सामाजिक सञ्जालमा देखिएका कुरा सबै सत्य हुँदैन । फेसबुक, टिकटक र युट्युबजस्ता प्ल्याटफर्मले नाफाका लागि हामीलाई अल्झाइराख्ने सामग्री मात्र देखाउँछन्, जसलाई प्रविधिको भाषामा ‘अल्गोरिदम’ भनिन्छ । आज यही अल्गोरिदमका कारण समाजमा ध्रुवीकरण र असहिष्णुता बढेको छ भने पैसा र प्रविधिको बलमा रातारात कृत्रिम भाष्य निर्माण गरेर मानिसहरूलाई भ्रममा राख्ने खेल भइरहेको छ । नेपालको पछिल्लो राजनीतिमा नयाँ शक्तिको उदय, सुकुम्बासी बस्तीमा डोजर चलाउँदा त्यसलाई भाइरल बनाएर पीडामाथि हाँस्ने क्रूर मानसिकता, भुइँमान्छेका मुद्दा ओझेलमा पर्नु र महिलाहरूमाथि डिजिटल हिंसा बढ्नुका पछाडि पनि यही सामाजिक सञ्जालको अदृश्य जालोले काम गरिरहेको ठानिन्छ । सामाजिक सञ्जालको यही व्यापारिक चक्र, यसले राजनीति र हाम्रो विवेकमा पारेको प्रभाव र यसबाट बच्न नागरिकमा हुनुपर्ने आलोचनात्मक चेतमाथि सार्वजनिक वृत्तमा बोल्दै आएकी एआई विज्ञ तथा ‘बडी एण्ड डेटा’ का कार्यकारी निर्देशक दोभान राईसँग हिमालखबरका लागि मेनुका छन्त्यालले गरेको कुराकानीको सम्पादित अंश :
अहिलेको चर्चित शब्द ‘अल्गोरिदम’ को अर्थलाई सजिलो भाषामा बताइदिनुस् न ।
अल्गोरिदम कम्प्युटर विज्ञानको एउटा आधारभूत शब्द हो । कुनै पनि समस्यालाई विधिवत् रूपमा समाधान गर्ने विधिलाई अल्गोरिदम भनिन्छ । अल्गोरिदम भन्ने बित्तिकै विशेष गरी सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडेर हेर्छौं । तर, त्यो एकदमै सरल अल्गोरिदम पनि हुन सक्छ । जस्तैः नामको सूचीलाई अल्फाबेटअनुसार मिलाउन लेखिएको कम्प्युटर प्रोग्राम वा गुगल म्यापले एक ठाउँबाट अर्को ठाउँ जाने बाटो देखाउन प्रयोग गर्ने विधि अल्गोरिदमका उदाहरण हुन् ।
अहिले यसलाई एआईसँग जोडेर हेरिन्छ । फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालले प्रयोगकर्तालाई कुन भिडियो वा सामग्री देखाउने (रेकमेन्ड गर्ने) भन्ने कुरा अल्गोरिदमकै आधारमा तय गर्छन् । प्रयोगकर्ताको अघिल्लो गतिविधि, रुचि र अनलाइन व्यवहारको विश्लेषण गरेर अल्गोरिदमले अनुमान लगाउँछ र सोहीअनुसार सामग्रीहरू पस्कन्छ । अल्गोरिदम सामान्य पनि हुन सक्छ । तर, अहिले निकै जटिल र बौद्धिक बनिसकेको छ ।
सामाजिक सञ्जालको अल्गोरिदमले इको चेम्बर कसरी सिर्जना गर्छ ? यसले कसरी भाष्य निर्माण गर्छ ?
