नेपाली साहित्यमा उपन्यास, नारी–केन्द्रित कथ्य र ऐतिहासिक आख्यानमार्फत छुट्टै पहिचान बनाएकी नीलम कार्की निहारिका २०७४ सालको मदन पुरस्कार विजेता कृति योगमायाकी सर्जक हुन्। उनै निहारिका गत महीना पछिल्लो उपन्यास राजमातासहित राजधानीका साहित्यिक जमघटमा व्यस्त भइन्। योगमाया, चीरहरण, द्रौपदी अवशेष जस्ता आख्यानमार्फत इतिहास, मिथक र नारी अनुभवलाई पुनः पाठ गर्ने लेखकीय अभ्यास गर्दै आएकी निहारिकाको यो उपन्यासले विशेष गरी मल्लकालीन इतिहास, सत्ता संरचना र नारी भूमिकामाथि पुनर्व्याख्या गर्ने प्रयास गर्छ।
आमाको सुझावबाट शुरू भएको लेखन बीज, लामो अनुसन्धान, स्थलगत अध्ययन र कोभिडकालीन अनिश्चितताबीच विकसित भएको राजमाताले इतिहासलाई केवल तथ्यको रूपमा होइन, स्मृति, मौनता र पुनर्कल्पनाको क्षेत्रका रूपमा प्रस्तुत गर्छ। उपन्यासले देवलदेवी, मल्लिकावती र चन्द्रप्रभावतीजस्ता ऐतिहासिक नारी पात्रमार्फत राज्य, सत्ता र अस्तित्वको बहु आयामिक प्रश्न उठाउने प्रयास गरेको छ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी निहारिकाको लेखकीय दृष्टि, इतिहासप्रतिको आलोचनात्मक बुझाइ र नारी अनुभवलाई केन्द्रमा राख्ने सिर्जनात्मक यात्रासँगै यस उपन्यासको सन्दर्भ, लेखन प्रक्रिया र वैचारिक आधारबारे हिमालखबरका लागि गुरुङ सुशान्तले उनै नीलम कार्की निहारिकासँग गरेको कुराकानीको सम्पादित अंश:
राजमातालाई लिएर तपाईं कत्तिको उत्साहित हुनुहुन्छ ?
उत्साहित छु, यस अर्थमा कि मैले इतिहासका ती पात्रहरूलाई पुनः साहित्यमा ल्याउने प्रयास गरेकी छु। यो पुस्तक लेख्नुभन्दा पहिले मलाई पनि ती विषयबारे धेरै जानकारी थिएन। त्यसैले मजस्ता कम जानकारी भएका पाठकहरूले पनि यो उपन्यास पढेर केही नयाँ कुरा सिक्ने अवसर पाउनेछन् भन्ने विश्वासले म उत्साहित छु।
झण्डै दुई दशकदेखि अमेरिकामा बस्दै आउनुभएको छ। यसअघि तपाईं रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि कार्यरत हुनुहुन्थ्यो। अमेरिका गएपछि तपाईंको लेखन अझ सक्रिय भएको देखिन्छ, यसको कारण के हो?
मेरो योगमाया उपन्यासको विमोचनका बेला यसको शुरूआत भएको हो। त्यति बेला मलाई आमाले बोलाएर भन्नुभयो – “नीलम, अब इतिहासका आमाहरूलाई केन्द्रमा राखेर एउटा उपन्यास लेख।” उहाँको भनाइको मूल आशय यस्तो थियो – पृथ्वीनारायण शाह आफैं एक्लै पृथ्वीनारायण शाह बनेका होइनन् होला, उनको पछाडि धेरै व्यक्ति र विशेष गरी आमा पनि थिए होलान्। त्यस्ता आमाहरू खोजेर राजमाता नामक पुस्तक लेख।
उहाँको यही भनाइ नै यस उपन्यासको बीज बन्यो। त्यसपछि मैले त्यस विषयमा खोजी शुरू गरें र अहिले यो उपन्यास यही रूपमा आएको हो।
त्यसो भए यस उपन्यासको न्वारानसम्म तपाईंकी आमाले नै गर्नुभयो ?
