नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा राणाकालीन प्रधानमन्त्री र ‘हिन्दु अधिराज्य’ का नायक राजा महेन्द्रले समेत नगरेको धार्मिक तामझाम गरियो । बालेन्द्र व्यक्तिमात्र होइनन्, उनी धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्री हुन्, संस्था हुन् । संविधान मानिसकेपछि देशभित्र भएका सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ । ‘सर्व धर्म समान’ को नीति नै राज्यको धर्म हुनुपर्छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सिटको प्रतिनिधिसभामा १८२ स्थानमा जित हासिल गर्यो । चैत १२ गते अपराह्न बालेन्द्र शाहलाई सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत संसदीय दलको नेता चयन गरियो । आज चैत १३ गते रामनवमी । हिन्दु धर्ममा विश्वास गर्नेहरूको दशैं । आजै अपराह्न १२:३४ बजे बालेन्द्र शाहले मुलुकको ४३ औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोहमा ब्राह्मणहरूले ७ वटा शङ्ख एकैचोटि बजाए, १०८ बटुकले स्वस्ति शान्ति वाचन गरे र १६ जना बौद्ध भिक्षुले अष्टमङ्गल पाठ गरेपछि नवनिर्वाचित प्रधानमन्त्रीको शपथ सम्पन्न भयो।
प्रधानमन्त्रीले हिन्दु र बौद्ध धर्मावलम्बीलाई खुसी पारे पनि किरात, इसाई, मुस्लिमलगायत धार्मिक अल्पसङ्ख्यकहरूको भने चित्त दुखाए । धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुखले सबैको सम्मान हुने गरी शपथ लिएको भए रास्वपाले एकताको सन्देश दिएको ठहर्थ्यो । निकै आशा र विश्वाससाथ हेरिएका प्रधानमन्त्रीले गणतान्त्रिक मुलुकको धर्मनिरपेक्ष संविधानलाई बेवास्ता गरे । सबै जातजाति, धर्म, सम्प्रदाय र रीतिथितिका नेपालीहरूको साझा नेता हुने अवसर गुमाए।
संवैधानिक व्यवस्था
नेपाल संविधानतः धर्मनिरपेक्ष राष्ट्र हो । २०७२ असोज ३ गते संविधान सभाले जारी गरेको संविधानको धारा–४ (१) मा लेखिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।’ त्यसलाई स्पष्ट पार्न अगाडि स्पष्टीकरण खण्डमा भनिएको छ – ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।’ २०६२/६३ सालको दोस्रो जनआन्दोलनको राप र ताप बढ्दै गएपछि २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते आफैँले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गरे।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि सडकबाट संसद् बैठक सिंहदरबार, ग्यालरी बैठकमा सर्यो । पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राष्ट्रमा परिवर्तन गरेको घोषणा गर्यो । जुन घोषणाले राजाका सम्पूर्ण अधिकार कटौती गरेको थियो । यसलाई ‘नेपाली म्याग्नाकार्टा’ पनि भनिन्छ । बेलायती संसदद्वारा सन् १२१५ मा जारी म्याग्नाकार्टाले राजाको अधिकार कटौती गरेको निर्णयलाई म्याग्नाकार्टा भनिए झैँ हामीकहाँ पनि त्यही नामले सम्बोधन गरियो । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा पहिलोचोटि धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्र घोषणा गरियो । उक्त संविधानको धारा ४ (१) मा उल्लेख गरिएको थियो, “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो ।”
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा उपस्थित लामा गुरुहरू। तस्वीर: केशरमणि कटवालको फेसबुकबाट
