नेकपा (एमाले)को झोले अभियानबारे सबै किसिमका आस्था र विचार बोकेका मानिसहरूको सार्वजनिक टीकाटिप्पणी अनुसार यसले पार्टीको छवि थप खस्काएको छ।
भानुभक्त आचार्य
गत जेठ १९ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ लेखिएको पोस्टर सार्वजनिक गरे। लगत्तै एमालेका अन्य नेता–कार्यकर्ताले ओलीको अनुसरण गर्दै झोले स्वघोषणा गरिएको आआफ्नो फोटो सामाजिक सञ्जालमा धमाधम राख्न थाले।
यस अभियानको मुख्य उद्देश्य सत्तारूढ एमालेका कार्यकर्ताको घट्दो मनोबल उकास्नु हो। सामाजिक सञ्जालमा पार्टी कार्यकर्तालाई ‘झोले’ भन्दै आलोचना हुने क्रम बढेपछि ढाडस दिन शीर्ष नेताहरूले आफूलाई नै झोले भन्ने स्वघोषणा गरेका पोस्टर अभियान चलाए।
तर यो पोस्टर अभियान अपरिपक्व र कच्चा खेलका रूपमा आएको छ। प्रधानमन्त्री वा एमाले नेतृत्वले बुझ्नुपर्ने हो, अघिल्ला दुई कार्यकालभन्दा यस पटकको सत्तारोहणमा लोकप्रियता घट्दो छ। सत्ता चलाउने रणनीतिले अपेक्षित काम गर्न सकेन। एमालेभित्र प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पद्धतिलाई विस्थापित गर्न खोजिएको छ। आलोचना गर्नेलाई पार्टीबाट निष्कासन/निलम्बन गरिएको छ वा ‘आलोचना गर्ने भए पार्टी छोड’ भन्ने मौखिक निर्देशन छ। यसबाट पार्टीभित्र आलोचना गर्ने र फरक मत राख्नेको मुख थुनिएको छ। भ्रष्टाचारीलाई काखी च्यापिएको छ। ‘यो शैली र प्रवृत्ति ठीक भएनछ, अब हामी सच्चिएर अघि बढ्छौं’ भन्ने संकल्प लिनुपर्ने हो। तर एमाले नेतृत्वले आफ्नो अलोकप्रियतालाई ठीक उल्टो बुझेको छ। यो अभियान त ‘हो, म झोले नै हो, के गर्छस्, लु आइज’ भन्ने शैलीमा जनतासँग निहुँ खोजे जस्तो भयो।
‘झोले’ आरोपको पृष्ठभूमि
वर्तमान सरकार निर्माण भएदेखि नै संसद्का दुई ठूला दल मिलेर सरकार बनाउँदा मनमानी र तानाशाही प्रवृत्ति बढ्ने टिप्पणी विपक्षी दल लगायतले गर्दै आएका थिए। सत्तारूढ दलका नेताहरूले भने देशलाई अस्थिरताबाट जोगाउन र सुशासनका लागि दुई ठूला दल सम्मिलित सरकार बनाएको तर्क गर्दै आएका छन्। तर बलियो सरकार बन्दा पनि सुधारका संकेत देखिएका छैनन्।
बरु सत्तारूढ दलका शीर्ष नेताहरूमाथिका भ्रष्टाचार आरोपबारे छानबिन हुन नदिन र सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई हुनसम्मको हैरानी दिएर जनताको ध्यान मोड्ने ध्याउन्नमा सरकार छ भन्ने धेरैलाई लागेको छ। यी सबै घटनाक्रम र परिवेशको तारो बनेका छन्, एमालेका नेता-कार्यकर्ता।
नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावकारी छैन भने गिरीबन्धु टी–स्टेटको जग्गा सम्बन्धी विवादमा गहिरो छानबिन हुने संकेत देखिएको छैन। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउँदा गृह मन्त्रालय समेतको संलग्नतामा पैसा खाएको आरोप कांग्रेसमाथि छ। यस मुद्दामा कांग्रेसका नेता-कार्यकर्ता छानबिनको दायरामा छन्।
त्यसैगरी, झापास्थित गिरीबन्धु टी–स्टेटले चिया बगानका लागि पाएको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिनेगरी विगतमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरिसकेको छ। ‘हदबन्दी तोकिएको जग्गा अन्य प्रयोजनका कानून बनाएर पनि चलाउन पाइँदैन’ भनी सर्वोच्चले गरेको फैसलाले गिरीबन्धु प्रकरणमा तत्कालीन सरकारको बदनियत रहेको शंकालाई बल पुर्याउँछ।