हो, त्यो दिन नै विषय मात्र होइन, एउटा प्रमुख दृष्टिकोण पनि उहाँले दिनुभयो। अरू पात्र चाहिं ‘यस्तै अन्य आमाहरू पनि खोज’ भनेर भन्नुभयो। त्यसपछि मैले खोजी शुरू गरें।
इतिहासमै टेकेर हेर्दा मलाई अन्य आमाहरू पनि खोज्ने चाहना थियो। विशेष गरी युद्धमा सहादत प्राप्त आमाहरू। तर, दुर्भाग्यवश इतिहासमा त्यस्ता आमाहरूबारे पर्याप्त विवरण नभएकाले म तिनलाई स्पष्ट रूपमा भेट्न सकिनँ।
केही स्थानमा भने काल्पनिक रूपमा भए पनि योद्धा आमाहरूलाई गौण पात्रका रूपमा समेट्ने प्रयास गरेको छु। तर, इतिहासमा स्पष्ट रूपमा उल्लेख भएका पात्रहरूलाई आधार बनाएर नै मैले यो उपन्यास तयार पारेकी हुँ।
यो उपन्यास लेख्न कति वर्ष लाग्यो ?
यसको लेखन सन् २०१९ तिर शुरू गरे पनि बीचमा कोभिड महामारी आयो। त्यसअघि नै मैले आवश्यक सामग्री संकलन गरिसकेकी थिएँ। म मदन पुरस्कार पुस्तकालयमा पनि आएर आवश्यक सामग्री–सूची लिएर गएकी थिएँ। त्यसपछि विभिन्न स्रोतबाट पुस्तकहरू जुटाएँ र केही स्थानको अध्ययनका लागि यात्रा पनि गरें।
तर कोभिड शुरू भएपछि लेखन बीचमै रोकियो। त्यति बेला केही समय त लेख्ने मनस्थितिमै रहिनँ। यो विषय निकै गहिरो र श्रम साध्य थियो। इतिहासका तिथि मिति, घटनाक्रम र तथ्यलाई केलाएर लेख्नुपर्ने भएकाले लेखन झन् जटिल थियो।
त्यसमाथि कोभिडको समयमा जीवन नै अनिश्चितजस्तो बनेको थियो। त्यस बेला हामी सबैमा ठूलो असुरक्षा थियो – बाँचिन्छ कि बाँचिँदैन भन्ने नै निश्चित थिएन। मेरो श्रीमान् हस्पिटलमा काम गर्नुहुन्थ्यो, त्यसैले हामी अझै बढी जोखिममा थियौं। अमेरिकामा त्यति बेला अवस्था अत्यन्तै भयावह थियो।
त्यस्तो समयमा ममा लेख्ने भन्दा पनि बाँच्ने नै आशंका बढी थियो। त्यसैले मैले सोचेँ – यदि बाँचें भने लेख्छु, नत्र यत्तिकै छोडिदिन्छु।
त्यही क्रममा मैले सिर्जनात्मक लेखनमा संलग्न एक जना भाइलाई यो परियोजनाबारे जानकारी दिएकी थिएँ। उनलाई भनें – “यदि मलाई केही भयो भने मैले शुरू गरेको यस पुस्तकलाई तिमीले पूरा गरिदिनू। यसको रूपरेखा र केही सामग्री मसँग छन्।”
त्यति बेला मैले यस उपन्यासको एउटा प्रारम्भिक संरचनासम्म तयार गरिसकेकी थिएँ, तर अनिश्चित परिस्थितिका कारण यसको भविष्यबारे स्पष्ट हुन सकिरहेकी थिइनँ।
यो उपन्यासका लागि सामग्री कसरी संकलन गर्नुभयो ?