दोस्रो संविधान सभाले २०७२ सालमा जारी गरेको संविधानमा अन्तरिम संविधानको धर्मनिरपेक्षता सम्बन्धी यसै व्यवस्थालाई निरन्तरता दिइएको हो । खण्ड ‘स्पष्टीकरण’ चाहिँ यसबेलामा थपिएको हो। दुई दशकदेखि राज्य संविधानतः धर्मनिरपेक्ष छ । धर्मनिरपेक्ष राज्यको कार्यकारीको शपथ ग्रहण समारोहमा किन हिन्दु र बौद्ध धर्ममा आधारित धार्मिक अनुष्ठान गरिँदै छ ? के नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह हिन्दु र बौद्ध धर्म मान्ने बाहेकका प्रधानमन्त्री होइनन् ? बालेन्द्र शाहले व्यक्तिगत रूपमा घरमा आफूलाई विश्वास लागेको धर्म वा पन्थ जे अपनाए पनि हुन्छ । आफ्नो विश्वास अनुसारको धार्मिक अनुष्ठान गर्न सबै नेपाली नागरिकजस्तै उनी पनि स्वतन्त्र छन् । बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुखले दुई धर्मलाई मात्र साक्षी राखेर शपथ लिँदा अन्य जाति, धर्म र सम्प्रदायका नागरिकले के अनुभूति गर्लान् ? देख्दा सामान्य लागे पनि सरकार प्रमुखका यस्ता गतिविधिले विविधतापूर्ण समाजलाई कसरी एकताको मालामा उन्ला ? नवनियुक्त प्रधानमन्त्रीका यस्ता गतिविधिले इन्द्रेनीजस्तो बहुल संस्कार, संस्कृति र धर्म भएको मुलुकलाई जोड्न सक्दैन।
पहिलो अनुष्ठान
वि. सं. १८६३ मा भीमसेन थापा मुख्तियार (प्रधानमन्त्री) बने । त्यसपछि पं. रंगनाथ पौड्याल, पुष्कर शाह, रणजंग पाण्डे र फत्यजंग शाहले नेपालको मुख्तियारी सम्हाले । वि. सं. १९०० मा माथवरसिंह थापाको पालादेखि मुख्तियारको सट्टा प्रधानमन्त्री भन्न र लेख्न थालिएको प्रधानमन्त्रीको कार्यालयमा राखिएको प्रधानमन्त्रीहरूको विवरणबाट प्रष्ट हुन्छ । जेन–जी विद्रोहपछि २०८२ भदौ २७ गते सुशीला कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीको शपथ लिएकी थिइन् । यसअघिका ४२ जना प्रधानमन्त्रीमध्ये कुनैको पनि शपथ ग्रहण समारोह धार्मिक अनुष्ठान र विधिपूर्वक गरिएको थिएन । तर धर्मनिरपेक्ष राष्ट्रका युवा प्रधानमन्त्री बालेन्द्र शाहले भने हिन्दु–बौद्ध परम्परा अनुसार शपथ लिएर बहुधार्मिक र बहुसांस्कृतिक समाजमा के सन्देश दिन खोजेका हुन् ?
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा उपस्थित बटुकहरू। तस्वीर: केशरमणि कटवालको फेसबुकबाट
धर्मभीरु कहलिएका राणा प्रधानमन्त्रीहरूले पनि यतिसम्म गरेनन् । तिनले आफ्नो आस्था र विश्वास अनुसारको धर्म माने पनि खास धर्मविशेषलाई आधार मानेर शासनलाई वैधता दिएनन्। राजा महेन्द्रले २०१९ पुस १ गते जारी गरेको संविधानमा मुलुकलाई हिन्दु राज्य नै घोषणा गरे । उक्त संविधानको धारा–३ (१) मा लेखिएको थियो, “नेपाल एउटा स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न राजतन्त्रात्मक हिन्दू अधिराज्य हो ।” यद्यपि, महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका राजाहरूले नारायणहिटी दरबारमा प्रधानमन्त्री पदको शपथ गराउँदा कुनै धार्मिक विधि–विधान गरेनन् । सामान्य रूपमा नै शपथ दिलाउने र लिने कार्यक्रमहरू भए ।
गणतान्त्रिक नेपालमा गिरिजाप्रसाद कोइरालाजस्ता प्रधानमन्त्री पनि भए । जो न कुनै धार्मिक समारोह र अनुष्ठानमा सहभागी भए न त राजाहरूबाट प्रदान गरिने विभूषण/तक्मा गलाभरि भिरे । उनले निधारमा टीका र गलामा फूलको माला लगाएका तस्बिरहरू पनि विरलै फेला पर्छन् । वास्तवमा, उनी ढोँगी, स्वाँगी र आडम्बरी थिएनन् । सायद उनी धर्मलाई मानिसको व्यक्तिगत आस्था र अधिकार ठान्थे । धर्म, राजनीति र राज्यलाई एकै ठाउँमा मिसाउन खोजे समस्या हुन्छ भन्ने उनको बुझाइ हुनुपर्छ।
राज्य र धर्मबीचको भिन्नता
