खोजपत्रकारिता केन्द्रले उत्पादन गरेको हिमालखबरमा प्रकाशित रामु सापकोटा र अर्चना दर्जीको रिपोर्ट 'क्रसर र खानी उद्योगका जथाभावी उत्खननले मुहान सुक्यो, बस्ती उजाडियो शीर्षकको स्टोरीमा युनाइटेड सिमेन्ट उद्योगले अवैध उत्खनन गरिरहेको लेखिएको रहेछ, जुन त्रुटिपूर्ण रहेको बुँदागत रूपमा अवगत गराइन्छ।
१. यो कम्पनी प्रचलित कानून बमोजिम पब्लिक लिमिटेड कम्पनी दर्ता गरी उद्योग विभागबाट क्लिङ्कर तथा सिमेन्ट उद्योगको इजाजत प्राप्त गरी सिमेन्ट तथा क्लिङ्करसमेत उत्पादन गर्दै आइरहेको छ । कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थ (चुनढुङ्गा) को लागि खानी तथा भूगर्भ विभागबाट मिति २०६६/०५/०७ देखि २०९६/०५/०६ सम्मका लागि चुनढुङ्गा उत्खनन अनुमति पत्र नं. ०९/०६६/०६७, ठूलास्तर प्राप्त गरी ललितपुर जिल्ला, साविक लेले गाविसको हाल गोदावरी नगरपालिका, वडा नं. ५ मा चुनढुङ्गाको उत्खनन गर्दै आएको छ। उक्त क्षेत्र सरकारी वनमा पर्ने भएकोले वनक्षेत्रमा चुनढुङ्गा खानी रहेको अवस्थामा खानी तथा भू-गर्भ विभागको सिफारिसको आधारमा वन तथा वातावरण मन्त्रालयको सिफारिस तथा प्रस्तावमा, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय वनक्षेत्रमा खनिज कार्य गर्न वा सञ्चालन गर्न सक्ने गरी तोकिएको वनक्षेत्र उपभोग गर्न उद्योगहरूलाई भोगाधिकार उपलब्ध गराउने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम कम्पनी र वन तथा भू-संरक्षण विभागबीच जग्गा भोगाधिकार सम्झौता गरी आवश्यक (कच्चा पदार्थ) चुनढुङ्गाको उत्खनन गर्दै आएको छ।
हाल सञ्चालनमा रहेको खानी समेत सोही उत्खनन अनुमति पत्र बमोजिम उत्खनन गरिरहेका छौं। सब-वन डिभिजन कार्यालयले गरेको पत्राचार अनुमति पत्र नं। ०९/०६६/०६७ सँग सम्बन्धित हो। यस अनुमतिपत्रको समयावधि मिति २०९६/०५/०६ सम्म रहेको छ। अनुमतिपत्र कायम रहेको सम्बन्धमा भएको पत्राचारलाई रद्द भइसकेको अनुमतिपत्रसँग जोडी समाचार प्रेषित गर्दा त्यसले भ्रम सिर्जना गरेको छ।
२. समाचारमा प्रकाशित चुनढुङ्गा अनुमतिपत्र रद्द गरी रेकर्डबाट हटाएको र पुनर्स्थापना गर्न निर्देशन दिएको र सजाय वा कारबाही गरेर अनुमतिपत्र रद्द गरिएको भन्ने व्यहोरा पूर्ण रूपमा गलत हो। यस कम्पनीले खानी तथा भू-गर्भ विभागबाट २ वटा चुनढुङ्गा उत्खनन अनुमति प्राप्त गरेको थियो, जसमध्ये अनुमति पत्र नं. ८/०६६/०६७ को अनुमतिपत्र यस कम्पनीकै निवेदन मागबमोजिम मिति २०८०/०४/२२ मा खानी विभागले रद्द गरेको हो। अनुमतिपत्र रद्द भएको जग्गा सरकारी जग्गा नभई निजी जग्गा हो।
३. यस कम्पनीको नाममा अनुमतिपत्र नं. ०९/०६६/०६७ को उत्खनन अनुमतिपत्र कायम नै रहेको र कम्पनीले खानी तथा भू-गर्भ विभाग र उद्योग विभागले तोकेको सम्पूर्ण सर्त एवं वातावरणीय मापदण्डहरूको पालना गरी खानी सञ्चालन गरेको छ।
४. वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयसमेतले कानूनको दायित्व पूरा गरी कानूनबमोजिम उत्खनन गरिएको चुनढुङ्गाको परिवहनको लागि सहजीकरण गरेको सम्म हो। सिमेन्ट उद्योग राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा रहेको र खानीसम्मको पहुँच मार्ग निर्माण तथा सुचारु गर्ने कर्तव्यसमेत नेपाल सरकारले लिएको हो। चुनढुङ्गा परिवहनलाई सहजीकरण गरेको कार्यलाई अन्यथा रूपमा अर्थ्याई समाचार प्रकाशित गरिनु त्रुटिपूर्ण छ।
हरिकुमार उप्रेती
महाप्रबन्धक,
युनाइटेड सिमेन्ट लिमिटेड ।