‘जब सञ्चारमाध्यमले नागरिकको हितभन्दा सरकार वा औद्योगिक घरानाको स्वार्थ बमोजिम समाचार सम्प्रेषणलाई प्राथमिकता राखे, त्यसले पत्रकारिताको मूल्यमान्यता र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पार्ने अभ्यास शुरू भयो।’
भारतमा सञ्चार क्षेत्र सरकार र औद्योगिक घरानाको दबाबमा परी पत्रकारिताबाट च्युत हुँदै गएकाले स्वतन्त्र पत्रकारितालाई बचाउन भन्दै ससाना स्वतन्त्र मिडिया आउटलेट खुल्ने क्रम बढ्दो छ। धेरै स्वाभिमानी पत्रकारले मूलधारका मिडिया छाडी यूट्यूब जस्ता डिजिटल प्लेटफर्म मार्फत पत्रकारिताको अभ्यास गरिरहेका छन् भने केही सरकार, गैरसरकारी संस्था र व्यापारीसँग सहयोग र विज्ञापन लिई पत्रकारिता गर्नै सकिंदैन भन्दै ‘पाठकको पैसाले स्वतन्त्र पत्रकारिता’ भन्दै मिडिया आउटलेट सञ्चालन गरिरहेका छन्।
यही मान्यतामा सन् २०१२ देखि केही पत्रकारले प्रारम्भ गरेको न्यूजलन्ड्री डटकम लाई सफल अभ्यासका रूपमा हेर्ने गरिन्छ। यसले पत्रकारिताको मूल्यमान्यता बचाउँदै पाठकको सहयोगमा पत्रकारिता गर्दै आएको विश्वास गरिन्छ। हिमाल मिडिया मेलामा यस वर्ष यही संस्थानकी प्रबन्ध सम्पादक मनीषा पाण्डे प्रमुख वक्ताका रूपमा आमन्त्रित थिइन्।
उनै पाण्डेसँग पछिल्लो समय भारत लगायत देशमा भइरहेको पत्रकारिताको अभ्यास र त्यसका चुनौतीबारे हिमालखबर का लागि शमशाद अहमद ले गरेको कुराकानी:
हिमाल मिडिया मेलाको सन्दर्भ पारेर नेपाल आउनुभयो। नेपाल बसाइ कस्तो रह्यो?
नेपालमा पहिलो पटक आएकी हुँ। हिमाल मिडिया मेलामा सहभागी भएर यहाँका धेरै पत्रकारसँग भेटघाट गर्ने अवसर मिल्यो। यहाँका पत्रकारले पत्रकारिताका चुनौती र त्यसबीच कसरी अगाडि बढ्ने, आफ्ना पाठक-दर्शकहरूबीच कसरी सम्बन्ध स्थापित गर्ने भनेर विचार-विमर्श गरिरहेका रहेछन्। सामान्यतया सबै कुरा खराब भइरहेको छ भनेर पत्रकारहरू निकै दु:खी हुन्छन्। तर यहाँका पत्रकारको अनुहारमा खुशी झल्केको देख्न पाएँ। मेलामा पत्रकारहरूले छलफल गरे। काठमाडौं निकै सुन्दर र सफा लाग्यो।
पत्रकारितामा तपाईं कसरी आबद्ध हुनुभयो र अहिले भारतमा कस्ता चुनौतीको सामना गरिरहनुभएको छ?