ओली नेतृत्वको वर्तमान सरकार दुईतिहाइ बहुमत भएको शक्तिशाली सरकार हो। गणितीय हिसाबमा शक्तिशाली देखिए पनि कार्यशैली मिलिजुली चुनावी सरकार जस्तो छ। संविधान संशोधन र समृद्ध नेपाल निर्माणका लागि गठन गरिएको भनिए पनि वर्तमान सरकारसँग कुनै स्पष्ट कार्यादेश र महत्त्वाकांक्षी योजना छैन। केवल सत्ता टिकाउने, आआफ्ना स्वार्थहरूको रक्षा गर्ने, नयाँ र साना दलहरूमाथि दमन गर्ने र २०८४ सालको चुनावमा आफ्नो दलको बहुमत पुर्याउने ध्याउन्न छ। पटक पटक सत्तामा पुगेका, भ्रष्टाचारका आरोप खेपेका, गतिलो कार्यशैली नभएका प्रधानमन्त्री र मन्त्रीहरू छन्। त्यसैले सरकार शक्तिशाली भए पनि जनता निराश छन्। सरकारले जनअपेक्षालाई सम्बोधन गर्न नसकेको, सरकार र यसमा सहभागी नेताका कमजोरीको बचाउ गर्न एकोहोरिएको असन्तुष्टिस्वरूप अहिले एमाले नेता-कार्यकर्ताले ‘झोले’ भन्ने आरोप खेपिरहेका छन्।
‘झोले’को भाषिक गूढार्थ
पत्रकार डिल्ली आचार्यले ‘झोले’ को शाब्दिक अर्थ बुझाउन नेपाली शब्दकोश एपको स्क्रीनशट आफ्नो फेसबूक प्रोफाइलमा राखेका थिए। जसमा झोले शब्दका तीन अर्थ दिइएको छः १. अर्कोको झोला बोक्ने। २. झोल भएको, रसदार। ३. झोला भिरेर हिंड्ने। यी अर्थमध्ये नेपाली बृहत् शब्दकोश (२०७५ साल)ले त दोस्रोलाई मात्रै चिन्छ। तर अब एमालेको झोले अभियानपछि त्यस शब्दार्थमा अर्को अर्थ पनि थप्नुपर्ने देखिन्छ– ‘एमालेको बफादार कार्यकर्ता’।
झोले अभियानको कुरा गर्दा यो देशका एक दर्जनभन्दा बढी विश्वविद्यालयका कुलपति एवम् मातृभाषा नेपाली भएका व्यक्तिले चलाएको अभियानको भाषा त्रुटिपूर्ण छ। व्याकरणको हिसाबले ‘म झोले हो’ वाक्य अशुद्ध छ। ‘म झोले हुँ’ भन्नुपर्छ। कार्यकर्ताको मनोबल उकास्ने र आरोपलाई ऊर्जामा रूपान्तरण गर्ने उद्देश्य भए पनि यस अभियानले एमालेका नेता-कार्यकर्ताको हतास मनस्थिति उजागर गर्छ र थप बदनाम बनाउन उद्यत देखिन्छ।
वास्तवमा झोले हुनु भनेको के हो? सर्वसाधारण जनताले कुनै राजनीतिक दलको कार्यकर्तालाई ‘तँ झोले होस्’ भन्यो भने त्यसको शाब्दिक वा राजनीतिक अर्थ जे भए पनि सामाजिक अर्थ कसैको झोला बोक्नु भन्ने मात्र होइन। झोले हुनु भनेको कुनै अमुक नेता वा दलको दास हुनु हो। आफ्नो विवेक, ज्ञान वा क्षमता सकिएर कुनै नेताले जे भन्छ त्यसमै ‘हो मा हो’ मिलाउनु हो। आलोचनात्मक चेत गुमाउनु हो। आफ्नो विवेक बन्धकी राखेर विधिको शासनलाई लत्याउनु हो। नेतातन्त्रलाई आत्मसात् गर्नु हो। आलोचना र प्रतिस्पर्धाबाट डराउनु हो। कुनै नेताको अन्धसमर्थन गर्दै उसबाट व्यक्तिगत लाभ लिने प्रयत्नु गर्नु हो।
कार्यकर्ताज्यूहरू, यसो सम्झिनुस् त– के तपाईंसँग पनि यसरी झोले भएको अनुभव छ? छैन भने तपाईं झोले होइन। हतारहतार ‘म झोले हो’ भन्ने पोस्टरमा फोटो टाँसेर आफूलाई झोले प्रमाणित नगर्नुहोस्। सत्तामा बसेर तर मारिरहेका कतिपयलाई त फरक नपर्ला, उदाउँदो भविष्यको रेखा कोर्दै गरेको तपाईंलाई झोले पोस्टरले भविष्यका अवसरमा तगारो हाल्न सक्छ।
वामपन्थी कि झोले?
