दश दिनदेखि भारतीय राजनीतिमा चर्चाको शिखरमा रहेको कक्रोच जनता पार्टी (सीजेपी) लाई विश्लेषकहरूले नेपालको जेन–जी प्रदर्शनसँग तुलना गरेर पनि व्याख्या गरिरहेका छन् । डिजिटल प्ल्याटफर्मबाट रातारात उदाएको कक्रोच अभियानमा भारतका प्रख्यात व्यक्तिहरू पनि जोडिन थालेका छन् । भारतीय सञ्चारमाध्यममा आएका समाचारअनुसार, सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवालाई साङ्ला र परजीवीजस्ता शब्द प्रयोग गरी होच्याएपछि कक्रोच जनता पार्टी जन्मिएको हो । प्रधानन्यायाधीश सूर्यकान्तको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकामा अध्ययनरत भारतीय युवा अभिजीत दिपकेले शुरू गरेको ‘वी आर कक्रोच’, ‘कक्रोच रिभ्योलुसन’ जस्ता ह्यासट्याग निकै फैलियो ।
बेरोजगारी समस्याबाट आक्रान्त लाखौं भारतीय युवालाई सरकार विरोधी यस नाराले सामाजिक सञ्जालमा जोड्ने काम गर्यो । एक दशकदेखि भारतीय सत्ताको केन्द्रमा रहेको भारतीय जनता पार्टीको ‘निरकुंश सरकार’ लाई कसैले धक्का दिन नसकिरहेको अवस्थामा यस डिजिटल अभियानले धेरैलाई आशाको ज्योति जगाएको टिप्पणी भइरहेको छ । दक्षिणी छिमेकमा डिजिटल प्ल्याटफर्मबाट फैलिरहेको यो राजनीतिक अभियान र त्यहाँका बौद्धिकहरूको विश्लेषणबारे हिमालखबरले सामाजिक अभियानकर्मी तथा राजनीतिक विश्लेषक योगेन्द्र यादवसँग कुराकानी गरेको छ । यादवले यस अभियानलाई भारतीय युवाको प्रतिरोधी चेतको रूपमा अर्थ्याएका छन्। प्रस्तुत छ— दिल्लीमा रहेका स्वराज अभियानका संयोजक यादवसँग हिमालखबर संवाददाता शमशाद अहमदले गरेको दूरभाष संवादको सम्पादित अंशः
कक्रोच जनता पार्टीको नाममा डिजिटल स्पेसमा देखिएको युवा आवाजलाई कसरी विश्लेषण गर्दै हुनुहुन्छ ?
एकदमै रोचक क्षणको रूपमा लिइरहेको छु । सीजेपीलाई राजनीतिक दल नभनी जनताको आवाजको रूपमा लिनु पर्छ । भारतीय राजनीतिमा देखिएको यस घटनाले हामीलाई आफ्नो राजनीतिसँग परिचित गराइदिएको छ।
पहिला प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनजीवी भनेर संसद्मा आन्दोलनकारीको हुर्मत लिएपछि हाम्रा साथीहरूले उक्त शब्दबाटै आफूलाई आन्दोलनजीवी भनेर परिचय गराउन थाले । आफूलाई अपमानित गर्न प्रयोग गरिएको शब्दलाई नै अहिले युवाले पहिचान र तक्मा बनाएका छन् । तिनका निम्ति ‘कक्रोच’ शब्द गाली नभई पहिचान वा प्रतिरोधको प्रतीक बन्न पुगेको छ। यसले फरक हिसाबले युवालाई प्रभावित गरिरहेको देखिन्छ।
यसले हाम्रो देशको आधारभूत वास्तविकता देखाउँछ । भुइँमान्छेहरूमा एक प्रकारको बेचैनी छ । मान्छेहरूले आफ्नो मनको व्यथा खुलेर भन्न सकिरहेका छैनन् । चुनावी प्रणालीदेखि सम्पूर्ण संयन्त्रमा सरकारको कडा नियन्त्रण छ । यस्तो परिस्थितिमा नागरिकले आफ्नो कुरा व्यंग्यको रूपमा व्यक्त गरिरहेको देखिन्छ।
डिजिटल स्पेसमा देखिएको सीजेपी अभियानलाई सामान्यीकरण गर्नु ठूलो गल्ती हुनेछ । संसारभरि तानाशाही वा कठोर व्यवस्थाका विरुद्धमा भएका विरोधहरू धेरै पटक व्यंग्य वा हास्यको रूपमा पनि देखा परेका छन् । सर्बिया, रुस लगायतका देशमा यस्तै उदाहरण भेटिन्छन्। यदि सरकार दमनमा उत्रिए ऊ स्वयं कमजोर देखिन्छ, प्रतिक्रिया नदिंदा उसको भूमिका स्वयं हास्यास्पद देखिन्छ । तर, यसलाई कुनै ठूलो आन्दोलन वा वैकल्पिक राजनीतिक शक्तिको रूपमा हेर्नु हतार हुनेछ । निरन्तरता दिनु नै अहिलेको लागि उपयुक्त बाटो हुनेछ । तर, अगाडिको बाटो निकै कठिन हुनेछ । यस्तो अवस्थामा प्रत्येक लोकतान्त्रिक व्यक्तिको कर्तव्य सरकारसँग नभई जनता र जनभावनासँग उभिनु हो । लोकतन्त्रमा जब जनता उठ्छन्, तब उनीहरूको पक्षमा उभिनु आवश्यक हुन्छ । युवाको प्रतिरोधी चेतलाई प्रोत्साहन गर्दै उनीहरूसँगै उभिनु आवश्यक छ । सामाजिक सञ्जालमा आएका उनीहरूको विचार र अभिव्यक्तिलाई बुझ्न जरुरी छ।
सरकारले यस्ता प्रतिरोधी चेतलाई दमन गर्न हर सम्भव प्रयास गर्नेछ । तर, आन्दोलन र विरोधको नाममा सरकारलाई दमन गर्ने कुनै पनि बहाना दिनुहुँदैन । सजग भने रहिरहनु पर्दछ।
यस डिजिटल अभियानलाई प्रतिबन्ध तथा नियन्त्रण गर्ने सरकारी कार्यलाई कसरी हेरिरहनुभएको छ ?
