राज्यले मुन्धुमलाई ‘मिथक’ मात्रै भनिरहेको थियो। काइँलाले अन्धविश्वास, किंवदन्ती वा आदिम धर्मको सीमाबाट मुक्त गर्दै मुन्धुमलाई दार्शनिक, नैतिक र सभ्यतागत ज्ञान-प्रणालीका रूपमा प्रस्तुत गरे।
सन् १८०० मा जन्मिएका बेलायती नागरिक हज्सन सन् १८१८ मा बेलायतबाट भारत पुगेका थिए भने भारतपछि प्रशासनिक कामका लागि नेपाल आए। तर, त्यसपछिका करीब २३ वर्ष लामो नेपाल बसाइमा उनले नेपालका जाति-जाति, भाषाहरूको अध्ययन-अनुसन्धान गरे। बौद्ध धर्म र नेवार सभ्यतालाई उनले नजिकबाट हेरेका थिए। यति मात्रै होइन, स्थानीय भाषामा शिक्षा दिइनु पर्नेमा उनी स्पष्ट थिए। खासगरी हिमाली जातिबारे उनले गरेको शोधखोज अद्वितीय मानिन्छ। त्यति वेला प्रायः विदेशी अध्येताको उद्देश्य नेपालका विभिन्न सूचना र अवस्थिति आफ्नो देशमा लगेर बुझाउनु हुन्थ्यो नै। तर, हज्सनले भने नेपालका हिमाली क्षेत्र र हिमाली जनजातिको उद्भव तथा इतिहास सम्बन्धी कागजातहरू संकलन गरे। यो निकै महत्त्वपूर्ण काम थियो।
अभिलेखहरू संकलन गर्दा स्थानीय विद्वान् र जातीय समुदायका सूचनादाताहरू हज्सनका बौद्धिक सहयात्री थिए। तर, ती सामग्री हज्सनले नै ब्रिटिस लाइब्रेरीमा लगेर सुरक्षित गरेकाले उक्त कागजातलाई हामी हज्सन पाण्डुलिपि भनेर चिन्दछौं। सहयोगीहरूलाई दिइनुपर्ने आवश्यक प्राज्ञिक श्रेय नदिइएकोले हुन सक्छ, कतिपयले हज्सनलाई ‘दस्तावेज चोरी’ को आरोप पनि लगाउँछन् । तर, ती कागजपत्र उतार तथा संकलन गर्दा सम्बन्धित पक्षको सहमति लिइएको र कतिपयलाई त शुल्क तिरिएको पनि चर्चा पढ्न पाइन्छ। त्यसैले‚ हज्सनलाई आरोप लगाउनुभन्दा उनले यो काम नगरिदिएको भए हाम्रो धेरै सम्पदा आज अस्तित्वमै हुने थिएनन् भन्ने हेक्का हामीले राख्नुपर्छ। बरु ऐतिहासिक दस्तावेज हामीले आफ्नै मुलुकमा संरक्षण गर्न नसक्नुले आफ्नै संस्थागत असफलतालाई उजागर गरेको छ।
हज्सन पाण्डुलिपिलाई नजिकबाट अध्ययन गर्ने कतिपय अध्येताले ब्रायन हज्सनलाई ‘नेपाल अध्ययनको अव्यवस्थित विश्वकोश’ पनि भनेका छन्। त्यही विश्वकोशबाट केही अंश उधिनेर नेपाली बौद्धिक विमर्शमा ल्याउने काम गरेका हुन्- प्राज्ञिक व्यक्तित्व बैरागी काइँलाले। त्यही अनुसन्धानको परिणाम हो‚ यो पुस्तक। यस पुस्तक पढ्दा थाह लाग्छ कि हज्सन इतिहासतर्फ जाने बलियो ढोका हुन्। आज हाम्रो काम हज्सनलाई पूजा गर्नु होइन, हज्सनलाई सच्याउनु हो- अर्थात्, उनले संकलन गरेका अभिलेखलाई हाम्रै दृष्टिमा नेपाली स्मृतिबाट पुनः पढ्नु हो। हज्सन एउटा दर्पण हुन्। त्यस दर्पणमा हामी आफ्नो कमजोरी पनि देख्छौं, सम्भावना पनि। हज्सनले गरेका काम पूर्ण छैनन्। तर, बाँकी अपूर्णताबारे अनुसन्धान गर्ने र उपलब्ध सामग्रीलाई आफ्नै संस्कृति तथा इतिहासको हेराइबाट