नेपाली साहित्यमा गीत, कविता र निबन्धमार्फत विशिष्ट पहिचान बनाएका सर्जक भूपाल राईको पछिल्लो कृति ‘शब्द सायारेम’ सार्वजनिक भएको करीब एक वर्षपछि पनि यसको सान्दर्भिकता र वैचारिक गहिराइबारे बहस जारी छ। ‘सुम्निमाको तस्वीर’, ‘दाजै कविता गाउँमै छ’, ‘सीमान्त सौन्दर्य’ पुस्तक लेखेर स्थापित राईको यो दोस्रो निबन्ध संग्रह हो, यसअघि ‘भूमिगत प्रश्नहरू’ प्रकाशित भइसकेको थियो । समाज, विचार र अनुभवका विविध तहलाई समेट्ने ‘शब्द सायारेम’ ले समकालीन यथार्थमाथि प्रश्न उठाउने र विमर्श अघि बढाउने प्रयास गर्छ ।
हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिका रूपमा कार्यरत राईको दैनिकी, अनुभव र संस्थागत भूमिकासँगै यस पुस्तकको सन्दर्भ, लेखकीय दृष्टि र सिर्जनात्मक यात्राबारे पनि चासो बढेको छ। यसै सन्दर्भमा, हिमालखबर का लागि गुरुङ सुशान्त ले भूपाल राई सँग गरेको कुराकानीको सम्पादित अंशः
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिका रूपमा कार्यभार सम्हाल्दाका अहिलेसम्मका अनुभव र उपलब्धिलाई कसरी हेर्नुहुन्छ ?
नेपाल प्रज्ञा–प्रतिष्ठानमा लगभग तीन वर्ष व्यतीत भइसकेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा म कुलपति हुँदा दुई–तीनवटा योजना लिएर आएको थिएँ । पहिलो— प्रज्ञा–प्रतिष्ठानलाई साझा प्राज्ञिक र सांस्कृतिक बनाउने । दोस्रो— प्रतिष्ठानलाई युगानुकूल स्थापित गर्दै लाने । तेस्रो— जनतासँग प्रतिष्ठानलाई जोड्ने ।
प्रतिष्ठानलाई साझा थलो बनाउन हाम्रो टीमले सर्वप्रथम राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउने काम गर्यो । २०२२ सालदेखि निरन्तर चलिराखेको उक्त महोत्सव एकभाषिक थियो । अहिले निरन्तर चौथो वर्षमा बहुभाषिक राष्ट्रिय कविता महोत्सव मनाएका छौं। सँगसँगै मातृभाषी कार्यक्रम निरन्तर सञ्चालन गर्न थाल्यौं । हरेक महीनाको अन्तिम शुक्रबार अहिले कम्तीमा एउटा भाषाको विषयमा कार्यपत्र लेखन, छलफल, बहस, विमर्श गर्ने र तीनवटा मातृभाषी कविता वाचन गर्ने कार्यक्रम गर्छौं । अहिलेसम्म हामीले ९० वटा भाषालाई सम्बोधन गरिसकेका छौं।
यसका साथै हामीले करीब एक दर्जन मातृभाषी पत्रिका प्रकाशनमा ल्यायौं । प्रज्ञा–प्रतिष्ठानलाई साझा थलो बनाउने क्रम अगाडि बढाउनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मजबूत बनाउनु हो ।
