‘अंगोर’, ‘जडों की जमीन’, ‘ईश्वर और बाजार’ र ‘प्रेम में पेड़ होना’ जस्ता कृतिमार्फत अलग र सशक्त पहिचान बनाएकी भारतीय साहित्यकार तथा पत्रकार हुन्, जसिन्ता केरकेट्टा । उनका कृतिले आदिवासी जीवनका गहिरा घाउ, जल–जंगल–जमीनमाथि बढ्दो हस्तक्षेप र विकासका नाममा समुदायको अस्तित्त्वमाथि उत्पन्न नयाँ जोखिमलाई उजागर गर्छ । समाज र प्रकृतिबीच बढ्दै गएको दूरी, परम्परागत जीवनशैलीमाथि परेको दबाब र आदिवासी युवाले भोगिरहेका सांस्कृतिक विस्थापन उनका चिन्ताका विषय हुन्।
‘चित्तौन कचेहेरी’ मा विद्वत् प्रवचन दिन नेपाल आएका वेला हिमालखबर का शमशाद अहमद ले केरकेट्टासँग आदिवासीका चिन्ता, साहित्यमा सत्ताको हस्तक्षेप र विकासको मोडलले प्रकृति र मानिस बीचको सम्बन्धमा ल्याइरहेको दूरीसम्बन्धी विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः
यो तपाईंको पहिलो नेपाल यात्रा हो?
नेपाल पहिलोपटक आएकी हुँ।
तपाईं पत्रकार पनि हुनुहुन्छ र साहित्यकार पनि। साहित्यिक र पत्रकारिता दुवै विधाको तपाईंको यात्रा कस्तो चलिरहेको छ?
मैले आफ्नो यात्राको थालनी पत्रकारिताबाट गरें। यसलाई रोज्नुको पछाडि मेरो बाल्यकालको अनुभव हो। मैले स्कूलमा छँदा देखेकी थिएँ कि आदिवासी समुदायमाथि हुने कुनै पनि हिंसा वा अन्यायको खबर मूलधारका पत्रपत्रिकामा प्रकाशित हुँदा आदिवासीको पक्ष बलियो गरी प्रस्तुत हुँदैनथ्यो। मेरो गाउँ सारण्डा जंगल (एशियाकै सबैभन्दा ठूलो सालको जंगल) नजिकै छ, जहाँ खानी व्यवसाय पनि चल्छ। अधिकांश आदिवासीहरू अझै शिक्षाबाट वञ्चित छन्। परिवारमा स्कूलको मुख देख्ने पहिलो पुस्ता नै मेरा आमाबाबु हुनुहुन्थ्यो। कक्षा-८ मा पढ्दा मेरो इलाकामा एउटा ठूलो घटना भयो। त्यही वेला जग्गाको विवादलाई लिएर मानिसहरूको भीडले कुटेर मेरो काकाको हत्या (मोब लिन्चिङ) गऱ्यो। यो राष्ट्रिय मुद्दा बन्यो, तर मिडियामा हाम्रो पक्ष कमजोर तरीकाले प्रस्तुत भयो।
आदिवासीहरूमाथि ‘राम्रो फसलका लागि मान्छे बलि दिने’ जस्ता मिथ्या आरोप लगाएर नकारात्मक भाष्य स्थापित गर्ने प्रयास गरियो। यो नकारात्मक सोचले बुनिएको कथाको जवाफ कसरी दिने र आफ्नो पक्षमा रहेर सञ्चारमाध्यममा कुरा कसरी राख्ने भन्ने ज्ञान आदिवासीहरूलाई थिएन। उनीहरूले केवल ‘आफ्नो सीमा बलियो बनाउने र अरूलाई प्रवेश गर्न नदिने’ बाटो मात्र देखे।