कुनै वेला एमाले नेपाली वामपन्थीहरूको आदर्श पार्टी थियो। कार्ल मार्क्स, लेनिन, पुष्पलाल आदि यसका विचारक थिए। मदन भण्डारीले त नेपालको राजनीतिक परिस्थिति अनुकूल जनताको बहुदलीय जनवाद (जबज) भन्ने दृष्टिकोण नै दिएर एमालेलाई वाम आन्दोलनको अग्रणी बनाइदिएका थिए।
बहुदलीय लोकतान्त्रिक अभ्यासको संरचनाभित्र रहेको एमाले उवेलाको माओवादी जस्तो उग्रवामपन्थी नभई पनि राजनीति गर्न सकिन्छ भन्ने गजब उदाहरण थियो, एक दशकअघिसम्म। तर अहिले एमाले नेता-कार्यकर्ता ‘हो, हामी झोले नै हौं’ भन्ने रक्षात्मक अवस्थामा आइपुगे। एमाले पार्टीका धेरै ‘झोले कार्यकर्ता’ अहिले वामपन्थी छैनन्। कतिपय ‘रामपन्थी’ र बहुसंख्यक ‘दामपन्थी’ भइसके। कुनै वेला विनोद चौधरी र दुर्गा प्रसाईंहरू पैसाको बिटो बुझाएर एमालेका अग्रपंक्तिका कार्यकर्ता भएका थिए। अहिले भाटभटेनीका साहु मीनबहादुर गुरुङ डेढ अर्ब रुपैयाँभन्दा बढीको जग्गामा पार्टी कार्यालय बनाइदिएर पार्टी अध्यक्षका दाहिने हात बनेका छन्।
पारदर्शी आयस्रोत विना नै करोडपति भएका बहुसंख्यक एमाले नेता-कार्यकर्ताले ‘म वामपन्थी हो’ भनेर झोले अभियानको जस्तो पोस्टर सार्वजनिक गर्न सक्ने ल्याकत छैन। उदाहरणका लागि, पञ्चायतकालमा ‘बसाइ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ। लाखौंका लागि उजाड छ यो देश, मुठीभरलाई स्वर्ग छ’ भन्ने एमालेको सांगीतिक अभियान थियो। अहिले त्यही गीत गाउँदा यती, ओम्नी, गिरीबन्धु, भाटभटेनी, ललिता निवास आदि काण्ड सम्झेर जनता उत्तेजित हुने खतरा छ। तसर्थ झोले पोस्टर सार्वजनिक गर्नु अहिलेका लागि सबैभन्दा सजिलो, छिटो र मितव्ययी अभियान हो।
पोस्टरको शृंखला
एमाले नेतृत्वलाई झोले भन्ने आरोप निकै बिझे जस्तो छ। तसर्थ म झोले हो भन्ने अभियान चलाएर त्यस आरोपलाई सामान्यीकरण गर्न लागेको छ। प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरोधी अभियान चलाउँदै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको अनुहार समेत हेर्दिनँ’ भनेका थिए। तर यती, ओम्नी, गिरीबन्धु, ललिता निवास आदि अनेक काण्ड सतहमा आए।
यस पटक प्रधानमन्त्री ओलीले भाटभटेनी जग्गादान विरुद्ध अभिव्यक्ति दिने दुई वफादार कार्यकर्तालाई कारबाही नै गरे। साथै, हालै गृह मन्त्रालयको मिलेमतोमा भिजिट भिसामा जानेहरूसँग पैसा असुलेर दैनिक ५० लाख रुपैयाँ उठाएको भन्ने आरोप खेपेका गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्रीले काखी च्यापे। अब एमाले नेता-कार्यकर्तालाई सबैले भ्रष्ट भने भन्दैमा ‘हो, म भ्रष्टाचारी हुँ’ भन्ने पोस्टर सार्वजनिक गर्न सकिन्छ?
