बाउछोरालाई तल्लोबाटो अमेरिका पठाउँदा ऋण निकालेका रुकुम पश्चिमका कैयौं महिला चर्को ब्याजको चक्रव्यूहमा परेर गाउँघर छोड्न बाध्य छन्।
रुकुम पश्चिमकी ३५ वर्षीया विमला घर्ती बुढा मगर एक महीनादेखि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर धाइरहेकी छन्। दिनदिनै प्रहरी कार्यालय पुग्ने गरेकी उनी साँझ भने निराश भएर कोठातिर फर्किन्छिन्। “हरेक दिन आउँछु। प्रहरीले निवेदन दर्ता गरेको छैन,” विमला दिक्क मान्दै भन्छिन्। पाँच लाख रुपैयाँको सावाँ-ब्याज गरी ६० लाख बुझाइसक्दा पनि ऋण चुक्ता नभएपछि उनी गाउँ छोडेर काठमाडौं आएकी हुन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१, सल्लेकी विमला गत चैत दोस्रो साता काठमाडौं आएकी हुन्। त्यसको केही दिनपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेकी थिइन्। मौखिक रूपमा जानकारी गराउँदा कारबाही प्रक्रिया अघि नबढेपछि वैशाख १० मा लिखित जाहेरी दिइन्, अनुचित लेनदेन र संगठित अपराध सम्बन्धी कसूरमा।
प्रहरी परिसर, काठमाडौंको चौथो तलामा मिटरब्याज लेनदेन सम्बन्धी जाहेरी लिने उजुरी शाखा छ। विमलाले दिएको जाहेरी दरखास्त पनि उजुरी शाखाकै टेबुलमा थन्किएको छ। हरेक दिन उजुरी शाखामा पुगेर हारगुहार गर्दा पनि दर्ता नभएको गुनासो गर्छिन्।
VIDEO
आफ्नो क्षेत्राधिकार नभएको भन्दै काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहरा रुकुम पश्चिमको क्षेत्राधिकार भएकाले काठमाडौंमा जाहेरी दर्ता नगरिएको प्रतिक्रिया दिन्छन्। “रुकुममै जानुहोस् भनेर पठाएका छौं। रुकुममा कारोबार भएकाले यसको थप कारबाही उतै हुन्छ,” बोहरा भन्छन्।
विमला भने रुकुम पश्चिम जान सक्ने अवस्था नै नरहेको बताउँछिन्। त्यसको कारण हो, श्रीमान्लाई अमेरिका पठाउन गाउँघरबाट निकालेको ऋण। प्रहरीमा दिएको जाहेरीमा रुकुम पश्चिमकै लहरपुरी पुन मगर, पुतली खत्री, राजकुमारी बुढा, चन्द्रकला पोखरेल, चन्द्री महतारा, बनिता मल्ल पुन र तुलसा केसीलाई विपक्षी बनाएकी छन्।
उनीहरूसँग गरेका ब्याकिङ र नगद कारोबारको हरहिसाब टिपोट गरेर दिनदिनै प्रहरीलाई देखाइरहेकी छन्। पछिल्ला तीन वर्षमा तीन वटा ब्यांक मार्फत भएका कारोबारको ६९ पृष्ठको ‘ब्यांक स्टेटमेन्ट’ पनि बोकेकी छन्। महालक्ष्मी विकास ब्यांकको ५१, ग्लोबल आईएमई ब्यांकको १२ र एभरेस्ट ब्यांकको ६ पृष्ठको स्टेटमेन्टमा करोडौंको कारोबार भएको देखिन्छ।
विमला घर्ती बुढा मगरले कारोबार गरेको ब्यांकका ‘स्टेटमेन्ट’।
एकातिर गाउँघरकै मान्छे विरुद्ध प्रहरीमा पुगेपछि गाउँ फर्किन गाह्रो भएको छ भने अर्कातिर ऋणका कारण परिवारसँगको सम्बन्ध पनि बिग्रिएको छ। जसले गर्दा दुई छोराछोरी बोकेर काठमाडौं आएकी विमला आफन्तको कोठामा आश्रय लिएर बसिरहेकी छन्। प्रहरीले रुकुम पश्चिम नै जानुपर्ने बताएपछि अलमलमा परेकी छन्। “काठमाडौं आएको एक महीनाभन्दा बढी भयो। अर्काको कोठामा कति दिन बस्न सकिन्छ र! कहाँ जाने, के गर्ने कुनै टुंगो लागेको छैन,” उनी भन्छिन्।
पाँच लाखको दुई वर्षमै ६० लाख!
