जेन-जी प्रदर्शन भएको डेढ महीना बढी भइसकेको छ। अन्तरिम सरकारले राजनीतिक दल र विभिन्न जेन-जी समूहबीच वार्ता गरिरहेको छ। जेन-जी अगुवाहरू विभिन्न समूह बनाउँदै दल दर्ता प्रक्रियामा जान थालेका छन्। यी समूहहरू अब कसरी अगाडि बढ्छन्? चुनावमा जेन-जी समूह र राजनीतिक दलहरूबीच के-कस्तो समन्वय र भूमिका रहला? यिनै विषय वरपर रहेर जेन-जी अभियन्ता किरण विक र सुस्मिता यादव सँग हिमालखबर का धनु विश्वकर्मा ले गरेको कुराकानी। प्रस्तुत छ– भिडिओ वार्ताको सम्पादित अंशः
फागुन २१ गतेका लागि घोषणा गरिएको चुनाव सम्बन्धमा जेन-जी समूहमाझ दुई थरीको कुरा उठेको छ। एक समूहले चुनावमा जानुपर्छ भन्छ। मिराज ढुंगाना समूहले प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली भए मात्र चुनावमा जाने भनिरहेको छ। आफ्नै चाहना अनुसार बनेको सरकारले तोकेको चुनावमा जेन-जीका दुई थरी कुरा किन आए?
किरण विक : जेन-जीहरू देशभरबाट सहभागी थिए। सबै जना तीन वटा कुरामा सहमत थिए– भ्रष्टाचार विरुद्धको अभियान, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र कुशासन विरुद्धको अभियान। आन्दोलन सफल भयो। त्यसपछि साथीहरूको जेजे राजनीतिक पृष्ठभूमि थियो, त्यसैमा फर्के। त्यसलाई अन्यथा मान्नु हुँदैन। फरक विचार हुनुपर्छ। केही समूह छन् चुनावभन्दा पनि अघि बढ्ने। ७६ जनाको सहादतको गन्तव्य चुनाव मात्रै होइन भन्ने मत पनि बलियो छ। तर बहुमत साथीहरू चुनावमै जानुपर्छ भन्नेमा छन्। केही असन्तुष्ट साथीहरू छन्। सरकार लगायतका सम्बन्धित निकायले वेलैमा सम्बोधन गर्नुपर्छ किनभने यस्तै ससाना असन्तुष्टिलाई बेवास्ता गर्दा अस्तिको आन्दोलन हुन पुगेको हो।
किरण विक‚ जेन-जी अभियन्ता
भदौ २३ र २४ गतेको घटनाका कारण सरकार ढल्यो। अनि‚ मागपछि माग किन थपिए होलान्?
सुस्मिता यादव : पहिलो माग भनेको सुशासन कायम र भ्रष्टाचार विरुद्धको अभियान थियो। सामूहिकभन्दा पनि व्यक्तिगत आवाज आउन थालेपछि यो विविधीकरण भएको हो। जेन-जी शब्द प्रयोगमा पनि ‘म्यानुपुलेट’ भइरहेको छ। जेन-जी शब्दलाई पनि निरुत्साहित पारिएको महसूस गरेको छु। मधेशको जेन-जी छुट्टै हुनसक्ला। दलितको जेन-जी छुट्टै होला। यहाँ समावेशिताको सौन्दर्य पनि छ। लामो संघर्ष गरेर ल्याएको हो– लोकतन्त्र, संघीयता र समावेशिता। यी सबै आवाजसँग कसरी सहकार्य गर्ने? अहिलेको अवस्थामा सबै युवाको आवाजलाई ल्याउनुपर्छ भन्ने हो। हाम्रो आवाज सुन्नका लागि कोही मर्नैपर्छ र? अब युवाहरूको आवाज लडाइँबाट होइन मतबाट पूरा गर्नुपर्छ।
जेन-जीले किन प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस किन अगाडि ल्याए?
