एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीचको कलह राजनीतिक नभएर एक-अर्काको मातहतमा बस्न नखोज्ने व्यक्तिगत इगो प्रेरित देखिन्छ, जसको बीजारोपण पाँच दशकअघि भएको थियो।
एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म। ... पुष्टि नहुनुको अर्थ के हो भने गलत गरिएछ, गलत भयो त्यति वेला।
अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर। त्यो (बोलेको) हो भने पार्टीबाट बिदा गरिदिनुपर्छ नि, यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक आधारै छैन! ... खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ।
शीर्ष नेताका यी दुई अभिव्यक्तिले नेकपा (एकीकृत समाजवादी)मा भुइँचालो ल्याएको छ। नेता झलनाथ खनालले साउन १५ मा इमेज टेलिभिजन मा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नु गलत रहेको अभिव्यक्ति दिए। त्यससँगै पार्टीमा छलफल हुँदा आफूलाई जानकारी नदिने गरेको भन्दै असन्तुष्टि पोखे।
खनालको यो अभिव्यक्तिपछि अध्यक्ष माधवकुमार नेपालले साउन १६ मा विराटनगर पुगेर खनालले पार्टी छोड्नुपर्ने प्रतिक्रिया दिएका हुन्। त्यसयता दुवै नेतासँगै पक्ष-विपक्षका नेता तथा कार्यकर्ताबीच पनि आरोप-प्रत्यारोप, टीकाटिप्पणी चलिरहेको छ।
खासमा नेपाल र खनालबीच किन ‘टसल’ भएको हो? ‘झलनाथजी र माधवजीको कुरा पार्टीमा आइरहन सक्ने निजी, व्यक्तिगत अन्तर्विरोधका कुराहरू हुन्,’ महासचिव घनश्याम भुसालले अनलाइनखबर सँगको अन्तर्वार्तामा भनेका छन्।
एकीकृत समाजवादीका महासचिव भुसालले भने जस्तै के अहिले नेपाल र खनालबीच व्यक्तिगत अन्तर्विरोध नै बाहिर आएको हो? यसबारे बुझ्न भने पाँच दशकअघि फर्किनुपर्छ।
अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (मार्क्सवादी-लेनिनवादी), को-अर्डिनेशन केन्द्र (कोके) गठन भएपछि २०३२ सालमा सीपी मैनालीले नेतृत्व गरे। त्यति वेला मैनालीसँगै माधवकुमार नेपाल, रामचन्द्र यादव, अमृत बोहरा, झलनाथ खनाल लगायत नेता थिए। सँगसँगै केन्द्रीय सदस्य बने पनि नेपाल पोलिटब्युरो सदस्य भएपछि खनालले पछि परेको महसूस गरेको देखिन्छ। “शुरूमा सीपी मैनाली सचिव भए, झलनाथ खनाल र माधव नेपाल दुवै केन्द्रीय सदस्य थिए,” पुराना कम्युनिस्ट नेता आरके मैनाली सम्झिन्छन्, “केही समयपछि माधव नेपाल पोलिटब्यूरो सदस्य भए।”
सीपी मैनाली।
पोलिटब्यूरो सदस्य भएसँग नेपाल दोस्रो वरीयतामा थिए। त्यसको केही महीनापछि सीपी मैनाली र झलनाथ खनाल पक्राउ परे। त्यति खेर अमृत बोहरालाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको आरके बताउँछन्। २०३३ सालमा नख्खु कारागारबाट सुरुङ खनेर सीपी लगायत १५ जना नेता तथा कार्यकर्ता भागे। त्यसपछि सीपीले नै नेतृत्व सम्हाले भने नेपाल दोस्रो वरीयतामा रहे।