२०६७ सालमा लक्ष्मण बुढासँग विमलाको बिहे भएको थियो। त्यतिखेर दुवै जागीरे थिए। लक्ष्मणले ओभरसियर पढेका थिए भने विमला पनि गैरसरकारी संस्थामा काम गर्थिन्। बिहेपछि जीवन ठीकठाक चलिरहेको थियो।
एकाएक लक्ष्मणलाई विदेश जाने रहर पलायो। ईपीएस उत्तीर्ण भएर २०७० सालमा कोरिया गए। कमाइ पनि राम्रै थियो। जग्गाजमीन जोडे, घर बनाए, गरगहना किने। आर्थिक अवस्थामा सुधार हुँदै गयो। पाँच वर्षपछि लक्ष्मण कोरियाबाट घर फर्किए।
२०७८ सालको शुरूआतमै हो, एकदिन कसैले लक्ष्मणलाई ‘अमेरिका सपना’ सुनाए। त्यो वेला रुकुम, रोल्पा र दाङका धेरै युवा तल्लोबाटो अमेरिका जाने लहर चलेको थियो। उनमा पनि अमेरिका उडान भर्ने रहर जाग्यो।
नभन्दै लक्ष्मणले २०७८ चैतमा तल्लोबाटो हुँदै अमेरिका जान घर छोडे। त्यसका लागि ४६ लाख रुपैयाँ जुटाएका थिए। सबै पैसा दलाललाई बुझाइसकेका थिए। तर आजको भोलि अमेरिका पुग्ने कुरै थिएन। बाटामा मात्र आठ महीना बित्यो।
बाटाको यात्राका लागि पनि आवश्यक पैसा विमलाले गाउँबाट ऋणपान गरेर पठाइन्। “आठ महीनापछि अमेरिका पुग्नुभयो। अमेरिका पुगेपछि ४० दिन जेल पर्नुभयो। त्यो वेला थप पैसा लाग्यो,” विमला भन्छिन्, “शुरूआतमा दलाललाई दिएको ४६ लाख पनि ऋणै हो। पछि पनि ऋण निकालें।”
लक्ष्मणका लागि विमलाले वर्षदिनसम्म नेपालबाट पैसा पठाइरहिन्। ऋण निकालेरै पैसा पठाएको उनी सुनाउँछिन्।
अमेरिकामा रहेका श्रीमान्का लागि गाउँकै लहरपुरी पुन मगरसँग २०७९ कात्तिक १८ गते पाँच लाख रुपैयाँ निकालेकी थिइन्। लहरपुरीले नगदै दिएको उनी बताउँछिन्। महीनाको दुई लाख ५० हजार गरेर दुई महीनामा तिर्ने मौखिक सहमति थियो। ऋण निकाल्दा विमलाले हस्ताक्षर गरेर लहरपुरीलाई खाली चेक दिएकी थिइन्। रुकुम पश्चिममा अमेरिका जानेहरूले ऋण निकाल्दा विश्वासका लागि साहुकारलाई हस्ताक्षर गरेको खाली चेक दिने गरिन्छ।
मोबाइल ब्यांकिङबाट रकम तिरेको रसिद पनि जम्मा गरेर राखेकी छन्।