किरण : प्रत्यक्ष कार्यकारीको आवाज जेन-जीबाट घनिभूत रूपमा आएको छ। चुनावलाई अस्वीकार गरिरहेका कतिपय साथीबाट यो आवाज बढी आएको हो। तर, अब दलसँगै जानुपर्छ। जेन-जी एक सोलोडोलो आन्दोलन हो। यो आन्दोलन छरिएको छ। जेन-जीहरू दलभित्र पनि छन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिको आह्वान सानो राजनीतिक समूहको हो। अब जेन-जी समूह मात्रै भन्दिनँ। चुनावी एजेन्डा भएको हुनाले अर्को राजनीतिक समूह भन्छु। नेपालमा प्रयोग नभएको तर संसारमा कतैकतै प्रयोग भई सफल पनि भएकाले यसले पो निकास दिन्छ कि भन्नेछ। म लगायत युनाइटेड जेन-जीका साथीहरू यसमा सहमत छैनौं। प्रत्यक्ष कार्यकारीको व्यवस्था नेपाल सुहाउँदो छ कि छैन भनी दलहरूबीच बहस-विमर्श हुनु जरूरी छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु– यसमा हतार नगरौं। अहिले तुरुन्तै चुनाव गरौं। विविधता भएको देशमा पूर्ण समानुपातिक समावेशिता अभ्यास गर्ने क्रममा हामी छौं। एक खास ठूलो समूहले मात्रै सत्ता अभ्यास गरेको वेला साथीहरूले प्रस्ताव गरिआएको प्रत्यक्ष निर्वाचित कार्यकारीले फेरि पुरानै ठाउँमा पुगिने हो कि! एकै व्यक्तिमा सत्ता केन्द्रित हुने हो कि! त्यस्तो हुँदा के हुन्छ? अर्को ओली जन्मिन्छ कि! हेरिराख्नुपर्छ। स्वभावैले राजनीतिक एजेन्डा भएकाले प्रशस्त बहस हुन जरुरी छ। कतिपय कुरा लहडमा भइरहेको छ। गहिराइमा नपुगेर वा नबुझेर केही न केही नयाँ दिनुपऱ्यो भनेर उचालेको जस्तो लाग्छ। साथीहरूले विस्तारै बुझ्दै पनि जानुभएको छ। यो बृहत् छलफलको कुरा हो। हतारमा प्रस्ताव गरेर हुँदैन रहेछ। दीर्घकालीन छलफल गरेर मात्रै हुन्छ भनेर महसूस गरिराख्नु भएको छ।
सुस्मिता यादव : जेन-जी अभियन्ता
समूहगत जेन-जी बनेका छन्। के उनीहरूले दल बनाउँछन्? चुनावमा जान्छन्?
सुस्मिता : कात्तिक ३० गतेसम्म मतदाता नामावाली दर्ता प्रक्रिया रहेको छ। युवाहरूले यसका लागि पहल गर्नुपर्छ। दलहरू दर्ता भइरहेका छन्। तिनका एजेन्डा के हुन्? युवाको मुद्दा मुख्य हो। हामीले युवाको त्यो मुद्दा बिर्स्यौं भने पुरानै दल जस्तै हुन्छौं। हामी त्यो हुन खोजेका होइनौं। हाम्रो आवाज आउनुपर्छ। हामी पनि त्यही दलमा गयौं भने यस आन्दोलनलाई आउने पुस्ताले के भन्लान्? सन्देश हामीले कस्तो दिन्छौं? मिराज ढुंगाना लगायतका जेन-जी समूहले प्रत्यक्ष कार्यकारी भए मात्रै चुनावमा जाने भनेको छ। केपी ओलीले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्नुभएको छ। फरकफरक पुस्ताबीच पनि विवाद आएको छ। हामी पनि त्यही पुस्ताको सोचमा गइरहेको जस्तो देखिन्छ।
एमालेले संसद् पुनःस्थापनालाई प्रमुख मुद्दा बनाएको छ। धेरैले चुनाव हुन सक्दैन कि भनेर शंका गरेका छन्। यस्तो अवस्थामा चुनाव हुन्छ?
