‘बिजुली बजार, नारायण चौर, सिफल, रत्नपार्कतिर गएर राजा पाइन्छ? आन्दोलनको रङ्गढङ्ग पुगेन, त्यसैले म अहिले चिन्तन-मननमा छु।’
आउँदो असारभित्रै राजतन्त्र फर्किने भविष्यवाणी गरेर संस्कृतिविद् जगमान गुरुङ राजावादीलाई आन्दोलनका लागि तयार गर्नतिर लागेका थिए। त्यसपछि राजावादीहरूले नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति पनि गठन गरे।
पत्रकार सुरेश रजक र सबिन महर्जनकाे ज्यान गएकाे तीनकुने घटनापछि केही राजावादी पक्राउ परे भने आन्दोलनको नेतृत्व गरेका सुवेदी नजरबन्दमा परे। त्यसपछि सुवेदीले गुरुङलाई नेतृत्व सुम्पेका थिए। तर, पछिल्लो समय उनी राजावादी आन्दोलनमा सहभागी नेताहरूसँग नै रुष्ट छन्। यसै विषयमा केन्द्रित रहेर गुरुङसँग हिमालखबरका लागि अर्चना दर्जीले गरेको कुराकानी :
धेरै दिन भयो सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन। के गर्दै हुनुहुन्छ?
आजभोलि म आन्तरिक चिन्तन-मननमा छु। फेरि चिन्ता होइन, चिन्तनमा र मननमा छु।
के कुराको चिन्तन-मननमा हुनुहुन्छ?
राष्ट्रियता, धर्म, संस्कृति, नेपालमा वैदिक सनातन अधिराज्यको स्थापना, संवैधानिक राजसंस्थाको स्थापनाका लागि के गर्ने, कसरी गर्ने भन्ने कुराकै चिन्तन-मननमा छु।
नवराज सुवेदी नजरबन्दमा परेपछि तपाईंले राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व पनि गर्नुभयो। अहिले आन्दोलन सेलाएको हो?
खै, अब आन्दोलन सेलाएको हो कि के भएको हो, म भन्न सक्दिनँ।
त्यतिखेर चाहिँ नवराज सुवेदीको संयोजकत्वमा जुन समिति गठन भयो, त्यो समितिमा केशरबहादुर विष्टले ‘म बस्दिनँ’ भन्नुभयो। कमल थापा, राजेन्द्र लिङ्देन र डा. राजेश अहिराज पनि बस्नुभएन।
अनि नवराज सुवेदी नजरबन्दमा परेपछि मलाई दिएको पत्रमा त ‘नेतृत्व सुम्पिएको छु’ भनिएको छ। तर, मैले नै आफूलाई ‘म कार्यवाहक संयोजक हो’ भनेर भनेको छु।
म कार्यवाहक संयोजक भएको वेलामा एउटा प्रतिबद्धता सभाको आयोजना भयो। त्यसमा मैले केशरबहादुर विष्ट र कमल थापालाई पनि बोलाएर आफ्नो प्रतिबद्धता जाहेर गर्न लगाएँ। राजेन्द्र लिङ्देनलाई पनि पटकपटक बोलाएको थिए, तर आउन भ्याउनुभएन। राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आएर प्रतिबद्धता जाहेर गर्नुभयो।
अनि नेपाली कांग्रेस (बीपी) का सुशीलमान शेरचनलाई भनेको थिएँ, कार्यव्यस्तता भएर आउनुभएन। अनि वरिष्ठ नेता कर्ण मल्ल आएर प्रतिबद्धता जनाउनुभयो। शिव सेनाका गङ्गा चौधरी आएर प्रतिबद्धता जनाउनुभयो। युवाहरूको प्रतिबद्धता कार्यक्रम गरें। त्यसमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नागरिक बचाउ महाअभियान, सरोकार मञ्चका युवा आएर प्रतिबद्धता जनाए।
तर, पछि नवराज सुवेदीको नजरबन्द फुकेपछि मेरो कार्यवाहक संयोजकको जिम्मेवारी सकियो। तैपनि संयुक्त जनआन्दोलन निर्देशक समितिको प्रमुख सल्लाहकारको रूपमा म छँदै छु अहिले पनि। मैले नवराज सुवेदीको नेतृत्वलाई मान्दछु। म भौतिक आन्दोलनमा नभए पनि मानसिक आन्दोलनमा छु।
नेपालमा वैदिक सनातन अधिराज्यको स्थापना, संवैधानिक राजसंस्थाको स्थापना र बहुदलीय प्रजातन्त्रको संस्थागत विकासका लागि २०८२ वैशाख १९ गते गोरखामा ठूलो यज्ञ गर्यौं। त्यसपछि २०८२ वैशाख २५ गते संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन शुरू गर्ने भनेर निर्णय गर्यो।
जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ, श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ भनेर नेपाल प्राज्ञिक मञ्चले तिथि निर्धाारण गरेको हो। तर, आन्दोलन समितिले जेठ १५ देखि मात्रै आन्दोलन शुरू गर्ने निश्चित गर्यो, देखिने खालको केही पनि गर्नुभएन।
उल्टै ‘जगमान गुरुङ त राजनीति गर्ने व्यक्ति होइन। त्यसले राजनीति जान्दैन। बाटोबाटोमा गएर पूजा गरी हिंड्ने व्यक्ति हो’ भनेर बात लगाए मलाई। म राजनीति नजान्ने ठहरिएँ। अब म राजनीति नजान्ने भएपछि राजनीति जान्नेहरूले नै भौतिक आन्दोलन गरून्, म त मानसिक आन्दोलनमा लागेको छु।
आन्दोलन समितिले राम्ररी रङ्गढङ्गसँग काम गरेन। किनभने जेठ १५ गते दिउँसो १२ बजे रत्नपार्कमा उपस्थित हुने र आन्दोलन गर्ने भन्यो। तर, पछि सरकारले जहाँ-जहाँ जति बजे जाऊ भन्यो, त्यसरी आन्दोलन भयो। सरकारको अनुकूलमा गर्ने हो र आन्दोलन!