अमेरिका पुगेका श्रीमान्ले पैसा पठाउलान् र तिरुँली भन्ने सोचेकी विमलाले उल्टै रुकुम पश्चिमबाट अमेरिका पैसा पठाउनुपर्यो। लहरपुरीको पाँच लाख रुपैयाँ समयमै तिर्न सकिनन्। समयमा पैसा बुझाउन नसके ‘सय कडा १०’ का दरले ब्याज तिर्नुपर्ने मौखिक सहमति थियो। त्यो भनेको १०० रुपैयाँ सावाँको वर्षको १२० रुपैयाँ ब्याज हो।
वर्षदिनसम्म ऋण तिर्न सकिनन्। सावाँभन्दा ब्याज बढी भयो। ब्याजको पनि ब्याज थपिंदै गयो। तर अमेरिकाबाट पैसा आएन।
चर्को ब्याजको ऋण तिर्न छिमेकी सुनीता पुनको घर धितोमा राखेर २०७९ फागुनमा ब्यांकबाट १२ लाख ५० हजार रुपैयाँ निकालिन्। चिनजानको भएकाले सुनीताले ऋण निकाल्न सघाएकी थिइन्। त्यो सबै पैसा लहरपुरीलाई बुझाएको उनको भनाइ छ।
त्यसले नपुगेपछि २०८१ जेठ ५ मा धनमाया बुढाथोकीलाई स्वावलम्बन सहकारीबाट ऋण निकाल्न लगाइन्। सहकारीबाट निकालेको सात लाख रुपैयाँ लहरपुरीलाई दिएको उनी सुनाउँछिन्। फेरि २०८१ भदौ २४ मा सुन बेचेर ६ लाख ५० हजार रुपैयाँ दिएको उनको भनाइ छ।
लहरपुरी पुनको ऋण तिर्न विमला घर्ती बुढा मगरले बेचेका गरगहनाका बिल।
त्यतिले पनि पुगेन, फेरि ऋण निकालिन्। २०८१ पुस २१ गते सुनीता पुनबाट १२ लाख ऋण लिएर लहरपुरीलाई दिएको उनी सुनाउँछिन्। त्यस्तै, २०८१ माघ ५ मा बासमती बोहराबाट दुई लाख ५० हजार मागेर बुझाएको उनको भनाइ छ। यो सबै उनले कागजमा टिपोट गरेर राखेकी छन्।
अहिलेसम्म थुप्रै मान्छेबाट ऋण निकालेर लहरपुरीलाई ६० लाख रुपैयाँ बुझाइसकेको विमलाको भनाइ छ। त्यसमध्ये ६ लाख ५० हजार रुपैयाँ मात्रै ब्यांक खाता मार्फत दिएको उनी बताउँछिन्। “ऋण पनि सकिएको छैन, पैसा नि छैन,” उनी भन्छिन्।
लहरपुरी भने विमलाबाट अझै पैसा लिन बाँकी रहेको दाबी गर्छिन्। हिमालखबर सँगको टेलिफोन कुराकानीमा विमलालाई दिएको ऋण र अहिलेसम्म लिएको पैसाबारे खुलाउन चाहिनन्। उनी भन्छिन्, “विमलाबाट ५५ लाख रुपैयाँ लिन बाँकी छ।”
कागज नगरी ऋण लिनुमा विमलाकै दोष रहेको लहरपुरीको भनाइ छ। “पैसा चाहिने वेलामा दिदी भनेर माग्ने, अहिले ठग्यो भन्न पाइन्छ?,” उनी प्रश्न गर्छिन्, “त्यो पढेकी मान्छेले विना कागज किन पैसा लिई?”