२०३५ पुस ११ गते धनुषाको टहरा डिफु गाउँमा भएको नेकपा (माले) स्थापना सम्मेलनले सीपी मैनालीको नेतृत्वमा १२ सदस्यीय कमिटी गठन गर्यो। जसमा नेपालसँगै जीवराज आश्रित, अमृत बोहरा, मुकुन्द न्यौपाने, मदन भण्डारी, प्रदीप नेपाल, ईश्वर पोखरेल, रत्नकुमार बान्तवा, वामदेव गौतम, नेत्रलाल अभागी र मोदनाथ प्रश्रित थिए।
२०३६ सालमा जनमत संग्रह हुने भएपछि जेलमा रहेका नेता तथा कार्यकर्ताले आममाफी पाए। त्यही वेला खनाल पनि जेलमुक्त भए।
२०३९ सालमा मालेभित्र चर्को विवाद भयो, सीपी मैनालीले महासचिव पद छोड्नुपर्यो। त्यस घटनाले फेरि नेपाल र खनालबीच पनि तिक्तता बढायो। “सीपीलाई हटाएर झलनाथ खनाल महासचिव बने। माधव नेपालको पनि महासचिव बन्ने इच्छा थियो,” आरके त्यो घटना सम्झिंदै भन्छन्, “खनाल महासचिव बनेपछि नेपाल जुनियर भए। पहिला नेपाल नै सिनियर थिए।”
सीपी मैनाली हटेपछि दोस्रो वरीयतामा रहेका नेपाल स्वाभाविक रूपमा महासचिवका दाबेदार थिए। तर खनाल नेतृत्वमा आएपछि मनोमालिन्य बढेको त्यति वेलाका नेताहरू बताउँछन्।
२०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहामा नेकपा (माले)को चौथो महाधिवेशन भयो। २००६ सालमा स्थापना भएको नेकपा बीचमा विभाजन भएकाले २०४६ सालमा आएर मात्र चौथो महाधिवेशन भनिएको थियो। चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव बने। २० सदस्यीय केन्द्रीय कमिटीमा नेपाल र जीवराज आश्रितपछि खनाल चौथो वरीयतामा झरे। त्यसमा नेपालले भूमिका खेलेको भन्दै खनाल असन्तुष्ट बनेको तत्कालीन नेताहरू सुनाउँछन्।
मदन भण्डारी।
जनआन्दोलन सफल भएपछि २०४७ पुस २२ मा माले र नेकपा (मार्क्सवादी)बीच एकीकरण भएर नेकपा (एमाले) बन्यो। मार्क्सवादीको नेतृत्व गरेका मनमोहन अधिकारी अध्यक्ष बने भने मालेको नेतृत्व गरेका मदन भण्डारी महासचिव बने। ३१ सदस्यीय केन्द्रीय कमिटीमा माधव नेपाल तेस्रो वरीयतामा थिए भने जीवराज आश्रित र सीपी मैनालीपछि झलनाथ खनाल छैटौं वरीयतामा थिए।
त्यसको दुई वर्षपछि २०४९ माघ १४ देखि २० सम्म काठमाडौंको प्रज्ञा भवनमा एमालेको पाँचौं महाधिवेशन भयो। त्यसबाट मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बने भने तेस्रो वरीयतामा माधव नेपाल रहे। त्यति वेला नेपाल स्थायी समिति सदस्य पनि थिए भने खनाल केन्द्रीय कमिटी सदस्यमा सीमित हुन पुगे।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमाले महासचिव भण्डारी र चौथो वरीयतामा रहेका स्थायी कमिटी सदस्य जीवराज आश्रितको निधन भयो। त्यसपछि एमाले केन्द्रीय कमिटी बैठकले नेपाललाई महासचिव चयन गर्यो। त्यति खेर खनाल एमाले केन्द्रीय कमिटीमा २४औं नम्बरमा थिए।