अल्गोरिदम धेरै थरीका हुन्छन् । सोसल मिडियामा हुने अल्गोरिदमको काम नै प्रयोगकर्ता रुचिअनुुसार कन्टेन्ट रेकमेन्ड गर्ने भयो, त्यो एउटा अल्गोरिदम भयो । इको चेम्बरको सिर्जना यसरी नै हुन्छ भनेर ठ्याक्कै भन्न त सकिंदैन। तर, सामाजिक सञ्जालका कम्पनीहरूको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ्नो प्ल्याटफर्ममा अल्झाइराख्नु हो । प्रयोगकर्ता जति धेरै समय बस्छन्, उति धेरै डेटा संकलन हुन्छ र विज्ञापनमार्फत उनीहरूलाई नाफा हुन्छ। यही व्यापारिक स्वार्थका कारण अल्गोरिदमले प्रयोगकर्तालाई जे कुरा मन पर्छ वा जुन कुराले उसलाई आक्रोशित वा उत्तेजित बनाउँछ, त्यस्तै सामग्री मात्र निरन्तर देखाइरहन्छ ।
हामी एउटा पसलमा कुर्ता किन्न गयौं भने अझ धेरै सामान बिक्री गर्न नयाँ डिजाइन र फरक रङका कपडा देखाइन्छ । त्यसरी नै इको चेम्बरको कुरामा पनि प्रयोगकर्तालाई खुशी पार्दै बढी इन्गेज गराइन्छ।
कसैलाई बिरालोको भिडियो मनपर्छ भने उसलाई बिरालोको मात्र सामग्री देखाइन्छ । यदि कसैको निश्चित राजनीतिक वा सामाजिक धारणा छ भने उसलाई त्यस्तै धारणा पुष्टि गर्ने सामग्री मात्र देखाइन्छ । यसले गर्दा मानिस आफ्नै विचारको घेराभित्र मात्र सीमित हुन पुग्छ, जसलाई ‘इको चेम्बर’ भनिन्छ । वास्तविक संसारमा पनि यस्तो हुन्छ । तर, अनलाइनमा अझ बढी कडा र विस्तारित हुन्छ ।
भाष्य निर्माण कुरालाई दुई तीन वटा कुरामा वर्गीकरण गर्न चाहन्छु । एउटा— तपाईंले जे हेर्नुभयो, जे कुरामा रियाक्ट गर्नुभयो, त्यहीअनुसारको कन्टेन्ट दिएर तपाईंका लागि एउटा भाष्य सिर्जना हुन्छ । त्योचाहिं अल्गोरिदमको प्राकृतिक तरिका भयो । तर, अचेल के पनि हुने गरेको छ भने ‘मनिटाइज अकाउन्ट’ हरूले सामाजिक सञ्जालमा सत्य वा समाजलाई चाहिने कुराभन्दा पनि जे बिक्छ, त्यही कुरालाई अतिरञ्जित र सनसनीपूर्ण बनाएर प्रस्तुत गर्छन् । त्यसले पनि एक खालको भाष्य निर्माण गरिदिन्छ ।
अर्को हुन्छ— नियोजित भाष्य । कुनै संस्था, समूह वा राष्ट्रले आफ्नो स्वार्थअनुकूलको भाष्य स्थापित गर्नु छ भने उनीहरूले अल्गोरिदमको सहायताबाट एउटा भाष्य स्थापित गर्नका लागि धेरै तिकडमबाजी गर्न सक्छन् । प्राकृतिक फलोअर्स हुँदाहुँदै पनि उनीहरूले कृत्रिम माहौल पनि सिर्जना गर्छन् । त्यसका लागि दुई तीन वटा तरिका हुन सक्छन् । एक— आफ्ना कार्यकर्ता वा प्रशंसकहरू प्रयोग गरेर संगठित रूपमा कुनै पोस्टलाई एकै पटक सेयर गरिदिन्छन् ।
दोस्रो— पैसा तिरेर ‘क्लिक फर्म’ (एउटै कोठाबाट धेरै सिम प्रयोग गरेर नक्कली व्यवहार देखाउने) र स्वचालित सफ्टवेयर (बट) मार्फत हजारौं लाइक–कमेन्ट बढाउने काम गरिन्छ । अल्गोरिदमले धेरै लाइक र इन्गेजमेन्ट देखेपछि त्यसलाई अझ बढी फैलाउँछ । परिणाम— आम मानिसले पनि त्यसैलाई सत्य मान्न थाल्छन् । त्यसरी एउटा कृत्रिम भाष्य पनि सत्य भइदिन्छ । सन् २०१६ को अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको राजनीतिक उदय यसको ज्वलन्त उदाहरण हो, जहाँ एउटा किनाराको कृत्रिम भाष्य बिस्तारै वास्तविक र केन्द्रीय राजनीतिमा परिणत भयो ।

इको चेम्बरको प्रभावले फरक विचार/फरक मतप्रतिको सहिष्णुता र मान्छेको सहनशीलतालाई कसरी समाप्त पार्दै छ ?