दोस्रो— जनतासँग कसरी जोडिने भन्ने कुराले चिन्तित थिएँ । पहिले नेपाल प्रज्ञा–प्रतिष्ठान भनेको भाषा–साहित्यको काम गर्ने थलो भए पनि कमलादीको ठूलो भवनमा लगभग चार वर्ष बुद्धिविलास गर्ने ठाउँ त हुन्थ्यो तर त्यसलाई जनतासम्म लाने उपक्रम जोडिएको थिएन । म आएपछि धेरै ठाउँमा प्रश्न गरें— ‘नेपाल प्रज्ञा–प्रतिष्ठानबारे तपाईंहरूलाई के–कति थाहा छ ?’ मैले पाएका जवाफबाट बुझें कि अहिलेसम्म समूल जनतासँग जोडिने काम गरेको रहेनछ प्रतिष्ठानले । २०१४ सालमा स्थापना भएपछि यसले काम धेरै गरेको थियो तर त्यो पूर्णाङ्गी रहेनछ।
अहिले चाहिं मैले भाषिक तथा सांस्कृतिक समुदायमा गएर रैथाने ज्ञान उत्सवहरू विस्तार गरिरहेको छु अनि विद्यालयसँग जोडिन ‘विद्यालयमा कुलपति’ भन्ने कार्यक्रम देशभरि सञ्चालन गर्दै छौं ।
तपाईं लामो समयदेखि प्रतिरोधी चेतनाका साथ राज्य–निर्मित इतिहास र केन्द्रीकृत ज्ञानविरुद्ध लेख्दै र बोल्दै आउनुभएको व्यक्ति अहिले राज्यको एउटा नीतिगत अंगको नेतृत्वमा हुनुहुन्छ । यसरी राज्यको अंग बनेर काम गर्दा आफ्नो पुरानो वैचारिक अडान र अहिलेको पदीय जिम्मेवारीबीच कत्तिको टकराव महसूस गर्नुहुन्छ ?
नेपाल प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीमा पुग्दा भनेको थिएँ— हिजो प्रश्न गर्थें, म उत्तर दिने ठाउँमा पुगें। मेरो लेखनको पुरानो आधारले नै प्रज्ञा–प्रतिष्ठानलाई साझा थलो बनाउने र जनतासँग जोड्ने कर्मलाई ‘सपोर्ट’ गर्यो भन्ने लाग्छ।प्रज्ञा–प्रतिष्ठानमा गएपछि मैले दुई थरी कित्ता रहेको अनुभूति गरें । पहिलो कित्ताले भूपाल राईले प्रज्ञा–प्रतिष्ठान बिगार्यो भन्छ । दोस्रो ठूलो कित्ताले भूपाल राईले बल्ल नेपाल प्रज्ञा–प्रतिष्ठानलाई प्रज्ञा–प्रतिष्ठान जस्तो बनायो भन्छ।
१२४ भाषाभाषीले नै तिरेको करले सञ्चालित नेपाल प्रज्ञा–प्रतिष्ठानले एउटै भाषाको मात्रै काम गरिरह्यो भने त्यसको उपादेयता के रहन्छ भनेर मैले बहुभाषिक काम गरेको हुँ । बहुभाषिक समुदायले चाहिं पहिलो पटक नेपाल प्रज्ञा–प्रतिष्ठान हाम्रो पनि भयो भनेका छन् ।
पछिल्लो समय प्रतिष्ठानका आजीवन सदस्यहरूको ‘दोहोरो भत्ता’ खारेज गर्ने तपाईंको निर्णयले निकै चर्चा र विवाद निम्त्यायो । यस विषयमा प्रस्ट पारिदिनुस् न ।
यस विषयले अहिले बजारमा तरंग छाइराखेको छ । दोहोरो सेवा, सुविधा र भत्ताको प्रचलन रहेछ । २०३५ सालदेखि यताकै त्यो फेहरिस्त हेर्ने हो भने लामो छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजीवन सदस्य राख्न पाउने ऐनमै छ । आजीवन सदस्यले भत्ता पाउने व्यवस्था छ । प्रतिष्ठानका आजीवन सदस्यमध्ये केही चाहिं दोहोरो भत्तावाला रहेछन् । त्यो त आर्थिक भ्रष्टाचारभित्र पर्ने विषय हो । जनताले दुई छाक खान पनि नपाउने तर त्यही जनताले तिरेको करको दोहोरो दोहन गर्न पाइँदैन भन्ने मान्यता हो ।
