पुष्पकमल दाहाल‚ केपी शर्मा ओली, रवि लामिछाने र मीडियामा प्रकाशित खोज समाचारको भिडिओ बनाउने ‘कन्टेन्ट क्रियटर’हरू नै हुन्, प्रेसमाथि आक्रमण गर्न उक्साउने मुख्य कारकत्व।
ऋषिकेश दाहाल
भ्रष्टाचार विरुद्ध २०८२ भदौ २३ गते नवयुवाको प्रदर्शनमा अन्धाधुन्ध गोली प्रहार भएर १९ जनाको ज्यान गयो। त्यसको दोषीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै सम्पादकीय नोट जारी गर्ने राजधानीका मीडिया अहिले तिनै ओलीको अन्तर्वार्ताका लागि तँछाडमछाड गरिरहेका छन्। दोषी ठहऱ्याउन समय नलगाउने र चोख्याउन पनि उत्तिकै हतारिने समाचार कक्षको प्रवृत्तिले नेपाली मीडियाको पछिल्लो चरित्रलाई उजागर गरेको छ।
उन्नाइसौं शताब्दीमा संयुक्त राज्य अमेरिकामा ठूला प्रकाशक तथा पीतपत्रकारितालाई प्रवर्धन गर्ने विलियम ऱ्यान्डल्फ हर्स्टले ‘इफ इट ब्लिड्स, इट लिड्स’ (जहाँ रगत बग्छ‚ त्यही प्रमुख समाचार बन्छ) भन्थे, जुन यतिखेरको नेपाली मूलधारका सञ्चारमाध्यमका लागि भनिए झैं लाग्छ। औद्योगीकरणको विस्तारसँगै समाचारको बजार बढाउन गुणभन्दा ‘शक भ्यालु’ (झट्का पार्ने क्षमता)लाई प्राथमिकता दिने तत्कालीन रणनीति यतिखेर ‘क्लिकबेट’मा रूपान्तरित भएको छ, जुन घातक देखिंदैछ।
मूलधार, भुत्ते धार
भदौ २३ र २४ को घटनाक्रमका समाचार प्रस्तुतिलाई हेर्ने हो भने मूलधारको समाचार कक्ष कमजोर सैद्धान्तिक धरातलमा छ भन्ने ठम्याउन सक्छौं। पत्रकारिताको ‘व्यावसायिक’ भारलाई सम्पादन कक्षको काँधले थेग्न नसक्ने अवस्थामा पुगेको आभाष हुन्छ। पत्रकारिता व्यावसायिक हुनु राम्रो हुन्थ्यो तर यो व्यवसाय मात्र भइदिंदा पेशागत धर्म धर्मराएको छ। मूलधारको अखबारमा यसअघिका कतिपय संक्रमणकालीन परिवेशमा यस्तै अवस्था नआएको होइन। राजनीतिक संकटले चरम अवस्था लिंदा यस पटक पहिलेका घटनाक्रममा भन्दा मीडियाको प्रस्तुति धेरै फरक देखियो। यसअघिका कतिपय अप्रत्याशित घटनाबारे मीडियामा अन्योल मात्र देखिन्थ्यो। ‘पर्ख र हेर’को सूत्रमा मीडिया अडिन्थे। घटनाक्रमको सिलसिलेवार विकास क्रमलाई मीडियाले गम्भीरता साथ लिन्थे। पाठक/श्रोता/दर्शकलाई के दिनुपर्छ र के दिनुहुन्न भन्ने छुट्याउँथे। ‘गेट किपिङ’को त्यही प्रणाली यतिखेर मूलधारले गुमाएको छ। भीडबाट बहकिने रोग मूलधारका समाचार सामग्रीमा देखिएको छ। जता भीडको रुचि छ, त्यतै समाचार सामग्रीको प्राथमिकता छ। अर्थात् पत्रकारिता ‘शक भ्यालु’को सहारामा चल्न खोजेको छ। हरेक दिन अथवा पलपलका समाचार हेर्नेहरू अन्योलको मारमा पर्दै छन्।