इको चेम्बर वास्तविक संसारमा पनि हुन्छ । त्यसले गर्दा पनि हामीमा ध्रुवीकरण हुन्छ । सामाजिक सञ्जालमा पनि इको चेम्बरको प्रभावले गर्दा मानिसमा फरक मतप्रतिको सहनशीलता र असहिष्णुता तीव्र रूपमा घट्दै गएको छ । सामाजिक सञ्जालमा वास्तविक संसारको जटिलताभन्दा पनि विभाजित र अतिरञ्जित रूप मात्र देखिन्छ । यसले गर्दा कुनै व्यक्ति वा समूहलाई सजिलै ‘ देवत्वकरण’ वा ‘दानवीकरण’ गर्ने प्रवृत्ति बढेको छ ।
कुनै घटनाको बहुआयामिक पाटा बुझ्नुको सट्टा मानिसहरू आफ्नो पूर्वाग्रहलाई बल पुर्याउने एउटा सानो अंश वा क्लिप मात्र हेर्छन् । आफूअनुकूलका सामग्री र प्रतिक्रिया मात्रै देख्दा र उस्तै सोच भएका मानिसहरूसँग मात्र जोडिँदा समाज चरम ध्रुवीकरणतर्फ धकेलिन्छ । वास्तविकता हेर्ने दृष्टिकोण नै विकृत हुने भएकाले मानिसहरू सजिलै पूर्वाग्रही, घृणाले भरिएका वा उग्र समर्थक बन्न पुग्छन् ।
संसारभर डिजिटल प्लाटफर्मको प्रयोगले लोकतन्त्रको हनन भइरहेको र तानाशाही प्रवृत्ति जन्माइरहेको छ भनिन्छ, के यस्तै भइरहेको हो ?
संसारभर लोकतन्त्र कमजोर हुनु र तानाशाही प्रवृत्ति बढ्नुमा सामाजिक सञ्जाल र विद्यमान व्यवस्थाबीच ‘फिडब्याक लुप’ (एकले अर्कोलाई बढावा दिने प्रक्रिया) चलिरहेको छ । वर्तमान विश्वको पुँजीवादी र नवउदारवादी व्यवस्था (विशेष गरी अमेरिकी प्रभुत्व) भित्रभित्रै कमजोर बन्दै गएकाले विश्वभर अस्थिरताका साथै अन्योल बढेको छ । पुरानो व्यवस्था भत्किंदै गरेको तर नयाँ विकल्प नदेखिएको यस संक्रमणकालमा मानिसहरू त्रसित छन् । यस्तो बेला तानाशाही प्रवृत्तिका लागि अनुकूल वातावरण बन्छ ।
यस्तो अन्योलपूर्ण समयमा जटिल समस्याहरूको विस्तृत समाधान खोज्नुको सट्टा तानाशाहहरूले ‘एउटा शक्तिशाली मानिसले सबै ठीक पार्छ’ भन्ने सरल र जादुयी भ्रमपूर्ण भाष्य बाँड्छन् । यसका लागि सामाजिक सञ्जाल उनीहरूका लागि अचुक हतियार बनेको छ । विकृत सामाजिक सञ्जालले तानाशाहलाई मद्दत गरिरहेको छ भने तानाशाहहरूले सामाजिक सञ्जाललाई अझ बढी विकृत बनाउँदै लगेका छन् ।
बिगटेक कम्पनीहरूले प्रयोगकर्ताको डेटा व्यापार गरेर नाफा कमाउनुबाहेक राजनीतिक स्वार्थका लागि पनि खेल खेलिरहेका छन् ?
ठूला प्रविधि (बिग टेक) कम्पनीहरूको उद्देश्य केवल आर्थिक नाफा कमाउनु होइन, पूँजीसँगै राजनीतिक शक्ति र प्रभुत्व पनि जोडिएर आउँछ । विशेष गरी पश्चिमा (युरोपेली र अमेरिकी) बिग टेक मालिकहरूमा आफ्नो विश्वव्यापी प्रभुत्व खस्किंदै गएको र गैर–श्वेत (एशियाली र अन्य) देशहरू बलियो हुँदै गएको डर छ । उनीहरू चीन लगायतका देशहरूलाई आफ्नो प्रतिद्वन्द्वी देख्छन् । त्यसैले उनीहरूले आफ्नो ‘ह्वाइट सुप्रोमेसी’ कायम राखी राख्नका लागि पनि सामाजिक सञ्जाल तथा एआई राजनीतिक रूपमा प्रयोग गरिरहेका छन् ।
डिजिटल बहस ‘भाइरल’ केन्द्रीत हुँदा प्रविधि र डेटामा पहुँच नभएका भुइँमान्छे र गरीबका वास्तविक मुद्दाहरू कसरी ओझेलमा परिरहेका छन् ? के यसले नयाँ वर्ग–विभेद निम्त्याउँदै छ ?
