राजकुमार बानियाँ
कहिलेकाहीँ किताबहरू ठूला वैचारिक विष्फोट लिएर आउँछन् । तर, केही किताबहरू यस्ता हुन्छन् जो सुस्तरी मनको ढोका ढकढक्याउँछन् र भित्र पसेपछि कहिल्यै बाहिरिँदैनन् । मोहन थापाको उपन्यास पेरम त्यस्तै एउटा ‘लो–प्रोफाइल’ तर उच्च संवेदनात्मक कृति हो । यो उपन्यास कुनै चकचके रोमान्स होइन; बरु माटो, पसिना, गरिबी र नियतिको बोझसँग गाँसिएको प्रेमको एउटा अव्यक्त र गहिरो आलाप हो ।
पेरम को मुटु ग्रामीण परिवेशमा धड्किन्छ । सत्यवती मन्दिरको मेला, सल्लाघारीको सुसेली, देउरालीको चिसो हावा र टुकीको मधुरो उज्यालो—यी दृश्यहरू यहाँ उपन्यासलाई सजाउन आएका ‘वालपेपर’ होइनन्, कथाका जीवित अवयव हुन् । लेखक थापाले गाउँलाई रुमानीकरण गर्ने शहरिया भूल गरेका छैनन् । उनले गाउँको त्यस्तो तस्वीर खिचेका छन्, जहाँ सौन्दर्यसँगै गरिबीको गन्ध आउँछ, जहाँ अभाव छ र ‘कमान’ जाने कठोर बाध्यता छ । “केही न केही त गर्न पर्ला नि” भन्ने पात्रहरूको संवादमा त्यो लुकेको आर्थिक बेचैनी ऐनाजस्तै छर्लङ्ग देखिन्छ ।
उपन्यासको प्राण र शीर्षक दुवै हो— पेरम । ऊ सक्रिय नायक होइन, ऊ भाषण दिँदैन, ऊ कुनै क्रान्तिकारी निर्णय पनि गर्दैन । ऊ त गुदेली बोकेर ढुङ्गा हान्दै हाँस्ने एउटा बालसुलभ, शारीरिक र मानसिक रूपमा अपूर्ण पात्र हो । तर, विडम्बना ! ऊ नै कथाको धुरी हो । पेरम केवल करुणा जगाउने पात्र मात्र होइन, उसलाई दयाको पात्र मात्र ठानियो भने उपन्यासको कद होचो हुन्छ ।
वास्तवमा पेरम नायक होइन । तर, सबै नायकहरूको परीक्षा हो । आमाको ममताको परीक्षा, तीर्थेको जिम्मेवारीको परीक्षा, मयाको व्यावहारिकताको परीक्षा, अर्थात् पेरम प्रेमको ‘टेस्ट केस’ हो । जसले पेरमलाई स्वीकार गर्छ, ऊ प्रेममा इमानदार छ । जसले पेरमलाई बोझ देख्छ, ऊ प्रेममा कमजोर छ ।
त्यस परीक्षामा सबैभन्दा खरो उत्रिएकी छन्— आमा जैसरा थापा । जैसरा केवल एउटा पात्र होइनन्, उनी त धैर्य र धारण गर्ने ‘पृथ्वी–माता’ कै प्रतिविम्ब हुन् । “मेरो मुटु लगेर मलाई बाँच भन्न खोज्छस् ?” भन्ने उनको संवाद उपन्यासको भावनात्मक चुली हो । कुनै कृत्रिम आँसुको खेती नगरी स्थिति आफैँमा यति करुण छ कि पाठकको गला अवरुद्ध हुन्छ ।
अर्कोतिर दाजु तीर्थे जो आमाप्रतिको कर्तव्य, पेरमप्रतिको दायित्व र मयाप्रतिको प्रेमको त्रिकोणमा अल्झिएको छ । उसले रक्सी छिटो पिउनु र आँटो ढिलो खानु केवल बानी होइन, मानसिक तनाव र अस्तित्वगत छटपटीको समेत प्रतीक हो । ऊ पेरमको खुट्टा र आवाज दुवै बनेर उभिन्छ । तीर्थेको त्यागले पाठकलाई सोध्न बाध्य पार्छ— “जिम्मेवारीको भारी कति टाढासम्म बोक्न सकिन्छ ?”