२०५४ माघ १२ देखि १८ गतेसम्म बाँकेको नेपालगन्जमा भएको छैटौं महाधिवेशनबाट फेरि अधिकारी अध्यक्ष र नेपाल महासचिव चयन भए। नेतृत्वका लागि खासै प्रतिस्पर्धा थिएन। त्यति वेला एमाले केन्द्रीय कमिटीमा अमृत बोहरा, ईश्वर पोखरेल र केपी शर्मा ओलीपछि खनाल छैटौं वरीयतामा थिए।
एमालेको नेतृत्व गरिसकेका नेताहरूबीच एकअर्काको मातहतमा बस्न नरुचाउने प्रवृत्ति उति वेलै देखिएको आरके मैनाली सुनाउँछन्। “महासचिव भइसकेका नेता अर्काको मुनि बस्नै नमान्ने,” उनी भन्छन्, “पछि झलनाथ, माधव र केपी ओली मिलेर सीपीलाई हटाए। पछि मलाई र मोहनचन्द्र अधिकारीलाई पनि हटाए।”
छैटौं महाधिवेशनपछि २०५४ फागुन २१ मा वामदेव गौतमको अगुवाइमा एमाले विभाजन भएर नेकपा (माले) बन्यो। सहाना प्रधान अध्यक्ष भइन् भने गौतम महासचिव। सीपी मैनाली पनि मालेमा गए। त्यति वेला भने नेपाल, खनाल र ओली एकजुट देखिएका थिए।
मनमोहन अधिकारी।
२०५६ सालको निर्वाचनमा नराम्रो पराजय बेहोरेपछि एमाले र माले एकीकरणको प्रयासमा जुटे। चुनावी प्रचारकै क्रममा एमाले अध्यक्ष मनमोहन अधिकारीको वैशाख १३ मा निधन भएको थियो। त्यसपछि दुवै पार्टी २०५८ फागुन २ मा एकीकृत भए, सीपी मैनालीले भने मालेलाई नै निरन्तरता दिए।
एकीकृत एमालेमा नेपाल महासचिव भए। अधिकारीको सम्मानमा अध्यक्ष पद खाली नै राखियो। त्यति वेला अमृत बोहरा, ईश्वर पोखरेल, केपी शर्मा ओली र केशव बडालपछि झलनाथ खनाल छैटौं वरीयतामा थिए। यो एकीकरणपछि फेरि नेपाल र खनालबीच दूरी बढ्दै गएको तत्कालीन नेताहरू बताउँछन्।
सातौं महाधिवेशनमा खनालले पनि महासचिव पदप्रति रुचि देखाएका थिए। “माधव, झलनाथ, केपी र वामदेव चारै जनले नेतृत्व लिन चाहेका थिए,” आरके मैनाली सुनाउँछन्। २०५९ माघ १८ देखि २२ सम्म जनकपुरमा भएको सातौं महाधिवेशनले नेपाललाई नै महासचिव निर्वाचित गर्यो। अमृत बोहरा, ईश्वर पोखरेल, केपी शर्मा ओली र केशव बडालपछि झलनाथ खनाल छैटौं वरीयतामै सीमित बने।
२०६२/६३ को जनआन्दोलन ताका पनि नेपाल र खनालबीच तिक्तता बढ्दै गयो। राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारले नेपाललाई नजरबन्दमा राख्यो। केन्द्रीय कमिटीमा छैटौं वरीयतामा भए पनि खनालले कार्यवाहक महासचिवको जिम्मेवारी पाए। “पद हत्याउन खोजेको भन्दै नेपाल खनालसँग रुष्ट थिए,” आरके भन्छन्, “पार्टीमा दुवै जना महत्त्वाकांक्षी भए, एकभन्दा अर्को तल बस्न चाहँदैनथे।”
जनआन्दोलन सफल भएपछि २०६४ चैत २८ मा भएको संविधानसभा निर्वाचनमा एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन। सशस्त्र विद्रोह छोडेर खुला राजनीतिमा आएको माओवादी ठूलो दल बन्यो। निर्वाचनमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिंदै नेपालले महासचिव पदबाट राजीनामा दिए। एमाले केन्द्रीय कमिटीले खनाललाई महासचिव चयन गर्यो। त्यसपछि खनाल र नेपालबीचको दूरी झन् फराकिलो बनेको नेताहरू बताउँछन्।