समाचार कक्षको नेतृत्वले गम्भीर विषयमा धैर्य गुमाएको छ। भीड निर्देशित सामग्रीको बहकाउमा लागेको छ। यसले गर्दा राजनीतिक संकटको सहज अवतरणभन्दा उल्झनको यात्रामा हामी लागिरहेको अनुभूति हुन्छ।
भदौ २३ गते किशोरहरूका छातीमा नागरिकको करले किनेको गोली वर्षा भयो। त्यसैका आडमा विध्वंसको प्रतिफल स्वरूप सिंहदरबार जल्यो। छानाछानी निजी क्षेत्रमाथि आक्रमण भयो। लूटपाट र आगजनी भयो। पत्रकारिताका हिसाबले कान्तिपुर माथिको आक्रमण सबैभन्दा त्रासदीपूर्ण रह्यो। अन्नपूर्ण पोस्ट पनि अराजकताको निशानामा पऱ्यो।
भ्रष्टाचार विरोधी आन्दोलनलाई साथ दिइरहँदा निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रभावशाली कान्तिपुर मीडिया ग्रुप आन्दोलनका नाममा खरानी होला भन्ने कल्पना कसैले गरेको थिएन। कान्तिपुर मा आगजनीपछि समग्र मीडियामा भयले राज गरेको छ, मीडियाका सामग्रीले त्यही संकेत गर्छ। यस प्रकरणले स्थापित गरेको तथ्य हो– विचार र उद्देश्य सहित लक्ष्यमा हिंड्नेसँग प्रतिवाद गर्न सकिन्छ, जतासुकै बहकिन सक्ने ‘जत्था’ प्रतिकारभन्दा परै रहन्छ। तिनलाई सम्हाल्न सहज छैन। प्रतिफल सिंहदरबार जलिरहँदा मूलधारका माध्यम कार्यालय चिनाउने बोर्ड झिकेर लुकाउन बाध्य भए। केहीका लागि २३ गते बगेको रगत र २४ गते फैलिएको अराजकताको आगो अनि सिंगो राज्य संयन्त्रको निरीहता ‘मनिटाइज’को अवसर बन्यो, बलियो ‘शक भ्यालु’ सहित।
मूलधारको धार भुत्ते भएको यो पहिलो घटना होइन। समाचार कक्षको कमजोर चरित्र राजा ज्ञानेन्द्रले ‘कू’ गर्दा पनि देखिएको थियो। त्यतिखेर म आफैं संलग्न भएर ब्रोडशिटदेखि साप्ताहिकसम्म गरी २५ वटा पत्रिकाको विषयवस्तु विश्लेषण गर्दा पाएको थिएँ– अप्रत्याशित राजनीतिक परिवर्तनमा ठूला मीडिया भुत्ते र साना मीडिया धारिला हुँदा रहेछन्।
२०६१ माघ १९ को प्रभाव : नेपाली सेनाले सेन्सर गरेपछिको हिमाल खबरपत्रिका।
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले कू डे’टा गरेपछि सबैभन्दा ठूलो आक्रमणमा पऱ्यो मीडिया क्षेत्र। २०४६ सालको परिवर्तनले विकसित गरेको मीडियाले समाचार कक्षमा सेनाको उपस्थिति र ‘सेन्सर’ त्यसअघि भोगेका थिएनन्। मुलुक हिंसात्मक द्वन्द्वकालमै थियो र समाचार कक्षमा पहिलो पटक सैन्य बूटले मार्च गरेको थियो। त्यसको असरले हुनुपर्छ, राजा ज्ञानेन्द्रले बलात् सत्ता हातमा लिएको भोलिपल्ट कान्तिपुर को सम्पादकीयमा गैरराजनीतिक विषयले स्थान पायो। त्यतिन्जेल राजनीतिक परिवर्तनको संवाहक बनेको कान्तिपुर भर्खरै मात्र प्रकाशनमा आएको राजधानी दैनिकको