यो व्यंग्यात्मक प्रस्तुति मात्र थियो । सरकारले कक्रोच जनता पार्टीमाथि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध निकै ठूलो गल्ती हो । यस्तो कदमले देखाउँछ— सरकार बाहिरबाट जतिसुकै शक्तिशाली देखिए पनि भित्रबाट कमजोर र त्रसित छ । सीजेपी केवल दल नभएर आन्दोलन हो, जनताको आवाज हो।
‘कक्रोच’ लाई प्रतीक बनाउनुका पछाडि यस देशका युवाको आक्रोश र आकांक्षा जोडिएको छ । तर, गुनासो र मजाकमै सीमित रहेको अभियान अब ठूलो फैलावटतर्फ जान सक्ने सम्भावना बढेर गएको छ।
युवा पुस्ताको भाषा, निराशा र आकांक्षालाई बुझ्न परम्परागत राजनीति किन असफल हुँदै छ ?
राजनीतिमा माग र आपूर्तिबीच सधैं ठूलो खाडल हुन्छ । राजनीतिले निरन्तर नयाँ नेतृत्व, नयाँ मुद्दा र समाधानको माग गर्छ । यसका लागि नेतृत्व, पार्टीहरूको स्वरूप र पार्टीका मुद्दाहरू बदलिनुपर्छ।
तर, पार्टीहरू— जुन राजनीतिका सप्लाई साइड हुन्— ती पुरानो संरचनामा अड्किएका छन्, पुराना मानिसहरूको नियन्त्रणमा छन् र ती हल्लिन चाहँदैनन् । त्यसैले संसारभर आम जनताका अपेक्षा र दलहरूका कार्यबीच ठूलो अन्तर देखिन्छ ।
एलिट पार्टीहरूले भुइँमान्छेहरूको आकांक्षा र समस्यालाई सम्बोधन गर्दैन । साथै, उक्त पार्टीहरूमा देखिने युवा अनुहार पनि परम्परागत सोच लिएर नै आएका छन् । त्यसैले सडकमा हिंडिरहेको कुनै युवाको आकांक्षा, उसको निराशा, त्यो राजनीति संरचनासम्म पुग्नै सक्दैन । लोक र तन्त्रबीच धेरै लामो दूरी छ । लोकतन्त्रको संरचना क्रमशः लोकबाट टाढिंदै गएको छ । कम्तीमा भारतीय सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न सक्छौं कि हामी अधिनायकवादी शासनतर्फ बढिरहेका छौं । त्यस्तो शासनसँग कसरी जुध्ने भन्ने कुरा मानिसहरूले स्पष्ट रूपमा बुझ्न सकेका छैनन् । त्यसैले यो एक किसिमको असमञ्जसको अवस्था हो, जहाँ तलतिर गहिरो बेचैनी र असन्तोष त छ तर त्यो भावना माथिसम्म पुग्ने कुनै प्रभावकारी बाटो छैन ।

दक्षिण एशियामा हाल देखिएका युवा आन्दोलनहरू र भारतमा ‘कक्रोच पार्टी’ जस्ता डिजिटल अभियानबीच मूल समानता र भिन्नता के देख्नुहुन्छ ?