मेरो करिअर सन् २००९ मा दिल्लीबाट प्रकाशित हुने ‘बिजनेश स्ट्यान्डर्ड’ न्यूज एजेन्सीबाट शुरू भयो। दुई वर्ष त्यहाँ काम गरेपछि मैले मुम्बईबाट प्रकाशित हुने डीएनए पत्रिकाका लागि दिल्लीबाट काम गरें। सम्पादन भूमिकाबाट मेरो पत्रकारिता प्रारम्भ भयो। शुरूमा भाषा सम्पादनका साथै तथ्यजाँचको काम गरें, जुन मलाई निकै फाइदाजनक भयो। त्यसै क्रममा समाचारलाई निष्पक्ष र तथ्यगत कसरी बनाउने भन्ने सिक्दै गएँ।
सन् २०१४ मा न्यूजलन्ड्री मा संवाददाताका रूपमा आबद्ध भएँ। अहिले प्रबन्ध सम्पादकको भूमिकामा छु। न्यूजलन्ड्री मा हाम्रो काम समाचार मात्र प्रकाशित गर्नु नभई खबर/समाचारहरू प्रकाशित गर्ने र गराउनेहरू को हुन् भनी केलाउने काम शुरूदेखि नै हाम्रो प्राथमिकतामा रहँदै आएको छ। पत्रकारले अरूसँग त प्रश्न गरिरहेका हुन्छन्, तर पत्रकारलाई पनि प्रश्न गरिनु अपरिहार्य छ भन्ने मान्यतामा हामीले प्रकाशित-प्रसारित ‘कन्टेन्ट’ बारे समीक्षा गरिरहेका हुन्छौं।
तिनले प्रस्तुत गर्ने समाचारहरू कत्तिको तथ्यपूर्ण छन्, कति ‘सनसनीपूर्ण’ छन् भनी हेर्छौं। समाचार किन दबाउने गरिन्छ? कसको हस्तक्षेपमा यो सबै भइरहेको छ भनी हेर्छौ। अहिले धेरै पत्रकारले मिडियामाथि प्रश्न गरिरहेका छन्, तर पहिला यस्तो काम न्यूजलन्ड्री बाहेक अरू कसैले गरिरहेको थिएन। पत्रकारको हैसियतले मेरो जहिल्यै मिडियाबारे कुरा हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ।
समाचारका नाममा भ्रम र घृणाजन्य अभिव्यक्तिहरू किन फैलिरहेका छन्? तपाईंले यसमाथि नै काम गर्नुपर्ने आवश्यकता किन महसूस गर्नुभयो? यो कत्तिको सहज छ?
समाचारका नाममा भ्रम र अफवाह फैलिनु वा कुनै समूह वा व्यक्ति विरुद्ध घृणाजन्य अभिव्यक्ति (हेट स्पीच) सार्वजनिक रूपमा प्रेषित हुनु लोकतन्त्रका लागि गम्भीर चुनौती हो। जब सञ्चारमाध्यमले नागरिकको हितभन्दा सरकार वा औद्योगिक घरानाको स्वार्थ बमोजिम समाचार सम्प्रेषणलाई प्राथमिकता राखे, त्यसले पत्रकारिताको मूल्यमान्यता र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पार्ने अभ्यास शुरू भयो।
यसै विकृतिलाई मध्यनजर गर्दै सन् २०१२ मा न्यूजलन्ड्री का रूपमा स्वतन्त्र पत्रकारिताको यात्रा शुरू गर्यौं। प्रेसलाई लोकतन्त्रको चौथो स्तम्भ भनिए पनि त्यो स्तम्भ जब आफैं कमजोर वा पक्षपाती हुन्छ, तब नागरिकमा भ्रम वा मिथ्या सूचना पुग्ने खतरनाक अवस्था आउँछ। यही कारणले हामीले दबिएका वा विकृत समाचारहरूलाई फिल्ड रिपोर्टिङ मार्फत बाहिर ल्याउने प्रयास गरेका छौं।
हालैको कुम्भमेलामा सरकारी तथ्यांक र हाम्रा संवाददाताबाट प्राप्त तथ्यमा ठूलो अन्तर देखियो। सरकारले ३० जनाको मात्र मृत्यु भएको दाबी गरिरहेको थियो। तर हामीले ८० भन्दा बढी मानिसको मृत्यु भएको पायौं। यसरी समाचार लुकाइरहेको भान परेपछि हामीले स्थलगत रिपोर्टिङ गर्ने गरेका छौं।
अहिलेको समाचार संस्थानमा यही समस्या छ। एकातर्फ सरकारी विज्ञापनको दबाब छ, अर्कातर्फ ठूला औद्योगिक घरानाको स्वार्थ मिसिएको छ। सबै होइन, धेरैजसो पत्रकार सरकार र औद्योगिक घरानालाई खुशी पार्न पत्रकारिता गर्दै छन्। यसैले सत्य-तथ्य समाचारहरू कसरी बाहिर ल्याउने र नागरिक हितमा विश्वसनीय पत्रकारिता कसरी गर्ने भन्नेबारे हामीले काम गर्नुपरिरहेको हो।
न्यूजलन्ड्री को सब्सक्रिप्शन मोडल ‘पब्लिक से पैसा, पब्लिक के लिए पत्रकारिता’ कतिको सफल छ? र, यसका चुनौतीबारे कस्तो अनुभव छ?