तुलनामा तत्कालीन शाहीसत्तासँग तर्सिएको देखियो। त्यतिखेर राजधानी दैनिकको पहिलो पृष्ठको एङ्कर समाचारमा उक्त पत्रिकाको कार्यालयलाई सेनाले घेरेको उल्लेख गरेको थियो। मूलधारका ठूला अखबारभन्दा विपरीत दृष्टि जस्तो सानो लगानीको साप्ताहिक धारिलो रूपमा प्रस्तुत भयो– सम्पादकीयमा कालो पोतेर। हिमाल पाक्षिक पत्रिकाले सबैले बुझ्ने गरी सेनाले सेन्सर गरेर पत्रिकाबाट हटाइएका अक्षरका भाग खाली देखिने गरी छाप्यो।
त्यतिखेरको विषम परिस्थितिमा मूलधारे मीडिया कमजोर हुँदा पत्रकारिताको ‘सास’ साप्ताहिकले धानेका थिए। खोजपत्रकारिता केन्द्र मार्फत गरिएको उक्त अनुसन्धान ‘न्यूज इन क्राइसिस’ शीर्षकको पुस्तकमा समाविष्ट छ। हामीले गरेको अध्ययनको निचोड थियो– नेपाली मीडिया उद्योगमा जति ठूलो आर्थिक प्रगति त्यही अनुपातमा कमजोर सम्पादकीय धरातल।
नेताको पदचापसँगै हिंड्ने डेटलाइन
श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार,... प्रधानमन्त्रीका गतिविधि पदीय मर्यादाक्रम अनुसार प्राथमिकतामा राखेर लेखिनुपर्छ भन्ने आधारभूत सिद्धान्त पढेर पत्रकारिता पेशामा आएको मेरो पुस्ताको लागि युवराज घिमिरे सम्पादक हुँदा २०५८ असारमा कान्तिपुर मा प्रकाशित ‘बोक्सीको आरोपमा हिंसामा परेकी मरनीदेवी’को कथा एउटा अद्भुत क्रान्ति थियो। जनता नै समाचार हुन् भन्ने बुझाइलाई कान्तिपुर दैनिकले नै स्थापित गरेको हो नेपालमा। कान्तिपुर ले मधेशको देहातलाई मूलधारमा जोड्दै समाचारहरू लेख्न थाल्यो। पत्रकारिताको व्यावसायिकताका लागि पनि ठूलो योगदान पुऱ्यायो। सय वर्षको लामो इतिहास पूरा गर्ने तयारीमा रहेको गोरखापत्र लाई स्थापनाको दुई वर्षमा नै उछिन्ने हैसियत कान्तिपुर ले बनाउनुमा परम्परागत शैली त्याग्नु प्रमुख कारण थियो।
प्रेस काउन्सिल नेपालले २०५१ सालमा २३ जिल्लामा गरेको सर्वेक्षणमध्ये १८ जिल्लामा कान्तिपुर दैनिक धेरै बिक्री हुने गरेको तथ्यले देखायो । यसरी लोकप्रिय बन्दै आइरहेको कान्तिपुर दैनिकमा ३२ पृष्ठका सामग्री सामान्य आकारका लाग्थे। कान्तिपुर आजकल १२ पृष्ठमा छापियो भने मोटो अनुभूति हुन्छ।
आजभोलि सरकारी लगानी बाहेकका अखबार, रेडियो र टेलिभिजनको आर्थिक स्वास्थ्य दारुण छ। पत्रिकाले पाठक, टेलिभिजनले दर्शक र रेडियोले श्रोता गुमाइरहेका छन्। पत्रकारिताले अधोगतिको यात्रा गर्नुमा डिजिटल मीडियासँगै समाचार कक्षको दृष्टिविहीनता पनि दोषी छ।