स्कूलको समयमा म बालबालिकाका लागि लेख्थें। मलाई लाग्यो, ‘हामी अखबार पढ्छौं, तर लेख्ने मान्छेहरू को हुन्?’ यही प्रश्नले मलाई पत्रकारितातर्फ डोऱ्यायो। मेरी आमाले जग्गा बन्धकी राखेर मलाई राँचीस्थित सेन्ट जेभियर्स कलेजमा पत्रकारिता पढ्न पठाउनुभयो।
पढाइ सकेर मैले तीन/चार वर्ष पत्रकारको रूपमा काम गरें । तर, त्यहाँ मैले एउटा ठूलो समस्या देखें। सञ्चारजगतले आदिवासी समुदायका पत्रकारहरूलाई आदिवासीसम्बन्धी विषयमा रिपोर्टिङ गर्न दिंदैनथे। हामी ‘तटस्थ’ भएर आफ्नो समुदायका विषय लेख्न सक्दैनौं भन्ने उनीहरूको बुझाइ थियो। मलाई बजार, चाडपर्व वा प्रतिक्रिया जस्ता विषयमा मात्र रिपोर्टिङ गर्न लगाइन्थ्यो। मैले बुझें, म जुन उद्देश्यले पत्रकारितामा आएकी थिएँ, त्यो यहाँ पूरा हुनेवाला छैन। तीन वर्षपछि अखबारको जागिर छाडेर झारखण्डको गाउँ–गाउँको यात्रा शुरू गरें। मानिसका कथाहरू सुन्न र आफ्नै इलाकाका बारेमा बुझ्न थालें। यही यात्राका क्रममा कविता लेख्न थालें।
मैले पत्रकारितामा तटस्थताका कारण व्यक्त गर्न नसकेका भावना र अनुभूतिलाई कविताले अभिव्यक्त गर्ने माध्यम दियो। एउटा पत्रकारका रूपमा भावनालाई ल्याउन नसकिने भएकाले साहित्यले त्यो ठाउँ दियो। लेख (आलेख) र कविता दुवै सँगसँगै हिंड्न थाले। शुरूमा यी रचना कहाँ छाप्ने भन्ने चुनौती थियो। त्यसपछि मैले सामाजिक सञ्जालको प्रयोग गरें। अहिले देशका ठूला मञ्चहरू जस्तै– ‘द वायर’, ‘आउटलुक’ र ‘डाउन टु अर्थ’ मार्फत आफ्ना कुरा राख्ने मौका पाएकी छु।
आजसम्म मेरो साहित्यिक यात्राको असर निकै व्यापक भएको छ। साहित्यले नै आदिवासीहरूलाई हेर्ने राष्ट्रिय दृष्टिकोण परिवर्तन गर्न र धेरै मानिसको मन छुन सफल भएको छ। मिडियाले नदिएको त्यो ठाउँ र सम्मान मलाई साहित्यले दिलाएको छ ।
तपाईंले आदिवासीलाई हेर्ने दृष्टिकोण बदलिएको छ भन्नुभयो। भारतीय साहित्यमा आदिवासी साहित्यको स्थान कस्तो छ?
भारतीय साहित्य, विशेष गरी हिन्दी साहित्यलाई म धेरै हदसम्म ब्राह्मणिकल साहित्य (ब्राह्मण केन्द्रित साहित्य) मान्छु। जब मेरा कविताहरू अन्य भाषामा, जस्तै– जर्मन र इटालियनमा प्रकाशित भए, तब इटालियन भाषाकी मेरी अनुवादक, प्राध्यापक अलेक्जेन्डरले मलाई भन्नुभयो, “मैले यतिका वर्ष इटलीमा हिन्दी पढाएँ, हिन्दी साहित्यमा काम गरें, विद्यार्थीहरूलाई पढाएँ र अनुवाद पनि गरें। मैले कहिल्यै पनि आदिवासीको तर्फबाट कुनै साहित्य वा उनीहरूले लेखेको केही पनि पढेको थिइनँ। मलाई थाहा नै थिएन। जब मैले तपाईंका कविताहरू पढें, तब मलाई लाग्यो कि मैले यतिका वर्ष कसका सामग्रीहरू पढाइरहेकी रहेछु!”
