सुरेश भट्टराई
नियत सफा छ भने जुनसुकै विधिबाट कर्मठ व्यक्ति आउँछन्, नियतमै खोट छ भने जुनसुकै विधिबाट आफ्ना मान्छे भित्र्याइन्छन् । विधिको नाम ‘खोज’ कि ‘छनोट’ भन्नेमा अल्झिरहनुको खासै अर्थ छैन । उपकुलपति छनोट कुनै एक पदको नियुक्ति मात्र होइन, यो आउँदो पुस्ताले देशमा बस्ने कि नबस्ने भन्ने प्रश्नसँग प्रत्यक्ष जोडिएको विषय हो ।
नेपाल विश्वविद्यालयबाहेक देशका प्रायः विश्वविद्यालय र प्रतिष्ठान एकै पटक नेतृत्वविहीन बनेका छन् । खुला प्रतिस्पर्धा विधिबाटै त्रिभुवन विश्वविद्यालयसमेतका लागि उपकुलपति छनोट प्रक्रिया अगाडि बढेको छ । यो खबर सतहमा प्रशासनिक देखिए पनि देशको भविष्यसँग गाँसिएको निर्णायक अवस्था हो ।
उपकुलपति छनोट कुनै एक पदको नियुक्ति मात्र होइन, यो आउँदो पुस्ताले देशमा बस्ने कि नबस्ने भन्ने प्रश्नसँग प्रत्यक्ष जोडिएको विषय हो । सन् २००७ देखि खगोल विज्ञानमार्फत हजारौं युवासँग काम गर्दा मैले देखेको छु, हाम्रा युवामा प्रतिभाको कमी छैन; कमी छ त भरोसा दिने र देशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने संस्थाहरूको । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण संस्था विश्वविद्यालयहरू हुन् । सुधार र रूपान्तरणको संवेदनशील घडीमा विश्वविद्यालय हाँक्न सबैभन्दा उपयुक्त त्यही व्यक्ति हुन्छ, जसले शिक्षा, सेवा र अनुसन्धानको क्रममा प्रणालीभित्र र बाहिर दुवै देखेको हुन्छ । नेपाल र विदेश दुवै देखेभोगेका र नेपालमा केही हुँदैन भन्ने आवाजबीच पनि यहीं बसेर समाज बदल्न काम गरिरहेकाहरूलाई सबै नेपालीको साथ चाहिएको छ ।
पहिलो— देशका झण्डै असी प्रतिशत उच्च शिक्षाका विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत छन् । यति ठूलो मानव संसाधन उत्पादक संस्था निमित्तहरूको हातमा रहँदा नीतिगत र दूरगामी निर्णय रोकिन्छन् । नयाँ कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी, पूर्वाधार लगानी सबै अड्किन्छन् । शैक्षिक सत्र र आर्थिक वर्ष शुरू हुने यस घडीमा त्यसको असर लाखौं विद्यार्थीको परीक्षा, दीक्षान्त र भविष्यमा सोझै पर्छ । पुनर्निर्माण कुनै चमत्कारले रातारात हुने काम होइन । त्यसैले रिक्तता जति लम्बिन्छ, सुधार त्यति महँगो हुँदै जान्छ ।
दोस्रो— विगत तीन दशकको अभ्यासले देखाएको छ कि दल र गुटका ढोका चहारेर नेतृत्व हत्याउने प्रवृत्तिले विश्वविद्यालयलाई भित्रबाटै खोक्रो बनायो । विभाग हत्याउनेले विभाग, क्याम्पस हत्याउनेले क्याम्पस, परीक्षा नियन्त्रकले परीक्षा, रजिष्ट्रारले आर्थिक–प्रशासन र उपकुलपतिले समग्र नीति–थिति हरेक तह कब्जा गर्दै विश्वविद्यालयको अस्थिपञ्जर मात्रै बाँकी राखे। यसको प्रमाण विश्वविद्यालयहरूको टिठलाग्दो हविगत आफैमा छ । त्यसैले मूल्यांकनमा सबैभन्दा आलोचित बनेको पदाधिकारीय अनुभवको आकर्षक अंकभार वास्तवमा धेरै हदसम्म दलगत आबद्धता र असक्षमताकै मापन बनेको छ । अनुभवलाई योग्यता मान्दा यिनै असफल पात्रहरू फेरि शीर्षमा पुग्ने जोखिम रहन्छ ।
तेस्रो— यो दुरवस्था योग्य व्यक्तित्वको अभावले होइन, तिनलाई खोज्ने आँखा र सम्मान गर्ने हृदयको अभावले सिर्जना भएको हो । त्रिविमै यस्ता प्राध्यापकहरूको धेरै संख्या छ, जसले संसारका प्रतिष्ठित विश्वविद्यालयसँग सहकार्यात्मक अनुसन्धानको नेतृत्व गरेका छन् र कल्पनै गर्न नसकिने अभावका बावजूद विश्व प्राज्ञिक मञ्चमा हैसियत बनाएका छन् । यिनै व्यक्तित्व त्रिविका मेरुदण्ड हुन्, जुन दिन यस मेरुदण्डको मन फाट्छ, त्यो दिन विश्वविद्यालयको आत्माले समेत घर छाड्छ । विदेशमा रहेका हाम्रा उत्कृष्ट युवालाई फर्काउन सक्ने सम्पर्क र भरोसा पनि यिनैसँग छ किनभने युवाले पद होइन, भरोसा खोज्छन् ।