धर्म व्यक्तिको आ–आफ्नो आस्था र रुचिको विषय हो । व्यक्तिगत स्वतन्त्रता हो । यसमा न कुनै राज्यले दखल गर्न मिल्छ, न त व्यक्ति, समूह विशेषले वा कसैले पनि व्यक्तिको निष्ठामाथि आघात पुर्याउने काम गर्न मिल्छ । त्यो मानवअधिकारको ठाडो उल्लङ्घन हुन्छ । त्यसो गर्न राज्य र व्यक्ति कसैले पनि पाउँदैन । पूजा गरून्, टीका लाऊन्, न्यासध्यान–जप गरून्, माला पहिरिऊन्, गेरुवस्त्र धारण गरून् वा धार्मिक अनुष्ठान गरुन्— यो व्यक्तिका आ–आफ्ना रुचि र निष्ठाका विषय हुन् । यसमा कोही कसैले कतैबाट दखल पुर्याउनु उचित हुँदैन ।
यद्यपि, नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह व्यक्तिमात्र होइनन्, उनी धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्री हुन्, संस्था हुन् । रास्वपाका वरिष्ठ नेता हुन् । उनको पार्टीले २०८१ भदौमा तेस्रो पटक संशोधन गरेको विधान र २०८२ फागुन २१ गतेको निर्वाचनअघि जारी गरेको वाचापत्रमा पनि संविधानमा व्यवस्था भए बमोजिमको समावेशी राज्यलाई स्वीकार गरेको छ । संविधान मानिसकेपछि देशभित्र भएका सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ। सबैको न्याय, विवेक र मानवअधिकार सुनिश्चित गर्नु नै राज्यधर्म हो, न कि कुनै धर्मविशेषलाई प्राथमिकता दिनु । ‘सर्व धर्म समान’ को नीति नै राज्यधर्म हुनुपर्छ । संख्या धेरै होस् कि थोरै, त्यो त्यति महत्त्वपूर्ण हुँदैन, जति भावना महत्त्वपूर्ण हुन्छ।
नवनियुक्त मन्त्रीहरू राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै । तस्वीरः अजय हाकुजू
पार्टी सभापति रवि लामिछानेले चैत ४ गते नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा आफ्नो दलका तर्फबाट संसद्मा कुनै पनि राई र लिम्बूलाई समावेश गर्न नसकेकोमा माफी मागे । तर सोही दलका वरिष्ठ नेता तथा नवनिर्वाचित प्रधानमन्त्रीले आफ्नो शपथ ग्रहण समारोहमा धार्मिक अनुष्ठान गरेर धर्मनिरपेक्ष राष्ट्रका कार्यकारीको कर्तव्य भुले । एकै दलका दुई शीर्ष नेताका यस्ता बाझिने व्यवहारले बाहिर राम्रो सन्देश दिएको छैन । राज्यको आफ्नो धर्म हुँदैन । उसका निम्ति मुलुकभित्रका सबै आस्था, विश्वास, धर्म–सम्प्रदाय बराबर हुन् । चाहे आस्तिक हुन् कि नास्तिक । बालेन्द्र शाह सबै नेपालीका प्रधानमन्त्री हुन् भन्ने विश्वास उनका गतिविधिमा झल्किनु पर्छ । मधेसमा हिन्दु र मुस्लिम धर्मावलम्बीहरूबीच सिर्जित तनावबारे प्रधानमन्त्री बालेन्द्र शाह जानकार नै होलान् । पारितिरबाट छिर्न सक्ने धार्मिक कट्टरताको हावाले हाम्रो सहिष्णु समाजको एकता नखल्बल्याओस् । धर्म भनेको व्यक्तिगत आस्था हो । राज्यको चरित्र सबैका लागि समान हुनुपर्छ । लोकतन्त्र र समावेशिताको आधार भनेकै यही हो।
शपथ सम्बन्धी ऐन, २०७९ मा के छ ?
म .................नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको/देश र जनताको नाममा शपथ लिन्छु कि पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन।
हस्ताक्षर: ............................... नाम, थर: ............................... पद: ............................... मिति: ...............................
द्रष्टव्य: शपथको ढाँचामा रहेको “प्रतिज्ञा गर्दै” भन्ने शब्दपछि रहेका “ईश्वरको” वा “देश र जनताको” भन्ने शब्दमध्ये शपथमा कुन शब्द प्रयोग गर्ने हो, शपथ ग्रहण गर्नुअघि शपथ गराउने पदाधिकारीलाई जानकारी दिनु पर्नेछ।