त्यसको एक वर्षपछि २०६५ फागुन ५-१४ सम्म बुटवलमा भएको आठौं महाधिवेशनले नेपाल र खनालबीच झन् फाटो ल्यायो। त्यति खेर नेपाल, खनाल, ओली र गौतम चारै जना अध्यक्षको महत्त्वाकांक्षी थिए। अन्तिममा खनाल र ओलीबीच चुनावी प्रतिस्पर्धा भयो। नेपाल ओलीको पक्षमा र गौतम खनालको पक्षमा लागे। “झलनाथले चुनाव त जिते, तर आफूलाई हराउन खोजेको भन्दै नेपालसँग रिसाए,” एमालेका एक नेता भन्छन्।
खनाल अध्यक्ष हुँदा नेपाल वरिष्ठ नेताका रूपमा दोस्रो वरीयतामा रहे भने ओली तेस्रो र गौतम चौथो वरीयतामा थिए। तैपनि खनाल र नेपालको सम्बन्धमा सुधार नआएको नेताहरू बताउँछन्। बरु नेपाल ओली र गौतमसँग कुराकानी गर्थे।
यसैबीच नेपाल र खनालबीच प्रधानमन्त्रीका लागि पनि खिचातानी भयो। सेनापति नियुक्तिमा भएको विवादका कारण प्रधानमन्त्री पदबाट पुष्पकमल दाहालले राजीनामा दिए। त्यसपछि नेपाली कांग्रेसको समर्थनमा २०६६ जेठ ११ मा नेपाल प्रधानमन्त्री बने। आफू अध्यक्ष भए पनि नेपाल प्रधानमन्त्री बनेको खनाललाई चित्त बुझेको थिएन।
२०६७ माघ २३ मा माओवादीको समर्थनमा खनाल प्रधानमन्त्री बने। त्यसले पनि नेपाल र खनालबीच बेमेल बढाएको मैनाली सुनाउँछन्। “ईख राखेर एकले अर्कालाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेले, त्यो ईखले टसल ल्यायो,” उनी भन्छन्।
पाँच वर्ष पार्टीको नेतृत्व गर्दा नेपालले असहयोग गरेको भनेर निकटका नेताहरूलाई सुनाउने गरेका खनालले त्यसको बदला नवौं महाधिवेशनमा लिन खोजे। २०७१ असार २५ देखि साउन १ सम्म काठमाडौंमा भएको महाधिवेशनमा ओली र नेपालबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भयो। अघिल्लो महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरे पनि यस पटक नेपाललाई हराउन खनाल ओलीको पक्षमा लागे र ओली अध्यक्ष बने। “त्यति वेला उहाँहरू (नेपाल र खनाल)बीच द्वन्द्व थियो,” एकीकृत समाजवादीका एक नेता भन्छन्।
बाध्यताले निकटता
लामो समयदेखि व्यक्तिगत महत्त्वाकांक्षाले जुधिरहेका नेपाल र खनाल एकाएक नजीक बन्नुपर्ने परिस्थिति सिर्जना भयो। आमनिर्वाचनका लागि गठबन्धन गर्ने र त्यसपछि पार्टी एकता गर्ने एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७४ असोज १४ मा सातबुँदे सहमति गरे। त्यसपछि भने ओलीले नेपाल र खनाललाई पन्छाउँदै गए।