मैले प्रत्यक्ष प्राथमिक स्रोत प्रयोग गरेकी होइन। शिलालेख र ऐतिहासिक सामग्री पहिले नै उतारेर प्रकाशित भएका स्रोतबाट अध्ययन गरें।
राजसंस्थाको इतिहास बुझ्न तिथि मिति, नाम र प्रमुख घटनाहरू आवश्यक हुन्छन्। तर, उपन्यासका लागि त्यतिले मात्र पुग्दैन, त्यस समयको सामाजिक–सांस्कृतिक परिवेश पनि बुझ्नुपर्छ।
मैले खानपान, भेष भूषा, बोलीचालीदेखि लिएर जीवनशैलीसम्म अध्ययन गरें। नेवारी संस्कृति बुझ्न भक्तपुर, काठमाडौं र पाटनका स्रोत र व्यक्तिहरूसँग सम्पर्क गरें। सिम्रौनगढका लागि मैथिली संस्कृतिसँग सम्बन्धित जानकारहरू र स्थलगत अध्ययनको पनि सहयोग लिएँ।
कलात्मक स्वतन्त्रता बाहेक, सुसारे र द्वारपालबाहेक सबै पात्र ऐतिहासिक नै हुन् ?
हो, धेरैजसो पात्रहरू ऐतिहासिक नै हुन्। मैले इतिहासमै उल्लेख भएका पात्रहरूलाई नै आधार बनाएको छु।
तर, केही पात्रहरू, विशेष गरी योद्धाका आमा वा श्रीमतीहरू, मेरो कल्पनामा आधारित हुन्। किनभने इतिहासमा ती पात्रहरूको विस्तृत विवरण धेरै पाइँदैन। माथिल्लो तहका केही व्यक्तिहरूको मात्र सीमित जानकारी उपलब्ध छ, तर जीवन आहुति दिने सामान्य योद्धा र उनीहरूका परिवारबारे कमै लेखिएको छ।
त्यसैले त्यस्ता योद्धाका आमा, स्याहारसुसार गर्ने पात्रहरू तथा केही द्वारपालजस्ता पात्रहरू मैले कथालाई जीवन्त बनाउनका लागि कल्पनामा निर्माण गरेकी हुँ। त्यति बेला दासप्रथा पनि रहेको ऐतिहासिक सन्दर्भ भएकाले त्यसअनुसारका पात्रहरू पनि समावेश भएका छन्।
यीबाहेक अन्य सबै पात्रहरू भने इतिहासमै आधारित वास्तविक पात्रहरू हुन्।
राजमाता लेख्दा तपाईं आधिकारिक इतिहाससँग कति सहमत वा असहमत हुनुभयो ? यो उपन्यास इतिहासको पुनरावृत्ति हो कि सचेत पुनर्लेखन ?
इतिहासमा प्रश्न उठाउने तहसम्म म अझै पुगेको जस्तो लाग्दैन, तर केही ठाउँमा चाहिं प्रश्नहरू अवश्य आउँछन्। ‘यस्तो पनि भएको थियो होला’ भन्ने जस्ता प्रश्नहरूमा कतै मैले विभिन्न स्रोतहरू मिलाएर समाधान गर्ने प्रयास गरेको छु भने कतै मौन बसेको पनि छु।
उदाहरणका लागि पृथ्वीनारायण शाहसम्बन्धी घटनाहरूमा विभिन्न विवरणहरू भेटिन्छन्। जन्मदेखि बाल्यकाल, काठमाडौं आगमन, त्यसपछिका घटनाक्रम – यी सबैलाई मिलाउँदा कतिपय ठाउँमा तर्क र अन्तर्विरोध देखिन्छ। जस्तै, उहाँ बाल्यकालमै काठमाडौं आएको भनिन्छ तर पछि फेरि चन्द्रागिरिबाट काठमाडौं हेरेको प्रसंग आउँछ। यस्ता कुराले मलाई प्रश्नमा पुर्यायो।
यस्ता धेरै प्रसंगहरू छन्, जसले इतिहासलाई एकै ढाँचामा बुझ्न कठिन बनाउँछ। मैले आफ्नै तर्कका आधारमा ती कुराहरूलाई बुझ्ने प्रयास गरें र आफैंलाई सन्तुष्ट भएपछि मात्रै लेखनतर्फ अघि बढें, तर सबै तर्कहरू पुस्तकमा राखिनँ।