दर्ता भएका पाँच हजारभन्दा धेरै अनलाइनका लागि आज समाचार त्यो हो जुन सजिलै मिल्छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका दुई लाइन विचार समाचारमा रूपान्तरित हुने गरेका छन्। नेतादेखि बिचौलियासम्म, दलदेखि कर्पोरेटसम्मले खोलेका ‘समाचार कारखाना’ मा उत्पादित सामग्री ह्वाट्सएप, भाइबर वा मेसेन्जरबाट समाचार कक्षसम्मै आइपुग्छ। त्यसपछि प्रतिस्पर्धा चल्छ ‘ब्रेकिङ’को– कसले छिटो ‘अपलोड’ गर्ने। सोशल मीडिया र ‘हाम्रो पात्रो’ जस्ता गैर-पत्रकारिताका प्ल्याटफर्ममा अटाउने र क्लिक बढाउने। ‘इनबक्स’मा प्राप्त सामग्री र अनवरत समाचार घट्टमा झैं घान हाल्नुपर्ने प्रतिस्पर्धाको दौडले समाचार कक्ष जनताबाट टाढिंदो छ। धेरै ‘अपलोड’ गर्नुपर्ने बाध्यताले समाचारको गहनता र गम्भीरता गुमेको छ।
त्यस बाहेक नेताका खल्ती खल्तीमा ‘कन्टेन्ट क्रियटर’ अर्थात् ‘सामग्री सर्जक’ भएपछि पत्रकारितामा ‘प्रेस मीट’ गायब बनेको छ। कतै पत्रकार सम्मेलन छ भने त्यहाँ क्लिकबेटको म्याराथनका लागि तम्तयारको भीड देखिन्छ। तिनले उठाउने प्रश्न र सम्बन्धितले दिने जवाफ कसरी भाइरल बनाउन सकिन्छ भन्ने होडबाजी चलिहाल्छ। यस्तै प्रियतावादको जगजगीमा मूलधार पनि समाहित हुन थालेको छ। प्रियतावादको यस दौडमा बालेन, रवि, हर्क र कुलमानहरू अहिले अग्रस्थानमा छन्। मीडिया यिनैका वरपर घेरिएका छन्।
२०७४ सालको आम निर्वाचनको वेला आफ्नै शोधका लागि मैले गरेको चार वटा अखबारको अन्तर्वस्तु विश्लेषणले नेताको हिंडाइ अनुसार समाचारको ‘डेटलाइन’ हिंडेको भेटें। त्यतिखेर सबैभन्दा धेरै समाचार काठमाडौं केन्द्रित छापिए। पहिलो पृष्ठमा छापिएका बाँकी समाचारका शीर्ष डेटलाइन कि त केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा‚ कि त शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा थिए। बाँकी अवधि यी जिल्लाका समाचार पहिलो पृष्ठमा भेटिंदा अद्भुत मानिन्थ्यो।
२०७९ सालको स्थानीय निर्वाचनको छेकोमा मैले नै गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ९१ प्रतिशत उत्तरदाताले डिजिटल मीडियाका कारण समाचार र सूचना ग्रहण गर्ने बानी फेरिएको स्वीकारेका थिए। रोचक पक्ष, उक्त सर्वेक्षण अखबार पढ्ने ग्राहकबीच गरिएको थियो। अखबारको अन्तर्वस्तु विश्लेषणमा जनतासँग प्रत्यक्ष जोडिएका सवालले कम ठाउँ पाएको भेटियो। यसका साथै उपभोगका अन्य कारणले गर्दा पाठकको रुचि डिजिटलतिर बढ्यो। अनि मूलधार पत्रकारिता जनताबाट टाढिंदै गयो।