उहाँले यो पनि भन्नुभयो कि वास्तवमा हिन्दी साहित्य त ब्राह्मण केन्द्रित साहित्य हो। त्यसपछिको आफ्नो जीवनकालमा उहाँले सीमान्तकृत समाजले लेखिरहेका सिर्जनाको अनुवादमा आफ्नो समय लगाउने बताउनुभयो। धेरै मानिसले मेरा कविता पढिसकेपछि मात्र पहिलोपटक भारतमा यति धेरै संख्यामा आदिवासीहरू छन् भन्ने थाहा पाएँ। पहिले उनीहरूले भारतलाई ‘एक हिन्दू देश’ वा ‘हिन्दू बहुसंख्यकहरूको देश’ को रूपमा मात्रै चिन्ने अवसर पाएका थिए। उत्तर-पूर्व र झारखण्ड लगायतका स्थानमा जनजाति (ट्राइब) छन्। आदिवासीको दृष्टिकोण बारेमा धेरै कुरा हुँदैनथ्यो।
मलाई आश्चर्य लाग्छ, भारतीय प्राध्यापकहरूले पढाउने संसारभरका विभिन्न विश्वविद्यालयमा जाँदा आदिवासी शब्द कसैले प्रयोग नगरेको गुनासो मैले सुनें। उनीहरूले प्रयोग समेत नगरेको कारण धेरै विद्यार्थीका लागि यो शब्द नौलो थियो। अर्थात् कसले, कहाँ, कसको, कसरी प्रतिनिधित्व गर्दै विषयहरू प्रस्तुत गरिरहेको छ भन्ने झलक देख्न सकिन्छ। जब हामीले लेख्न र बाहिर जान शुरू गऱ्यौं, अनि मात्र नयाँनयाँ कुरा थाहा हुँदै गयो। साथै, मुलुकभित्र हातमा शक्ति हुनेहरूले कसरी कुरा बताउँछन् र कति लुकाउँछन् भन्ने पनि महसूस भयो।
पत्रकार र साहित्यकार दुवैको भूमिकामा रहेर कलम चलाउँदा तपाईंलाई कहिलेकाहीं भाषिक टकरावको समस्या आउँछ कि आउँदैन?
मेरो हकमा यस्तो हुँदैन किनभने मलाई लाग्छ, मेरो साहित्य धेरै सिधा र सरल छ। मानिसहरू के भन्छन् भने, “निकै कम शब्दमा वा धेरै सहजताका साथ तपाईं ठूलो कुरा भन्नुहुन्छ।” उनीहरूले कहिल्यै पनि क्लिष्ट (गाह्रो) महसूस गरेनन्। बरु धेरै मानिसले ‘धेरै वर्षपछि हामीले यस्ता कविताहरू सुन्यौं, जोसँग हामी जोडिन सक्छौं’ भनेर मलाई भन्ने गरेका छन्। धेरैलाई लाग्थ्यो कि कविता कुनै एक वर्गको विषय हो, जुन अलि ‘क्लिष्ट’ पनि हुन्छ र यसमा रुचि हुँदैन।
धेरै साधारण मानिसले ‘कवितामा सर्वसाधारणको त्यति रुचि हुँदैन’ भन्थे, तर मेरो साहित्य पढ्न थालेपछि उनीहरू भन्छन्, “हामी हृदयदेखि नै जोडिन सक्छौं र कहिलेकाहीं धेरै मानिस रुने पनि गरेका छन्।” त्यसैले मलाई लाग्छ, कविता सबैको हृदयसम्म पुगेको छ।
जब घटना कहाँ, किन, कसरी, कहिले भयो जस्ता तथ्यमा आधारित कथा चाहिएको वेला विवरणका लागि मेरो कथा वा लेखले एक प्रमाण जस्तै काम गर्छ। तर, कविताले शायद मानिसहरूलाई झकझक्याउने र महसूस गराउने अवसर दिन्छ। मेरो विचारमा यो लेखन धेरै सरल र सिधा छ।
अचेल पाठक घट्नु र साहित्यमा प्रतिरोधको आवाज कमजोर हुनु केवल चेतनाको कमीका कारण हो वा यसको पछाडि अन्य कारण पनि छन्?