राजमातामा मैले विशेष गरी इतिहासमा मौन बनाइएका वा ओझेलमा परेका पात्रहरूलाई आवाज दिने प्रयास गरेको छु। उदाहरणका लागि देवलदेवी वा राजल्लदेवीजस्ता पात्रहरू। राजल्लदेवीको सन्दर्भमा हेर्दा पनि इतिहासका विभिन्न लेखनमा फरक–फरक व्याख्या भेटिन्छन्। कतै उनलाई निर्णायक शासकीय भूमिकामा देखाइन्छ, कतै उनको भूमिकालाई कमजोर बनाइन्छ।
यस्ता फेरबदलहरू मौखिक परम्परा, दोस्रो–तेस्रो पुस्ताका लेखन र व्याख्याका कारण आएका हुन् जस्तो लाग्छ। त्यसैले पाठकले एउटै पुस्तक हेरेर मात्र इतिहास बुझ्दा भ्रममा पर्न सक्ने अवस्था पनि देखिन्छ।
यसैले राजमातालाई म इतिहासको पुनरावृत्तिभन्दा पनि सचेत पुनर्लेखन भन्न रुचाउँछु – जहाँ इतिहासका घटनालाई आख्यानको माध्यमबाट पुनः पढ्ने र केही मौन आवाजहरूलाई उजागर गर्ने प्रयास गरिएको छ।
इतिहासमा धेरै कुरा लेखिन्छन् र धेरै कुरा नलेखेर पनि लुकाइन्छ भनिन्छ। राजमाता लेख्ने क्रममा तपाईंले पढेका इतिहासका पुस्तकहरूमा केही कुरा किन लुकाइएका जस्तो लाग्यो ?
लुकाइएका कुरा त धेरै नै भेटिन्छन्। विशेष गरी महिलासम्बन्धी इतिहास अझ बढी ओझेलमा परेको देखिन्छ। हाम्रो समाजमा अहिले पनि दरबारका महिलालाई प्रायः कोठामा बस्ने, राजाको प्रतीक्षा गर्ने, शृंगार गर्ने र सन्तान जन्माउने भूमिकामै सीमित गरेर बुझ्ने दृष्टिकोण छ। त्यसैले उनीहरूको वास्तविक योगदान धेरै ठाउँमा देखिंदैन।
त्यस समयको राजनीतिक अवस्था पनि कारण हुन सक्छ। कतिपय अवस्थामा लेखकहरू स्वतन्त्र भएर लेख्न नसकेको, प्रतीक र विम्बको प्रयोग गरेर लेख्नुपर्ने बाध्यता पनि थियो। कहिलेकाहीं राज्यको डर वा दबाबका कारण पनि सिधा रूपमा सत्य लेख्न नसकिएको हुन सक्छ।
तर सबै कुरा डर वा बाध्यताले मात्र होइन, पछिल्ला पुस्ताका लेखन र व्याख्याका कारण पनि इतिहास क्रमशः बदलिंदै गएको देखिन्छ। एउटै घटनालाई फरक लेखकले फरक ढंगले प्रस्तुत गरेको पाइन्छ – कतै कुनै पात्रलाई पूर्ण रूपमा नकारात्मक बनाइएको छ भने कतै त्यसकै पक्षमा बलियो तर्क राखिएको छ।
उदाहरणका लागि शाह वंशीय इतिहासमै पनि विभिन्न व्याख्या भेटिन्छन्। एउटै घटनालाई कसैले रणनीतिक निर्णय भन्छ भने कसैले व्यक्तिगत चाहनाको परिणाम। यस्ता भिन्नताले पाठकलाई कुन सत्य हो भन्नेमा द्विविधा हुन्छ।
त्यसैले राजमाता लेख्दा मलाई लाग्यो – इतिहास केवल लेखिएको कुरा होइन, लेख्न छुटाइएको कुरा पनि हो। विशेष गरी महिलाका सन्दर्भमा धेरै कुरा छुटाइएका छन् वा कमजोर रूपमा प्रस्तुत गरिएका छन्। त्यही मौन भागलाई उजागर गर्ने प्रयास मैले यो उपन्यासमार्फत गरेको हुँ।
राजमाता लेख्ने क्रममा यदि तपाईंले इतिहास पुनर्लेखन गर्न पाउनुभएको भए कुन विषयलाई फरक कोणबाट प्रस्तुत गर्नुहुन्थ्यो ?