मलाई यो भन्दै गर्दा निकै खुशी हुन्छ– हिन्दूस्तान, दक्षिणएशिया वा शायद संसारमा नै अति कम समाचार संस्थानमध्ये एक हौं जसले बिल्कुल विज्ञापन लिंदैन। सरकार वा उद्योगको मात्र नभई गूगल र यूट्यूबको समेत विज्ञापन स्विकार्दैनौं।
अहिलेको सञ्चार संस्थानको सबैभन्दा ठूलो समस्या नै न्यूज मोडल हो भन्नेबारे हाम्रो स्पष्ट नीति छ। यस मोडलमा सञ्चारगृह आफूलाई आवश्यक सबै सामग्रीको पैसा, स्रोतसाधन र तलब समेत विज्ञापनमा भर परिरहेका हुन्छन्। त्यस अवस्थामा विज्ञापनदातालाई फर्केर प्रश्न गर्ने अवस्था रहँदैन। विज्ञापनदातालाई राम्रो र अग्रस्थानमा नदेखिने कुनै स्टोरी गर्नुभयो भने विज्ञापन बन्द भइहाल्छ, र विज्ञापन बन्द भएपछि पैसा कहाँबाट आउँछ? भारतीय मिडियाको मुख्य समस्या यही नै हो। न्यूजलन्ड्री ले ‘नागरिकको हितका लागि नागरिकको पैसा’ बाट पत्रकारिता गर्नुपर्ने भनेर सन् २०१२ मा नै निर्णय गरिसकेको थियो।
यसमा चुनौती पनि छन्। पाठकलाई बुझाउन निकै गाह्रो छ। विशेषगरी दक्षिणएशियामा यो झन् कठिन छ। यस क्षेत्रमा मान्छेको आधारभूत आवश्यकता पूरा हुन सकिरहेका छैनन्। यस अवस्थामा समाचारका लागि पैसा माग्दा अधिकांशले दिंदैनन। हाम्रो अनुभवमा, सबैले दिनै पर्छ भन्ने छैन। तर फिल्म हेर्न हजार रुपैयाँ खर्चिने र होटल-रेस्टुरेन्टमा बर्गर खाने तप्काले लोकतन्त्रलाई चलायमान बनाउन तपाईंले मिडियामा पैसा खर्च गर्नुपर्छ भनेर बुझाउने प्रयास हुनुपर्छ।
जबसम्म मिडियाले स्वतन्त्र र आत्मनिर्भर भएर काम गर्छ, त्यति वेलासम्म व्यक्तिहरूको लोकतान्त्रिक अधिकार जीवित रहन्छ। मिडियाको आत्मनिर्भरता हटेपछि लोकतन्त्रलाई चलायमान बनाउन निकै कठिन छ। जनताबाट निर्वाचित नेताले के काम गरिरहेका छन्? बजेट विनियोजन भए पनि तपाईंको घर अगाडिको सडक किन वर्षैभरि बिग्रेको हुन्छ? पुलहरू किन ध्वस्त भइरहेका छन्? जसलाई सरकारमा पठाएका हुन्छौं, तिनले काम गरिरहेका छन् कि छैनन्? नेताले जे गरे पनि पाँच वर्षपछि फेरि हामी नै फर्केर आउँछौं भन्ने किन ठान्छ? लोकतन्त्रमा यस्ता प्रश्न उठाइराख्न/उठिरहन एकदम जरूरी छ। मिडिया स्वतन्त्र रहँदासम्म मात्र यो सम्भव हुन्छ।
शुरूआतमा यस्ता कुरा बुझाउन कठिन थियो। अहिले न्यूजलन्ड्री मा ५० जना पत्रकार कार्यरत छन्। सब्सक्रिप्शन मोडलमा नै यो टीमलाई चलायमान बनाउन सकिरहेका छौं। यो निकै गर्वको कुरा हो। अर्काे चुनौती भनेको न्यूजलन्ड्री मा काम गर्दा रिपोर्टिङ गर्नु मात्रै पर्याप्त हुँदैन। मान्छेले हाम्रा रिपोर्ट पढ्छन् कि पढ्दैनन्? पढेर आफ्नो व्यक्तिगत लगानी गर्छन् कि गर्दैनन्? हाम्रो पत्रकारिताले नागरिकलाई हित गर्छ कि गर्दैन? यस्ता कुरा पनि ध्यानमा राख्नुपर्छ।
अहिले ‘क्लिकबेट’ (सामाजिक सञ्जालमा रातारात फैलन) बढाउन आकर्षक र सनसनीपूर्ण शीर्षक सहितको ‘थमनेल’ बनाउने चलन छ। यसो गर्न सजिलो छ, तर यस्तो पत्रकारिता छोडेर कम दर्शकसम्म पुगे पनि वास्तविक खोज-अनुसन्धान र सत्य-तथ्यमा आधारित पत्रकारिता गर्नु चुनौतीपूर्ण हुन्छ।
के विज्ञापनविहीन पत्रकारिता नै अबको भविष्य हो?