मीडिया अनुसन्धान केन्द्र-नेपालका लागि मैले नै गरेको अर्को अध्ययनमा राजनीतिक दलले चुनावी प्रचारमा मूलधारलाई कम प्राथमिकता दिएर सोशल मीडियाको प्रयोग बढाएको पाएँ। सामाजिक सञ्जालको प्रयोगमा नेकपा एमाले अन्य दलभन्दा अगाडि रहेको उक्त अध्ययनले देखायो। काठमाडौं महानगरमा बालेन्द्र शाहको जीतका लागि सामाजिक सञ्जालको प्रयोग निर्णायक बनेको तथ्य स्थापित नै छ। महानगरको प्रमुखमा निर्वाचित भइसकेपछि मूलधारप्रति शाहको रुचि झनै देखिन्न। शाह स्वतन्त्र मीडिया सामना गर्न चाहँदैनन्, बरु आफूलाई मन पराउने युट्युबरका सेटिङका प्रश्न नै उनलाई सहज लाग्छ। शाह जस्तै अन्य नेताहरू पनि छन्, जसले जिम्मेवार मीडियाको ठाउँ संकुचित पार्ने काम गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र मीडियाको भूमिका नेतृत्वलाई जवाफदेही गराउनु हो। नेतृत्वले त्यसको सामना गर्न नखोज्दा लोकतन्त्र कमजोर हुन्छ।
२०६१ माघ २० गते राजधानी दैनिकमा प्रकाशित समाचार।
नेताको निशानामा मूलधार
डब्ल्यु. जेम्स पोटर ‘मीडिया लिटरेसी’ शीर्षकको पुस्तकमा लेख्छन्, “दोष मीडियाको हो, मेरो होइन। मान्छेहरूले समस्या देख्छन् तर त्यसको जरो कहाँ छ भन्ने मेसो पाउँदैनन्, त्यतिखेर उनीहरू दोष थुपार्न मिल्ने सजिलो शिकारको खोजीमा हुन्छन्। मीडिया छ्यापछ्याप्ती देखिने हुनाले सबैको निशाना सजिलै यसैतिर सोझिन्छ।”
सरकार वा नेताको काममाथि जब प्रश्न गरिन्छ र उनीहरू त्यसको कारण पहिचान गर्न सक्दैनन्, त्यतिखेर पोटरले भने झैं मीडियामाथि आक्रमणमा उत्रिन्छन्। भन्छन्, “मीडियाले तोडमरोड गऱ्यो। नबोलेको कुरा आयो।”
अखबारमा कसैले आलोचना गरेर लेख प्रकाशित गऱ्यो भने त्यसैलाई लिएर केपी शर्मा ओली आक्रामक हुन्थे। कान्तिपुर र अन्य मीडियाप्रति उनी गैरजिम्मेवार आक्षेप लगाइरहन्थे। लोकतन्त्रसँगै अभेद्य हो– आलोचना। २०७४ सालामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि ओली मीडियामाथि झन् बढी खनिन शुरू गरे। त्यसको असर उनको दलका नेता र कार्यकर्तामा पर्नु अस्वाभाविक थिएन। दीर्घकालमा ओलीको शैलीलाई अरूले पनि पछ्याए।
उनकै शैलीलाई पछ्याउँदै उदाए रवि लामिछाने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको ‘१२ भाइ’ भाष्यले नेपाली मीडियामाथि ठूलो असर पारेको छ। पत्रकारले लामिछानेसँग जोडिएका नागरिकता, दुइटा राहदानी र सहकारी ठगी प्रकरण विषयमा समाचार लेखेपछि उनले यो भाष्य प्रयोग गरी मूलधार मीडिया विरुद्ध अभियान नै चलाए। जनताका समस्याबाट टाढिंदै गएका मूलधारे मीडियाप्रति जति धेरै आक्रामक भयो, त्यति नै लामिछानेको लोकप्रियता चुलियो।