खासगरी सोसल मिडिया भनेको भुइँमान्छेको कुरा पनि राख्न सक्ने सजिलो माध्यम हो । शुरूआती चरणमा सामाजिक सञ्जाल भुइँमान्छे, गरीब र सीमान्तकृत समुदायका लागि आफ्नो आवाज उठाउने एउटा सुलभ माध्यम बनेको थियो र कतिपय अवस्थामा यो अझै पनि उपयोगी छ । तर, अहिलेको व्यावसायिक र डिजिटल प्रणालीले नयाँ किसिमको विभेद सिर्जना गर्दै छ।
भुइँमान्छेका वास्तविक समस्यालाई सामाजिक सञ्जालको अल्गोरिदमले खासै प्राथमिकता दिंदैन । यसको सट्टा चिल्ला सडक, गगनचुम्बी भवन, महँगा गाडीजस्ता मध्यम वर्गीय आकांक्षा वा शक्तिशाली मानिसहरूले स्थापित गरेका कृत्रिम मुद्दाहरूलाई मात्र भाइरल बनाउँछ । उदाहरणका लागि, अमेरिकामा आप्रवासी वा जलवायु परिवर्तनको वास्तविक संकटलाई छाडेर आप्रवासीहरू विरुद्ध घृणा फैलाउने मुद्दालाई ‘एम्प्लिफाई गरिन्छ । भारतमा पनि आर्थिक र वातावरणीय संकटभन्दा धार्मिक ध्रुवीकरण र बहुसंख्यकवादको भाष्यलाई बढाइन्छ । यसरी सामाजिक सञ्जालले भुइँमान्छेलाई उनीहरूको वास्तविक समस्याबाट विमुख गराई कृत्रिम समस्या र भ्रमपूर्ण समाधानमा अल्झाएर ठूलो भ्रम सिर्जना गर्दै छ।
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता शक्तिहरूको उदयमा सामाजिक सञ्जालको भूमिका कस्तो देखिन्छ ?
त्यो त हामीले देखिरहेकै छौं, नेपालको सन्दर्भमा रास्वपा र बालेन शाहजस्ता शक्तिहरूको उदयमा सामाजिक सञ्जालको एकदमै ठूलो भूमिका देखिन्छ । बालेन शाहको प्रमुख सल्लाहकार कुमार बेनको पृष्ठभूमि डिजिटल मार्केटिङ हो । यसको अर्थ उनीहरूको मुख्य सक्षमता र दक्षता डिजिटल स्पेसमा आफ्नो पक्षमा भाष्य निर्माण गर्नुमा देखियो ।
कुनै पनि ‘प्रोडक्ट’ (उत्पादन) बजारमा ल्याउन वा निर्वाचनमा भोट पाउनका लागि मात्र यस्तो प्रविधि र सक्षमता तपाईंलाई उपयोगी हुन सक्छ । तर, राज्य सञ्चालनको दक्षता भाइरल हुनु मात्र होइन । निर्वाचित भइसकेपछि जनतामाझ आफ्नो भाष्य लोकप्रिय बनाउनुभन्दा परिणाम र सेवा प्रवाह (डेलिभरी) मुख्य कुरा हुन्छ । यद्यपि, उनीहरू अझै पनि आफूले जानेको त्यही सामाजिक सञ्जालको भाष्य निर्माणकै घेरामा बढी केन्द्रित भइरहेको देखिन्छ ।
उनीहरूका समर्थकले बनाउने ‘डिजिटल इको चेम्बर’ ले आलोचनात्मक चेतलाई ठाउँ दिन्छ कि नेपाली राजनीति एजेन्डाभन्दा बढी भावनामा बहकिएको हो ?