म चाहन्थेँ – हाम्रा योद्धाहरूको इतिहास पनि फरक दृष्टिकोणबाट लेखियोस्। तर समस्या के छ भने धेरै कुरा पहिले नै स्पष्ट रूपमा लेखिएको छैन। म त मुख्यतः द्वितीय स्रोतहरूमा भर पर्छु, त्यसैले लेखिसकेका सामग्रीबाट मात्र धेरै कुरा उठाउन सकिने अवस्था हुँदैन। जहाँ सामग्री भेटिन्छ, त्यहाँ पनि क्रस चेक गरेर र आफ्नै चिन्तन–मननसहित अघि बढ्नुपर्छ। केही ठाउँमा अझै फरक कोणबाट लेख्न सकिने सम्भावना भने पक्कै छ जस्तो लाग्छ।

ई.एच. कारको भनाइअनुसार इतिहासमा तथ्यभन्दा व्याख्याको भूमिका बढी प्रभावशाली हुन्छ भन्ने कुरा राजमाता लेख्दा तपाईंले कत्तिको अनुभव गर्नुभयो र ऐतिहासिक उपन्यास लेख्दा तथ्य र सिर्जनात्मक स्वतन्त्रताबीच कस्तो जटिलता आउँछ ?
मैले त्यो कुरा एकदमै अनुभव गरें। इतिहास भनेको केवल तथ्यहरूको संग्रह होइन रहेछ, त्यो त व्याख्याले धेरै हदसम्म आकार दिने विषय रहेछ र त्यो व्याख्या पनि कहिलेकाहीं पक्षपाती वा सीमित दृष्टिकोणबाट प्रभावित हुने रहेछ। त्यसैले एउटै घटनालाई फरक–फरक ढंगले बुझ्दा इतिहास नै फरक देखिन सक्छ।
राजमाता लेख्ने क्रममा मेरो सबैभन्दा ठूलो चुनौती यही थियो – तथ्य र सिर्जनात्मक स्वतन्त्रताको बीच सन्तुलन कायम गर्नु। एकातिर इतिहासका उपलब्ध स्रोतहरू छन्, जहाँ विभिन्न तिथि मिति, घटना विवरण र व्याख्याहरू आपसमा मेल नखाने अवस्था पनि हुन्छ। ती सबैलाई मिलाएर सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्नु आफैंमा कठिन काम हो। अर्कोतिर, उपन्यास भएकाले कलात्मक स्वतन्त्रता पनि आवश्यक हुन्छ तर त्यो स्वतन्त्रता अत्यधिक भएमा इतिहास विकृत हुने डर रहन्छ।
त्यसैले म सधैं यसमा सचेत थिएँ कि म कुनै पक्ष वा विपक्षमा उभिन होइन, बरु घटनालाई यथासम्भव सन्तुलित र निष्पक्ष ढंगले प्रस्तुत गरूँ। कहिले विभिन्न स्रोतहरू, संशोधन मण्डलका अध्ययन र विज्ञहरूको रायलाई आधार बनाएर अघि बढें भने कहिले आफ्नै तर्क र चिन्तनको सहारा लिनुपर्यो। तर, अन्ततः इतिहासलाई सम्मान गर्दै त्यसलाई जीवन्त बनाउने प्रयास नै मेरो लेखनको मुख्य चुनौती र उद्देश्य दुवै रह्यो।
यदि इतिहासका स्रोतहरू अपूर्ण वा पक्षपाती छन् भने आख्यानकारले त्यसलाई कसरी ‘सुधार’ वा सन्तुलित गर्न सक्छ ? र राजमाता लेख्दा तपाईंले यसलाई कसरी सम्हाल्नुभयो?