लहरपुरीले उल्टै ५५ लाख रुपैयाँको चेक ‘बाउन्स’ गराएकी छन्। विमलाको खातामा पर्याप्त रकम नभएको भन्दै सिद्धार्थ ब्यांकले गत असोज १० मा चेकलाई ‘बाउन्स’ गरेको छ।
विमलालाई दिएको ऋण र उनीबाट असुल गरेको पैसाका विषयमा बताउन चाहिनन्। अब विमला विरुद्ध चेक अनादरको मुद्दाको हाल्ने तयारी गरिरहेको उनको भनाइ थियो।
विमला घर्ती बुढा मगरले दिएको खाली चेकमा ५५ लाख लेखेर लहरपुरी मगरले ‘बाउन्स’ गराएको चेक।
विमलाको ऋणको यस्तो चक्र चन्द्रकला पोखरेलसँग पनि चल्यो। लक्ष्मण अमेरिका जानुअघि विमलाले चन्द्रकलाबाट १३ लाख रुपैयाँ लिएकी थिइन्। हरेक महीना पाँच लाख ५० हजारका दरले बुझाउने मौखिक सहमति थियो। तर आठ महीना लामो यात्रा र अमेरिका पुगे लगत्तै जेल परेपछि लक्ष्मणले पैसा पठाउन सकेनन्। समयमै तिर्न नसक्दा ब्याजमाथि ब्याज थपियो।
त्यसपछि विमलाले ऋण लिंदै चन्द्रकलालाई तिर्न थालिन्। “अहिलेसम्म एक करोड ७६ लाख रुपैयाँ दिइसकें,” विमला भन्छिन्। त्यसमध्ये भीमबहादुर खड्काको नाममा ग्लोबल आइएमई ब्यांक खाता मार्फत १८ लाख ३५ हजार रुपैयाँ चन्द्रकलालाई दिएको रेकर्ड छ। अरू एक करोड ५७ लाख ६५ हजार रुपैयाँ भने पटक पटक गरी नगदै दिएको उनको भनाइ छ।
त्यसका लागि उनले लीला बोहराबाट ३६ लाख रुपैयाँ ऋण लिइन्। त्यस्तै, सुभद्रा दाहालबाट १० लाख र नितु बोहराबाट ४० लाख रुपैयाँ ऋण लिएको उनी सुनाउँछिन्। सुन बेचेर ६ लाख ५० हजार रुपैयाँ बुझाएको उनको भनाइ छ। उनीसँग सुन बेचेको बिल पनि छ। अरू रकम दिएको भने कागजात गरिएको छैन।
लहरपुरी जस्तै चन्द्रकलाले पनि विमलाले दिएको खाली चेकमा ४५ लाख रुपैयाँ भरेकी छन्। ग्लोबल आइएमई ब्यांकमा रहेको विमलाको खाताको चेकमा गत फागुन ४ गतेको मिति राखिएको छ। उनले त्यही चेक ‘बाउन्स’ गराएर चेक अनादरको मुद्दा हाल्ने तयारी गरेकी छन्।
विमला घर्ती बुढा मगरले दिएको खाली चेकमा चन्द्रकला पोखरेलले भरेको ५४ लाख रुपैयाँ। यही चेकलाई ‘बाउन्स’ गराएर मुद्दा हाल्ने धम्की दिने गरेको विमला बताउँछिन्।
चन्द्रकलाले विमलासँगको कारोबारबारे कुराकानी गर्न चाहिनन्। हिमालखबर सँगको टेलिफोन सम्पर्कमा उनले सबै कुरा अदालतमै बताउने प्रतिक्रिया दिइन्। “म अदालती प्रक्रियामा अघि बढिसकेको छु, त्यहीं सबै भन्छु,” चन्द्रकलाको जवाफ थियो।
अमेरिका हिंडेका श्रीमान्लाई पैसा पठाउन विमलाले ऋण निकालेका थुप्रै जनामध्ये तेस्रो व्यक्ति हुन्, चन्द्री महतारा। चन्द्रीबाट २०८० वैशाख २९ मा नौ लाख ऋण लिएकी थिइन्। हरेक महीना एक लाख ६५ हजारका दरले बुझाउने सहमति भएको थियो।
ऋण लिएपछिका शुरूआती केही महीनासम्म विमलाले सहमति अनुसार ऋण तिर्न सकिनन्। पछि अरूबाट ऋण निकाल्दै चन्द्रीलाई तिर्दै गइन्। २०८१ कात्तिकसम्म २९ लाख ७० हजार रुपैयाँ तिरेको विमला सुनाउँछिन्। त्यसमध्ये १२ लाख ५२ हजार रुपैयाँ त ब्यांक खाता मार्फत नै दिएकी छन्। बाँकी १७ लाख १८ हजार रुपैयाँ भने नगदै दिएको विमलाको भनाइ छ।