नेपाली समाज नेतालाई भ्रष्ट र व्यवसायीलाई ठगभन्दा रमाउँछ। त्यसमा पत्रकार थपिए। लामिछानेले पत्रकारिताका कमजोरीलाई अँठ्याउँदै आफ्नो राजनीतिलाई प्रियतावादको आडमा अगाडि बढाए। यो कार्यशैलीले उनीप्रति सकारात्मक र मीडियाप्रति नकारात्मक जनमत बढाउँदै लग्यो।
लामिछानेको प्रियतावादी अवधारणा उनी सञ्चारकर्मी भएको वेलादेखि नै देखिन्छ। नेतालाई जति धेरै तुच्छ प्रश्न गऱ्यो, त्यति ठूलो वाहवाहीवाला पत्रकार हुने प्रवृत्ति बीबीसी नेपाली सेवाबाट अगाडि नै शुरू भएको थियो। त्यसपछि पत्रकारितामा धेरै तल्लो स्तरमा उत्रिएर प्रश्न गर्न थालियो। भ्रष्टाचारको आक्षेपलाई सञ्चारकर्मीले न्यायाधीश झैं व्याख्या गर्दै दोषी ठहर गरिदिने प्रवृत्तिका टेलिभिजन कार्यक्रम पत्रकारभन्दा धेरै नेता उत्पादन गर्ने थलो जस्ता देखिन्छन्। नेता बन्न अब यस्तै सञ्चारकर्मी बन्नुपर्ने मानक खडा हुने संकेत देखिंदैछ।
हुँदाहुँदा रवि लामिछानेले गरेका गैरकानूनी कामबारे रिपोर्टिङ गर्ने कान्तिपुर पब्लिकेशन्सका भवन भदौ २४ गतेको विध्वंसमा जलाइए। लामिछानेबारे समाचार प्रकाशित गरिएकोमा बदला लिएको भन्दै विध्वंसकारीहरूले धाक देखाएका भिडियोहरू सार्वजनिक भए। आफूमाथि टिप्पणी गर्ने मीडिया जलाउने आफ्नो नियत भएको या नभएको लामिछानेले अहिलेसम्म स्पष्ट गरेका छैनन्।
नकारात्मक बुझाइ यसरी स्थापित भएको छ कि कुनै शक्तिाशाली व्यक्ति वा गुण्डा संरक्षितलाई मन नपरेका मीडिया कुनै पनि वेला कान्तिपुर झैं खरानी हुने जोखिम छ। जति धेरै लगानी मीडियामा भयो त्यति नै ठूलो त्रास। जति लामो राजनीतिक संक्रमण उति धेरै जोखिम। अहिलेको त्रासदी यही भइदिएको छ।
यस्तै राजनीतिक संक्रमणकै बीचमा हो स्पेसटाइम दैनिक र कान्तिपुर ले आक्रमण ब्यहोरेको। इराकमा १२ जना नेपालीको हत्या भएपछि २०६१ भदौ १६ गते स्पेसटाइम र कान्तिपुर माथि अनाहक आक्रमण भयो। दुई ब्रोडशिट दैनिक स्पेसटाइम र स्पेसटाइम टुडे त्यसै घटनापछि सधैंका लागि बन्द भए। स्पेसटाइम त्यो अखबार थियो जसले पहिलो पटक अगाडिको सिंगो पृष्ठ भ्रष्टाचार विरुद्धको एउटै समाचारले भरेको थियो। दूरसञ्चारमा भएको घोटालाको विषयलाई लिएर प्रकाशित त्यही समाचार विषयले तत्कालीन सञ्चारमन्त्री जयप्रकाश गुप्ताको राजनीतिक भविष्य समाप्त गराएको थियो। कुनै समय म आफैं आबद्ध उक्त संस्थाको नामोनिशान आज छैन। समाचारप्रति असहमतिकै कारण तत्कालीन नेकपा माओवादीले संगठित रूपमा २०६५ सालमा हिमाल मा गरेको आक्रमण पनि यस्तै अर्को सिलसिला हो।
अभिव्यक्ति स्वतन्त्रता