सामाजिक सञ्जालबाट आफ्नो विचार फैलाउँदा सत्यमा आधारित भएर जटिलतालाई आत्मसात् गर्दै वास्तविक समाधानको योजना प्रस्तुत गर्न पनि सकिन्छ । तर, अहिले त्यसो नभएर एकदमै सतही र जादुमयी कुराहरू गर्ने गरिन्छ । समस्या र समाधान दुवैलाई यति धेरै सरलीकरण गरिन्छ कि मानौं— वास्तविक मुद्दाहरूबाट उनीहरू भाग्न खोजिरहेका छन् ।
समर्थकहरूको इको चेम्बरमा सत्यका सबै पाटाहरू हेर्ने र बहुआयामिक समस्या बुझ्ने चेत हुँदैन । अहिलेको युगमा जलवायु परिवर्तन, एआई प्रविधि, भू–राजनीति र पुराना सामाजिक विभेदजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संकटहरू थपिएका छन् । यस्तो जटिल समयमा सामूहिक र सहकारिताको मोडलबाट समस्या समाधान गर्नुपर्नेमा फरक मत सुन्नै नसक्ने निषेधको राजनीति भइरहेको छ । सुकुम्बासी बस्तीका विषयमा बाहिर आएका वास्तविक भिडिओ रिपोर्टहरूलाई समेत विश्वास नगरी, भिडले पेलेर दिनलाई रात र रातलाई दिन पार्न खोज्ने यो प्रवृत्ति निकै डरलाग्दो छ ।

सूचनाको मुख्य स्रोत नै सामाजिक सञ्जाल बन्दा नागरिकको सत्य पहिल्याउने क्षमतामा कस्तो असर परिरहेको छ ? मिडिया साक्षरताले पनि सत्य पहिल्याउने क्षमतामा सहयोग पुर्याएको छ ?
सामाजिक सञ्जालको पनि एकदमै ठूलो भूमिका छ । विगतमा सामाजिक सञ्जाल नहुँदा स्थापित सञ्चारमाध्यमहरू मात्र थिए । त्यतिबेला मिडिया हाउसलाई लगानी गर्नेहरू वा सम्पादक समूहको दृष्टिकोणका कारण सामूहिक भाष्य निर्माणमा आफ्नै सीमा र समस्याहरू थिए । तर, अहिले सामाजिक सञ्जाल अर्को चरम बिन्दुमा पुगेको छ । यहाँ उत्तरदायित्व र जिम्मेवारी बोधबिना केवल भाइरल हुन खोज्ने माहौल छ, जसले गर्दा सत्य र तथ्य ओझेलमा पर्छन् ।
सुकुम्बासी बस्तीको उदाहरण हेर्दा, कतिपय मिडियाले त्यहाँ आफैं पुगेर रिपोर्टिङ गरी सत्य तथ्य, अडिओ र भिडियो कथाहरू बाहिर ल्याएका छन् । तर, सामाजिक सञ्जालमा एक थरीले ‘सुकुम्बासी भनेका हुकुम्बासी हुन्’ भन्दै उनीहरूको पाँचतले घर भएको भ्रमपूर्ण र नियोजित भाष्य बनाए, जसमा धेरै मानिस फसेका छन् । काठमाडौंको थापाथली पुलबाट हिंड्ने जोसुकैले त्यहाँको वस्तुस्थिति देख्दै आएकाले यो बुझ्न गाह्रो छैन । तर, सामाजिक सञ्जालको प्रभावले मानिसलाई थप फराकिलो र समानुभूतिशील (एम्पथेटिक) बनाउनुको सट्टा झन् साँघुरो र पूर्वाग्रही बनाउँदै लगेको छ ।
मानिसले गर्ने निर्णय उसको आफ्नै विवेक हो कि यसमा पनि अल्गोरिदमले प्रभाव पार्छ ?
