बालेन शाह परिवर्तनका संवाहक हुन् । यदि चस्मा उनको पहिचान नै हो भने पनि सरकारी तस्वीरका लागि २० प्रतिशत मात्र ‘टिन्ट’ भएको वा ‘ग्रेडिएन्ट’ लेन्स प्रयोग गर्न सकिन्थ्यो, जहाँबाट उनको आँखाको नानी देखियोस् । यसले उनको ‘शौक’ पनि जोगाउँथ्यो र जनतासँगको विश्वासको सम्बन्ध पनि मजबूत बनाउँथ्यो ।
काठमाडौँका मेयर हुँदै सिंहदरबारको यात्रा तय गरेका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यति बेला चर्चाको केन्द्रमा छन् । उनको कार्यशैली, र्याप म्युजिक र राजनीतिक शैलीको फ्यान फलोइङ त छँदै छ । तर, पछिल्लो पटक सरकारले सार्वजनिक गरेको उनको ‘आधिकारिक फोटो’ ले एउटा नयाँ बहस सुरु गरिदिएको छ ।
म पेशाले लेखक हुँ । तर, मेरो व्यक्तित्वको अर्को पाटो विगत १५ वर्षदेखि अमेरिकामा सक्रिय फोटोग्राफी पनि हो । फोटोपत्रकारिता र स्टुडियो फोटोग्राफीमा मेरो लामो अनुभव र रुचिका आधारमा आज म देशको कार्यकारी प्रमुखको यस तस्वीरलाई अलिकति गहिराइबाट केलाउने प्रयास गर्दै छु ।
हुन त सामाजिक सञ्जालमा ‘देश छोडेर गएकाले नेपालका बारेमा किन बोल्ने?’ भन्ने टिप्पणी आउला । तर, एउटा शुभचिन्तक र फोटोको भाषा बुझ्ने मान्छेको नाताले बालेनको यस तस्वीरले के भनिरहेको छ र यसमा कहाँनेर प्राविधिक तथा मनोवैज्ञानिक त्रुटि छन् भन्ने विषयमा विमर्श गर्नु जरुरी छ । म आफैँ पनि बालेनको समर्थक हुँ । तर, समर्थक हुनुको अर्थ कमजोरीलाई आँखा चिम्लिनु होइन ।
सरकारले सार्वजनिक गरेको प्रधानमन्त्रीको ‘आधिकारिक तस्वीर’ बारे मेरा बुँदागत मत यस रूपमा राख्दछु :
१. लाइटिङमा गहिराइ (डेप्थ) को कमी
तस्वीरमा प्रकाश (लाइटिङ) को प्रयोग एकदमै साधारण छ । यो कुनै व्यावसायिक पोर्ट्रेट खिच्दा अपनाइने ‘प्रोफेसनल लाइटिङ’ जस्तो देखिँदैन । प्राविधिक रूपमा भन्नुपर्दा, यसमा ‘हाई–की’ कमर्सियल सेट-अप प्रयोग गरिएको छ, जुन उज्यालो र छायारहित छ । साधारण बेचबिखनको वस्तु (प्रोडक्ट फोटोग्राफी) का लागि यो लाइटिङ ठीक होला । तर, राष्ट्रको नेताको तस्वीरमा एउटा गम्भीरता र ओज हुनुपर्छ । फोटोग्राफीको भाषामा ‘रेम्ब्रान्ट लाइटिङ’ जस्ता प्रविधिले अनुहारमा जुन गहिराइ र बुद्धिमत्ता झल्काउँछ, यस तस्वीरमा त्यसको नितान्त अभाव छ ।
२. कालो चस्मा र अन्तर्राष्ट्रिय प्रचलन
यस तस्वीरको सबैभन्दा विवादास्पद पक्ष नै उनको कालो चस्मा हो । अन्तर्राष्ट्रिय प्रचलन र कूटनीतिक मर्यादाको कुरा गर्दा विश्वका कुनै पनि राष्ट्रप्रमुखले आफ्नो आधिकारिक सरकारी पोर्ट्रेटमा कालो चस्मा लगाएको उदाहरण विरलै भेटिन्छ ।
हुन त अमेरिकाका राष्ट्रपति जो बाइडन, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, उत्तर कोरियाका किम जोङ उन वा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कालो चस्माका शौखिन मानिन्छन् । तर, उनीहरूले पनि बाहिरी कार्यक्रम वा घाम लागेको बेला ‘आउटडोर इभेन्ट’ मा मात्र चस्मा लगाउँछन् । सरकारी कार्यालयमा झुन्ड्याइने वा आधिकारिक कागजातमा प्रयोग गरिने ‘औपचारिक’ तस्वीरमा उनीहरूले पनि चस्मा प्रयोग गर्दैनन् ।
तस्वीरले जनतासँग संवाद गर्नुपर्छ । आँखा ती झ्याल हुन्, जसले व्यक्तिको भावना र इमानदारी व्यक्त गर्छन् । चस्माले गर्दा बालेनको भावना ‘ब्लक’ भएको छ । उनी दर्शकलाई हेरिरहेका छन् । तर, जनताले उनलाई हेर्न सकिरहेका छैनन् । यो शैली एउटा पप गायक वा रकस्टारका लागि सुहाउँदो होला । तर, देशको प्रधानमन्त्रीका लागि यो अलि रहस्यमयी देखियो ।