अचेल साहित्यमा प्रतिरोधको आवाज निकै कम भएको छ। कविता र साहित्य आखिर को लेख्छ? कठीन र पीडादायी जीवन जिउनेहरू प्रायः शिक्षाबाट वञ्चित भएकाले कविता/साहित्य लेख्न सक्दैनन्। क्याम्पस र विश्वविद्यालयमा भएका वा कुनै विशेष पद वा सुविधा पाएकाहरूसँग लेख्नका लागि थोरै समय र सहजता हुन्छ। आज भारतमा यस्तो स्पेस र शक्ति ओगटेकाहरू पनि डराइरहेका छन्। राजनीतिक वातावरण र सत्ताको स्वरूपले गर्दा प्रतिरोधका कविताहरू लेख्न कोही पनि सहज महसूस गरिरहेका छैनन्।
विश्वविद्यालयका युवामा पनि प्रतिरोधको क्षमता कमजोर पार्ने वातावरण बनाइन्छ। त्यसकारण मैले आफ्नो चेतना स्वतन्त्र राख्नका निम्ति कुनै पनि संस्था र संरचनामा आबद्ध नभई टाढा रहने निर्णय गरें। मैले जीवनका कठोर र असहज बाटाहरू रोजेको कारण चार पाँच पुस्तकमा पनि प्रतिरोधी धार टिक्न सक्यो। कविता लेख्नु र जीवन जिउनु सँगै चल्नु पर्छ। यदि यी दुई अलग-अलग भए भने कविता उधारो जस्तै, खोक्रो हुँदै जान्छ। कलेजमा पढ्नेहरू, राम्रो पदमा बसेकाहरू, विश्वविद्यालयबाट निस्कँदै गरेका सबै युवाले धारिलो लेखौं, कुनै कुरा लेखेर भाइरल बनौं जस्ता सोच राखेको देखिन्छ।
धेरैले मेरो कविताजस्तै चोटिलो कसरी बनाउने जस्ता प्रश्न मलाई गरिरहेका हुन्छन्। मैले तत्काल उत्तर दिन नसके उनीहरूलाई के कुराले प्रभावित गरिरहेको छ भन्ने महसूस चाहिं गर्छु। जब म सोध्छु, झारखण्डमा के भइरहेको छ, भारतमा के भइरहेको छ? उनीहरू भन्छन्– दुःख छ; हिंसा छ; पलायन छ; गरीबी छ। तर, यी सबै कुरा भए पनि त्यो दुःख तपाईंभित्र कति प्रवेश गर्छ? तपाईंलाई त्यसले कति पोल्छ? यदि तपाईं आफैं छुन सक्नुहुन्न भने कविता कसरी जन्मन्छ? यस्तो चेतना नै नआएको अवस्थामा कविता कहाँबाट आउँछ? यही “किन लेखिंदैन, किन हराउँदै छ” भन्ने प्रश्नको उत्तर धेरैसँग छैन। त्यसैले प्रतिरोधी कविता स्वाभाविक रूपमा कम भइरहेका छन्।
हिन्दी क्षेत्र र हिन्दी साहित्य पनि धेरैजसो सत्तामुखी भाषासँगै बगेको देखिन्छ। त्यसमा आफूभित्रैको श्रेष्ठताबोध धेरै हुनाले आफ्नै दायराभित्र सीमित गरिरहेको हुन्छ। देशका अन्य समुदायको पीडा र संघर्षसँग उनीहरूको चासो कमै जस्तो लाग्छ। यही कारणले प्रतिरोधको आवाज कमजोर भएको छ। तर, आदिवासी क्षेत्रमा कविता लेख्नेहरूको संख्या कम भए पनि उनीहरूको लेखाइमा आगो अझैं देखिन्छ। भूमिमा हुने संघर्षहरूमा प्रतिरोध जारी छ।
तपाईं आफ्नो कलम मार्फत भीडले ओझेल पारेका जल, जंगल, जमीन जस्ता विषयहरू उठाउनुहुन्छ। यी विषय उठाउनुपर्ने आवश्यकता तपाईंलाई किन महसूस भयो?