किरण : एमालेलाई चुनावमा ल्याउने काम धेरै हदसम्म सरकारकै हो। एमाले देशैभरि छ। एउटा दललाई छुटाएर चुनाव गराउनु पनि हुँदैन। कुन शर्तमा एमालेलाई चुनावमा ल्याउने हो? त्यो राज्यको दायित्व हो। हामी जेन-जीले महसूस गर्नुपर्ने कुरा छ। दल खोल्यौं भने प्रतिस्पर्धी हुन सक्छौं तर दलको शत्रु होइनौं। हिजो एमाले सत्तामा भएकाले जेन-जी आन्दोलन एमाले विरुद्ध जस्तो देखियो होला। यो एमाले विरुद्ध होइन। भ्रष्टाचार विरुद्ध हो। ओलीतन्त्र विरुद्ध हो। युवाले अवसर नपाएको विरुद्ध हो। एमाले सत्तामा भएकाले एमालेसँग जेन-जी आन्दोलन ठोकिएको हो। दल विरुद्ध यो आन्दोलन होइन। एमाले र केपी ओलीले के बुझ्नुपर्छ भने एमालेमा रहेका जेन-जीहरूको पनि समर्थन थियो। एमालेका कार्यकर्ताको पनि समर्थन थियो। चुनावमा जाने एमालेका देशभरका प्रतिनिधिको पनि चाहना छ। एमाले रहेकै निरन्तर आवधिक चुनाव स्वीकार गरेर हो। एमालेले चुनाव अस्वीकार गऱ्यो भने ‘जबज’माथि प्रश्न उठ्छ। त्यसैले एमालेले पुनर्विचार गर्नुपर्छ। उनीहरूको पनि चुनावमा परीक्षण हुनुपर्छ।
जेन-जीका विभिन्न समूहले कहिले प्रत्यक्ष कार्यकारी चाहिन्छ भन्छन्, कहिले संघीयता‚ समावेशिता खारेज हुनुपर्छ भन्छन्। संविधान स्वीकार गरेको हो भने त्यसका संरचना स्वीकार गर्नुपर्छ होला। ती समूहले कहाँ कतिखेर के बोल्ने भनेर थाहा नपाएको हो कि?
सुस्मिता : युवासँग अनुभव छैन होला। विभिन्न दलका नेतासँग अनुभव होला। त्यही अनुसार काम गरिराखेका छन्। विज्ञहरू पनि छन्। राजनीतिक विज्ञ र नागरिक अगुवा छन् । जसले राज्यको नीति-निर्माण सुधारमा काम गरिरहेका छन्। हामी युवाले उनीहरूसँग कुरा गर्नुपर्छ। सल्लाह गर्नुपर्छ। एउटै व्यक्तिलाई सबै कुरा थाहा हुन्छ भन्ने छैन। विज्ञसँगै सार्वजनिक छलफल गरिनुपर्छ। राजनीतिको विश्लेषण तर्क सहित गर्नुहुन्छ। युवालाई जोड्न चाहन्छु– अहिलेको मुद्दा युवा सशक्तीकरण पनि हो। आफ्नो आवाजलाई अध्ययन र विश्लेषणमा रहेर प्रस्तुत गर्नु पऱ्यो। समाचारको हेडलाइन पढेर देश विकास पनि हुँदैन र चुनाव पनि हुन सक्दैन।
तपाईं यो प्रदर्शनका वेला रूपन्देहीमा हुनुहुन्थ्यो। घोषित प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। प्रदर्शन देशैभर भएको थियो। काठमाडौंमा जे जे चर्चा भए‚ स्थानीय तहमा यसको प्रभाव कस्तो रह्यो?
किरण : सेनापतिको कार्यालय, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयले निरन्तर एउटै गल्ती गरिरहेको छ। भदौ २५ गते राति जो-जो सैनिक मुख्यालय गए, जो-जो साथीहरूले काठमाडौंमा माइक समाते र एक हप्तापछि जो जो साथी मीडियामा आए, ती मात्रै नेता भए। उनीहरूलाई मात्रै नेता बन्ने अवसर दिइयो। सरसल्लाह‚ परामर्शमा उनीहरूलाई मात्रै बोलाउने काम भयो। हतारको वेला जो-जो उपलब्ध थिए‚ उनीहरूलाई बोलाउनु ठीक हो। आन्दोलन देशैभर भएको हो। असर देशैभर परेको छ। असन्तोष देशैभर रहेको छ। फेरि परामर्शमा जो-जो चिनिएका छन् उनीहरूलाई मात्रै बोलाउने गरियो। नेता हुने अवसर दिइएन। थानकोटबाहिर हेर्न सकेनन्। राष्ट्रपतिको दैलोमा पुगेकाहरूको मात्रै नाम लिने गरियो। त्यसमा पनि समावेशी छैन। आफूपछाडि हिंडेका ‘जुनियर एसिस्टेन्ट’लाई पनि छिराएका छन्। यो आन्दोलन २/३ हजार नेताहरू विरुद्ध भएको हुनाले पनि २/३ सय जेन-जी नेता जन्माउँछ। त्यसलाई स्वीकार्नु पर्छ। प्रधानमन्त्री कार्यालयले २/३ सय जनालाई भेटेर उनका कुरा सुनेर टिप्नुपर्छ। भेट्ने कुरा‚ सुन्ने कुरालाई पनि प्रधानमन्त्री कार्यालयले नियन्त्रण गर्ने होइन। बीस जनालाई भेटेर कर्मकाण्ड पूरा गर्छ भने असन्तुष्ट समूहले चुनाव रोक्छ। असन्तुष्ट पक्षले अर्को क्रान्तिको तयारी गरिराखेको छ। हिजोको सरकारले पनि ख्याल गरेको थिएन। अहिलेको सरकारले पनि हुलमुलमा पाऱ्यो। जेन-जीको कुरा कति सुन्ने भनेर दिक्क मान्यो भने यो सरकारले अर्को दुर्घटना निम्त्याउँछ।
यो अन्तरिम सरकारको म्यान्डेट चुनाव हो। दिनहुँ किचकिच सुन्ने होइन होला नि सरकारको?