नेपालका राजा महेन्द्र प्रायः कालो चस्मामा देखिन्थे । उनका धेरैजसो तस्वीरहरूमा कालो चस्मा देखिनुको मुख्य कारण फेशन नभई उनको एउटा आँखा अलिकति ‘डेडो’ (बाङ्गो) थियो । यद्यपि, उनको आधिकारिक (अफिसियल) तस्वीर र नेपाली नोटहरूमा भने चस्माविनाकै तस्वीर प्रयोग गरिएको छ । त्यस्तै, जननायक बीपी कोइरालाका पनि बाहिरी कार्यक्रममा खिचिएका कालो चस्मासहितका तस्वीरहरू भेटिन्छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि कतिपय समयमा कालो चस्मामा देखिन्थे । तर, भट्टराईले चस्मा लगाउनुको कारण भने प्रधानमन्त्री भएको समयमा उनको आँखाको शल्यक्रिया (अपरेसन) गरिएको थियो ।
३. ब्रान्डिङ र ‘रे–ब्यान’ को विज्ञापन
एउटा बिझाउने कुरा के छ भने तस्वीरमा प्रष्टै ‘रे–ब्यान’ जस्तो महँगो ब्रान्डको लोगो देखिएको छ । कुनै पनि राष्ट्रप्रमुखले कुनै व्यावसायिक ब्रान्डको प्रचार हुने गरी तस्वीर खिचाउनु कूटनीतिक हिसाबले उपयुक्त मानिँदैन । यसले नेतालाई तटस्थभन्दा पनि कुनै खास कम्पनीको ‘प्रायोजित’ पात्र जस्तो देखाउन सक्छ । सुनिन्छ, पछि आलोचना भएपछि उक्त लोगोलाई ‘रिटचिङ’ गरेर हटाइयो । तर, सुरुआतमै यस्तो कुरामा ध्यान नपुग्नु फोटोग्राफर र सचिवालयको कमजोरी हो ।
४. मनोविज्ञान : ‘म कसैको कुरा सुन्दिनँ’
मनोवैज्ञानिक हिसाबले हेर्दा, कोठाभित्र वा आधिकारिक तस्वीरमा चस्मा लगाउनुलाई एउटा ‘बफर जोन’ वा मनोवैज्ञानिक सुरक्षा घेराका रूपमा बुझिन्छ । यसले लगाउनेको मनमा रहेको डर, क्रोध वा थकानलाई लुकाउन मद्दत त गर्छ । तर, सँगसँगै यसले मान्छेमा अविश्वास पनि पैदा गर्छ । मानिसको मस्तिष्कले कसैलाई विश्वास गर्नुअघि उसको आँखा जुधाउन खोज्छ । आँखा छोपिँदा उनी लोकतान्त्रिक नेताभन्दा बढी अधिनायकवादी वा अलि बढी ‘रिजर्भ’ शैलीका देखिन पुगेका छन् ।
५. भेषभूषा र पृष्ठभूमि: जहाँ सिर्जनशीलता हरायो
प्रधानमन्त्रीले लगाएको कालो पोशाक विवादरहित छैन । तर, यसमा मेरो कुनै गुनासो छैन । नेवार संस्कृतिमा कालो पोशाकको आफ्नै महत्त्व छ । तर, कोटमा नेपाल सरकारको लोगो जसरी राखिएको छ, त्यो अलि ‘स्कुल युनिफर्म’ जस्तो देखियो । त्यसको सट्टा खुकुरीको ब्याज मात्र भएको भए निकै आकर्षक देखिन्थ्यो ।
अर्को मुख्य कमजोरी ‘ब्याकग्राउन्ड’ (पृष्ठभूमि) हो । यो तस्वीर ठ्याक्कै राहदानीको फोटो जस्तो सेतो पृष्ठभूमिमा खिचिएको छ । यसमा कुनै सिर्जनशीलता छैन । पृष्ठभूमिमा नेपालको राष्ट्रिय झण्डा वा नेपाली वास्तुकला झल्कने प्यागोडा शैलीका मन्दिरहरू धमिलो (ब्लर) पारेर राख्न सकिन्थ्यो । साथै, प्रधानमन्त्रीको ‘पोज’ पनि सिधा नभएर अलिकति छड्के भएको भए व्यक्तित्व अझ प्रभावशाली देखिने थियो । कालो कोट र दौराको रङमा पनि थोरै ‘कन्ट्रास्ट’ मिलेको भए तस्वीर अझै खुल्ने थियो ।
अन्त्यमा मेरो सुझाव
बालेन शाह परिवर्तनका संवाहक हुन् । यदि चस्मा उनको पहिचान नै हो भने पनि सरकारी तस्वीरका लागि २० प्रतिशत मात्र ‘टिन्ट’ भएको वा ‘ग्रेडिएन्ट’ लेन्स प्रयोग गर्न सकिन्थ्यो, जहाँबाट उनको आँखाको नानी देखियोस् । यसले उनको ‘शौक’ पनि जोगाउँथ्यो र जनतासँगको विश्वासको सम्बन्ध पनि मजबूत बनाउँथ्यो ।
अहिलेको यस तस्वीरले भनिरहेको छ— “म सिस्टम बदल्न आएको हुँ, मलाई कसैको मतलब छैन ।” यो विद्रोही भाव त राम्रो होला । तर, लोकतन्त्रमा शासक र जनताबीचको सम्बन्ध ऐनाजस्तै सफा हुन जरुरी छ । अर्को पटकको फोटो सेसनमा यस्ता साना तर अर्थपूर्ण प्राविधिक कुरामा ध्यान पुगोस् भन्ने मेरो शुभेच्छा छ ।
(बोस्टन युनिभर्सिटीको कलेज अफ कम्युनिकेसनबाट फोटोग्राफी अध्ययन गरेका विमल नेपालसँग अमेरिकाको सबैभन्दा पुरानोमध्ये एक पत्रिका 'द क्याम्ब्रिज क्रोनिकल'मा काम गरेको अनुभव छ । उनका तस्वीर नेशनल जियोग्राफिक र 'द बोस्टन ग्लोब' जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका छन् ।)