धेरै मानिसले पहिल्यैदेखि यी विषयहरू उठाइरहेका छन्। मेरो हातमा कलम थियो र लेख्न मात्रै सक्थें। यदि म सडकमा उभिएर आन्दोलन गर्न सक्दिनँ भने मेरो कलम नै मेरो हतियार हो भन्ने महसूस गरें। त्यसैले यही माध्यमबाट काम गर्ने निर्णय गरें। आज पनि त्यही गर्दै छु। यो यात्रा सहज छैन।
कवि र लेखकको रूपमा बाहिरबाट ठूलो हमला नदेखिए पनि चुनौतीहरू धेरै छन्। म महिला हुनाले र कविको परम्परागत छविमा फीट नहुँदा आलोचना भोग्नु परिरहेको छ। मेरो लेखाइ कहिलेकाहीं उमेर अनुसारको नहुने आरोप पनि लाग्ने लाग्थ्यो मेरा लागि यो आन्तरिक यात्रा हो– भीडको दबाबबाट आफूलाई मुक्त राख्दै समाजभित्रका कमीकमजोरी पनि उजागर गर्नु। आदिवासी समाजप्रति हुने बाह्य विरोध सामना गर्नुका साथै आफ्नो समाज भित्रका कमजोरीलाई पनि नछोड्ने निर्णय गरें।
यो यात्रामा तपाईंले के कस्ता चुनौती सामना गर्दै हुनुहुन्छ?
कवि र लेखकका रूपमा बाहिरबाट आउने कुनै ठूलो प्रहार जस्तो नदेखिए पनि चुनौतीहरू धेरै छन्। पहिले, महिला हुनुका कारण वा कुनै तय गरिएको कविको छविमा फीट नहुनाले धेरै आलोचना भोग्नु पऱ्यो। कविता लेखन शुरू गर्दा यिनी त कविजस्तो देखिन्नन् भन्ने मानिसहरू थिए। कविताको आवाज सुन्दा त ५०/६० वर्षको कसैले लेखेजस्तो लाग्छ, भेट्दा त एकदमै फरक देखिन्छ, अवश्य नै कुनै अरूले लेखिदिएको हुनसक्ने आरोप र अविश्वास पनि झेल्नु पऱ्यो ।
अब केही दिनमा मेरो कथा संग्रह पनि आउँदै छ। यस कथा संग्रहमा आफ्नै समाजका पितृसत्तात्मक संरचना, कमजोरीहरू र महिलाका जीवनसँग सम्बन्धित चुनौतीहरू उठाइएको छ। कवि र लेखकको रूपमा सत्यसँग उभिनु, लेखन जारी राख्नु र स्वतन्त्र रहनु नै मेरो संघर्ष र चुनौती हुन्।
कतिपय लेखकका अनुसार आजभोलि सामाजिक विविधताको सौन्दर्य जोगाउने भन्दा सबैलाई एकनास बनाउने प्रयास देखिन्छ। यसबारे तपाइँको धारणा के छ?
