हिमालखबरसँगको छलफलमा आन्दोलनलाई लगातार ‘ब्याकअप’ गरिरहेका कानून व्यवसायी
विकासकुमार गुप्ता, आन्दोलनमा सक्रिय
पेमा वाङमो लामा, प्रेरणा पासवान र
पवन ढुंगाना ले आश्चर्यमा पार्ने तथ्य र कथनहरूमाथि चर्चा गरेका छन्। हामी नयाँ पुस्ताले ‘केही बुझ्दैनन्’ भन्ने भाष्य चिर्ने गरी उनीहरूले परिपक्व ढंगले समाजको आवाज सुनाएका छन्। संविधान दिवसको छेक पारी उनीहरूसँग गरिएको करीब दुई घण्टाको उक्त छलफल भिडिओ वार्ताको सम्पादित अंश :
हिमालखबरले असोज २ गते जेन–जी अभियन्ताहरूसँग गरेको छलफलमा सहभागीहरूले ‘जेन–जी विद्रोह’ ले नेपालको संविधानको रक्षा गरेको दावी गरे। तिनीहरूले संविधानको आधारस्तम्भ ‘लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी’ बचाएकोमा गर्व गरिरहेका छन्। उनीहरूको भनाइमा दुई दिनको ‘विद्रोह’ पछि दुर्गा प्रसाईं जस्ता राजावादी र सेनापतिको सक्रियता बढेपछि लोकतान्त्रिक गणतान्त्रिक संघीय व्यवस्था गुम्ने र त्यसको अपजस आफूहरूको थाप्लोमाथि आउने भो भन्दै जेन–जीहरू डराएका थिए। तर ‘कोर्स’ ले सकारात्मक दिशा समाएपछि उनीहरू ढुक्क भए। भदौ २३ गते आन्दोलनकारीहरूमाथि भएको अन्धाधुन्ध गोली प्रहारबाट १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट भएको प्रदर्शनले विध्वंस रूप लिएको थियो। त्यसदिन भएको तोडफोड, आगजनी र लुटपाटले स्तब्ध बनाएको देश त्यसबाट अझै बाहिर निस्कन सकेको छैन।
विभिन्न स्थानबाट अहिलेसम्म ७४ जनाको शव भेटिएको छ। यो क्रम अझै रोकिएको छैन। भाटभटेनी जस्ता सुपरमार्केटबाट मान्छेका कंकालहरू भेटिरहेका छन्। यी मृतकहरू को हुन्? कतिपयको अझै पहिचान खुल्नसकेको छैन। तर पहिचान भएका मृतकहरूको पृष्ठभूमि केलाउँदा तीमध्ये धेरैको थातथलो दूरदराजका गाउँ देखिन्छ। प्रारम्भिक अध्ययनमा तीमध्ये अधिकांश गरीब परिवारका छन्। तिनीहरू काठमाडौं बसेर अध्ययन र संघर्ष गरिरहेकाहरू थिए। तर जेन–जी आन्दोलनको जस लिन तछाडमछाड गर्नेमा भने काठमाडौंका टाठाबाठाहरू लागिपरेका छन्। त्यति मात्र नभई यो आन्दोलनलाई आफ्नो अनुकूलतामा ढाल्ने होडबाजीमा विभिन्न स्वार्थ समूह जस्तै : राजावादी, माओवादी, रास्वपा जस्ता दलहरू प्रत्यक्ष परोक्ष लागेका देखिन्छन्।
खासमा यो आन्दोलनको फाइदाचाहिं कसले उठाइरहेको छ? विभिन्न नामधारी जेन–जीहरू परिदृश्यमा देखिएका छन्। तिनलाई कसले नेतृत्व गरिरहेको छ?