झन् चुनावबाट गठबन्धनले करीब दुईतिहाइ बहुमत हासिल गरेपछि २०७४ फागुन ३ मा ओली प्रधानमन्त्री बने। तीन महीनापछि २०७५ जेठ ३ मा ओली र दाहालले एमाले र माओवादीलाई एकीकरण गरे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए। ओली र दाहाल दुवै जना अध्यक्ष बनेपछि नेपाल र खनाललाई पाखा लगाउँदै गए। पार्टीमा निरन्तर पेलाइमा परेपछि नेपाल र खनाल पुराना तिक्तता छोडेर नजिकिन पुगेका थिए।
शक्तिशाली प्रधानमन्त्री बनेपछि ओलीले दाहाललाई पनि पेल्दै गए। त्यसपछि दाहाल पनि नेपाल र खनालसँगै मिसिए। तीनै नेता आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली विरुद्ध सडक आन्दोलनमै उत्रिए।
केपी शर्मा ओली विरुद्ध सडक प्रदर्शनका क्रममा माधव नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनाल लगायत नेता।
त्यही वेला अर्थात् २०७७ फागुन २३ मा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेको भन्दै ओली र दाहाल नेतृत्वको नेकपाको एकता बदर गरिदियो। त्यसपछि एमाले र माओवादी त पुरानै अवस्थामा फर्किए, तर नेपाल र खनाल ओलीसँगै मिलेर बस्न सकेनन्।
आन्तरिक विवाद बढ्दै गएपछि २०७८ भदौ २ मा एमाले विभाजन गरेर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भयो। पुराना कम्युनिस्ट नेता आरके मैनाली बाध्य भएर नेपाल र खनाल मिलेको सुनाउँछन्। “भित्र नमिल्दा नमिल्दै पनि (एमालेमा) बस्ने ठाउँ नभएपछि सँगै जानुपर्यो। त्यसपछि नचाहँदा नचाहँदै पनि माधव र झलनाथ एकै ठाउँमा पुगे,” उनको विश्लेषण छ।
एकीकृत समाजवादीका नेताहरूका अनुसार त्यति वेला खनाल एमालेभित्रै संघर्ष गरेर बस्नुपर्ने पक्षमा देखिएका थिए। चार वर्षपछि खनालले त्यसमै जोड दिंदै पार्टी विभाजन गर्नु गलत रहेको जिकिर गरेका छन्। दुवै नेताबीचको विवाद अहिले बाहिर आए पनि पार्टी गठन गर्ने वेलादेखि नै मतभिन्नता रहेको एकीकृत समाजवादीका नेता बताउँछन्।
महाधिवेशनसँगै विवाद
२०८१ असार १६ देखि २१ सम्म भएको महाधिवेशनमा दुवै नेताले अध्यक्ष पद खोजेका थिए। त्यसमा घनश्याम भुसाल पनि मिसिए।
युवा नेताको दबाबपछि निर्वाचनमा नगई सहमतिमै नेतृत्व चयन भयो। नेपाल अध्यक्ष बने भने भुसाल महासचिव। खनाललाई दोस्रो वरीयतामा राखेर ‘सम्मानित नेता’ को पद दिइयो। त्यसमा खनाल सन्तुष्ट थिएनन्। “अहिलेसम्म कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता वा संरक्षक बनाउने चलन थियो, यो सम्मानित नेता भन्ने थिएन,” थन्क्याउनका लागि यो पद सिर्जना गरिएको उल्लेख गर्दै पुराना कम्युनिस्ट नेता आरके मैनाली भन्छन्, “झलनाथलाई चित्त बुझेको थिएन। त्यही वेलादेखि झलनाथलाई छटपटी थियो।”
एकीकृत समाजवादीको महाधिवेशनको बन्दसत्रमा नेताहरू।