भारतमा लामो समयदेखि यस्तो प्रयास हुँदै आएको थियो। तर, हालका वर्षहरूमा निकै बलियो भएको छ। वञ्चित समुदायहरू देश विकासका बाधक हुन् भन्ने भाष्य बनाइँदै छ। जातीय संरचना र त्यसको पदानुक्रमलाई जस्ताको तस्तै कायम राख्ने, मनुवादलाई पुनः स्थापित गर्ने दिशामा लैजाने प्रयास भइरहेको छ। यसमा महिला र वञ्चित समुदायहरूलाई तलै राख्ने, शक्ति र स्रोतमा केही मानिसले मात्रै कब्जा बनाइराख्ने सोचले अझै बल पाएको छ।
भारतजस्तो ठूलो र विविधतायुक्त मुलुकमा वास्तविक विविधता र सौन्दर्यबारे मुख्यधार भनी कहलाइने समूहले चासो नै राख्दैन। सत्ता मार्फत आएको आवाजलाई नै ‘सत्य’ बनाइन्छ। सत्ता हुनेहरूसँग शक्तिको कथा हुन्छ। त्यस विपरीत आवाजहरू उठ्न मुश्किल छ। उठे पनि त्यसलाई दबाइने, जेल हालिने घटनाले प्रतिवादको स्थान संकुचित बनाइदिएको छ। सामाजिक सञ्जालले केही कुरा सतहमा ल्याउन सके पनि त्यो प्रभावकारी रूपमा फैलिन सकिरहेको छैन।
अधिकांश मानिससँग कुरा गर्दा उनीहरू आफ्नै देशलाई गहिरोसँग चिन्दैनन्। उनीहरूले केवल माथिबाट फैलाइने कथन मात्र सुन्छन्। विपरीत आवाजहरू दबाइँदै गएपछि समाजमा सन्तुलन झनै हराउँदै छ।
यो अवस्था भारतका लागि निकट भविष्यमा झनै गम्भीर हुन सक्छ किनकि भारतको वास्तविक सौन्दर्य र पहिचान नै यसको विविधता हो। जब सबै कुरा सपाट, समान र एकनास बनाइन्छ, तब हामीले कस्तो देश र समाजको कल्पना गर्ने?
शक्तिकेन्द्रित जीवनले मानिसलाई भावनाहीन बनाइदिन्छ। अत्यधिक शक्तिले भावनाहरूलाई रुखो र सुक्खा बनाउँछ। अहिले देश पनि क्रमशः भावनाहीन हुँदै गएको अनुभूति हुन्छ। मानिसहरू आफ्नो सुविधा, सहजता मात्र हेर्छन् । जस्तै– रेलमा सीट नपाए पनि कोही पर्खिन वा बुझ्न तयार हुँदैन किनकि हाम्रो प्राथमिकतामा भावना भन्दा सुविधा र शक्ति परेकोे छ।
तपाईंको चर्चित पंक्ति “वो हमारे सभ्य होने कि इन्तेजार मे हैं और हम उनके मनुष्य होने के” छ। सामान्य पाठकको आँखाले हेर्दा के त्यहाँको सत्ता आदिवासी समुदायको संस्कृतिमाथि अतिक्रमण गर्दैछ?
