लामो समयसम्म पुरुष ‘नायक’ का असाधारण यात्राले भरिएको नेपाली कथावाचन अहिले साधारण देखिने महिलाका जीवन–संघर्षतर्फ मोडिन थालेको छ । ‘उर्लँदो नदीसरि : महिला र परिवर्तनका कथाहरू’ पुस्तक र सोही नामको कला प्रदर्शनीले यस्तै परिवर्तनको संकेत गरेको छ ।
अधिकांश नेपालीले पृथ्वीनारायण शाहको राज्यविस्तारको कथा सुनेका वा पढेका हुन्छन् । कति नेपाली महाभारतमा वर्णित सत्य र असत्यबीच भएको भनिने कुरूक्षेत्रको युद्धकथा सुनेर हुर्केका हुन्छन् । कतिले बुद्धको बुद्धत्त्व प्राप्तिबारे त, कतिले मनुष्य जातिको ‘पाप’का लागि येशुले गरेका त्याग र कतिले कुरानमा भएका नैतिकता र न्यायको कथा सुन्दै हुर्केका हुन्छन् ।
असाधारण व्यक्तिका असाधारण वा अद्भुत यात्राको बारेमा हुने ती सबै कथामा मुख्य पात्र प्रायः पुरूष नै हुने गर्छन् । यिनै शौर्यको कथावाचन सुन्दै हुर्किएको नेपाली समाजको मनोविज्ञान पनि सोहीअनुसार निर्माण भएको हुन्छ ।
काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिकाकी ३५ वर्षीया पिप्लामाया सार्कीको बुझाइ पनि त्यही थियो । तर, बनेपामा गत जेठ १९ देखि २१ सम्म भएको ‘उर्लँदो नदीसरी’ को कला प्रदर्शनीमा गएपछि आफ्नो बुझाइ बदलिएको पिप्लाको अनुभव छ । आफूजस्तो देखिने १० महिलाका कथा प्रदर्शनीमा देख्ने अवसर पाउँदा उनलाई आफ्नै संघर्षका यात्रा याद आयो ।
“कुनै साथीको संघर्ष मेरोभन्दा बढी थियो, कुनै साथीको मेरोभन्दा कम । तर, ती कथाले मलाई आफ्नै यात्रालाई फर्केर हेर्ने, गम्ने मौका दियो,” पिप्ला बताउँछिन् । पिप्ला महाभारत गाँउपालिका–४ की वडासदस्य पनि हुन् ।
पछिल्लो समय नेपाली साहित्यमा कथाको परिभाषा बदलिँदै छ । महिलाका साधारण कथा किताबका पानादेखि पर्दासम्म आइरहेका छन् । कथा असाधारण व्यक्तिका मात्रै हुन्छन् भन्ने बनिबनाउ धारणा चिर्दै अहिले नेपाली कथामा साधारण देखिने महिलालाई केन्द्रमा ल्याउन थालिएको छ । बनेपा कला प्रदर्शनी त्यही अभ्यासको पछिल्लो कडी थियो ।
भर्खरै प्रदर्शन भएका चलचित्र सेप अफ मःम र ‘एक मुठ्ठी बादल’ जस्ता चलचित्र साधारण महिलाका कथा हुन्, जसका निर्देशक पनि महिला नै हुन् । यी चलचित्रमा कोही विशेष ‘हिरो’ र ‘भिलेन’ छैन, व्यापारिक चलचित्रमा हुने तडकभडक कथावस्तु छैन, छ त बस्— महिला पात्रलाई नजिकबाट नियाल्न र बुझ्न गरिएको प्रयत्न र महिला दृष्टिकोण ।
हुन त यसभन्दा पहिले महिलाको कथा भन्दै नभनिएको–लेख्दै नलेखिएको–देख्दै नदेखिएको होइन । साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’ की इन्द्रमायाको कथा होस् या नेपालमै निर्मित पहिलो नेपाली चलचित्र हीरासिंह खत्रीको ‘आमा’ होस् या हाल प्रदर्शनरत यम थापाको चलचित्र ‘लालीबजार’ होस्— कथा महिला पात्रकै वरपर घुम्दछ । तर, यी कथा पुरूषको दृष्टिकोणबाट बताइएको महिलाका कथा हुन् ।