मैले यसलाई मुख्यतः खोज, तुलना र चयनको प्रक्रियाबाट सम्हालें। जहाँ स्रोतहरू अपूर्ण थिए, त्यहाँ सकेसम्म थप खोज्ने प्रयास गरें। तर, सबै ठाउँमा जानकारी भेटिंदैन, विशेषगरी केही घटना वा पात्रको सन्दर्भमा स्रोत नै अधुरो हुन्छ। त्यस्तो अवस्थामा मैले अनुमान वा कल्पनाभन्दा पनि उपलब्ध तथ्यहरूलाई विभिन्न कोणबाट जाँचेर, मलाई सबैभन्दा तर्कसंगत लाग्ने संस्करण रोज्ने प्रयास गरें।
जस्तै गमायाको सन्दर्भमा उहाँको आसाम बसाइका धेरै पक्षहरूबारे ठोस विवरण नै भेटिएन, परिवारका सदस्यहरूसँग सोध्दा पनि स्पष्ट जानकारी पाइएन। त्यसैले त्यस्तो ठाउँमा मैले खाली ठाउँलाई जबरजस्ती भर्नुभन्दा त्यसलाई छोडिदिएँ। म कहिल्यै पनि नभएको कुरा थपेर इतिहासलाई पूरा गर्ने पक्षमा छैन।
बरु, जहाँ द्विविधा थियो, त्यहाँ विभिन्न सम्भावनालाई मनन गरेर सबै कोणबाट हेरेपछि मलाई सबैभन्दा विश्वसनीय लाग्ने निष्कर्षलाई मात्र लिएँ। कहिलेकाहीँ केही भाग सचेत रूपमा नछोईकन छोड्नु पनि इमानदार लेखन लाग्छ मलाई।
पृथ्वीनारायण शाहको सन्दर्भमा पनि ‘एकीकरण’ वा ‘राज्य विस्तार’ भन्ने बहसलाई म एकै कोणबाट होइन, तत्कालीन ऐतिहासिक परिस्थितिबाट बुझ्ने प्रयास गर्छु। त्यो समय साना–साना राज्यहरूबीच शक्ति संघर्ष, आक्रमण र गठबन्धन सामान्य कुरा थियो। दाजुभाइ राज्यबीच पनि युद्ध हुने अवस्थाबाट नै त्यो राजनीतिक प्रक्रिया अघि बढेको देखिन्छ।
त्यसैले ‘एकीकरण’ भन्ने शब्दलाई म पूर्ण रूपमा नकार्दिनँ, तर त्यसलाई केवल एउटा स्थापित भाष्य मात्र भनेर पनि सीमित राख्दिनँ। मेरो प्रयास चाहिं इतिहासलाई आरोप–प्रत्यारोपभन्दा पर राखेर त्यस समयको यथार्थ राजनीतिक संरचना र व्यवहार बुझाउने हो।
अन्ततः अपूर्ण वा पक्षपाती स्रोतहरूलाई ‘सुधार्ने’ मेरो तरिका भनेको नयाँ तथ्य बनाउनु होइन, बरु उपलब्ध तथ्यलाई आलोचनात्मक रूपमा जाँचेर, सन्तुलित र सम्भव सबैभन्दा तर्कसङ्गत आख्यान निर्माण गर्नु हो।
इतिहास ‘विजेताले लेख्छ’ र प्रायः शासककेन्द्रित हुन्छ भन्ने भनाइ छ। राजमाता लेख्दा तपाईंले ‘कसको इतिहास लेख्ने’ भनेर आफूलाई नै नैतिक प्रश्न गर्नुभयो कि ?