किरण : दिनहुँ किचकिच सुन्ने होइन। एउटा युवा जान्छ, सवाल राख्छ। अर्को युवा जान्छ, सवाल राख्छ। यसलाई किचकिचको अर्थमा बुझ्नु भएन। यो निरन्तर संवाद हो। ओलीले किचकिच महसूस गरेको भएर कुरा सुनेनन्। पाँच जनाबाट देश चलाउन खोजे। अहिलेको सरकारले पनि पाँच जनाबाट सरकार चलाउने हो? मुख्य एजेन्डा चुनाव सम्पन्न गराउनु हो। यसमा हामी गएर डिस्टर्व गर्दैनौं।
तपाईं युवाहरूलाई मनोपरामर्श पनि दिनुहुन्छ। जेन-जी प्रदर्शनअघि पनि तपाईं जोडिनु भएको थियो। युवामाझ संघीयता, समावेशिता र धर्मनिरपेक्षबारे कस्तो धारणा पाउनुहुन्छ?
सुस्मिता : लामो संघर्षपछि संघीयता, समावेशिता र धर्मनिरपेक्ष आएका हुन्। यी संविधानका आधार हुन्। संघीयता आएको दश वर्ष पनि पूरा भएको छैन। यसको परिणाम के हुनसक्ला विश्लेषण गर्न सकिएको छैन। यही कुरामा विभाजित भयौं भने हामी कमजोर हुन्छौं। व्यक्ति मात्रै कमजोर नभएर देश नै कमजोर भएर जान्छ। हाम्रो पहिचान नै नेपालीबाट हुने हो। त्यो नै मेटायौं भने यी विषय कहाँ जान्छन्?
मनोमरामर्शको सन्दर्भमा भन्नुपर्दा– जेन-जी आन्दोलनको वेला मिथ्या सूचना फैलिरहेका थिए। भदौ २३ गते राति धेरैले मानसिक समस्या भोगे। कति जना होस्टलमा बस्छन्। कति जना काठमाडौंमा एक्लै बस्छन्। छिनछिनमा हरेक मान्छे फोन स्क्रोल गरिरहेका थिए। अनलाइन मार्फत हामीले धेरैलाई परामर्श दियौं।
तपाईं युवाहरूको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि पुग्नुभएको छ। उनीहरूको सवाल नेपाल र बाहिरका साझा हुन्छन् कि भिन्न हुने रहेछन्?
सुस्मिता : युवा सबै ठाउँका उस्तै र एउटै हुँदोरहेछ। यो वेला झन् उनीहरूको चासो थियो– नेपालमा के भइरहेको छ भनेर सोधिराखेका थिए; उनीहरूलाई लाग्थ्यो, सामाजिक सञ्जाल बन्द भएर हो। हाम्रोमा भ्रष्टाचार विरुद्धको आन्दोलन भएकाले तिमीहरूको न्यूज पोर्टलमा प्रचार गरिदिनु भनेका छौं। उनीहरूले हाम्रो समर्थन छ, राम्रो काम गरेका छौ र यसलाई कायम गरिराख भने।
जेन-जी आन्दोलनपछि मागहरू थपिरहँदा स्वास्थ्य र शिक्षा लगायतका विषय किन उठाइएन? यी किन छुटाइए? दार्चुला र ताप्लेजुङका समस्या फरक छन्। ती किन ओझेलमा परे?