अर्को, मैले जेठ ११ देखि श्री ५ एक्सनमा उत्रिनुपर्छ भनेको थिएँ तर उतातिर चियाबारीमा गएर बसे। जेठ १३ गते जनतासँग आह्वान गर्नुपर्छ भनेको थिएँ, आह्वान पनि आउँदैन। अनि, प्रधानमन्त्री केपी शर्मा ओलीले जे जे भने, त्यही अनुसार आन्दोलन गरे। बिजुली बजारतिर, नारायण चौरतिर, सिफलतिर, रत्नपार्कतिर गएर राजा पाइन्छ? आन्दोलनको रङ्गढङ्ग पुगेन, त्यसैले म अहिले चिन्तन-मननमा छु।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खा लागेकाले आन्दोलन स्थगित गरेको भनेका छन्। राजावादी आन्दोलन हिउँदमा मात्रै गर्न सकिने हो?
राजेन्द्र लिङ्देनको कुरा राजेन्द्र नै जानून्। नवराज सुवेदीको कुरा सुवेदी नै जानून्। स्वागत नेपाल पनि ‘लोभी र अहङ्कारी बूढाहरूको कारणले जनभावना तुहियो, अब युवाले नेतृत्व लिनुपर्छ, युवा पनि बाहुन-क्षेत्री होइन, जनजाति युवाले नेतृत्व लिनुपर्छ’ भनेर ‘लबिङ’ गर्दै हुनुहुन्छ।
अब आन्दोलनको कुरा नवराज सुवेदी जानून्, राजेन्द्र लिङ्देन जानून्, स्वागत नेपाल जानून्, म केही पनि जान्दिनँ।
मान्छेहरू त जनसमर्थन नभएपछि बाध्य भएर आन्दोलन रोक्नुपरेको भनिरहेका छन् नि?
यो कुरा पनि कि जनता जानून्, कि राजा जानून्, कि ती तीन जना (राजेन्द्र लिङ्देन, नवराज सुवेदी र स्वागत नेपाल) जानून्। तपाईंलाई म यति भन्छु कि म अहिले आन्तरिक चिन्तनमा छु। अब असार लागेपछि के कसो हो भनेर अलिकति तात्तिन्छु।
राजावादीहरूबीचकै वैमनस्यले पनि आन्दोलन असफल भएको हो?
आन्दोलन गर्नेलाई आन्दोलन गर्न दिनुपर्यो नि! म त भौतिक आन्दोलन गर्ने मान्छे होइन, मानसिक आन्दोलन गर्ने मान्छे हो। धार्मिक आन्दोलन, सांस्कृतिक आन्दोलन गर्ने व्यक्ति हुँ। मलाई त राजनीति नजान्ने, नगर्ने, मन्दिरमा गएर पूजापाठ गर्ने व्यक्ति हो भन्ने ‘ट्याग’ लागेपछि भौतिक आन्दोलन त्यागेको हुँ। तर, मानसिक आन्दोलन त जारी छ।
अझ बर्खामा आन्दोलन नगर्ने, लोभी र अहङ्कारी बूढाहरू भन्ने ट्याग लगाएको छ। के कारणले लोभी भए? के कारणले अहङ्कारी भए? त्यो त सावित गर्नुपर्छ। त्यसै बात मात्र लाएर भएन। किन बात लगाएको, त्यो त भोलि गाली–बेइज्जतीमा पर्न सक्छ। त्यत्तिकै भन्न पाइयो?
राजेन्द्र लिङ्देन, कमल थापाहरूसँग यहाँको बेमेल हो?
मेरो कसैसँग बेमेल छैन। उहाँहरूलाई सद्ज्ञान, सद्बुद्धि प्राप्त होस्। भौतिक आन्दोलनमा अझै सफल होऊन् भन्ने मेरो शुभकामना!
यहाँले असारभित्रै राजतन्त्र फर्किने भविष्यवाणी गर्नुभएको थियो। भविष्यवाणी त मिलेन नि?
मैले त जेठ १५ मै भनेको थिएँ। सांस्कृतिक रूपमा त राज्याभिषेक गरिसक्यौं, १८ वर्षपछि राजालाई लगेर नारायणहिटी दरबारमा हुल्यौं। नारायणको पनि दर्शन गरायौं। मानसिक रूपमा सफल छौं। अब भौतिक रूपमा चाहिँ आन्दोलनकारी र राजा स्वयंको दायित्व हो।
त्यसो भए अब राजतन्त्र फर्काउने आन्दोलन पुग्यो?
हामीले त सांस्कृतिक, मानसिक रूपले अभिषेक गरिसक्यौं, अब भौतिकवादीहरूले गर्न बाँकी छ। त्यो अहिले आन्दोलनको नेतृत्व गर्नेहरूको दायित्व हो। राजेन्द्र लिङ्देन, नवराज सुवेदी र स्वागत नेपालले जानून्।