बाग्लुङ जन्मथलोबाट चितवन कर्मथलो बनाएका लेखक भरतपुर शहरसँगको आशक्ति/उपेक्षाका सम्बन्ध खुलाउँछन् । यस शहरले आत्मीयता नराखेको प्रष्ट भन्छन्, उनी । उसैगरी जन्मस्थान बाग्लुङमा पनि बिरानो बन्दै गएको पाउँछन्, आफूलाई ।
अल्डेस हक्स्ले भन्ने गर्थे–‘निबन्ध यस्तो विधा हो, जसले जुनसुकै विषयमा चाहेजति विवरण दिन सक्छ ।’ यही भनाइ चरितार्थ हुन्छ, जब निबन्ध संग्रह ‘मध्यको उज्यालो’ का पाना पल्टिन्छन् । निबन्धकार छन्, भूपिन । पठन विविधतालाई सघाउँछन्, ‘मध्यको उज्यालो’ का तीन खण्डले । २० निबन्ध संगृहीत यस संग्रहको ‘चिन्तन खण्ड’मा अत्यन्त निजात्मक प्रकृतिका निबन्धहरु छन् । तर, शीर्षकअनुरुप उस्तो साह्रो चिन्तन भने देखा पर्दैनन् ।
निबन्ध संग्रहमा अग्रज, समकालीन निबन्धकारको चर्चा मुनासिव हुन्छ । संग्रहको एउटा निबन्ध उनका अग्रज निबन्धकार रोशन शेरचनमाथि छ । शेरचनसँगको उनको सानिध्य, संगत र रोशनको लेखन सामथ्र्य पोखेका छन्, ‘क्रुजिङ हाइटमा रोशनको उडान’ भित्र । तर, यस निबन्धको अन्त्यमा उनले बेप्रसंग अधिक सूचना हालेर मिठास–माधुर्यमा सम्झौता गरेका छन् । सार्त्र र शंकर लामिछानेसँगै दुर्गा प्रसाईको अनावश्यक प्रसंगले बोझिलो बनेको छ, समापन । सन्ध्याकालीन हिँडाइमा भरतपुर, नारायणगढको फन्को मारेका छन्, अर्को एक निबन्धमा । शीर्षक छ—‘साँझमा साहिर सम्झिँदै’ । प्यासा सिनेमामा साहिर लुधियानवीले लेखेको एउटा गीत छ— ‘ए दुनियाँ अगर मिल भी जाए तो क्या है ?’ यही गीतले उनको चिन्तनलाई शहर घुमाइका परिदृश्य तथा उनको भत्केको मनोदशालाई सादृश्यमा वर्णन गरेका छन् । वर्णनको जुइनो साहिरका शब्दहरु भएकोले यहाँ साहिरका अनेक पाटा समावेश हुनेछन् भन्ने अपेक्षा रहन्छ, पाठकलाई । तर, उनी हामीलाई घुमाइरहन्छन्— शहरवरपर । अनि बन्छन्, अतिरिक्त भावुक । भावुकता र संवेदनशीलता त उनका प्रायः सबै निबन्धमा छचल्किएको छ । कहीँकहीँ उनको यो मनोभावसँग पाठक जोडिँदैनन् । विशेषगरी बेप्रसंग आउने उनका लम्बेतान वर्णनमा ।
मूलतः कवि हुन्, भूपिन । पछि निबन्ध र आख्यानमा फैलिए । निबन्ध, कविता, उपन्यास तीनै विधाको समान सेतु त अक्षर नै हुन् । तर सिनेमा, गीतसंगीत, चित्रकला आदि अन्तरविधामा उत्तिकै रुचि छ उनको, केही अभ्यास पनि । फोटोग्राफीमा राम्रो छ, उनको रुझान । सग्रहको दोस्रो खण्ड यसको बलियो प्रमाण बनेको छ । ‘सम्झना’ नाम दिइएको यस खण्डका ‘नि हाउ गिटार गर्ल’, ‘केही