हो, मलाई यस्तै लाग्छ। न्यूजलन्ड्री जस्तै पूर्ण रूपमा विज्ञापनविहीन हुनुपर्छ भन्ने छैन, तर अब सोच्नुपर्छ। विज्ञापनविहीन पत्रकारिता बाहेक अरू कुन कुन तरीकाले पत्रकारितालाई जीवित राख्न सकिन्छ भनेर सोच्नुपर्ने वेला आइसकेको छ। अहिले विज्ञापनले पनि हुँदैन। गूगल र यूट्यूबमा पनि विज्ञापन धेरै रहेनन्। विज्ञापन लिन निकै भाइरल हुनुपर्छ। सत्य समाचार भाइरल नहुन पनि सक्छ।
समाचार संस्थानले अब कम्तीमा ५० प्रतिशत आयस्रोत विज्ञापन बाहेकका माध्यमबाट खोज्नुपर्ने आवश्यकता छ। त्यसका लागि सदस्यता शुल्क, विशेष कार्यक्रम (इभेन्ट), सब्सक्रिप्शन मोडल वा विशिष्ट पाठकका लागि लक्षित सामग्री उत्पादन गर्ने उपाय अपनाउनुपर्छ। अहिले मानिस नेटफ्लिक्स, अमेजन जस्ता प्लेटफर्मको सेवाका लागि पैसा तिर्छन् भने गुणस्तरीय पत्रकारिताका लागि पनि पैसा तिर्नुपर्ने संस्कार विकास गर्नु जरूरी छ। त्यसका लागि यो समाचार केवल पढ्नलायक होइन, पैसा तिर्नलायक पनि छ भनेर पाठकलाई महसूस गराउनुपर्छ।
भारतीय सञ्चारमा हिन्दी भाषाको प्रभाव धेरै छ। भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति फैलाउनेहरू पनि हिन्दीभाषी सञ्चारमाध्यमको प्रयोग गर्छन्। यसलाई तपाईंहरू कसरी सम्बोधन गर्नुहुन्छ?
यसैलाई सम्बोधन गर्न न्यूजलन्ड्री को हिन्दी संस्करण पनि लामो समयदेखि सञ्चालनमा छ। अधिकांश स्थलगत रिपोर्टिङ हिन्दीमा नै हुन्छ। भारतका सम्भ्रान्त वर्ग र राजनीतिक रूपमा निर्णायक रहनेहरूले पढ्ने गरेका छन्। अतः अंग्रेजी भाषा कम बोलिने भए पनि त्यसले प्रभाव पार्ने क्षेत्र धेरै छ।
अर्को, अहिले पनि बिहार वा उत्तर प्रदेशमा न्यू योर्क टाइम्स कसैले नपढे पनि त्यसमा के छापिंदै छ भनेर सरकारले ध्यान दिएको हुन्छ। त्यसले तिनीहरूलाई फरक पार्ने गर्दछ। त्यसैले पत्रकारितामा अंग्रेजी भाषाको अभ्यास भइरहेको हुन्छ।
हिन्दी भाषाको व्यापक प्रयोक्ताहरू भएकाले दुवै भाषामा सन्तुलित रूपमा गइरहेका छौं। मिडियामा भ्रम फैलाउने पात्रलाई लज्जित र आत्मग्लानि बोध गराउन अंग्रेजीमा पनि समाचार बनाउने गर्छौं। कोही कोही अंग्रेजीमा मात्र लज्जित हुने गर्छन्।
तपाईं विज्ञापनरहित समाचार संस्थानको अवधारणा प्रस्तुत गर्नुहुन्छ। लोकतन्त्रमा सशक्त र सत्य-तथ्यबाट अवगत नागरिक निर्माणमा पत्रकारका साथै अडियन्सको भूमिका के के हुन सक्छ?