पेमा वाङमो लामा
देशमा एक्कासि निम्तिएको यस्तो राजनीतिक शून्यताले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाइएको छ, जसलाई चुनाव गराउने अभिभारा दिइएको छ। यो सरकार एकथरी जेन–जीले सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा मतदान गरी ल्याइएको भन्दै प्रचार गरिंदैछ। तर त्यसरी सुशीलालाई नै कसले र केका निम्ति प्रस्ताव गऱ्यो ? जेन–जी आन्दोलनमा सक्रिय तिनका नेताहरूलाई समेत पत्तो छैन। संविधान दिवसको अवसरमा हिमालखबरले गरेको छलफलमा सहभागी जेन–जी युवाहरूका भनाइमा जेन–जी आन्दोलनका हर्ताकर्ता कतै देखिंदैनन्। ती ‘डिस्कर्ड’ जस्ता सामाजिक सञ्जालमा भेटिन्छन्, तर स्थूल रूपमा को हुन्? भेट्नै सकिंदैन। प्रारम्भदेखि नै आन्दोलनमा संगठित एउटा जेन–जी समूहको नेतृत्व गरेकी पेमा वाङमो लामा भन्छिन्, ‘हामीले आन्दोलन संगठित गरौं भन्दै सामाजिक सञ्जालका साथीहरूलाई भेट्न खोज्दा तिनलाई भेट्नै सकिंदैन। यो आन्दोलन कसले कन्ट्रोल गऱ्यो र अहिले पनि कसले त्यसो गरिरहेको छ, बुझ्नै सकिएन।’
विकासकुमार गुप्ता
तर छलफलमा सहभागी कानून व्यवसायी विकासकुमार गुप्ता र जेन–जी अभियन्ता पवन ढुंगानाले भने यसको संकेत काठमाडौं महानगरका मेयर बालेन शाह तर्फ सोझ्याए। उनीहरूको भनाइमा शुरूदेखि नै प्रत्यक्ष-परोक्ष मेयर बालेनले आन्दोलनलाई आफ्नो पक्षमा पारेको विश्लेषण सुनाए। उनीहरूको भनाइ थियो– ‘बालेन बाहिर कतै देखिंदैनन् तर उनका समर्थक केही युवामार्फत उनले सबै खेल खेलिरहेको देखिन्छ।’ गुप्ताको तर्कमा बालेनको पूर्व कानुन व्यवसायी तथा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियता त्यही योजनाबमोजिम भएको छ। उनी भन्छन्, ‘ पहिलो दिनको आन्दोलनलगत्तै सुशीला कार्की र ओमप्रकाश दृश्यमा देखिन्छन्। सुशीलाले इण्डियन मिडियामा आफूलाई जेन–जीको समर्थन रहेको भनाइ राख्छन्। त्यसछि बालेन शाहले संसद् विघटन गर्न र आन्दोलनकारीलाई सेनासँग वार्ता गर्न तयार रहन भन्छन्। त्यसपछिको कडी जोड्नोस् छर्लङ्गै छ, यसको पछाडि कसले खेलिरहेको छ।’
पवन ढुंगाना
अभियन्ता ढुंगानाको भनाइमा बालेनको संसद् विघटनमा सुशीला कार्की अन्तिमसम्म अडिन्छिन्। त्यसपछि मात्र उनी सरकारमा जान राजी हुन्छिन्। जबकि आफूलाई न्यायको प्रतिमूर्ति दावी गर्दै आएकी उनलाई संविधानले कार्यकारी पदमा जान रोकिरहेको थियो। यसरी हेर्दा‚ यो सबै बाधा अड्काउ फुकाउन गरिए पनि कार्कीको यो कदम गैरसंवैधानिक थियो। उनी संविधान विपरीत जान किन राजी भइन्? सहभागी प्रेरणा पासवान र पेमाको भनाइमा खासमा आन्दोलन व्यवस्था हैन‚ अवस्था परिवर्तन गर्न भएको थियो। तर आन्दोलनको मौका छोपी संसद् नै विघटन गरियो। प्रदेश खारेजीको कुरा उठिरहेको छ। संविधान फाल्ने उग्रवादीहरू पनि देखिए। कतै ऐजेण्डामा नभएको कार्यकारी राष्ट्रपति चयनको कुरा पनि उठाइदैंछ। पेमा भन्छिन्, ‘यो कसले गरिरहेको छ? यो कसको ऐजेण्डा हो? हामी छक्क परिरहेका छौं।’
प्रेरणा पासवान
भिडियो वार्ता :
VIDEO