म कुलपति भएलगत्तै दोहोरो भत्ता खारेज गरिदिएँ । प्रतिआजीवन सदस्यलाई मासिक ५१,४७४ रुपैयाँ बेहोर्नु पर्दा २० जना आजीवन सदस्यको भार ठूलै पर्छ । खारेज गरेपछि प्रत्येक २० जनालाई पत्र लेखें— ‘तपाईंहरूमध्ये को–को दोहोरो भत्ता लिनुहुन्छ, इमानदारीसाथ सूचना दिनुहोला र कुन चाहिं संस्थाबाट तपाईंहरूले आफ्नो भत्ता ग्रहण गर्ने छनोट पनि गरिदिनुहोला ।’ एकहोरो भत्ता मात्रै पाउनेहरूले उत्तर दिनुभयो । दोहोरो पाउनेहरू चाहिं अदालतमा रीट हाल्न पुग्नुभयो । अदालतमा रीट हाल्नेमध्येमा ११ जना दोहोरो भत्तावालाहरू हुनुहुँदो रहेछ । अनि, अदालतले अहिलेसम्म खाइपाई आएको नरोक्नु भनेर ‘स्टे अर्डर’ जारी गरिदियो, शुरूमा । हामीले अदालतलाई त सम्मान गर्नुपर्यो । मलाई सन्तोष के भयो भने रोक्न नसके पनि कम्तीमा अदालतको विषय त बनाउन सकियो ।
तर, गत चैत १ गते सम्मानित अदालतले ११ जनाको रीट खारेज गरेर मेरो निर्णयलाई कायम गरिदियो । त्यसैले अदालतको आदेशानुसार ११ जना आजीवन सदस्यज्यूहरूको दोहोरो भत्ता हामी रोक्दैछौं । र, यसले ठूलो तरंग ल्याएको छ ।
प्रज्ञा–प्रतिष्ठान प्राज्ञिक थलो हो । प्राज्ञिक थलो भनेको विचार, चिन्तन र संस्कृतिको बहस गर्ने थलो हो । यस्तो थलोमा स्वच्छ संस्कृति निर्माण गर्दै उच्च नैतिकता प्रदर्शन गरौं भन्ने हो । यो एउटा नैतिक लडाइँ थियो । त्यसमा लगभग विजय हासिल गरियो । यसका लागि म फेरि पनि सम्मानित अदालत र सम्मानित न्यायाधीशहरूलाई धन्यवाद ज्ञापन गर्छु ।
सिर्जनामै रमाइरहने स्रष्टालाई कुलपतिको प्रशासनिक जिम्मेवारी र समयको चापाचापले सिर्जनात्मक कर्ममा कत्तिको असर परेको छ ? पदीय दायित्वले तपाईंको लेखनलाई खुम्च्याएको त छैन ?
मेरो सिर्जनशीलता चार वर्ष पूर्णतया बन्द छ । पछि फेरि सिर्जना गर्ने बानीलाई जोड्न निकै कठिन होला जस्तो लाग्छ । जनतासँग जोडिनुपर्छ भनेर अभियान सञ्चालन गरेपछि हिंड्नुपर्यो । समय त्यतै जानछ । लेख्नका लागि समय चाहिन्छ । दिमागमा धेरै कुरा छन् । तर, त्यसलाई लेख्ने फुर्सद मिलेको छैन ।
समय अभावका बाबजूद तपाईंले आफ्ना वैचारिक निबन्धहरूको संग्रह ‘शब्द सायारेम’ पाठकमाझ ल्याउनुभयो । अब यसै पुस्तकभित्र प्रवेश गरौं— ‘शब्द सायारेम’ को रचना–गर्भका बारेमा केही बताइदिनुस् न।
‘शब्द सायारेम’ कुलपति भएकै कार्यकालमा प्रकाशन भए पनि पहिल्यै लेखिएका निबन्धहरू हुन् । यी निबन्ध लगभग एक दशकभन्दा अघिदेखिकै बटुल्दै बुकहिलका भूपेन्द्र खड्काले छाप्नुभयो ।