पदाधिकारी तथा केन्द्रीय कमिटी चयनमा पनि खनाल पक्षको चित्त बुझेको थिएन। नेपालले आफू अनुकूलका व्यक्तिलाई राखेको खनाल पक्षका नेताहरूको आरोप छ। “महाधिवेशन प्रतिनिधिलाई छिटो घर पठाइयो र पछि कसको मान्छे कति भनेर नेतृत्व चुनियो,” खनाल पक्षका केन्द्रीय सदस्य कृष्ण विक भन्छन्, “राम्रा मान्छेले हार्नुपर्ने, नराम्रा मान्छेले जिते। गुटबन्दीलाई संस्थागत गर्ने काम त्यहाँबाट भयो।”
अर्का केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ पनि महाधिवेशनदेखि नै विवाद शुरू भएको बताउँछन्। अध्यक्ष नेपालले नै गुटबन्दी गरेकाले महाधिवेशनकै वेला विवाद बढेको श्रेष्ठको भनाइ छ। “अध्यक्षकै मान्छेहरूले गुटबन्दी गरे। ‘इलेक्टेड’ केन्द्रीय कमिटी होइन, ‘सेलेक्टेड’ केन्द्रीय कमिटी भयो,” खनालका पूर्व स्वकीय सचिव समेत रहेका श्रेष्ठ भन्छन्, “छनोट कमिटीले चाहिं फलाना फलानालाई भोट हाल भनेर निर्देशन दिए।”
नेपाल पक्षका नेता पनि महाधिवेशनबाट विवाद शुरू भएको बताउँछन्। नेपाललाई उछिन्न खोज्दै आएका खनालले अहिले मौका छोपेको उनीहरूको भनाइ छ। “हुनत उहाँहरू (नेपाल र खनाल) बीच पहिलेदेखि नै मतभेद थियो, तर पनि सँगै देखिनुहुन्थ्यो,” एकीकृत समाजवादीकी नेता जयन्ती राई भन्छिन्, “अहिले माधव नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि अझै चर्किएको हो।”
नेपाल-खनाल विवादले नेता तथा कार्यकर्ता पनि दुई धारमा बाँडिएका छन्। यसको असर केन्द्रमा मात्रै नभई स्थानीय तहसम्म परेको छ। भ्रातृ संगठनहरू पनि पक्ष-विपक्ष देखिएका छन्। विद्यार्थी संगठन अनेरास्ववियुमा त दुई वटा कमिटी बनेका छन्।
वैचारिक बेमेलको बहाना
दुवै नेता मिलेर एकीकृत समाजवादी गठन गरे पनि त्यति वेलै वैचारिक बेमेल देखिएको थियो। नेपाल एमालेले बोकेको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त अँगाल्नुपर्ने पक्षमा थिए। अहिले पनि उनी जबजलाई नै परिष्कृत गर्दै जानुपर्ने बताउँछन्।
खनाल भने अब जबजले काम नगर्ने मत राख्छन्। उनी वैज्ञानिक समाजवादको सिद्धान्तलाई बोक्नुपर्ने बताउँछन्। एकीकृत समाजवादीको महाधिवेशनमा पनि खनालले वैज्ञानिक समाजवादको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए, जुन पारित पनि भएको थियो।
जबज कि वैज्ञानिक समाजवाद भन्नेमा दुवै नेताबीच वैचारिक बेमेल रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईको तर्क छ। “हाम्रो पार्टीमा वैचारिक बहस भएको हो, अरू विवाद छैन,” भट्टराई भन्छन्, “झलनाथ खनालले दशौं महाधिवेशनबाट पारित भएको वैज्ञानिक समाजवादमा अगाडि बढ्नुपर्छ भनिरहनुभएको छ, पार्टी अध्यक्ष चाहिं जबज नै भन्नुहुन्छ। हाम्रो वैचारिक छलफल हो।”
अध्यक्ष नेपालका स्वकीय सचिव लक्ष्मण श्रेष्ठ पनि दुई जनाबीच वैचारिक मतभिन्नता मात्र भएको तर्क गर्छन्। “ठूलो विवाद केही छैन। यस विषयमा बैठक बसेर छलफल हुन्छ,” श्रेष्ठ भन्छन्।