अल्गोरिदमको प्रभावबारे दुई वटा चरम दृष्टिकोण छन् । एउटा दृष्टिकोणले भन्छ— अल्गोरिदम त केवल कम्प्युटर हो । प्रयोगकर्ताले जे मन परायो, त्यही देखाउने भएकाले सबै नियन्त्रण मान्छेसँगै हुन्छ । अर्को दृष्टिकोणले भन्छ— अल्गोरिदम यति डरलाग्दो कुरा हो कि यसले मानिसलाई आफ्नो कठपुतली बनाउँछ ।
मानिससँग आफ्नो विवेक र दृष्टिकोण हुन्छ । तर, अल्गोरिदमले कतिपय अवस्थामा मानिसलाई भ्रमित बनाउने वा आफ्नै आँखाले देखेको सत्यमाथि शंका गर्न बाध्य पार्ने काम गर्छ । जुन विषयमा मानिसको आफ्नै स्पष्ट र बलियो वैचारिक धरातल हुँदैन, त्यस्ता विषयमा ऊ अल्गोरिदमको भाष्यमा सजिलै फस्छ ।
सामाजिक सञ्जालबाहेक तपाइँको वास्तविक जीवनमा आलोचनात्मक (क्रिटिकल) छलफल गर्ने साथीभाइको समूह वा पारिवारिक सम्बन्ध छ भने यसले अल्गोरिदमको प्रभाव कम गर्छ । यदि हामी समाज वा विद्यालयमा वास्तविक विचारहरू आदानप्रदान गर्दैनौं र कोठामा बसेर सबै कुरामा सामाजिक सञ्जालकको भर पर्छौं भने बिस्तारै हाम्रो विवेक क्षीण हुँदै जान्छ । यसका लागि नागरिक आफैंले मिहिनेत गरेर आफ्नो वैचारिक धरातल बलियो बनाउनु पर्छ ।
बांग्लादेश र नेपालमा जेन–जी विद्रोहपछिको राजनीतिक परिवर्तन र भारतमा हालै मात्र खुलेको कक्रोच जनता पार्टीको जग सामाजिक सञ्जाल नै हो । यसरी निर्मित राजनीतिक दलको स्थायित्व कत्तिको हुन्छ र उनीहरूको वैचारिक पक्ष सबल हुन्छ ?
मूलधारे मिडियामा नआएका र समाजमा सुषुप्त रहेका नागरिकका आक्रोश, निराशा र चाहनाहरूलाई सामाजिक सञ्जालले एउटा निकास (आउटलेट) दिन्छ । यस अर्थमा यो समाजको ऐना हो र यसबाट आन्दोलन वा राजनीतिक परिवर्तनको जग बस्न सम्भव छ । त्यसलाई हामीले नकार्न मिल्दैन । तर, सामाजिक सञ्जालमा मात्र भर पर्दा यसको स्थायित्व र वैचारिक पक्ष सबल हुन गाह्रो हुन्छ । यदि आन्दोलनले जटिलता र बहुआयामिक दृष्टिकोणलाई नहेरी केवल तात्कालिक आक्रोश र भावनाका आधारमा ‘क्वीक फिक्स’ (तत्कालको सजिलो उपाय) मात्र खोज्यो भने त्यसको समाधान पनि सतही नै हुन्छ। सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ । तर, बृहत्तर तयारी र वैचारिक मिहिनेतबिना केवल सजिलो माध्यमबाट आएको समाधान दीर्घकालीन वा जनमुखी हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिंदैन ।
डिजिटल मिडियाले कसरी पुरुषत्व कायम गरिराखेको छ ?
सडक आन्दोलन, निर्णय प्रक्रिया सञ्चालन हुने बैठक वा राजनीतिक सभाहरूमा सधैं पुरुषकै वर्चस्व देखिंदै आएको छ । यस अर्थमा सामाजिक सञ्जाल महिला, दलित र सीमान्तकृत समुदायका लागि संगठित हुने र आफ्नो आवाज मुखरित गर्ने एउटा सुरक्षित माध्यम (सेफ स्पेस) बन्न सक्ने ठूलो सम्भावना थियो । कतिपय महिलावादी र दलित आन्दोलनहरूले यसको सफल प्रयोग पनि गरेका छन् ।