२०४५–४६ देखि २०५५–५६ सालसम्म ‘छहरा’ साप्ताहिकमा ‘बेलाको बोली’ स्तम्भमा अलि वैचारिक खालको निबन्ध लेख्थें । त्यसको संग्रह गरेर पुस्तक प्रकाशन गरें— ‘भूमिगत प्रश्नहरू’। त्यस बेलाकै निरन्तरताजस्तो हो— ‘शब्द सायारेम’ । यो पुस्तक लेख्नुमा पत्रकार दीपक सापकोटाको भूमिका ठूलो छ । पहिचानवादी लेखक तथा चित्रकार अर्जुन खालिङले आत्महत्या गरेपछि दीपक सापकोटाले निकै जोडका साथ खालिङमाथि लेख्न अनुरोध गरे। त्यसपछि दीपक सापकोटाले नै पटक–पटक लेख्न लगाएपछि यो पुस्तक तयार भएको हो । त्यस्तै भोगीराज चाम्लिङ र राजु स्याङ्तानको पनि अलिअलि भूमिका छ ।
तपाईंको एउटा भनाइ निकै चर्चित छ— ‘मेरो समुदायले भानुभक्त आचार्य र माधवप्रसाद घिमिरेलाई चिन्दैनन् ।’ यस प्रसंगले अहिलेसम्म स्थापित ‘राष्ट्रिय साहित्य’को अवधारणामाथि नै एक किसिमको गम्भीर प्रश्न र चुनौती खडा गरेको देखिन्छ ।
राज्यसत्ताले उसैको सांस्कृतिक चिन्तनअनुसारको ‘आइकनहरू’ निर्माण गर्दो रहेछ । जस्तै— भानुभक्त । उनकै कालमा पनि त अरू कविहरू थिएनन् र ? जोसमनी सम्प्रदायका कविहरू, जनजागरणका कविता लेख्नेहरू थुप्रै थिए । तर, भानुभक्त नै किन आदिकवि भए ? माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि भनियो । एउटा राज्यसत्ताले खास–खास व्यक्ति र खास–खास समुदायलाई मानक बनाउँदो रहेछ । तर, नेपाली समाज त बहुसांस्कृतिक र बहुभाषिक हो । प्रश्न उठ्छ— उसो भए समाजका अरू ‘आइकन’ खोइ ?
एउटा भाष्य छ— भानुभक्तको ‘रामायण’ ले नेपालको समाज जोड्यो भन्ने । यो भाष्य मलाई कहिल्यै चित्त बुझेन । र, विमति राख्छु । भानुभक्तको रामायणले केही समाजलाई जोडेको अवश्य छ । सुदूरपश्चिमको पन्तलाई काठमाडौंको पन्तसँग जोड्यो होला । तर, पूर्वका किरातीहरूलाई कसरी जोड्यो होला ? गुरुङ, तामाङ र नेवारलाई जोडेको देखिनँ । भानुभक्तको रामायणले जोड्ने अवधारणा लिने मान्छेहरूले त कस्तो परिकल्पना गर्दा रहेछन् भने यो देश भनेको एउटै समाजले बनेको देश हो, एउटै समुदायले बनेको देश हो । यो साम्प्रदायिक कुरा लाग्यो मलाई ।
मैले आफ्नो यो धारणा राख्दा कतिपयले मलाई कुलपतिको हैसियतमा त्यस्तो कुरा बोल्न हुँदैन भने । कतिले त कुलपतिको तुरुन्तै राजीनामा माग्नुपर्छ समेत भने । कुलपतिले सत्य बोल्नु हुँदैन भने त्यो अलग कुरा हो । यस्तो कुरा त कुलपतिले नै बोल्ने हो । नेपाल प्रज्ञा–प्रतिष्ठान साझा थलो बनाउँदैछु भने त्यो सत्य कुरा कुलपतिले नै बोल्ने हो ।
तपाईंले आफ्नो लेखनमा ‘कोलम्बस’लाई एउटा प्रतीकका रूपमा प्रयोग गरेर ज्ञान र सभ्यताका नाममा भइरहेको अतिक्रमणको आलोचना गर्नुभएको छ । तपाईंको दृष्टिमा आधुनिकताको यो लहर स्वयंमा एउटा औपनिवेशिक परियोजना हो ?