संस्कृतिमाथि अतिक्रमणको प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको स्पष्ट छ। आदिवासीहरू त्यस्ता समुदाय हुन्, जसले कहिल्यै जातीय प्रणाली स्वीकार गरेका छैनन्। आदिवासीहरूको कहिल्यै यस्तो प्रतिस्पर्धा भएको थिएन कि मुख्यधारमा समाहित हुनुपर्छ वा जातीय प्रणालीमा अघि बढ्नुपर्छ। त्यसैले आदिवासीहरूलाई कसरी “हिन्दू” घोषणा गर्ने भन्ने उद्देश्यले दीर्घकालीन प्रयास हुँदैछ।
आदिवासी समाजले जातीय प्रणालीबाहिर समानान्तर स्वशासन चलाएको छ, जसले पदानुक्रमलाई मान्दैन। आदिवासीहरूको आफ्नै प्रणालीमा राजा भए पनि त्यसको चयन सामूहिक निर्णय र समुदायको सहकार्यबाट हुन्थ्यो। यो प्रणाली पूर्ण रूपमा फरक र लोकतान्त्रिक दृष्टिकोणमा आधारित थियो। आदिवासीहरूको पुरानो प्रणालीमा आत्मसुधारका मार्गहरू जीवित थि । तर, अहिले सत्ताकेन्द्रीकृत हुँदै गइरहेकोले आत्मसुधारको मार्ग साँघुरो हुँदै गइरहेको छ।
युवल नोवा हरारीको नयाँ पुस्तकमा उल्लेख छ, यो अवस्था मानवता र सभ्यताको लागि खतरनाक छ। आदिवासी प्रणालीबाट धेरै कुरा सिक्न सकिन्छ किनभने त्यहाँ कुनै तानाशाह जन्मन सक्दैन। यो पद्धतिले सधैं मानिसलाई लोकतान्त्रिक प्रणालीतर्फ लैजान्छ। आदिवासीहरूलाई शिक्षा र संसाधनबाट वञ्चित गरिनुका साथै तिनका पूजा पद्धति र विश्वास प्रणालीलाई बिस्तारै हिन्दू धर्ममा समाहित गरिँदै आएको छ। देशले पनि उनीहरूलाई आदिवासी भनेर मान्दैन। हामी “आदिवासी”लाई वनवासी भनेर सम्बोधन गरिन्छ। भारतमा पछिल्ला दिनहरूमा यो अझ तीव्र भएको छ।
खनिज सम्पदा र स्थानीय प्राकृतिक सम्पत्तिमाथि अतिक्रमण भइरहेका वेला आदिवासी ज्ञानको मूल्य र आवश्यकता आजको आधुनिक, पुँजीवादी विश्वमा कत्तिको प्रासंगिक छ?
ज्ञानको दृष्टिले हेर्दा, आदिवासीहरूसँग रहेको बुद्धि र जीवन–ज्ञान, प्रकृतिसँग मिलेर बाँच्ने तरीका र विकासको वैकल्पिक परिभाषा सम्पूर्ण संसारका लागि सिक्नलायक छ। अहिले भइरहेको अनुसन्धान र खोजका प्रयासहरू पनि विश्वव्यापी रूपमा आदिवासी क्षेत्रतिर केन्द्रित भइरहेका छन्।
मानिसहरू भन्छन्, “हामी विकास गर्दै छौं, हामी सम्पन्न हुँदै छौं।” तर यसको नकारात्मक असर पनि छ। अहिले विशेष गरी सुविधासम्पन्न परिवारका युवाले समेत मानसिक तनाव र समस्या भोगिरहेका छन्। उनीहरू समाज, मानवता र जीवनको मूल्य बुझ्दैनन्। तिनका लागि केवल शक्ति, पैसा र पद मात्र महत्त्वपूर्ण बनेको छ।