प्रिय सिनेमा’, ‘फोटोमा हल्लिरहेको चिन्तन’ जस्ता निबन्धले कलाका विविध विधावारे बोलेका छन्, अन्तरविधात्मक उनको जीवन अनुभूति घोलेका छन् । ‘महामानवको खोजीमा’ निबन्ध चित्रकलामा समर्पित उनका एक विद्यार्थीमा समर्पित छ । घटना र यसको प्रस्तुति मार्मिक छ । यही खण्डको पहिलो निबन्ध ‘गोठमा भेटिएको प्रेमपत्र’ निबन्ध साहित्यको दुर्लभ प्राप्ति हो । यसमा उनका बाले पल्टनबाट आमाका नाममा पठाएका चिठ्ठीको प्रसंग छ ।
भूपिन खड्का
संवेदनाले खाँदिएका छन्, भूपिन । अश्रुधारा निस्फिक्री बगाएर विरेचित हुन जानेका छन्, उनले । यस अर्थमा पनि यो संस्मरण संग्रह विशेष बनेको छ । युट्यूबमा एउटा फुटेजले उनलाई यति प्रभाव पार्छ कि त्यसउपर सिंगै निबन्ध तयार पार्दिन्छन् उनी । र, यो एक दशक पहिलेको विनाशकारी भूकम्पको समयको घटना हो । उनी काठमाडौंमा हुन्छन् र विनाशकारी घटनाको साक्षी पनि । र, यो निबन्ध पत्रात्मक बान्कीमा तयार गरेका छन् । उनकै छोरा अस्तित्वलाई सम्बोधन गर्दै उनले विनाशकारी त्यस समयको जटिल तस्वीर कोरेका छन्, शब्दमार्फत । उपत्यकाका विनाशका लघुचित्र हो, यो निबन्ध । अमेरिकी लेखक ता नाहिसी कोट्सको गैरआख्यान ‘विटविन दि वल्र्ड एण्ड मी’ सम्झनामा आउँछ, यहींनेर । कोट्सले पनि आफ्नो सानो छोरालाई सम्बोधन गरी लेखेका छन् उक्त किताब, जसमा बाराक ओबामाको कार्यकालमै कालाहरु अमेरिकामा असुरक्षित रहेको र मारिएको तथ्यांक र घटनावली समावेश छ ।
उतिबेलै किशोरबेलादेखि नै संरक्षण कविता आन्दोलनमा जोडिएका थिए, भूपिन । कवितामा पनि पर्यावरणबारे लेखिरहन्छन् । यही पाटोको निरन्तरतामा छन्, तेस्रो खण्डका केही निबन्धहरु । ‘एकहत्तर इन्चको हिमाल’ यस्तै एउटा पर्यावरणीय चिन्ताबारे छ । यसको अन्त्य पनि रमाइलो छ । आफ्नै उचाइलाई शीर्षक सन्दर्भ बनाएका भूपिनले निबन्धको अन्त्यतिर मनोभाव व्यक्त गर्छन्ः ‘कान्जिरोवा हिमालझैं म पनि हुँ एकहत्तर इन्चको फुच्चे हिमाल ।’ अनि बडो द्रवीभूत बन्छन्, उनी । पर्यावरण/यात्रा खण्डमा समावेश ‘बाघका पाइला पछ्याउँदै’ निबन्धचाहिँ साँच्चिकै एड्भेन्चरस लाग्छ । उनका नजिकका मित्र ईश्वर कँडेलसँग उनी बाघ हेर्न पुगेका छन्, चितवनको घना जंगलमा । डरले ढुकढुक पार्छ मुटु, यो निबन्ध पढिरहँदा । यसै खण्डको ‘रुखका दुःख’ असाध्यै निजात्मक छ । निबन्ध भन्दा संस्मरणात्मक टिपोट लाग्छ । कोही किन पढोस्, डायरीमा सीमित रहनुपर्ने यस्तो विवरण?