इन्टरनेटको युगमा सक्रियतापूर्वक हरेक समाचारमा लाइक, कमेन्ट, शेयर मार्फत आफ्नो अभिमत जाहेर गर्ने ठाउँ सिर्जना भएको छ। कुनै पत्रकारको रिपोर्टले तपाईंको समुदायमा सकारात्मक असर पार्दै छ भने साधारण रूपमा धन्यवाद दिनु, समर्थन जनाउनु र प्रचार गर्नु पनि ठूलो योगदान हो। कुनै पत्रकार भ्रष्टाचार लगायत कुनै विषयमा चूप लागेको छ भने नागरिकले आवाज बुलन्द गर्दै पत्रकारलाई जवाफदेह बनाइराख्नुपर्छ। सत्तासँग प्रश्न गर्न प्रेरित गरिराख्नुपर्छ।
अर्कातर्फ, स्वतन्त्र पत्रकारितालाई आर्थिक रूपमा पनि सहयोग गर्नु आवश्यक छ। सब्सक्रिप्शन लिनु, पत्रिका खरीद गर्नु वा मन पर्ने पत्रकार वा संस्थालाई समर्थन गर्नुपर्छ। जसरी हामीलाई उज्यालोका लागि बत्ती चाहिएको छ, त्यस्तै लोकतन्त्रमा निष्पक्ष पत्रकारिता चाहिएको छ।
VIDEO
कतिपय पत्रकारले गोदी मिडिया (सरकारको पक्षधर पत्रकार) हुनु आफ्नो बाध्यता भनिरहेका छन्। गोदी मिडिया भनेर सबै दोष पत्रकारलाई दिनु कतिको उपयुक्त होला?
हामी पनि त्यही भनिरहेका थियौं– मान्छे नराम्रा हुँदैनन्, परिस्थितिहरू नराम्रा हुन्छन्। मिडियाबारे पनि केही हदसम्म यो सत्य नै हो। तर केही वरिष्ठ पत्रकार पनि छन् जोसँग कुनै बाध्यता छैन, तैपनि सत्ताको भजन गाउन लिप्त छन्। तुलनात्मक रूपमा अरूभन्दा सत्ताप्रति श्रद्धा देखाइरहेका छन् भने त्यस्ता पात्रबारे प्रश्न गरिनु उचित नै छ। त्यही संस्थानभित्र केही इमानदार पत्रकार पनि होलान्, जो स्थलगत रिपोर्टिङ मार्फत वास्तविकता बाहिर ल्याउने प्रयास गर्दै होलान्, तर तिनीहरूलाई ७ देखि ९ बजेको समय (प्राइम टाइम)मा रिपोर्ट प्रस्तुत गर्न दिइँदैन।
त्यस्तालाई ठाउँ नदिएर ठूल्ठूला स्वरमा सरकारको गुणगान गर्नेहरूले बढी प्राथमिकता पाएका हुन्छन्। यो नितान्त ‘बिजनेश मोडल’ को समस्या नभएर व्यक्तिगत नैतिकताको प्रश्न हो। त्यसैले यसबारे खुलेर कुरा गर्न आवश्यक ठान्दछु।
समाचारलाई लिएर सामाजिक सञ्जाल (मेटा, एक्स) जस्ता डिजिटल प्लेटफर्मको भूमिका के हो?
हाम्रा लागि यी सबै समाचार वितरण गर्ने माध्यम हुन्, तर यिनीहरूको नीति धेरै हदसम्म पारदर्शी छैन। धेरै पटक नियम उल्लंघनको नाममा ट्वीटरबाट समाचार हटाइन्छ र विश्वस्त हुने प्रतिक्रिया पनि आउँदैन। अर्को, हामी समाचारलाई प्रोत्साहन गर्दैनौं भनेर ट्वीटरले स्पष्ट रूपमा भनिसकेको अवस्था छ। अल्गोरिदमले कसरी काम गरिरहेको छ? हामी कस्तो समाज बनाइरहेका छौं? कुकुर-बिरालोको रील्स हेर्नेहरूलाई यदि त्यहीसँग सम्बन्धित मात्र भिडिओ पुग्छ भने एउटा राम्रो पत्रकारले त्यस्ता पाठकसम्म आफ्नो पहुँच कसरी स्थापित गर्न सक्छ? यस्ता विषयमा पनि विचार गर्न आवश्यक छ।
दक्षिणएशियामा पत्रकारिताको साझा अवसर र चुनौती के के हुन्?