त्यो प्रश्न मैले आफैंलाई धेरै पटक गरें। तर म स्पष्ट थिएँ – मेरो केन्द्र नारीहरूको योगदान हो। मेरी आमाको प्रेरणाले पनि मलाई त्यही दिशातिर लग्यो कि महिलाहरूले त्यो समय कस्तो भूमिका खेले भन्ने कुरा उजागर गर्नुपर्छ।
तर महिलाको इतिहास लेख्दा त्यति बेलाको समाज, राजनीति र सत्ता संरचना छुट्टाएर लेख्न सकिंदैन। त्यसैले ती सबै सन्दर्भ पात्रमार्फत नै आउनुपर्ने भयो।
पात्र चयन पनि सीमितताभित्र थियो। मल्लकालदेखि आधुनिक राजनीतिक रूपान्तरणसम्म जोड्दा मैले केही मुख्य पात्र रोजें, तर त्यसको अर्थ अरू पात्र महत्त्वपूर्ण थिएनन् भन्ने होइन। उदाहरणका लागि योगमतीजस्ता पात्रहरू पनि अत्यन्त महत्त्वपूर्ण छन्, तर एउटै पुस्तकमा सबै समेट्न सम्भव थिएन – त्यसको आकार अत्यन्त ठूलो हुने थियो।
मेरो उद्देश्य महिलाको भूमिकालाई केन्द्रमा राख्दै इतिहासको ठूलो चित्र देखाउनु थियो। त्यसैले ‘देवलदेवी’जस्ता पात्रमार्फत मैले केवल व्यक्तिको कथा होइन, त्यति बेलाको नेपाल – त्यसको भूगोल, राज्य संरचना, शक्ति सम्बन्ध र परिवर्तनको प्रक्रिया पनि देखाउने प्रयास गरें।
अन्ततः मेरो निर्णय यस्तो भयो – म एउटा पात्रको होइन, महिलाहरूको अनुभवबाट इतिहास बुझाउने प्रयास गर्छु र त्यसै क्रममा समाज र सत्ता संरचनालाई पनि समेट्छु।
इतिहासमा मौन बनाइएका पात्रहरूलाई आवाज दिंदा तपाईंलाई कस्तो अनुभूति हुन्छ – तपाईं आफूलाई उनीहरूको प्रतिनिधि आवाज ठान्नुहुन्छ कि पुनर्निर्माता ?
मलाई दुवै कुरा लाग्छ – कहिलेकाहीं प्रतिनिधि आवाज जस्तो, कहिलेकाहीं पुनर्निर्माता जस्तो।
कतिपय पात्रहरू, जस्तै देवलदेवी, इतिहासमा पूर्ण रूपमा हराएका होइनन्, तर उनीहरूको जीवनलाई सिलसिलाबद्ध ढंगले, एउटै कथानकमा जोडेर हेरेको पाइँदैन। म त्यही टुक्रिएको इतिहासलाई जोडेर एउटा निरन्तर कथा बनाउने प्रयास गर्छु।
उदाहरणका लागि योगमायाको सन्दर्भमा पनि मैले उहाँका विचार, संघर्ष र आवाजलाई आख्यानमार्फत पुनः प्रस्तुत गर्न खोजें। वास्तविक दस्ताबेजमा छरिएका विवरणहरूलाई जोडेर उहाँको जीवनको एउटा सम्पूर्ण चित्र बनाउने प्रयास भयो। त्यही अनुभव देवलदेवीमा पनि दोहोरियो – उनको जीवनलाई केवल घटनाहरूको सूची होइन, एउटा अनुभव र भोगाइको रूपमा देखाउने प्रयास गरें।
यसरी हेर्दा म आफूलाई केवल लेखक मात्र होइन, ती मौन पात्रहरूको अनुभवलाई पुनः संरचना गर्ने माध्यमजस्तो पनि महसुस गर्छु। कहिलेकाहीँ त ती पात्रलाई एकै ठाउँमा राखेर संवाद गराइरहेको जस्तो कल्पना पनि हुन्छ, जसले मलाई उनीहरूको भावनात्मक र ऐतिहासिक संसार बुझ्न अझ नजिक पुर्याउँछ।
तपाईंले लेख्ने नारी पात्रहरूको दुःख, विद्रोह र जीवन भोगाइ हेर्दा – बाहिरी व्याख्याकार जस्तो महसुस गर्नुहुन्छ कि ती पात्रसँगै आफैं बाँचिरहेको जस्तो अनुभव गर्नुहुन्छ ?