समाज बिरामी हुँदै गएकोले स्वतन्त्र चेतना र प्रतिरोधी आवाज जन्मिन सकिरहेको छैन। जब मानिसहरू मानसिक रूपमा रोगी हुन्छन्, तब प्रतिरोध कहाँबाट उठ्ने? तर, जब मानिसहरू आदिवासी इलाकातिर जान्छन्, आदिवासी जीवनसँग नजिकबाट परिचित हुन्छन्, उनीहरू भित्रैबाट निको (हिल) र सहज अनुभव गर्छन्। यसको अर्थ आदिवासी समाजसँग संसार र समाजलाई निको पार्ने शक्ति छ। यसले मानिसलाई फेरि एक मानवका रूपमा स्वस्थ र अर्थपूर्ण जीवन बाँच्न सिकाउन सक्छ।
भविष्यमा आदिवासी ज्ञान र तिनको बुद्धिमत्ता अझ अपरिहार्य बन्नेछन्। बाल्यकालमा सुनिएका कथाहरूमा आफ्नै जीवन र अर्थ राख्ने रूख, माटो, नदी, जंगल, चरा जस्ता शब्द प्रकृति सम्बन्धी शब्दहरू क्रमशः हराउँदैछन्। यसरी शब्दावली हराउनुले हाम्रो सांस्कृतिक स्मृति र प्रकृतिसँगको सम्बन्ध टुट्दै गएको संकेत हो। आजको साहित्यले ती स्मृति र अनुभवलाई पुनर्जीवित गर्न प्रयास गरिरहेको छ। साहित्य केवल अतीतका कुरा मात्र होइन, वर्तमानमा भइरहेका घटनाको पनि विम्ब हो । यसले केवल सतही कुरा होइन, हाम्रो इतिहासलाई पनि समेट्छ। साहित्यले हामीलाई नयाँ दृष्टिकोण दिन्छ। हामी कुनै कुरा हेर्दै–सुन्दै छौं भने साहित्यले त्यसप्रति हाम्रो मन र दिमाग दुवै झक्झक्याउँछ। हामीलाई नयाँ तरीकाले विषयहरू बुझ्न सघाउँछ। त्यसैले साहित्य जीवनका लागि अत्यन्त आवश्यक छ।
संसारभर भइरहेको विकास पूर्वाधारका गतिविधिले प्रकृतिका लागि कत्तिको चुनौती सिर्जना गरिरहेका छन्?
यो चुनौती केवल प्रकृतिका लागि मात्र होइन। सत्ताको वरिपरि रहेर विकासको नारा दिनेहरूले अत्यधिक शक्तिशाली बन्ने होडमा सुन्ने, सिक्ने र महसूस गर्ने क्षमता गुमाउन सक्छन्। प्रकृतिसँग जोडिएका छौं भन्ने कुरा बिर्सिन सक्छन्। आदिवासीहरू प्रकृतिसँगको अन्तरसम्बन्धलाई सधैं सम्झन्छन्। हाम्रो स्वास्थ्य, जीवन, सोच सबै माटो, पानी र हावामाथि निर्भर हुन्छ। तर, आजको विकास यस्ता गहिरो सम्बन्धलाई नबुझी टुक्रा-टुक्रामा विभक्त भइरहेको छ।
यही कारण मानिसहरू मानसिक रूपमा कमजोर बन्दै गइरहेका छन् र त्यही कमजोरी बोकेकाहरूले राजनीति र राज्य सञ्चालन गर्दा समाज र देश दुवै जोखिममा पर्छन्। आजको विकासले वास्तविक उन्नति होइन, पैसा र शक्तिमै केन्द्रित भ्रम सिर्जना गरिरहेको छ। मानिसमा प्रकृतिविना बाँच्न सकिन्छ भन्ने गलत विश्वास फैलिरहेको छ। यही सोचले समाज, मानिस र पृथ्वी सबैलाई कमजोर बनाइरहेको छ। यही कारण आदिवासीहरू यस्तो विकासको विरोधमा उभिएका छन्। नदी, जमीन र मानिस सबैलाई असर परिरहेको कुरा आदिवासी साहित्यमा उठाइन्छ। साहित्य र कविता मार्फत कस्तो विकास चाहन्छौं र त्यो विकास कसका लागि हो भन्ने प्रश्न उठाइन्छ। अहिलेको दिशाहीन विकासले सभ्यतामै खतरा सिर्जना गरिरहेको छ। निर्दोषहरू नचाहँदा नचाहँदै तानिएका छन्। आदिवासी क्षेत्रमा देखिने प्रतिरोध यही चेतनाको स्पष्ट रूप हो।
VIDEO