पर्गेल्ने जिम्मेवारी हाम्रै हो। यही जिम्मेवारी बैरागी काइँलाले आफ्नो काँधमा बोकेरै शुरू गरेका कारण यो पुस्तक आज हाम्रो हातमा छ। उनले यो जिम्मेवारी लिएर आफ्नो समुदायलाई ऋणी पनि तुल्याए‚ किनकि यस पुस्तकमा उनको अध्ययन-चासो लिम्बू समुदायमा केन्द्रित छ भने विश्लेषणीय कोण मुन्धुमी छ। उनले आफ्नो भाषा र लिम्बू मुन्धुममा दर्जनभन्दा बढी प्राज्ञिक पुस्तकमा पहिल्यै काम गरिसकेका छन्। ती पुस्तकहरू हाम्रो वाङ्मयका अमूल्य निधि हुन्। यी कार्यलाई आफ्नो वैचारिक आरनमा अर्जपेकाले उनको मुन्धुमी दृष्टि अनुकरणीय छ।
बैरागी काइँला
बैरागी काइँलाकृत यो हज्सन पाण्डुलिपि नेपाली सांस्कृतिक इतिहासमा निकै महत्ता बोकेको पुस्तक रहने कुरामा दुई मत छैन। बरु ब्रायन हज्सन र उनका कामबारेमा नेपाली बौद्धिक वृत्तमा एक मत पाइँदैन। हज्सनलाई औपनिवेशिक साम्राज्यकै कारिन्दा मान्छन् भने कसैले बौद्धिक अभियानकर्मी। तर, यथार्थ यी दुई अति व्याख्याको बीचतिर हुनुपर्छ। लाग्छ– उनी न केवल उपनिवेशका प्रतिनिधि हुन्, न त केवल ज्ञानका नायक। उनी ज्ञान र सत्ताको सीमारेखामा उभिएको एउटा ऐतिहासिक द्वन्द्व हुन्। उनलाई ‘ब्रिटिस रेसिडेन्ट’ भनेर मात्रै चिनाउनु बौद्धिक अपराध हो, किनकि त्यसले उनको भूमिकालाई प्रशासनिक परिचयमा झारिदिन्छ। हज्सन वास्तवमा नेपालको सभ्यतागत स्मृतिका अभिलेखकर्ता र हिमाली चेतनाका पहिलो आधुनिक पाठक पनि थिए।
उनको काम औपनिवेशिक ज्ञानबाट पूर्णतः मुक्त चाहिं थिएन। नामको अपभ्रंस, पहिचानको तोडमोड र इतिहासको अनुवादमा गरिएको राजनीतिक हस्तक्षेप उनका लेखनमा पनि भेटिन्छन्। नाम बदलिनु भनेको धेरै अर्थमा शब्द फेरिनु मात्रै होइन, अस्तित्वको दिशानिर्देश फेरिनु पनि हो। कसैले यसलाई औपनिवेशिक सत्ताको हतियार पनि भन्न सक्ला। तर, कुरा यतिमै गएर रोकिंदैन। यहीं रोकिनु हज्सनलाई अन्याय गर्नु हो। उनले नेपाललाई शासकहरूको इतिहासबाट सभ्यताको इतिहासतर्फ मोड्ने काम गरे। नेपाल उनका लागि राजवंशको कथा मात्रै थिएन। भाषा, लिपि, धर्म, जातीय स्मृति, मिथक र सांस्कृतिक निरन्तरताको जीवित भूगोल थियो। उनका पाण्डुलिपिहरूमा राजनीति कम, सभ्यता धेरै छ।
मुन्धुमसँग बैरागी काइँलाको भेट कुनै धार्मिक आकर्षण वा नश्लमोह होइन, ज्ञान-अनुसन्धानको अनिवार्यता हो। जब राज्यले मुन्धुमलाई ‘मिथक’ मात्रै भनिरहेको थियो, बैरागी काइँलाको अध्ययनले प्रश्न गऱ्यो– यदि मिथक मात्र हो भने यसले शताब्दीयौंसम्म समाजलाई कसरी चलायो? यही प्रश्नले मुन्धुमलाई विश्वासको सीमाबाट बाहिर निकालेर बोधको संरचनामा रूपान्तरण गर्छ। काइँलाले मुन्धुमलाई अन्धविश्वास, किंवदन्ती वा आदिम धर्मको सीमाबाट मुक्त गर्दै त्यसलाई दार्शनिक, नैतिक र सभ्यतागत