अर्को कुरा, गणतान्त्रिक शासन व्यवस्थामा अलोकप्रिय काम गरेर राजावादी आन्दोलनलाई मलजल गरेको श्रेय सत्तारूढ दलहरूलाई छ। यो गणतन्त्र भएन, नेतातन्त्र भयो, एउटा राजा गएर थुप्रै राजाको लूट चल्यो भन्ने आरोप छ। यस्तै, सत्ताको दुरूपयोग गरेर आफू विदेशमा उपचार गराएको खर्च राज्यको ढुकुटीबाट असुल्छन्, जनता चाहिं देशभित्र सामान्य उपचार नपाएर मरिरहेछन् भन्ने असन्तुष्टि छ। अब ‘म राजावादी हुँ’ भन्ने अर्को पोस्टर पनि निकाल्ने कि?
एमालेले पोस्टर जारी गर्नुपर्ने आत्मस्वीकृतिका यस्ता अरू कति अभियान होलान्। सर्वसाधारणका आरोप चिर्नेगरी सच्चिने कि गतिछाडा शैलीमा ‘हो, म त्यही हो’ भनेर आरोपकै ब्रान्डिङ गर्ने?
उपसंहार
एमालेका कार्यकर्तालाई धेरैले झोले भने भन्ने मनोवैज्ञानिक दबाबलाई सामान्यीकरण गर्न, एमालेकै भाषामा ‘शोकलाई शक्तिमा बदल्न’ प्रधानमन्त्री ओलीले जेठ १९ गतेदेखि म झोले हुँ भन्ने अभियान चलाए। संयोग कस्तो परेछ भने, राजा वीरेन्द्रको वंशनाश भएको र राजतन्त्रको पतन शुरू भएकै दिन झोले अभियान आरम्भ भएछ।
अर्को कुरा, केही दिनअघि प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको योगदानलाई अवमूल्यन गर्नेगरी सार्वजनिक टिप्पणी गरेका थिए। लगत्तै उनले सामाजिक सञ्जालमा खासगरी राजावादीहरूबाट चर्को आलोचना बेहोरे। तब, त्यसलाई समेत परोक्ष ढंगले जवाफ दिने उद्देश्यले झोले अभियानको व्याख्या गरिएको छ– ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिंड्नु कैयौं गुणा उत्तम चरित्र हो।’
हुन त को कुन दलको झोले कार्यकर्ता हो भनेर चिन्न पोस्टरमै फोटो सार्वजनिक गरिरहनु पर्दैन। उसका दुई-चार गतिविधिले थाहा भइहाल्छ। तसर्थ झोले ब्रान्डिङ गरेर अहिलेका बफादार कार्यकर्तालाई भविष्यसम्म पनि असर पार्नेगरी नडामेकै राम्रो।
झोले अभियानले तत्कालका लागि एमाले पार्टी र नेता-कार्यकर्ता पंक्तिलाई आलोचनालाई भुत्ते पार्न रक्षात्मक टेको दिएको होला। तर सबै किसिमका आस्था र विचार बोकेका मानिसहरूको सार्वजनिक टीकाटिप्पणी हेर्दा यस अभियानले एमालेको छवि थप खस्काएर बदनामीतर्फ डोर्याएको छ।