दुःखलाग्दो कुरा— सामाजिक सञ्जालको यति धेरै सम्भावनाको बावजूद अहिले डिजिटल स्पेस निकै उग्र र हिंस्रक बन्दै गएको छ, जसलाई ‘म्यानोस्फियर’ पनि भनिन्छ । कुनै महिलाले आफ्नो विचार राख्नासाथ उनीमाथि हिंस्रक, यौनजन्य अपशब्द प्रयोग गर्ने, चरित्रहत्या गर्ने वा एआईको प्रयोग गरेर ‘डीपफेक’ भिडियो बनाई बदनाम गर्ने काम गरिन्छ । उदाहरणका लागि, पुरुष नेता वा सेलिब्रिटीका डीपफेकहरू उनीहरूलाई अझ बढी स्थापित वा ग्लोरिफाई गर्ने खालका हुन्छन् भने महिला राजनीतिज्ञ वा व्यक्तित्वहरूलाई होच्याउने र अपाच्य बनाउने खालका हुन्छन् ।
यो प्रवृत्ति पुरानै पुरुषसत्ताको निरन्तरता त हो नै, सँगै यसमा एउटा नयाँ आयाम पनि थपिएको छ— हाल विश्वव्यापी व्यवस्था भत्किंदै जाँदा पुरुषहरूमा चरम आर्थिक चिन्ता र मानसिक तनाव बढेको छ । यो ठूलो संरचनागत संकट, देशको नेतृत्व वा कर्पोरेट घरानाहरूलाई प्रश्न गर्ने आँट र चिन्तन नहुँदा पुरुषहरूले महिलाहरूलाई आफ्नो रीस पोख्ने ‘एस्केप गोट’ (बलिको बोको) बनाइरहेका छन् ।
वैदेशिक रोजगारी र बसाइँसराइले निम्त्याएको एक्लोपनका कारण सामाजिक सामीप्यता नपाउँदा पुरुषहरूले त्यसको दोष महिलामाथि नै थोपर्ने गरेका छन् । ‘म यहाँ एक्लै दुःख गरिरहेको छु, उनीहरू टिकटकमा नाचिरहेका छन्’ भन्ने जस्ता कुण्ठाहरू सामाजिक सञ्जालमा पोखिन्छन् । परिणाम— पाँच–छ वर्षअगाडिको तुलनामा अहिले महिलाहरू सामाजिक सञ्जालमा आफ्नो विचार राख्न कम सक्रिय र त्रसित देखिन्छन् ।
अस्ति भर्खरै सुकुम्बासी बस्तीमा डोजरले घर भत्काइरहेका दृश्य सामग्री आउँदा तिनमा ‘लभ रियाक्ट’ गरिएको थियो । सुकुमबासीहरू रोइरहेका भिडियोमा ‘हाहा’ रियाक्ट देखियो। डिजिटल बटको प्रयोगले ‘रियाक्सन’ लाई ‘कस्टमाइज’ गर्न मिल्छ कि अल्गोरिदमले मान्छेको मानसिकता नै कब्जा गरेको हो ?
यसमा दुवै कुरा हुन्छ । एक त सुकुम्बासी बस्ती भत्काउने र डोजर चलाउने घटनाहरूका भिडियोहरूमा ‘लभ’ वा ‘हाहा’ रियाक्ट आउनुमा दुवै कुरा (प्राविधिक चलखेल र मानवीय मानसिकता) ले काम गरिरहेका हुन्छन् । बस्ती विस्थापित गर्ने पक्षलाई समाजमा आफ्नो छवि सुधार्नु र सुशासनको भ्रम छर्नु पर्ने हुन्छ । त्यसका लागि उनीहरूले पहिले नै योजनाबद्ध रूपमा बस्ती भत्काइएको कुरालाई समर्थन गर्ने, ‘यो हुकुम्बासीमाथिको कारबाही हो’ भन्ने भाष्य बनाउने काम गर्छन् । यसका लागि आफ्ना वास्तविक कार्यकर्ता, भोलियन्टर, पैसा तिरेर चलाइएका नक्कली एकाउन्टहरू वा सफ्टवेयर बटहरू परिचालन गरिन्छ । अर्कोतर्फ, विस्थापितप्रति सहानुभूति राख्ने वा आलोचना गर्नेहरूलाई गाली गर्न र हतोत्साहित गर्न तिनै बट र एकाउन्टहरू प्रयोग हुन्छन् ।
अर्को कुरा, जब आम नागरिकले सामाजिक सञ्जालमा एउटै प्रकृतिको ‘रियाक्सन’ र ‘कमेन्ट’ धेरै देख्छन्, तब भीडको मनोविज्ञानका कारण उनीहरूले पनि त्यसैलाई सही मान्न थाल्छन् । यसमा भिडिओ कसरी खिचियो, ब्याकग्राउन्ड म्युजिक र शब्दको चयन कस्तो गरियो भन्ने कुराले मानिसको भावनालाई म्यानिपुलेट गर्छ । यसरी कृत्रिम भाष्य र वास्तविक मानसिकता सामाजिक सञ्जालको अल्गोरिदमले गर्दा परस्पर जोडिन्छन् र ‘फिडब्याक लुप’ बन्छ । परिणाम—मानिसहरू कसैको पीडामा पनि हाँस्न सक्ने र त्यसलाई सही ठहर्याउने क्रूर डिजिटल मानसिकताको शिकार हुन पुग्छन् ।