लोकतन्त्रको एउटा महत्त्वपूर्ण स्तम्भ हो– स्वतन्त्र प्रेस। अहिले नेपाली मीडियामा स्वतन्त्रताको कमी छ। प्रेसलाई राजनीतिक दलका भ्रातृ संगठनले आफ्नो घेरामा पारेका छन्। सीमित व्यावसायिक घराना र बिचौलियाको बीचमा पनि प्रेसको स्वतन्त्रता चेपिएको छ। त्यस बाहेक आलोचनात्मक टिप्पणी गर्नेमाथि व्यक्तिगत तवरमा हुने आक्रमणले ‘स्पाइरल अफ साइलेन्स’ अर्थात् मौनताको बढ्दो श्रृंखला बनाइरहेको छ। सोशल मीडिया मार्फत परिचालित साइबर सेनाले स्वतन्त्र अभिव्यक्ति ‘नियोजन’ गरेका छन्।
नेपालमा अहिले जस्तो मौनताको शृंखला यसअघिका कुनै पनि संक्रमणकालीन अवस्थामा देखिएको थिएन। नागरिक समाज अहिले जस्तो निस्तेज कहिल्यै थिएन। प्रेसमाथि चौतर्फी आक्रमण हुनुका कारण सबैले बुझ्न जरूरी छ। वैकल्पिक भनिएका दलले उठाउने सुशासनका मुद्दा पत्रकारको दक्षता र खोज समाचारबाट निस्किएका हुन्। जे-जति बेथिति र भ्रष्टाचारका केस सार्वजनिक जानकारीमा छन् ती सबै मूलधारका माध्यमबाटै सार्वजनिक भएका हुन्। पत्रकारले आफ्नो दक्षता प्रयोग गरी जोखिम मोलेर ती खोजमूलक समाचार उत्खनन गरेका हुन्। यी सबै मूलधारका मीडियाबाट प्रकाशित/प्रसारित भएपछि तिनै सामग्री उठाएर सामग्री सर्जक ‘कन्टेन्ट क्रियटर’हरू चर्चित भएका छन्। गजब के छ भने यसरी चर्चा बटुलिरहँदा उनीहरूले पनि केही नेताकै शैलीमा मूलधारका सञ्चारमाध्यममाथि आक्रमण गरिरहेका छन्।
मीडियाले भदौ २३ र २४ को सत्यतथ्य खोज्ने हिम्मत गरिरहेका छैनन्। भ्रष्टाचार विरुद्धको प्रदर्शनमा शहीद हुने र लूटपाट तथा आगजनीमा संलग्न हुनेहरू एकै हुन् र? भनी प्रश्न गर्न सकेका छैनन्। मुलुकमा भ्रष्टाचार तथा बेथिति हटाउन चाहने र सिंहदरबार तथा छानीछानी निजी सम्पत्तिमा लूटपाट/आगजनी गर्नेहरू एकै कसरी हुन सक्छन्? प्रियतावादको त्रासमा मीडियाले भ्रष्टाचारीको विरोध र आगजनी/लूटपाटलाई फरक कुरा भन्न नै अनकनाइरहेको छ। सबैमा भयको राज स्थापित हुँदा मीडिया पनि खुम्चिएको देखिन्छ।
सत्य एक, समाचार अनेक
प्राध्यापक पी. खरेलले ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर’ शीर्षकको पुस्तकमा मीडियामाथिको नियन्त्रणलाई लिएर कडा प्रहार गरेका छन्। त्यस्तै डा. विनोद भट्टराईले आफ्नो विद्यावारिधि शोधमा मीडिया सामग्रीमाथि कर्पोरेटले कसरी नियन्त्रण जमाइरहेको छ भन्ने केस्रा-केस्रा केलाएका छन्। मीडियामाथिका गहकिला यी सामग्री बाहेक पनि अध्ययन गर्न आवश्यक केसहरू नेपाली मीडियाबाट आउने क्रम जारी छ। यस्तो अवस्थामा पत्रकारिता संकुचनमा परेको स्पष्ट देखिन्छ। केही महीनाअघि मेरा एक सहकर्मीले घतलाग्दो कुरा गरे– ‘रवि लामिछानेका विषयमा समाचार आयो भने कान्तिपुर र नयाँ पत्रिका नपढ्नुस्। मीडियाको दुई स्वरूप पाउनुहुन्छ।’