संसारै ठप्प थियो कोभिडको समयमा पनि एकदमै सिर्जनात्मक बाँचेछन्, यी स्रष्टा । यसको दसी प्रमाण हो, निबन्ध ‘बुसक्राफ्ट पाठशाला’ । जंगलका रुख बुट्टयान ताछ्ने, तिखार्ने अनि आकर्षक ढंगले सजाएर दिनभर निर्जन ठाउँमा बिताएको अनुभव सुनाएका छन्, यसमा । ‘समयका ए पल थम्सा गया है’ भन्ने खालको अवस्थाको यो चित्रण र बँचाइ लोभलाग्दो छ । बयान पनि मिहिन र मोहक छ ।
उनले आफैंसँग गरेको आलाप पनि हो यो, निबन्धमाला । घटना, व्यक्ति, स्थान, तिथिमितिसमेत विस्तारमा उल्लेख गरेर वर्णनमा विश्वसनीयता अनि सजीवता थपेका छन् । फुर्सद हुने बित्तिकै यात्रामा निस्किरहन्छन्, उनी । लाग्छ, उनी निकै तयारीसाथ निस्कन्छन् यात्रामा । यात्राको क्रमका ससाना पाटा समेत छुट्दैनन्, उनको नजरबाट । उदाहरणस्वरुप ‘गोवामा गोता’ निबन्ध नै हेरौं । चितवनबाट निस्केदेखि गोवाको होटलमा पुग्नासाथ बिरामी पर्दा अनि पछिल्ला दिनहरुको सयर, समुद्रमा पौडिँदाका यावत कुराहरु मिहिन ढंगले वर्णन गरेका छन्, उनले । विविध खालका छन्, निबन्धहरु । विषयवस्तु चयनको हिसाबले बिल्कुलै अलग पनि । अवलोकन, स्रोत सामाग्रीको उत्खनन र विश्लेषणले यी निबन्धमा ओज र पृथकता थपिएको छ ।
द्विअर्थी लाग्छ, एउटा निबन्धको शीर्षक–‘ठुल्दाइ तिमीलाई हेरिरहेछ’ । बा, आमा, छोरा तथा अन्य पारिवारिक पात्रकेन्द्रित लेखन समावेश भएकोले यो शीर्षकमा पनि उनी आफ्ना ठुल्दाइ प्रसंग जोड्दैछन् जस्तो लाग्छ, शुरुमा । तर यहाँ जोडिन्छ जर्ज अर्वेलको ठुल्दाइ । अर्थात् उपन्यास ‘१९८४’ को ‘बिग ब्रदर’, जो हरदम निगरानी राखिरहन्छ, हरेकका गतिविधि । बाग्लुङ जन्मथलोबाट चितवन कर्मथलो बनाइरहँदा भरतपुर शहरसँगको आशक्ति/उपेक्षाका सम्बन्ध खुलाएका छन् । यस शहरले आत्मीयता नराखेको प्रष्ट भन्छन्, उनी । उसैगरी जन्मस्थान बाग्लुङमा पनि बिरानो बन्दै गएको पाउँछन्, आफूलाई । निबन्धको अन्त्यमा उनी लेख्छन् ः ‘मेरो र शहरको अन्तरसंघर्ष जारी छ । न म हारेको छु, न शहरले ममाथि मनोवैज्ञानिक युद्ध लड्न छाडेको छ ।’ कवि भूपिनको यस मनोदशा क्यारेवियन कवि डेरेक वाल्कोटसँग ठ्याक्कै मिल्छ । वाल्कोटको कविता ‘ए फार फ्रम अफ्रिका’ को अन्त्यमा यही विभाजित मनोभाव यसरी प्रकट भएको छ— ‘विभक्त छु म, अब कसलाई समर्थन गरौं ? यो अफ्रिका र मैले माया गरेको बेलायती लवजमध्ये ।’