नेपाल र खनालबीच वैचारिक बेमेल मात्रै छ त? दुवै जनासँग लामो समय काम गरेका पुराना कम्युनिस्ट नेता आरके मैनाली वैचारिक मतभिन्नता नभएर व्यक्तिगत टकराव रहेको बताउँछन्। मैनालीको बुझाइमा नेपाललाई भ्रष्टाचारको मुद्दा लागेपछि खनालले नेतृत्व गर्न पाउने ठानेका थिए। नैतिकताका आधारमा नेपालले राजीनामा देलान् र आफू अध्यक्ष हुँला भन्ने खनाललाई लागेको थियो। तर नेपालले राजीनामा नदिई झन् वामदेव गौतमलाई भित्र्याए।
पुराना कम्युनिस्ट नेता आरके मैनाली।
त्यसबाट झस्किएका खनाल सार्वजनिक रूपमै बोल्न थालेको मैनालीको मत छ। “माधवले झलनाथलाई ठीक पार्न वामदेवलाई ल्याएका हुन्,” मैनाली भन्छन्, “माधवले राजीनामा दिए म अध्यक्ष हुन्थें भन्ने झलनाथको मनसाय छ। माधवले वामदेवलाई काखी च्यापेको देखेर झलनाथलाई झन् रिस उठेको होला।”
राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि नेपाल र खनालबीचको विवाद सैद्धान्तिकभन्दा पनि व्यक्तित्वको टकरावको रहेको बताउँछन्। पूर्व प्रधानमन्त्री जस्ता परिपक्व नेताहरूमा वैचारिक मतभेद भए पार्टीभित्रै छलफल गर्नुपर्नेमा व्यक्तिगत स्वार्थका कारण सार्वजनिक रूपमा बोलिरहेको उनको ठम्याइ छ। “कम्युनिस्टहरूमा आफ्नो विचारलाई सिद्धान्तको लेप लगाएर म ठीक छु भन्ने बानी हुन्छ। त्यही बानी दुई नेताहरूमा पनि देखियो,” पोखरेल भन्छन्।
दुई नेताबीच सार्वजनिक रूपमा चर्किएको विवादले एकीकृत समाजवादीलाई नै असर पर्ने उनको विश्लेषण छ। यस विवादलाई आन्तरिक छलफलबाट समाधान नगरिए पार्टीलाई नै असर पर्ने उनी बताउँछन्। “राष्ट्रिय पार्टी हुन नसकेको चुनौती छ। यो पार्टी अगाडि बढ्न सक्दैन भन्ने सोच भएका र छोडेर जान चाहनेहरू पनि पार्टीभित्र छन्,” विश्लेषक पोखरेल भन्छन्, “झन् दुवै नेताबीच विवाद बढ्दै जाँदा कार्यकर्ता हतोत्साहित हुन्छन्, पार्टी ओरालो लाग्छ।”
नेपाल र खनालबीचको विवाद सुल्झाउन एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी बैठकबाटै सबै विवाद समाधान हुने महासचिव भुसाल बताउँछन्।
एकीकृत समाजवादीका शीर्षनेताको विवाद समाधान होला त? पुराना कम्युनिस्ट नेता आरके मैनाली भने विवाद बढ्दै जाने आकलन गर्छन्। पहिल्यैदेखि प्रतिस्पर्धी रहेका नेपाल र खनालमाझ गौतम थपिएपछि विवाद पनि थपिने उनको भनाइ छ। “झलनाथ र वामदेवको एमालेमै जाने चाहना छ, तर ओलीले लिंदैनन्। किनकि दुवै गएपछि त्यहाँ (एमाले)मा घाँडो हुन्छ,” मैनाली भन्छन्, “तीन जनामा एक जना अध्यक्ष हुँदा बाँकी दुई चूप लागेर बस्दैनन्, किनकि सबै महत्त्वाकांक्षी छन्। त्यसैले यी तीन एकै ठाउँमा भएपछि एकीकृत समाजवादीमा झन् कचिंगल हुन्छ।”