजमा व्याप्त लैंगिक पूर्वाग्रह जब एआईको माध्यमबाट डिजिटल स्वरूपमा आउँछ, तब मानिसले ‘यही नै अकाट्य सत्य हो, यही नै यथार्थ हो’ भन्ठान्छन् र त्यस्ता पूर्वाग्रहमाथि कुनै प्रश्न नै उठाउँदैनन् । यिनै कारणले गर्दा यो विभेद र पूर्वाग्रह झन् बढ्दै जाने, कडा हुँदै जाने र संरचनात्मक रूपमै अझ गहिरो गरी जरा गाड्ने एकदमै डर छ ।
समाजमा व्याप्त असमानता र लैंगिक विभेदलाई सम्बोधन गर्न एआईको कसरी सदुपयोग गर्ने ?
अहिलेको प्रविधि अत्यन्तै विशाल र सर्वव्यापी भएर गएको छ । विशेष गरी एआई प्रविधि र सामाजिक सञ्जालका माध्यमलाई धेरै पूँजी लगानी र दक्ष जनशक्ति आवश्यक पर्छ । यस्तो अवस्थामा यो कुनै एउटा व्यक्तिले मात्र चाहेर गर्न सक्ने कुरा होइन । त्यसैले मलाई के लाग्छ भने यसका लागि विभिन्न संस्थाबीच बलियो क्षेत्रीय र विश्वव्यापी सहकार्य आवश्यक छ ।
जलवायु परिवर्तन व्यक्तिगत तह, सामुदायिक तह, संस्थागत तह, सरकारी तह र विभिन्न सरकारबीचको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा समेत हस्तक्षेप आवश्यक पर्ने विषय हो । जसरी अहिलेको यो प्रविधिले संकट निम्त्याइरहेको छ, त्यसको सामना गर्न पनि यही स्तरको ठूलो सहकार्य चाहिन्छ ।
यसका लागि सामान्य रूपमा यदि तपाईं प्रविधिको शिक्षक हुनुहुन्छ भने आफ्नै ठाउँबाट योगदान दिन सक्नुहुन्छ । जस्तै: नारीवादी सिद्धान्तलाई बढाएर, महिला वा सीमान्तकृत विद्यार्थीलाई प्रोत्साहित गरेर वा कक्षाकोठामा पढाउँदा समावेशी उदाहरण दिएर विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ । यदि तपाईं कुनै प्रविधि कम्पनीमा काम गर्नुहुन्छ भने आफ्नो टोलीलाई कसरी बढीभन्दा बढी समावेशी र विविध बनाउने भनेर सोच्न सक्नुहुन्छ ।
तर, व्यक्तिगत तहका यस्ता प्रयासले मात्र पुग्दैन । साना प्रयासको आफ्नै महत्त्व त हुन्छ । तर, ती मात्र पर्याप्त हुँदैनन् । त्यसका लागि सरकारले पनि सोहीअनुसारको उपयुक्त नीति ल्याउनुपर्छ । साथै, क्षेत्रीय र विश्वव्यापी सहकार्यका लागि संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय संस्थाले पनि यस्ता विषयलाई साझा मञ्च प्रदान गर्नुपर्छ । यो एउटा अत्यन्तै जटिल समस्या हो र यसका लागि त्यस्तै प्रकारको समग्र समाधानको आवश्यकता पर्छ ।