यसलाई नवऔपनिवेशिक परियोजना भनौं । विकास त चाहिन्छ, तर कुनै पनि ठाउँको सांस्कृतिक आयाम नबुझीकन गरिएको विकास वास्तवमा औपनिवेशिक हस्तक्षेप नै हो । त्यही भएर कोलम्बसलाई एउटा विम्ब–प्रतीक बनाएर मैले लेखेको हो । मैले त्यो लेख लेख्दै गर्दा हाम्रा किरातीको खुवालुङबारे चर्चा–परिचर्चा चल्दै थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीको खुवालुङलाई ढुंगा भनेर त्यसलाई फुटाएर जलमार्ग निर्माण गर्नुपर्छ भनेपछि किरातीहरूले उर्लिएर भने— खुवालुङ भनेको सामान्य ढुंगा मात्र होइन । त्यो किरातीहरूको आदिम कालदेखिको एउटा ठूलो सांस्कृतिक धरोहर हो । मान्छेको कथा नामेट पारेर पुगेको जहाज के काम ।
खुवालुङकै कुरा उठाउँदा भूमि, प्रकृति र सभ्यताको प्रश्नलाई केन्द्रीय बहसमा ल्याइराख्नुभएको छ । साथै, पर्यावरणीय चिन्ताको पक्ष पनि यसमा जोडिएर आउँछ होला नि, होइन ?
हो त । जस्तै मैले यस किताबमा पनि लेखेको छु, ठूला–ठूला चिनो–चौतारीहरू सांस्कृतिक मात्रै नभएर पर्यावरणीय स्थापत्यहरू पनि हुन् । मेरो गाउँमा घरछेउमै बाजेले रोप्नुभएको ठूलो वर–पीपलको चौतारो थियो । त्यही चौतारोको एक भाग तोडेर बाटो लगिएको रहेछ । त्यो दृश्य हेर्नै सकिनँ मैले । त्यो त मेरो इतिहास थियो नि । मेरै इतिहास खत्तम बनाएर मलाई बाटो दिन्छ भने त्यसलाई मैले के भन्ने ? त्यो त अतिक्रमणकारी कार्य हो । कोलम्बसलाई एउटा पात्र निर्माण गरेर लेखेको छु । कोलम्बसले अमेरिकाका ‘नेटिभ पिपुल’ लाई हताहत गरेर ‘जेनोसाइड’ गरेजस्तै चिनो–चौतारी र जंगल मासेर सडकहरू पुग्दैछन् ।
तपाईंले पहिचानलाई केवल सांस्कृतिक उत्सव मात्र नभएर एउटा ‘राजनीतिक प्रश्न’का रूपमा उठाउनुभएको छ । तर, अहिले पहिचानलाई केवल चाडपर्व र उत्सवमा मात्र सीमित गरिंदै छ । यसरी सांस्कृतिक सवाललाई राजनीतिक विषयका रूपमा स्थापित गर्न नसक्दा वैचारिक धार खिइँदै जाने जोखिम कत्तिको देख्नुहुन्छ ?
मूलधारमै पहिचान भन्ने विषय स्थापित भएर आयो । तर, हामीले के बुझ्यौं भने टुँडिखेलमा गुरुङहरूले ल्होसार मनाउँदै, किरात राईहरूले साकेला उभौली–उधौलीमा नाच्न पाउँदै हामीले पहिचान प्राप्त गर्यौं । वास्तवमा यो अपूर्ण बुझाइ हो । आदिवासी जनजातिको सन्दर्भमा पहिचान भनेको मूलतः राजनीतिक प्रश्न हो । यसमा मूलतः भूमि र राज्य सञ्चालनको कुरा जोडिन्छ । यीविना सामान्य नाचगान, भेषभूषा, खानपानले मात्रै केही पनि हुँदैन ।
तपाईंको वैचारिक जग माक्र्सवाद हो । तर नेपालमा पहिचानको एजेन्डा उठाउँदा धेरै माक्र्सवादीले यसलाई ‘नश्लवाद’को आरोप लगाउँदै ‘वर्ग’को मात्र कुरा गर्नुपर्ने तर्क गर्छन् । नेपाली समाजको सन्दर्भमा ‘पहिचान’ र ’वर्ग’बीचको यो द्वन्द्वलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?