अचेल महिलाद्वारा महिलाका कथा भनिनुपर्छ भन्ने मनसाय बढ्दो छ । त्यस्तै मनसाय लिएर सृजनालय, यूएन वुमन र सूयोमी फिनल्याण्डको संयोजकत्वमा हालै प्रकाशित गरिएको किताब ‘उर्लँदो नदीसरी : महिला र परिवर्तनका कथाहरू’ र सोही नाममा गरिएको खुला प्रदर्शनीले साधारण महिला सफलताका कथालाई केन्द्रमा ल्याएको हो । यो प्रदर्शनी र किताब निर्माणमा महिला संख्या बढी भएको टोलीले काम गरेको छ । प्रदर्शनीमा किताबकै पात्रहरूको सारांश र चित्रकला राखिएको थियो । कथा पढ्न पुस्तक राखिएको थियो भने कथा सुन्नका लागि ‘हेडफोन’ सहितको श्रव्यसामग्रीको व्यवस्था गरिएको थियो । कुनै कथा एनिमेटेड चलचित्रका रूपमा पनि तयार गरिएको थियो । साथै, कलाकारहरूले महिलाका सीप, ज्ञान, श्रम, दैनिक संघर्ष र नेतृत्व झल्काउने खालका चित्रकला पनि प्रदर्शन गरेका थिए ।
बनेपाको खुला प्रदर्शनी 'उर्लँदो नदीसरी'मा सहभागी महिलाहरू । तस्वीर: पिंकी श्रीस राना
“यी कथाहरू हेरेर संघर्ष गर्न थप प्रोत्साहन मिलेको छ । संघर्षले नै सफलता मिल्दो रहेछ भन्ने आफ्नो जीवनभोगाइले सिकाएकै थियो, अरूको कथामा पनि त्यही देख्दा संघर्षबिना सफलता पाइँदैन भन्ने पुष्टि हुन्छ,” पिप्ला बताउँछिन् ।
यस प्रदर्शनीमार्फत उनले विशेष गरेर ‘पछाडि पारिएको महिलाका’ कथालाई दिएको स्थान कति जरूरी रहेछ भन्ने बुझेको सुनाइन् ।
नेपाली समाजमा भेटिने फूलोदेवी र म्हेन्दोजस्ता हजुरआमा, लिलियाजस्ता नयाँ बुहारी, कृपाजस्ता एकल महिला, दृष्टि गुम्दै गरेकी महिमा, पूर्वमाओवादी सन्जना, फरक लैङ्गिक तथा यौनिक पहिचान बोकेकी मनकुमारी, वादी समुदायकी शान्तिजस्ता पात्रमार्फत समाजमा देखिने–सुनिने महिलाहरूको कथा प्रस्तुत गरिएको छ। मधेशी, मुस्लिम, आदिवासी र दलित समुदाय सबैको कथालाई यस किताबमा समेटिएका १० कथाले बोल्दछन् ।
दलित समुदाय भएकै कारण पिप्लाले महाभारत गाउँपालिका–४ मा वडा सदस्य हुन गरेको संघर्ष र समाजले थपेको चुनौतीका लम्बेतान भोगाइ छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य पदका लागि नाम दिँदा श्रीमान्को साथ पाएकी पिप्लाले पछि चारित्रिक लान्छनाको भारी बोक्नु पऱ्यो । उनी त्यसबेलाको संघर्ष सुनाउँदै भन्छिन्, “चुनाव प्रचार–प्रसारमा लाग्न थालेपछि मेरो बारेमा भ्रम फैलाउन थालियो । श्रीमान्लाई भड्काउन थालियो । समाजका केही नकारात्मक सोच भएकाले आफ्नी श्रीमतीलाई जिताउन मेरो श्रीमान्लाई मेरै विरूद्ध उचाले तर पनि म चुनाव लडेँ । सबैतिरबाट एक्लो भए पनि १३ वर्षीया मेरी छोरीले भने साथ दिइन् । उनले नै घरका काम सघाएर मेरो हौसला बढाइन् । आज स्थानीय तहमा महिला, विशेष गरेर दलित महिलाका लागि आवाज उठाउँदै आएकी छु ।”
उनले प्रदर्शनीको पहिलो दिन यही कथा उपस्थित सहभागीहरूलाई सुनाएकी थिइन् ।
“हामी यसरी नै कथाको निरन्तरता होस् भन्ने चाहन्छौं । हामीले १० जना महिलाको प्रतिनिधि कथा मात्र किताबमा उतार्न सक्यौं । हजारौं महिलाले संघर्ष गरेर सफलताका कथा कोरेका छन् । यसैगरी उनीहरूको कथाले पनि ठाउँ पाओस् भन्ने हाम्रो चाहाना हो,” सृजनालयकी निर्देशक र परियोजना प्रमुख श्याररे वज्राचार्य बताउँछिन् ।
सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती गरेर चार प्रदेशका सयभन्दा बढी महिलासँग कुराकानी गरेपछि यी १० महिलाका कथा छानेर आख्यानमा परिवर्तन गरिएको हो । “आख्यानको विधाले उमेर, पृष्ठभूमि, सन्दर्भ र भौगोलिक भोगाइ उस्तै रहेका अन्य महिलाबाट उनीहरूका विशेषता र जीवन घटना सापटी लिएर एउटी महिला पात्र सिर्जना गर्न सघाएको छ,” सृजनालयको वक्तव्यमा लेखिएको छ ।
ठेट शब्दावली र विभिन्न समुदायका महिलाले गर्ने पहिरनको चित्रणले पनि आख्यानले सिर्जना गरेको संसारमा हाम्रो समाजको समतामूलक प्रतिनिधित्व इमानदारीपूर्वक गर्न खोजेको देखिन्छ । “हाम्रो उदार लोकतन्त्र समाजमा समतामूलक कथाहरूको कमी छ । हामीले त्यस्ता सामग्री न नेपालको राजनीति शास्त्रमा पाउँछौं, न त शिक्षा क्षेत्रमा । समाज बुझ्नका लागि अन्तर्सम्बद्धता भएका लैंगिक कथाहरू आवश्यक छ । यस्ता कथाहरूले उन्नत समाजको संकेत गर्छ,” महिलावादी समाजशास्त्री मीना पौडेल बताउँछिन् ।
पौडेल कथा कसले भनिरहेको छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण रहेको टिप्पणी गर्छिन् । “महिलाका सफलताका कथा, असफलताका कथा, आँसुका कथा र व्यथा आइराख्दा यी कथा कसले लेखिरहेको छ भन्ने प्रश्न उठ्छ । कथामा कुन भाग हाल्ने–नहाल्ने कसले निर्णय गर्छ, भाषा के राम्रो सुनिन्छ भन्ने आधारमा कथा लेख्ने–नलेख्ने निर्णय र कथामा लेखक कतिको हाबी हुने–नहुने विषयमा सोच्न आवश्यक हुन्छ ।”
‘उर्लँदो नदीसरी’ किताब साधारण महिलाका कथा भए पनि यी कथा तिनै समुदायका महिलाले नभई पेशागत महिला लेखकले लेखेका हुन् । यस किताबका हरेक कथालाई जसरी उतारिएको छ, पौडेलले उठाएको विषयलाई लेखक टोलीले पहिले नै आत्मसात गरेको महसुस हुन्छ । पौडेल यस्ता कथाका साथै समुदायका महिलाले पनि लेखेको कथा आउनुपर्ने बताउँछिन् ।
प्रदर्शनीमा राखिएका बाँसनिर्मित चित्रहरू ।
आख्यानमा आउने मुख्य पात्रको परिभाषा सँगसँगै यस प्रदर्शनीले कलाको परिभाषालाई पनि परिवर्तन गर्न सघाएको छ । महिलाका सीप र संस्कृति प्रयोग गरेर बोरा र कपडामा सिलाइ–बुनाइ गरेर बनाइएका चित्र र बाँसको चोया र ढुङ्गामा कोरिएका चित्रले पनि महिलामा हुने कलामाथि प्रकाश पार्छ ।
“सिलाइ बुनाइको सीपलाई पनि यति सिर्जनात्मक रूपमा प्रयोग गर्न सकिँदो रहेछ भनेर आज देखेँ,” ३५ वर्षीया रेश्मा बोगटीले प्रदर्शन हेर्दै बताइन् । पछिल्लो ५ वर्षसम्म सक्रिय रूपमा सिलाइ गर्दै आयआर्जन गरिरहेकी बोगटीले प्रदर्शनी र किताबले आफू र आफूजस्ता महिलाको सम्मानपूर्ण प्रतिनिधित्व गरेको टिप्पणी दिन्छिन् ।
आयोजकको भनाइमा बनेपाको प्रदर्शनीलाई छठ पर्वपछि सामुदायिक स्तरमा सर्लाही, सुर्खेत र कैलालीमा लगिनेछ । जुन महिलाका कथाबाट किताब र प्रदर्शनीले प्रेरणा लिएको छ, त्यही महिलासम्म यी कथाहरू पुऱ्याउने जमर्काे रहेको वज्राचार्य बताउँछिन् ।
पहिलो पटक कला प्रदर्शनीमा सहभागी भएकी पिप्ला थप्छिन्, “यो मेरो पहिलो अनुभव थियो । सम्भव भए त यो प्रदर्शनी महाभारत गाउँपालिकासँगै अरू गाउँपालिकाको टोलटोलमा देखाउन पाए हुन्थ्यो । समाजका नकारात्मक सोचाइ चिर्न र फराकिलो हुन–सिकाउन यस्ता कथा र प्रदर्शनी हुनुपर्ने रहेछ ।”