चौथो— अवमूल्यनको विरोधाभासले प्रतिभा–पलायनलाई संस्थागत बनाएको छ । भरभराउँदो उमेरमा सम्पूर्ण सुविधा त्यागेर देशमै बस्छु भनी फर्केकालाई राज्यले अवमूल्यन गर्छ र देशलाई अवमूल्यन गरेर विदेशमै रमाएकालाई उच्च खातिरदारी गर्छ । यसले युवालाई यहाँ केही हुँदैन भन्ने निष्कर्षतर्फ धकेल्छ । विश्वविद्यालयको नेतृत्व सही हातमा पुग्नु यो प्रवृत्ति उल्ट्याउने पहिलो कदम हुनेछ ।
यहाँ विपक्षी तर्क पनि सुनिन्छ— समानतावादी समाजमा राज्यले सबैलाई समान अवसर दिनुपर्छ । त्यसैले विदेशमा बसेका वा फर्केर सेवा गर्न चाहने जोकोहीले पनि खुला प्रतिस्पर्धामा आउन पाउनु पर्छ । म यस भावनाको आदर गर्छु, विदेशमा रहेका विद्वानहरू नराम्रा वा अवाञ्छित होइनन्; उनीहरूको ज्ञान र देशप्रेम मूल्यवान् छ । तर, समान अवसर र उपयुक्ततालाई गोलमटोल पार्नु हुँदैन । दैनिक रूपमा यहाँको समाज, विश्वविद्यालयको भित्री बेथिति र मनोविज्ञानसँग जुधेर आर्जिएको भुइँतहको ज्ञान टाढा बसेर पाइँदैन र संकटको शल्यक्रिया गर्ने बेला यही ज्ञान सबैभन्दा निर्णायक हुन्छ । विवरणमा उपकुलपति थपिहालौं— अन्त कतै काम लाग्ला भन्ने ध्येयले मात्र आउनु र आत्मा साँचेर सेवा गर्न आउनुबीचको भिन्नता प्रक्रियाले छुट्याउनै पर्छ ।
अर्को आलोचना छ— यो प्रक्रिया योग्यहरूलाई पन्छाउने चाल हो र अग्रसर हुनेहरू सबै पदलोलुप हुन्, यो भाष्य खतरनाक छ । नियत सफा छ भने जुनसुकै विधिबाट कर्मठ व्यक्ति आउँछन्, नियतमै खोट छ भने जुनसुकै विधिबाट आफ्ना मान्छे भित्र्याइन्छन् । विधिको नाम ‘खोज’ कि ‘छनोट’ भन्नेमा अल्झिरहनुको खासै अर्थ छैन । बरु सबैलाई पदलोलुप भन्ने भाष्यले आउने नेतृत्वको सामाजिक स्वीकार्यता धुमिलो पार्छ र मनोवैज्ञानिक रूपमै कमजोर बनाउँछ । वैज्ञानिक समुदायमा हामी भन्छौं— नतिजा जति राम्रो भए पनि विधि पारदर्शी छैन भने भरपर्दो हुँदैन । विधि पारदर्शी भए मात्र असल नतिजा टिक्छ ।
त्यसैले समाधान पनि प्रष्ट छ । एक— छनोट समितिले आफ्नो नियत र प्रक्रियामा खोट छैन भन्ने खरो रूपमा प्रमाणित गरोस् । आवेदन, मूल्यांकन र अन्तिम छनोटका आधार सार्वजनिक र अभिलेखयोग्य बनाओस् । दुई— मूल्यांकन ढाँचामा रहेको पदाधिकारीय अनुभवको अंकभार पुनरावलोकन गरी प्राज्ञिक उत्कृष्टता, अनुसन्धान नेतृत्व र संस्थागत योगदानलाई केन्द्रमा राखियोस् । तीन— दलगत कब्जाको इतिहास बोकेका असफल पात्रहरूलाई किन्तु–परन्तु नभनी अलग राखेर बाँकी समान विषय विज्ञहरूबाट नेतृत्व खोजियोस् । चार— भुइँतहको ज्ञान र वैश्विक अनुभव दुवै भएका, नेपालमै योगदान गरिरहेका व्यक्तित्वलाई प्राथमिकतामा राख्ने स्पष्ट मापदण्ड बनाइयोस् ।
अन्ततः हामीलाई देशको मेरुदण्ड त्रिभुवन विश्वविद्यालयमा सकारात्मक परिवर्तन ल्याउने दूरदृष्टि र जोशिलो नेतृत्व चाहिएको छ । यस्तो नेतृत्व जसले हाम्रा स्नातकलाई समाज, देश र विश्वका लागि समान रूपमा तयार पारोस् ताकि, उनीहरू कुनै पनि क्षेत्रमा अक्षम नठहरिउन्, बरु आफ्नै समाज र मानवतासँग जोडिएर नेपालबाटै विश्व–कल्याणमा योगदान गर्न सकून् । प्रश्न एउटै हो— हामीले युवालाई देशमै बस, यहीं केही गर्न सकिन्छ भन्ने भरोसा दिन सक्छौं कि सक्दैनौं ? नेतृत्व सही हातमा पुग्यो भने त्यो भरोसा जाग्छ । त्यसैले यो छनोट महत्त्वपूर्ण छ; एक पदका लागि होइन, पुस्ताका लागि ।
(भट्टराई नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष हुन् ।)