धेरै ठाउँमा यो विषयमा बहस चल्छ मेरो । मलाई जातिवादी भनेर धेरैले ट्याग लगाउँछन् । अनि भन्छु— ‘म त जातिवादी नै हो । जातिवादी भनेको राम्रो हो किनभने जाति भनेको राष्ट्र हो, नेशन हो । त्यो नेशन चाहिं अरू नेशनजस्तै समान हुनुपर्छ भनी वकालत गर्ने जातिवादी हुँ । म नश्लवादी होइन ।’ मलाई जातिवादी भन्नेहरू चाहिं एकभाषिक र एकसांस्कृतिक नश्लवादीहरू हुन् । उनीहरू के चाहन्छन् भने यस देशमा अरू जाति नउठून् । खासगरी नेपालका माक्र्सवादीहरूमा शास्त्रीय दृष्टिकोण देखिन्छ । कार्ल माक्र्सले जे प्रतिपादन गरे त्यसउप्रान्त माक्र्सवाद छैन भन्ने विचार हो त्यो । तर, नेपालको वर्ग निर्माण खासगरी वर्णाश्रम व्यवस्थाबाट निर्मित छ ।
किरात सभ्यता र मुन्दुमका बारेमा पनि अलि चर्चा गरौं । कतिपयले मुन्दुमलाई मौखिक परम्परा भएकाले ‘अविश्वसनीय’ समेत भन्छन् । मुन्दुमको दार्शनिक पक्षबारे अलि प्रस्ट पारिदिनुस् न ।
मुन्दुम मौखिक परम्परामा आधारित हाम्रो मूल विश्वासको एउटा दस्तावेज हो । यद्यपि यो लेख्य परम्परामा आउनका लागि बिस्तारै–बिस्तारै काम भइराखेको छ । मुन्दुममा मानिसको प्रकृतिसँगको सम्बन्धको वर्णन छ । मूलतः मुन्दुमले के भन्छ भने प्रकृतिलाई दोहन नगर । प्रकृति र किरात जीवनको सम्बन्ध आमा र काखको बच्चाको जस्तो हुन्छ । बच्चा आमाको काखमै झगडा गर्छ, उफ्रिन्छ, आमाकै काख टेक्छ, लात्ती हान्छ । तर, आमाकै दूध चुसेर हुर्किन्छ । हाम्रो सांस्कृतिक र वैचारिक दर्शन नै मुन्दुम हो । हाम्रो मुन्दुमले पृथ्वीको सृष्टि अमुक ईश्वरले गर्यो भन्दैन । केही प्रतीकात्मक कुरा छन् । हामी किरातीले अहिले बाँचिरहेको जीवनलाई हेर्ने हो भने यसलाई अविश्वसनीय भन्न मिल्दैन ।
यो मुन्दुमी ज्ञानलाई बृहत् अर्थमा आदिवासी वा रैथाने ज्ञान भन्न सकिन्छ ? अहिलेको राज्य–संयोजनमा यो रैथाने ज्ञानलाई कसरी समावेश गर्न सकिन्छ ?
नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख छ । अहिले टड्कारो रूपले विश्वभरि समाजवादको विषयमा छलफल चलिरहेको छ । देशलाई समाजवादतिर लाने हो भने रैथाने ज्ञान प्रणालीलाई आत्मसात् नगरी हुँदैन । विकासकै मोडलको कुरा गर्दा प्रकृति दोहन नगर्ने कुरा छ । आदिवासीमा रहेको सामूहिकता, जात व्यवस्थाविरोधी दर्शनलाई आत्मसात् गर्न सकिए देश अगाडि बढ्छ ।
VIDEO