मलाई त आफू नै ती पात्र बनेको जस्तो लाग्छ। किनभने लेखिरहँदा पात्रहरू खुसी हुँदा म पनि खुसी हुन्छु, उनीहरू दुःखी हुँदा म पनि दुःखी हुन्छु। कतिपय बेला त मेरो व्यवहारमै त्यो असर देखिन्छ – मन खिन्न हुन्छ, मनस्थिति नै बदलिन्छ। परिवार वा साथीहरूले पनि के भयो भनेर सोध्छन्।
त्यो बेला मलाई लाग्छ, म बाहिर बसेर व्याख्या गर्ने मात्र होइन, ती पात्रहरू मभित्रै बाँचिरहेका छन् र म उनीहरूभित्र प्रवेश गरिरहेको छु। त्यसैले म उनीहरूको जीवनलाई केवल वर्णन गरिरहेकी हुँ भन्ने होइन, बरु अनुभूति गरेर लेखिरहेकी हुन्छु।
नारी पात्रहरूको पीडा र मौनता बुझ्न नारी हुनुको आफ्नै अनुभवले पनि मद्दत गर्छ जस्तो लाग्छ। जस्तै मातृत्व, प्रसव वा सामाजिक अनुभवहरू – यी कुराहरूलाई केवल कल्पना गरेर होइन, अनुभूतिको आधारमा पनि बुझ्न सकिन्छ। त्यसैले मलाई लाग्छ, यस्तो लेखनमा नारी पात्रहरूको अनुभव अझै गहिरो रूपमा महसूस गर्न सकिन्छ।
त्यसैले म आफूलाई बाहिरी व्याख्याकारभन्दा पनि ती पात्रहरूको जीवनलाई भित्रबाट बाँच्ने र पुनः अनुभूति गर्ने लेखिका जस्तो महसूस गर्छु।
नारीमुक्ति भन्नाले तपाईंका लागि व्यक्तिगत स्वतन्त्रता हो कि सामाजिक संरचनाको रूपान्तरण ?
मेरो बुझाइमा नारीमुक्ति मुख्यतः सामाजिक संरचनाको रूपान्तरण हो। व्यक्तिगत स्वतन्त्रता त्यसको परिणाम हो, तर मूल कुरा संरचना परिवर्तन नै हो। जबसम्म समाजको सोच, व्यवस्था र परम्परागत शक्ति सम्बन्ध परिवर्तन हुँदैन, तबसम्म वास्तविक मुक्ति सम्भव हुँदैन।
तपाईंलाई धेरैले योगमाया बाट चिन्छन्। योगमाया लेख्न प्रेरित गर्ने कारण के थियो र त्यस पात्रले तपाईंलाई किन यति गहिरो रूपमा प्रभावित गर्यो ? साथै, फर्केर हेर्दा त्यो चयन तपाईंका लागि कस्तो अनुभव रह्यो?
योगमाया लेख्ने प्रेरणा पहिलो पटक मलाई दाहाल यज्ञनिधि ज्यूले दिनुभएको हो। त्यति बेला ‘यो विषयमा लेख्नुपर्छ’ भन्ने संकेतजस्तो आएको थियो। अध्ययन शुरू गरेपछि भने मलाई लाग्यो – यो त निकै ढिलो भइसकेको विषय रहेछ। तर, यसको आवश्यकता अझै पनि उस्तै बलियो छ।
योगमायाको जीवन, संघर्ष र सामाजिक रूपान्तरणको प्रयासले मलाई गहिरो रूपमा आकर्षित गर्यो। भन्नुपर्दा, उनको जीवनले नै मलाई लेख्न लगायो जस्तो लाग्छ। म आफैंले मात्र चयन गरेको होइन, कथाले मलाई तान्यो।
पछि योगमायामाथि काम गर्दै जाँदा त्यो विषय मेरो जीवनकै एउटा निरन्तर हिस्सा बन्यो। यति धेरै अनुसन्धान र लेखनपछि विद्यावारिधि पनि त्यही विषयमा गर्न पुगें। योगमाया मेरो लागि केवल साहित्यिक पात्र होइन, एक यस्तो अनुभव हो, जसले मेरो लेखनको दिशा नै परिवर्तन गरिदियो।