भूपिन दुःखको वर्णन पनि असाध्यै काव्यिक बनाउँछन् । एउटा दृष्टान्त–‘मनको हिउँ पग्लेर गालाको उबडखाबड हुँदै च्यापुको डिलबाट झरिरहेथ्यो (स्मृतिको धुरीमा बा) ।’ तर, दास्रो विश्वयुद्धमा समेत सामेल उनका बाका युद्धसँग जोडिएका कुराहरु कति खेर आउँछ भन्ने अपेक्षा रहन्छ, पाठक मनमा । यो पाटो पूरै गायब हुँदा भने जिज्ञासु पाठक उदास बन्न बाध्य हुन्छन् । रेटोरिक्स वा भनौं कलात्मक प्रश्न—यो निबन्ध संग्रहको एउटा गोचर शैली बनेको छ । उनी ठाउँठाउँमा यसरी नै प्रश्न गर्छन् कि ती प्रश्नको उपस्थिति ओजपूर्ण छ, जसमा सटिक जवाफ लुकेझैं लाग्छ । उनका अन्य लम्बेतान वर्णनबीच यस्तै प्रश्नको खोजी हुन्छ, आलोचनात्मक चेतसहितका पाठकलाई ।
‘मध्यको उज्यालोे’ लाई मध्यदिनको उज्यालो भन्ने स्वाभाविक अर्थमा लिन सकिन्छ । तर, यो शीर्षक विम्बात्मक छ, त्यसैले अर्को निहितार्थमा पनि बुझ्न सकिन्छ— देशको मध्यभाग चितवनमा रहेर कला सिर्जनामा संलग्न रहँदाका भूपिनका अनेक आयाम । आकर्षक हार्डकभर छ । गोधूलि समयलाई पक्रेर नदीमा डुंगा खियाइरहेको दृश्य मनमोहक छ । भित्री गाता र अध्याय विभाजन खण्डहरुमा पनि आकर्षक र अर्थपूर्ण चित्रहरु राखिएका छन् । बुद्धको आकृतिको साथमा विषयसूची मध्यभागमा देखिन्छ, हस्तलिखित केही सामग्री पनि राखेर उनले आधिकारिकता र पृथकतालाई मलजल गरेका छन् । सौन्दर्यशास्त्रको प्रस्ट उपस्थिति छ । केही प्रिय गीत, आफ्नै कविता वा अन्य कविका रचनासमेत संग्रहका निबन्धमाझ सामेल गरेर झिंझोपनबाट पाठकलाई थोरै राहत दिएका छन्, उनले ।
२०७९ मा छापिएको ‘चौबीस रिल’ थियो कवि परिचयबाट उदाएका भूपिनको पहिलो निबन्ध संग्रह । ‘कविता यात्राको गोरेटो’ जस्ता केही कवितामाथिको विमर्श छन्, यसमा । तर आफ्नो पहिलो निबन्धबाटै उनी शब्दको संसारभन्दा पर धेरै आयाममा फैलिएका थिए । चित्रकला, संगीत, साहित्य, फोटोग्राफी, प्रविधिका नयाँ प्रयोग अनेकन स्वरुपमा छ, उनको फैलावट ‘मध्यको उज्यालो’ सम्म आइपुग्दा । प्रकृतिसँगको सानिध्यता त अझ घनीभूत बनिसकेको छ, उनको । यी विविध विधाका व्यक्ति, सामग्रीको नियमित सन्दर्भले यो किताब आफैंमा एउटा दुर्लभ आर्काइभ पनि बनेको छ । भाषामा अंग्रेजी र हिन्दीको ठाउँठाउँमा उपस्थिति देखिन्छ– अभिव्यक्तिमा बनावटीपन देखिँदैन, यस्तो समिश्रणबाट पठनमा नयाँ पुस्तासमेत तानिएलान् । भूपिन आफ्नो लेखनमा हतारमा छैनन् । तर, बग्रेल्ती सूचनाले घरीघरी बोझिलोचाहिँ बनाउँछन् उनी पाठकलाई । एकाध निबन्धका एकाध घटनामा पुनरावृत्ति दोष औंलाउन सकिन्छ । भूपिनकृत यी निबन्धहरु पढिसक्दा एउटा लोभ भने जाग्छ मनमा अनि मुखबाट फुत्त निस्कन्छ— ‘भूपिनजस्तै अलिक कलात्मक बाँच्न पाए ?’