तीर्थे र मयाको प्रेम सुरुमा बुकी फूलजस्तै सादा र न्यानो देखिन्छ । तर, प्रेम कहिल्यै शून्यतामा बाँच्दैन । आर्थिक असमानताको बीउ जब मयाको मनमा थाहै नपाई उम्रिन्छ, तब प्रेमको रङ बदलिन्छ । मयाले धनी हुनु र नहुनुको फरक महसुस गर्नु लेखकको मनोवैज्ञानिक सूक्ष्मताको सबल दृष्टान्त हो । मया लोभी होइन, ऊ त केवल व्यावहारिक हुँदै गएकी युवती हो । प्रेम र अर्थतन्त्रको यस द्वन्द्वलाई लेखकले चर्को नाराबाजीबिनै प्रस्तुत गरेका छन् ।
चिकित्सकीय भाषामा नभनिए पनि पेरमको व्यवहारले उसलाई ‘अटिजम–स्पेक्ट्रम’को नजिक पुऱ्याउँछ । तर, लेखकको उद्देश्य ‘डायग्नोसिस’ गर्नु होइन, मानवीय स्थिति देखाउनु छ । पेरमलाई “रोग” वा “बोझ” का रूपमा होइन, परिवारको भावनात्मक केन्द्रका रूपमा उभ्याउनु यस कृतिको ठूलो नैतिक विजय हो । नेपाली साहित्यमा यस्ता विशेष आवश्यकता भएका पात्रलाई केन्द्रमा राखेर लेखिएका उपन्यासहरू ज्यादै दुर्लभ छन् ।
नेपाली आख्यानको इतिहासमा शारीरिक वा मानसिक रूपमा अशक्त पात्रहरू अक्सर सहायक भूमिकामा, दयाको पात्र बनेर वा किस्तीमा सजाइएका विम्बका रूपमा मात्र झुल्किने गर्छन् । तर, मोहन थापाको पेरम यो स्थापित परम्परामाथि एउटा अर्थपूर्ण हस्तक्षेप हो । नेपाली साहित्यमा यस्ता पात्रलाई कथाको ‘इपिसेन्टर’ (केन्द्रविन्दु) मा राखेर लेखिएका कृतिहरूको रित्तोपनलाई पेरम ले निकै गहिरो र मानवीय इमानदारिताका साथ भरपाई गरेको छ ।
लेखकले पेरमको मौनतालाई एउटा यस्तो भाषा दिएका छन्, जसले बोल्नेहरूको संसारलाई नै निरुत्तर बनाइदिन्छ । उसका अधुरा रहर र उसको सिमानाभित्रको असीमित संसारलाई लेखकले यति सूक्ष्म र मनोवैज्ञानिक ढंगले बुनेका छन् कि पाठकलाई ऊ ‘अक्षम’ होइन, बरु एउटा ‘दिव्य’ पात्र लाग्न थाल्छ ।
लेखक थापाले शब्दमार्फत एउटा यस्तो संसार बुनेका छन्, जहाँ गरिबी छ, अभाव छ र आमाको मृत्युपछिको भयानक रिक्तता । तीर्थेले आफ्नो सानो काँधमा भाइ पेरमलाई बोकेर देउराली काट्दा पाठकको छातीमा एउटा चिसो ढिक्काले हिर्काउँछ । आमाको बिदाइपछि ‘छामा’ (काकी) को ममता र तीर्थेको संघर्षले नेपाली समाजको त्यो यथार्थलाई पस्किन्छ, जुन अक्सर आधुनिक शहरिया साहित्यले बिर्सिसकेको छ ।
