चोभार गल्छी सफा गर्ने नाममा सभ्यता मास्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पछि हटेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जेठ १४ मा बसेको बैठकले अविरल वर्षाको वेला चोभार गल्छीका कारण नदी प्रवाहमा समस्या भएर डुबान हुने गरेको भन्दै नेपाली सेनासँगको समन्वयमा डुबानको समस्या समाधान गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो। प्राधिकरणको निर्णयमा भनिएको छ, ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकोले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिने।’
प्राधिकरणले सेनासँग समन्वय गर्न भनेकाले चोभार गल्छी काट्न खोजेको अर्थमा बुझियो। स्थानीय बासिन्दासँगै अभियन्ता पनि यसको विरोधमा उत्रिए। त्यसको कारण थियो, चोभार गल्छीसँग जोडिएको आस्था।
कीर्तिपुर नगरपालिका-६ स्थित चोभार गल्छीसँग मञ्जुश्रीलाई जोडेर हेर्ने गरिएको छ। तलाउ रहेको काठमाडौं उपत्यकाको पानी निकास गर्न मञ्जुश्रीले काटेको किंवदन्ती छ। त्यसैले सफा गर्ने नाउँमा सभ्यता मास्न नहुनेमा सरोकारवालाको जोड थियो।
कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको विषयलाई हलुका रूपमा लिएर गरिएको प्राधिकरणको निर्णय उचित नभएको बताउँछिन्।
चोभार गल्छी चलाउने प्राधिकरणको निर्णय कुनै हिसाबले पनि ठीक नभएको अध्येता तथा अभियन्ताहरूको भनाइ छ। राष्ट्रिय सम्पदा संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ प्राधिकरणले चोभार गल्छीको विषयमा सेनासँग जोडेर गरेको निर्णयले सम्बन्ध बिगार्ने काम गरेको बताउँछन्।
चर्को विरोधपछि प्राधिकरणले स्पष्टीकरण पनि दिएको छ। चोभार गल्छी काट्ने नभएर नदी प्रवाहमा हुने अवरोध हटाउन मात्र खोजेको जनाएको छ। तैपनि स्थानीय बासिन्दा र सरोकारवाला ढुक्क हुन सकेका छैनन्। काठमाडौं उपत्यकामा चोभार गल्छीले नभएर जथाभावी निर्माणले डुबान हुने गरेको संरक्षण अभियन्ता सुनील प्रजापतिको भनाइ छ।
स्थानीय बासिन्दा र अभियन्ताको विरोधपछि प्राधिकरण भने तत्कालका लागि चोभार गल्छी नचलाउने निष्कर्षमा पुगेको छ। स्थानीय बासिन्दाको इच्छा विपरीत कुनै काम नगर्ने निर्णय भएको प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा जनाउँछन्।
VIDEO