ज्ञानप्रणालीका रूपमा प्रस्तुत गरे। उनले आफ्नोे समाजलाई बाहिरी दृष्टिविन्दुबाट हेरिने वस्तु बनाएनन्। बरु आफ्नै सभ्यतालाई प्रश्न गर्ने साहस गरे। यही साहसले उनलाई मुन्धुमी-कोणतर्फ ल्यायो। उनले मुन्धुमलाई न अनुलङ्घनीय धर्मग्रन्थ बनाए, न त वैज्ञानिक ग्रन्थसँग प्रतिस्पर्धा गराए। बरु उनले मानव सभ्यताले जीवन, प्रकृति र समाज बुझ्ने क्रममा निर्माण गरेको चिन्तनको गहिरो रूप दिएर मुन्धुमलाई पढे‚ अनि पढाए। त्यसैले मुन्धुमलाई धार्मिक आख्यानका रूपमा बुझिने पूर्वाग्रही दृष्टिलाई उनले चुनौती दिए। गहिरिएर हेर्ने हो भने मुन्धुम सृष्टिको कथा मात्र होइन; सृष्टिलाई बुझ्ने दृष्टि हो। मुन्धुममा आउने पात्र, घटनाक्रम र प्रतीकहरूलाई शब्दशः अर्थमा भन्दा प्रतीकात्मक र दार्शनिक तहमा पढ्नु पर्छ। सृष्टिको आख्यानमा मानव र प्रकृतिको सम्बन्ध, समयबोधलाई ख्याल गर्नुपर्छ। बैरागी काइँलाले मुन्धुमभित्र निहित प्रकृति-केन्द्रित दर्शनलाई विशेष जोड दिएका छन्। लिम्बू समाजमा मानव प्रकृतिको मालिक होइन, सहयात्री हो। मुन्धुमका आख्यानहरूमा नदी, पहाड, वनस्पति र ऋतुहरू जीवनका सक्रिय पात्र हुन्। यो दृष्टि आधुनिक पर्यावरणीय चिन्तनसँग गहिरो रूपमा मेल खान्छ। यसका लागि मुन्धुमलाई आधुनिक सिद्धान्तसँग तुलना गरेर वैध ठहऱ्याउने प्रयास गर्नै पर्दैन। आदिवासी ज्ञान स्वयंमा पूर्ण र अर्थपूर्ण छ। आधुनिकताको अनुमोदन त्यसलाई आवश्यक छैन। बैरागी काइँलाका प्राज्ञिक अनुसन्धान र विश्लेषणले यही कुरामा जोड दिन्छन्।
विजेतालिखित इतिहासका हजारौं पृष्ठमा जनइतिहास गायब पारिएको कुरा साँचो हो भनेर नस्विकारी अब धरै पाइँदैन। तर, समयले गायब पृष्ठहरूबारे पनि खोजी गर्छ। यो पुस्तक त्यस्तै खोजीको परिणाम हो भन्न सकिन्छ। पुरानो लिम्बू भाषा र मुन्धुमका प्रारम्भिक लिखित स्रोतहरू कहाँ छन् भन्ने प्रश्नको उत्तर हज्सन पाण्डुलिपिमा पुगेर भेटिन्छ। हज्सनद्वारा उन्नाइसौं शताब्दीमा संकलित लिम्बू सम्बन्धी सामग्री औपनिवेशिक सन्दर्भमा तयार भए पनि त्यसले मुन्धुम, भाषा र समाजका महत्त्वपूर्ण विवरण सुरक्षित गरेको छ। यस पुस्तकको अध्ययनपछि भन्न सकिन्छ कि हज्सन बाहिरी निरीक्षक हुन् भने बैरागी काइँला आन्तरिक अध्येता। हज्सनले मुन्धुमलाई अभिलेख गरे‚ बैरागी काइँलाले त्यसलाई अर्थ दिए।
हज्सन पाण्डुलिपिमा वर्णित जन्म, विवाह र मृत्यु संस्कारहरूले लिम्बू समाजको समाजशास्त्रीय गहिराइ देखाउँछन्। यस अभिलेखले देखाउँछ कि लिम्बू समाजमा– जातीय उँचनीच छैन, किपट प्रणाली छ, विवाह, भात-भान्सा चल्ने सामाजिक समानता छ, महिलाको भूमिका निर्णायक छ। तर, यही समाजमा गोर्खा राज्य विस्तारसँगै स्मृति-नीति, हिन्दूकरण र खस भाषाको प्रभाव प्रवेश गर्न थाल्छ। पाण्डुलिपिमा पाइने खस शब्दहरूको वृद्धि स्वयं सांस्कृतिक दबाबको प्रमाण हो।