यस उपन्यासले अपाङ्गतालाई चिकित्सा विज्ञानको नजरबाट मात्र हेर्दैन, बरु यसले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको संकुचित दृष्टि र एउटा विपन्न परिवारले गर्ने निःस्वार्थ त्यागलाई अत्यन्तै संवेदनशील धरातलमा उभिएर व्याख्या गर्छ । पेरमको उपस्थिति र उसको मौन संवादले नै यस उपन्यासलाई सामान्य सामाजिक कथाभन्दा माथि उठाएर एउटा अस्तित्ववादी मानवीय दस्तावेजमा रूपान्तरित गरिदिएको छ ।
मोहन थापाको भाषा पूर्ण रूपमा ‘लोकल’ छ । “होन्च”, “आबो”, “जाम्” आदि ठेट ग्रामीण शब्दहरूको प्रयोगले उपन्यासलाई कृत्रिम हुनबाट जोगाएको छ । संवादहरू पात्रहरूको आफ्नै लयमा बग्छन्, तिनीहरू लेखकका कठपुतली लाग्दैनन् । यद्यपि, कतिपय ठाउँमा दृश्यहरू केही लम्बेतान छन् । कथाको प्रवाह कहिलेकाहीँ खोलाजस्तो कलकल बग्नुको साटो पोखरीजस्तो जमिदिन्छ । धैर्यवान् पाठकलाई यस मन्दताले आनन्द देला । तर, ‘फास्ट–फूड’ साहित्य खोज्नेलाई अलि सुस्त लाग्न सक्छ ।
उपन्यासको पहिलो शक्ति यसको ‘भावनात्मक प्रामाणिकता’ हो । लेखकले आँसु जबर्जस्ती निकाल्दैनन्, परिस्थिति नै त्यस्तो छ कि पाठकका परेला आफैँ भिज्छन् । दोस्रो शक्ति, यसले उठाएको मानवतावादी प्रश्न हो । तर, यसका केही सीमाहरू पनि छन् । उपन्यास भावनात्मक रूपमा जति बलियो छ, संरचनात्मक र बौद्धिक रूपमा त्यति नै खुकुलो । पात्रहरू जीवनसँग जुध्छन् । तर, उनीहरूले अस्तित्वगत प्रश्नहरूलाई गहिरो तहमा खोतल्दैनन् । कतिपय ठाउँमा दृश्यहरूको पुनरावृत्तिले कथाको गतिलाई ‘मोनोटोनस’ बनाइदिएको छ । भाषिक र विषयगत सम्पादन अलि चुस्त भइदिएको भए यो कृति अझै उज्यालो हुने थियो ।
पेरम कुनै समुद्र होइन । तर, आफ्नै गतिमा बग्ने एउटा पहाडी खोला हो । यो कुनै ठूलो बौद्धिक विष्फोट होइन, बरु एउटा सानो र स्थिर तरंग हो । यसले हामीलाई सिकाएको छ, प्रेम सधैँ सशर्त हुँदैन ।
उपन्यासको नाम ‘प्रेम’ नभएर पेरम हुनुमा एउटा गहिरो दार्शनिक अर्थ छ । पेरम प्रेमको शुद्ध उच्चारण होइन, यो अलि अलमलिएको ध्वनि हो । जसरी पेरम आफैँ अपूर्ण छ, जसरी यो संसारको न्याय र वितरण अपूर्ण छ, त्यसैगरी यो नामले पनि त्यही यथार्थलाई अँगालो हालेको छ ।
वास्तवमा पेरम अपूर्णताको गरिमा हो । सायद साहित्यको एउटा गहकिलो काम यही हो—पूर्णता होइन, अपूर्णतालाई अर्थ दिनु । मोहन थापाको नवोदित कृतिले नेपाली आख्यानको भीडमा एउटा मर्मस्पर्शी र मानवीय कृति थपेको छ । संवेदनाको गहिराइ नाप्न चाहने पाठकलाई पेरम ले अवश्य नजिक्याउन सक्छ ।