दक्षिणएशियामा धेरै उत्साह देखिन्छ। कठोर शासकको बीचमा रहेर पनि निडर भएर आवाज उठाउने पत्रकार छन्। पाकिस्तान र श्रीलंकामा ज्यानको जोखिम नै मोलेर वास्तविक पत्रकारिता गरेको देखिन्छ। युवामा आफ्ना कुरा सम्बोधन होऊन् भनेर अत्यधिक उर्जा छ। दक्षिणएशिया पत्रकारिताका लागि उर्वर भूमि हो।
अवसरसँगै चुनौती पनि छन्। यस क्षेत्रमा लोकतन्त्रको अभ्यासमा सबै नयाँ छन्। योङ डेमोक्रेसी छ। लोकतन्त्रलाई भोट दिने व्यवस्थाको नाममा मात्र सीमित गर्ने अनुभव छ। लोकतन्त्रको बृहत् परिभाषा बुझाउन जरूरी छ। समाजमा शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा समस्या भएकाले कतिपय अवस्थामा स्वेच्छाचारी र तानाशाह शासक नै राम्रो भन्ने समूह पनि छ। यस्ता समूहलाई बुझाउन कहिलेकाहीं गाह्रो पर्छ।
भारतको अभ्यासलाई ध्यान दिंदै नेपालका पत्रकारले कहाँनेर सतर्क हुन जरूरी देखिन्छ?
पहिलो कुरा, नेपालको विविधता नै यहाँको सुन्दरता हो। म काठमाडौं उपत्यका घुमिरहँदा अनेकौं जातजातिका मान्छे भेट्टाइरहेकी छु। नेपालका लागि पनि र भारतका लागि पनि विविधता नै सुन्दर पक्ष रहँदै आएको छ। फरक फरक समूहका मान्छेहरू एकसाथ आएका छौं। यो कुरा बिर्सिनु हुँदैन।
दोस्रो, भारतमा विशेषगरी टेलिभिजन पत्रकारले निकै गलत भूमिका निर्वाह गरेका छन्। अल्पसंख्यक विरुद्ध बहुसंख्यकलाई नै अनाहकमा त्रास बढाउने र डर देखाउने, बारम्बार तपाईंलाई अरूभन्दा फरक देखाउने जस्ता गलत भूमिका निर्वाह गरिरहेका छन्। यसरी फैलाइने द्वेष र घृणाको राजनीतिले सबैलाई क्षति पुर्याउँछ। तसर्थ साम्प्रदायिक राजनीति गर्नेहरूसँग सतर्कता अपनाउनुपर्छ। सामुदायिक विभाजन ल्याउने राजनीतिक विचार र छलफललाई नकार्नुपर्छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारबारे प्राथमिकताका साथ रिपोर्टिङ गर्नुपर्छ।
एआईको युगमा नयाँ आउने पत्रकारले के-कस्तो तयारी गर्नुपर्दछ?
समाचार लेखन, प्रस्तुतीकरण, फोटोग्राफी, भिडिओ सम्पादन जस्ता पत्रकारिता गर्ने सबै माध्यम सिक्न जरूरी छ। हरेक माध्यममा अभ्यस्त हुनुपर्छ। समाचार वा स्टोरी लेखेर मात्र हुँदैन। बढीभन्दा बढी पाठक-दर्शक समक्ष कसरी पुर्याउने भन्ने सोच्नुपर्छ। डिजिटल मिडियामा पाठकलाई लामो समयसम्म कसरी सहभागी गराइराख्ने भन्ने कुराको तयारी गर्नुपर्छ। राम्रो पत्रकारिता भइरहेको संस्थान र परामर्शकर्ता/प्रशिक्षक खोज्नुपर्छ। आफूलाई राम्रा लाग्ने पत्रकारसँग भेटघाट गरिरहनुपर्छ। डिजिटल मिडियामा धेरै अवसर भएकाले आफूलाई तदनुकूल तयार गर्नुपर्छ। नयाँ तालीमहरू लिनुपर्छ।