हज्सन पाण्डुलिपिले लिम्बूवानको चार किल्ला, थुम, किपट र राजाहरूको वंशावली स्पष्ट गर्छ। यो भूगोल केवल नक्शा होइन, राजनीतिक स्मृति हो।
हज्सन पाण्डुलिपिका केही सीमा छन्– यो स्वदेशी दृष्टिले लेखिएको होइन, कतिपय अनुवाद अपूर्ण छन्, कतिपय पृष्ठ हराएका छन् र वर्गीकरण पनि संगतिपूर्ण देखिंदैन। तर, यस पाण्डुलिपिले लिम्बू-अध्ययन गर्न सकिने बलियो बल दिन्छ। साथै, आदिवासी ज्ञानको पुनःपाठ, भाषिक पुनर्जीवन, इतिहासको वैकल्पिक लेखनका लागि पनि हज्सन पाण्डुलिपि गतिलो सामग्री हुन सक्छ।
हज्सनले ब्रिटिस पुस्तकालयमा संकलित गरेका कतिपय भोल्युमहरूमा पुग्दा हामी पूर्णतः भिन्न लिम्बू संसारमा प्रवेश गर्छौं– जहाँ सृष्टिदर्शन छ, नैतिक संरचना छ, विवाहको दार्शनिक आधार छ, मातृप्रधान स्मृतिहरू छन् र भाषिक सूक्ष्मता छ । कतिपय वर्णनले लिम्बू र किराती समाजलाई ‘भर्खर खेती सिकेका’, ‘बन्दुक बोक्ने’, ‘मद्यमांस खाने’ जातिका रूपमा चित्रण गर्छन्। यस्ता वर्णनलाई नृवंशविज्ञानसम्मत मान्ने कि औपनिवेशिक वर्गीकरण भन्ने प्रश्न त जन्मिन्छ नै।
अब साबित भइसकेको छ– मुन्धुम, वंशावली, संस्कार र भाषिक संरचनाहरू यी सबै इतिहासका वैकल्पिक रूप हुन्। काइँलाका अनुसन्धानहरूले बोल्छन्, इतिहास लेख्ने काम राज्यको एकाधिकार होइन।
भूमि-सम्बन्ध (किपट) मुन्धुमको सामाजिक दर्शनको अर्को आधार हो। भूमि यहाँ सम्पत्ति मात्र होइन, स्मृतिको भूगोल हो। भूमिसँग वंश, इतिहास र संस्कार गाँसिएका छन्। राज्य-केन्द्रित भूमि व्यवस्थाले यस सम्बन्धलाई कानूनी स्वामित्वमा सीमित गऱ्यो। बैरागी काइँलाको पठनले किपटलाई केवल ऐतिहासिक अधिकारको प्रश्नमा सीमित गर्दैन, यसलाई वैकल्पिक सामाजिक दर्शनका रूपमा बुझ्छ। यहाँ भूमि व्यक्तिको होइन, समुदायको उत्तरदायित्व हो।
नेपाली इतिहास र समाजशास्त्रमा आदिवासी समुदाय सम्बन्धी अध्ययन प्रायः बाह्य दृष्टिकोणबाट निर्मित भएको पाइन्छ। राज्य, धर्म, भाषा र सत्ता केन्द्रित इतिहासले आदिवासी समाजलाई कि मौन बनाएको छ, कि त विकृत रूपमा प्रस्तुत गरेको छ। तर, बैरागी काइँलाको अध्ययनले अ-औपनिवेशिक भूमि मात्रै देखाउँदैन, वैकल्पिकताको आकाशलाई संकेत गर्छ। उनले प्रमाणित गरिदिए कि आदिवासी ज्ञानलाई व्याख्या गर्न बाहिरी प्रमाण चाहिंदैन। यसको ‘आधिकारिता’ आफ्नै सामाजिक कार्य, दार्शनिक सुसंगति र ऐतिहासिक निरन्तरतामा छ। अ-औपनिवेशिकताको आधार स्थानीयता हो। तर यस्तो पठन पनि जोखिम रहित छैन। एउटा जोखिम छ– आदिवासी ज्ञानलाई पूर्ण, शुद्ध र प्रश्नमुक्त बनाएर प्रस्तुत गर्ने। यस्तो पठन अन्ततः अर्को प्रकारको कट्टरतामा बदलिन पनि सक्छ। तर, बैरागी काइँलाको अध्ययन-कार्य यहाँ पनि सचेत छ। उनले मुन्धुमलाई बन्द ग्रन्थ बनाएनन्, खुला पाठ बनाए– प्रश्न गर्न मिल्ने, पुनःपाठ गर्न मिल्ने र असहमति जनाउन मिल्ने। उनले यस प्रकारको संचेतना हज्सन पाण्डुलिपिमा पनि डगमग हुन दिएका छैनन्।