म समानताभन्दा बढी भिन्नता नै देख्छु । समानता यति मात्र हो कि यी सबै स्थापित राजनीतिक व्यवस्था वा लोकतान्त्रिक ढाँचाप्रति जनताको— विशेष गरी युवाको— बेचैनी, असन्तोष र निराशाको अभिव्यक्ति हुन् । समानता यो हो कि आजको राजनीतिक संरचनाले युवाको आकांक्षा र अपेक्षालाई प्रतिनिधित्व गर्न सकेको छैन र उनीहरूले स्थापित विपक्षलाई पनि यसको स्वाभाविक विकल्प वा दाबेदारको रूपमा स्वीकार गर्दैनन् । त्यसैले नयाँ विकल्पको खोजी भइरहन्छ ।
तर, सन्दर्भअनुसार भिन्नताहरूलाई पनि हेर्नुपर्छ । श्रीलंकाको सन्दर्भ सिधै आर्थिक संकटसँग जोडिएको थियो । त्यो कुनै एउटा पुस्ताको मात्र आन्दोलन थिएन, बरु सम्पूर्ण देशमाथि छाएको आर्थिक संकटको सामूहिक अभिव्यक्ति थियो । त्यहाँको सम्पूर्ण एलिट दलहरूविरुद्धको विद्रोह थियो, परिणाम— एक पुरानो तर सानो पार्टी अचानक सत्तामा आयो । बांग्लादेशमा मुख्यतः निर्वाचनमा धाँधलीको प्रश्न र त्यसले धार्मिक अथवा साम्प्रदायिक अभिव्यक्तिको रूप लिएको देखिन्छ, जुन धेरै फरक प्रकृतिको हो ।
नेपालमा जे भयो, त्यसलाई मैले अझै पूर्ण रूपमा बुझ्न सकिरहेको छैन । तर, त्यो एक प्रकारको लोकतान्त्रिक तख्तापलटजस्तो, एउटा सानो समूहद्वारा गरिएको आन्दोलनजस्तो लाग्यो । यी सबै घटनाका स्वरूप फरक–फरक छन् । फरक हुनुको कारण हो— भारतमा जे भइरहेको छ, त्यो अझै आन्दोलनको रूपमा विकसित भएको छैन । अहिलेको अवस्थामा त्यो केवल एक पीडाको अभिव्यक्ति हो । त्यसभन्दा बढी केही भएको छैन र भविष्यमा हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिंदैन । भारतमा अन्य देशको तुलनामा अभिव्यक्ति निकै कम प्रकट भएको छ ।
भारतमा काठमाडौं, ढाका वा कोलम्बोमा जस्तो एक ठाउँमा मात्र ठूलो प्रदर्शन गरेर पूरै देशमा उलटपुलट गर्न सकिंदैन किनभने देशको भौगोलिक र जनसांख्यिक विशालताका कारण सजिलै कुनै पनि व्यवस्था परिवर्तन गर्न गाह्रो हुन्छ । अधिनायकवादी सत्ता अधिक स्थायित्व राख्न सक्षम हुन्छ । त्यसैले यस दृष्टिकोणबाट हेर्दा यी सबै सन्दर्भबीच आधारभूत भिन्नताहरू स्पष्ट रूपमा देखिन्छन् ।
पछिल्लो समय दक्षिण एशियामा डिजिटल अभियानहरूले सीमित समयमा लाखौं मानिसलाई जोडिरहेको अवस्था छ । यसले राज्यको स्थापित भाष्यहरूको प्रतिरोध कसरी गरिरहेको छ ?
संसारभर तानाशाह वा अत्यन्त शक्तिशाली शासन व्यवस्थाको सामना औपचारिक राजनीतिक भाषण वा संस्थागत विरोधले मात्र नभई चुट्किला, गीत, व्यंग्य, कार्टुन र कल्पनाशील अभिव्यक्तिहरूबाट पनि भएको छ । पाकिस्तानमा जनरल जियाउल हकको समयमा ‘हम देखेंगे’ भन्ने गीतले ठूलो प्रतिरोध खडा गरेको थियो । त्यसमा अभिव्यक्ति–शक्ति एकदम प्रभावकारी थियो । जनताको पीडा, असन्तोष र दबिएको भावनालाई कल्पनाशील, सिर्जनात्मक र प्रतीकात्मक अभिव्यक्तिहरूले कुनै पनि शक्तिशाली भाष्यलाई हल्लाउन सक्छन् भन्ने उदाहरण थियो त्यो ।
अहिलेको सीजेपी अभियान सानो डिजिटल अभिव्यक्ति हो । तर, सरकारलाई यसले पनि असहज बनाएको छ । इतिहास हेर्ने हो भने तानाशाही सरकारलाई सडकमा उत्रिएको विरोधबाट सबैभन्दा कम डर लाग्छ भने चुट्किला, व्यंग्य र बौद्धिक आलोचनाबाट सबैभन्दा धेरै डर लाग्ने गर्छ । किनकि यसले सत्ताभित्रको कमजोरीलाई उजागर गर्छ ।