कुनै समय आफू कान्तिपुर मै काम गरेकोले उक्त संस्थाप्रति मेरो सम्मान छ। मलाई दुवै पत्रिका नपढ्न सुझाउने सहकर्मीको नयाँ पत्रिका सँग उस्तै सम्बन्ध छ। लमिछाने र कान्तिपुर को समाचार प्रकाशनको शृंखला सञ्चारको शोध गर्न चाहनेका लागि जति गजबको विषय हुन्छ, उत्तिकै रोचक हुन्छ नयाँ पत्रिका का लामिछाने सम्बन्धी सामग्री अध्ययन। कसैले यी दुवै पत्रिकामा प्रकाशित लामिछानेमाथिका समाचारको अन्तर्वस्तु विश्लेषण गऱ्यो भने पाउने निचोड हो– सत्य एक, समाचार अनेक। मलाई लाग्छ, यस प्रकरणबाट लामिछाने र कान्तिपुर दुवैले क्षति ब्यहोरे। त्यसभन्दा ज्यादा क्षति सम्पूर्ण पत्रकारिता क्षेत्रले ब्यहोऱ्यो।
कुनै पनि व्यक्तिको देवत्वकरण र दानवीकरण गर्ने नेपाली समाजको डरलाग्दो प्रवृत्तिले सिंगो समाज विभाजित बनेको छ। सत्य एक तर समाचार अनेक आउँदा पाठक/श्रोता/दर्शकको पत्रकारिताप्रति नै वितृष्ण बढ्नु स्वाभाविक हो। मैले उठान गरेको कान्तिपुर र नयाँ पत्रिका को लामिछानेमाथिको समाचार यस्तै खाले धेरै कथाहरूको प्रतिनिधिमूलक उदाहरण मात्र हो।
मीडियाले डिजिटल स्वरूप हासिल गरेपछिको अवस्था पहिलेको भन्दा खराब देखिन्छ। मूलधारे माध्यमका रूपमा स्थापित भइसकेका अनलाइन समाचार साइटमा स्वार्थ समूहको प्रभाव हेर्न कठिन छैन। कुनै काण्ड आउनुपर्छ, समाचारमा आधारित डिजिटल प्ल्याटफर्ममा सत्यका बहुआयामिक रूप देख्न पाइन्छ। राजनीति र आर्थिक क्षेत्रमा व्यापक रूपमा प्रयोग हुँदै आएको ‘बिचौलिया’ अहिले समाचार कक्षमा घुसेको छ। बिचौलिया-बिचौलियाबीचको द्वन्द्व छ भने समाचारमा सत्य र तथ्यले अनेक आकार लिएको देख्न सकिन्छ। यस कुरालाई पत्रकारिताको आचारसंहिताको आधारभूत सिद्धान्तले वर्जित गरे पनि समाचार विरुद्ध समाचारका शृंखला नेपाली पत्रकारितामा बढ्दो छ।
बहुलवादी मीडिया लोकतन्त्रको अभिन्न अंग हो। सञ्चार साक्षरता असाध्यै कमजोर भएको हाम्रो जस्तो मुलुकमा स्वार्थ समूहको चाहना अनुसारको समाचारले पत्रकारिताप्रतिको विश्वसनीयतालाई थप कमजोर बनाइरहेको छ। कुनै दिन नेपाली समाजले मीडियाको अर्थ-राजनीतिक विमर्श गर्नेछ। तर, त्यतिवेलासम्म पत्रकारले विश्वास पूरै गुमाइसेको हुनेछ, यदि वेलैमा सुधारिन सकेनौं भने।
(दाहाल त्रिवि पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक हुन्। ‘चुनावमा मीडियाको एजेन्डा सेटिङ भूमिका’माथि विद्यावारिधि गरेका उनको ‘डिजिटल परिदृश्य’ पुस्तक प्रकाशित छ।)