किरण : त्यतिवेला म बुटवलमा थिएँ‚ एक सातापछि काठमाडौं आउँदा नेता स्वीकार गरिएन। दार्चुलाको मान्छे काठमाडौं आउन छ दिन लाग्छ। रु.१०-१५ हजार चाहिन्छ। कसरी काठमाडौं आइपुग्छ? उनीहरूको समस्या सुनेर हामी छक्क पर्छौं। भ्रष्टाचार एउटा पाटो हो। स्वास्थ्य-शिक्षाको कोणबाट पनि पीडित छन्। यसमा पनि असन्तोष छ। आन्दोलनकारीहरू जहाँजहाँ आक्रोशित भए सबैभन्दा पहिले प्रहरीसँग प्रतिरोध गरेका छन्। त्यसपछि अदालत र प्रशासनिक कार्यालयतिर बढेका छन्। रूपन्देहीमा सबैभन्दा पहिला मालपोत जलाइयो। त्यसको मतलव मालपोतप्रति कुनै न कुनै प्रकारको असन्तुष्टि छ। राज्य जहाँजहाँ भ्रष्ट भएको महसूस गर्छन्, त्यहाँ प्रतिरोध गरेका छन्। यो आन्दोलन दैनिक जीविकाका अप्ठ्यारा विरुद्ध पनि हो। बाहिरबाट आएर काठमाडौंमा बसेका युवाहरूलाई कोठाभाडा र कजेल फी तिर्न गाह्रो छ। दुर्गममा सुत्केरीले बाटोमा बच्चा पाएको सुनिन्थ्यो। पुल आधा मात्रै बनेको देखिन्थ्यो। ठूला मागभन्दा पनि यस्तै सानातिना मागले युवा आन्दोलित भएका हुन्।
जेन-जी समूहले दलसँग कसरी सहकार्य गर्छ?
किरण : दलका नेताले हामीलाई दुश्मन ठानेका छन्। उनीहरू पुराना र परिपक्व छन्। ठाउँ राख्नुभयो भने वार्ताका लागि म र युनाइटेड जेन-जी तयार छौं। म प्रजातन्त्रमा विश्वास गर्छु। त्यसका लागि निरन्तर संवाद नै बलियो बाटो हो। दलको दुश्मन जेन-जी होइन। दलभित्र सुधार होस् भन्ने हो। दलका नेताले वार्ता गरेर जेन-जीहरूलाई आआफ्ना दलमा तान्ने कोशिश गर्नुपर्छ।
आगामी चुनावमा युवाहरू कतिको आउँछन्?
सुस्मिता : युवाहरू छरिएका छन्, एक ठाउँमा आउनुपर्छ। दिनदिनै युवाहरू विदेश गइरहेका छन्। उनीहरूको योगदानको कदर हुनुपर्छ। युवा रोजगारीको कुरा छ। हामीसँग राष्ट्रिय युवा नीति छ। १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा भन्छन्। त्यो नीति पढ्नु पऱ्यो।
चुनावमा राजनीतिक दल र जेन-जी समूहहरूको के-के भूमिका हुन्छ?
किरण : संवेदनशील अवस्थामा चुनाव हुन गइरहेको छ। चुनाव भनेको धेरैभन्दा धेरै राजनीतिक दलले सहभागिता जनाउने हो। मेरो आग्रह– दलहरू चुनाव स्वीकार गर र चुनावी वातावरण बनाऊ। यो जिम्मेवारी दलहरूको पनि हो। चुनाव आउनु भनेको पुराना दलहरूले जीत महसूस गर्नु हो। माग धेरै छन्, सबै माग सडकबाटै पूरा हुने होइन। वैधताका लागि वैधानिक बाटोबाट आउनुपर्छ। राजनीतिक दलहरूलाई पनि संसद्मा ल्याएर हाम्रो एजेन्डामा सहमत गराउन सकिन्छ। पुरानाहरूलाई जस्तो युवाहरूलाई चुनावमा प्रतिस्पर्धा गर्न सहज छैन। पैसा, प्रशासनिक र प्राविधिक कुरा आउँछ। चुनावी प्रक्रियामा कसरी जाने भन्ने कुरा आउँछ। तालीम छैन। चुनावी शिक्षा, वातावरण र सुरक्षा चाहिन्छ। पहिलो राजनीतिक कदम भनेको मतदाता नामावलीमा नाम दर्ता गराउने हो। सरकारले राष्ट्रिय उत्सवको रूपमा मनाए हुन्छ।