इजरायली आक्रमणको प्रतिरोधमा इरानले इजरायलका मुख्य ठेगानामाथि आक्रमण गरेपछि बढेको शस्त्रको लडाइँले ठूलो रूप लिएको छ। आफू युद्धबाट परै रहेको दाबी गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई पनि युद्धमा मिसाएका छन्। असार ७ गते राति अमेरिकाले इरानका तीन परमाणु अस्त्र राखिएका थलोमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरिरहेको छ।
बाहिरबाट हेर्दा परमाणु बम बनाउन थालेको भन्दै इजरायल-अमेरिकाले इरानमाथि आक्रमण गरे पनि अन्तर्य चाहिं धार्मिक ध्रुवीकरणलाई नै मुख्य मान्छन्, यो द्वन्द्वलाई अध्ययन गरिरहेका राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट । “त्यसैले फलस्तीनमा इस्लामी जनतामाथि आक्रमण गरिरहेको इजरायलले अहिले यहुदी देशमाथि खतरा हुन सक्ने भन्दै अर्काे इस्लामिक देशमाथि आक्रमण गरिरहेको छ,” भट्ट भन्छन्।
यसअघि इराकले परमाणु बम बनाउन थालेको आरोपमा इजरायलले आक्रमण गरेको थियो। त्यस लडाइँमा अमेरिकाले इजरायललाई प्रत्यक्ष सघाएको थियो।
यस्तो राजनीतिले विश्वको अर्थतन्त्रलाई कस्तो असर पार्ला? यो लडाइँ बढ्दै गएर अरब देशहरूमा फैलियोे भने त्यसले रेमिटेन्समा आधारित अर्थतन्त्र कहाँ पुग्ला? निकै चिन्ताजनक अवस्था रहेको भट्ट बताउँछन्।
अर्कातिर, अहिलेको वैश्विक राजनीतिको शक्ति अमेरिकाबाट क्रमशः चीनतर्फ ढल्किरहेकाले चीनको व्यापारिक स्वार्थ रहेको इरानमा उसको भूमिका पनि महत्त्वपूर्ण हुने भट्टको विश्लेषण छ।
त्यसमाथि रूसको इरानसँगको घनिष्ठ सम्बन्ध कतिसम्म छ भने, दुवै देश मिलेर परमाणु अस्त्र बनाउने अभियानमा सहकार्य गरिरहेका छन्। एकातर्फ इजरायल सहितको अमेरिका, बेलायत, जर्मन, फ्रान्स, क्यानडा, इटली र जापान सहितको ‘जी-सेभेन’ गठबन्धन र अर्कातर्फ रूस र चीन जस्ता शक्तिशाली देशको ‘ब्याकअप’ पाइरहेको इरानको अडानले कतै विश्वलाई नै युद्धमा तान्ने त होइन? विश्लेषण शुरू भइसकेको छ।
त्यसो भए अमेरिकाको सक्रिय सहयोगमा फलस्तीनबाट इरानतर्फ ढल्किएको इजरायली अस्त्रको लडाइँले विश्वलाई कता पुर्याउला? के यही लडाइँले वैश्विक परिदृश्य बदल्ला त? राजनीतिक विश्लेषक भट्टसँग हिमालखबर का लागि जेबी पुन मगर ले गरेको भिडिओ कुराकानी :
VIDEO