बैरागी काइँदाकृत हज्सन पाण्डुलिपिले लिम्बू भाषासम्बन्धी चिन्तनलाई नजिकबाट नियाल्न सघाउँछ। भाषालाई केवल सञ्चारको माध्यम होइन, सामाजिक संरचना र सामूहिक स्मृतिको रूपमा हेर्न सकिन्छ। लिम्बू भाषामा ‘आदरार्थी’को अभावलाई भाषिक कमजोरी होइन, सामाजिक समताको प्रमाणका रूपमा ग्रहण गर्न सकिन्छ। भाषामा शक्ति र पदको स्थायी विभाजन नहुनु लिम्बू समाजको समतामूलक चेतनाको सूचक हो भन्ने तर्क जायज छ। र, यो तर्क नेपालका प्रायः आदिवासी समुदायमा लागू हुन्छ। बैरागी काइँलाले गरेको अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने वास्तविक ज्ञान समुदायको स्मृतिमा जीवित हुन्छ। लिखित अभिलेख उपयोगी हुन सक्छ, तर त्यो पुनःपाठ विना अपूरो हुन्छ। यसैले उनको काम अ-औपनिवेशिक ज्ञान उत्पादनको उदाहरण हो। आज एकातिर आदिवासी भाषाहरू लोपोन्मुख र सांस्कृतिक स्मृति खण्डित हुँदै छ भने अर्कातिर एकै दृष्टिबाट लेखिएका इतिहासलाई नै आधिकारिक मान्ने राष्ट्रवादी चिन्तनले फेरि टाउको उठाउँदै छ। यस्तो पश्चमार्गी परिवेशबीच बैरागी काइँलाका विश्लेषण उत्तरोत्तर सान्दर्भिक बनिरहेका छन्। उनको यस गहकिलो पुस्तकले मार्गनिर्देश गर्छ कि आदिवासी ज्ञानलाई बचाउनु भनेको अतीतमा फर्किनु होइन, त्यसलाई वर्तमानसँग संवाद गराउनु हो।
बैरागी काइँला नेपाली बौद्धिक इतिहासमा एउटा व्यक्ति मात्र होइनन्, एक अग्रगामी दृष्टि हुन्। उनले मुन्धुमलाई बोल्न दिए, भाषालाई स्मृतिगृह बनाए र आदिवासी ज्ञानलाई आधुनिक बहसको केन्द्रमा ल्याए।
अबको जिम्मेवारी नयाँ पुस्ताको हो– यस दृष्टिलाई विस्तार गर्ने, आलोचनात्मक रूपमा अघि बढाउने र आदिवासी ज्ञान-परम्परालाई जीवित राख्ने। यही प्रक्रियाबाट मात्र भाषिक मुक्ति, सांस्कृतिक पुनर्जागरण र वैकल्पिक बौद्धिक इतिहास सम्भव हुन्छ।
हज्सन पाण्डुलिपि औपनिवेशिक कालमा संकलित सामग्री भए पनि लिम्बू समाजको भाषा, लिपि, मुन्धुम, संस्कार, सामाजिक संरचना र ऐतिहासिक स्मृतिलाई लिखित रूपमा सुरक्षित गरिदिएका कारण आदिवासी ज्ञान-परम्पराको अमूल्य भण्डार बनेको छ। यस्तो ऐतिहासिक कामका लागि ब्रायन हज्सनलाई कोटीकोटी साधुवाद!
र, यस्तो ऐतिहासिक कामलाई प्राज्ञिक विमर्शमा ल्याइदिएर नेपाली वाङ्मयलाई गुन लगाउने सम्माननीय व्यक्तित्व बैरागी काइँलाप्रति यो पाठकको हार्दिक आभार!
(बैरागी काइँलाको भर्खरै बजारमा आएको पुस्तक ‘हज्सन पाण्डुलिपि : लिम्बू जाति, भाषा, संस्कृति र इतिहास’ को भूमिकाबाट)