चन्द्री भने विमलालाई ३५ लाख रुपैयाँ ऋण दिएको दाबी गर्छिन्। “मेरो श्रीमान्लाई अमेरिका जान पैसा चाहियो भनिन्। नौ लाख मेरो र बाँकी अरूसँग मागेर दिएकी हुँ,” चन्द्री भन्छिन्, “ब्याज बुझाए पनि सावाँ दिएकी छैनन्।”
विमलाले अहिलेसम्म कति रुपैयाँ तिरेकी छन् भन्ने हिमालखबर को प्रश्नमा चन्द्रीले केही खुलाइनन्। बरु विमला विरुद्ध चेक अनादरको मुद्दा हाल्ने तयारी गरिरहेको उनको भनाइ छ। ऋण लिंदा विमलाले चन्द्रीलाई दुई वटा ब्यांकका खाली चेक दिएकी थिइन्। मौखिक सहमति अनुसार नै ऋणको ब्याज लिएको दाबी गर्दै चन्द्री भन्छिन्, “विमला रुकुम पश्चिम आउनुपर्छ। कसले कसलाई ठगेको हो, छिनोफानो गरौंला।”
विमलाको चौथो साहुकार हुन्, बनिता मल्ल पुन। उनीबाट २०८० कात्तिक १५ मा नौ लाख ऋण लिएकी थिइन्। पटक पटक गरी २०८१ मंसीरसम्म ५८ लाख ४६ हजार रुपैयाँ तिरिसकेको उनी सुनाउँछिन्। बनितालाई २९ लाख २३ हजार रुपैयाँ त ब्यांक खाता मार्फत नै बुझाएकी छन्। बाँकी २९ लाख २३ हजार नगदै बुझाएको उनको भनाइ छ।
यस विषयमा प्रतिक्रिया लिन बनितासँग पटक पटक फोन गर्दा उठाइनन्। मेसेजको पनि जवाफ दिइनन्।
यति धेरै पैसा तिर्दा पनि उनीहरूले नछाडेपछि विमला प्रहरीलाई गुहार्न काठमाडौं आइपुगेकी हुन्। उनीहरूले कानून अनुसार पाउने पैसा कटाएर बाँकी फिर्ता गराइदिन माग गरेकी छन्।
जबर्जस्ती करोडको तमसुक
पूर्वी रुकुमको भुमे गाउँपालिका-२, काँक्री गाउँकी ३७ वर्षीया आशा बुढा बसाइँ सरेर रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१, सल्ले आइन्। सल्लेमा उनको होटल र पार्लर छ। तर अहिले सबै छोडेर काठमाडौं आएकी छन्। त्यसको कारण हो, चर्को ब्याजको फन्दा।
साहुकारले एक करोड २० लाख ६० हजार रुपैयाँ ऋण लिएको तमसुक बनाएर दिनकै पैसा माग्न थालेपछि गाउँ छाडेको उनी सुनाउँछिन्। “मलाई कुटपिट गर्ने धम्की दिन थाले। गाउँमा बस्न सक्ने अवस्था भएन,” आशा भन्छिन्, “म त भागेर शहर पसें।”
गाउँ छोडेर रुकुम पश्चिमबाट काठमाडौं आएकी आशा बुढा।
साहुकारको प्रताडनाले घर छोडेर हिंडेकी आशाको कथा पनि विमलाको जस्तै छ। जेठो छोरा हानोक बुढा तीन वर्षअघि तल्लो बाटो हुँदै अमेरिका गए। दलाललाई ६५ लाख तिरेर घरबाट हिंडेका उनी तीन महीना लगाएर अमेरिका पुगे।
यति ठूलो रकम आशासँग थिएन। १० लाख बाहेक सबै ऋण खोजेको उनी सुनाउँछिन्। गाउँकै गीता पुनबाट ३० लाख रुपैयाँ ऋण निकालिन्। ६ महीनापछि ११ लाखका दरले बुझाउने सहमति भएको थियो। आशालाई लेखपढ आउँदैन। गीताले जे-जे भनिन्, त्यही मानेको उनी बताउँछिन्।
अमेरिका पुगेका छोराले पनि केही महीनापछि खर्च पठाउन थाले। हरेक महीना चार लाख रुपैयाँ पठाएको उनी बताउँछिन्। छोराले पठाएको र छरछिमेकबाट ऋण निकालेर ६ महीनापछि हरेक महीना ११ लाखका दरले ६६ लाख तिरेको आशाको भनाइ छ। “त्यो बाहेक पनि विभिन्न समयमा गरेर १५ लाख दिएँ। अहिलेसम्म ८१ लाख रुपैयाँ दिइसकें,” उनी भन्छिन्।
गीताबाट ३० लाख रुपैयाँ ऋण लिंदा भने आशाले कुमारी ब्यांक मार्फत लिएकी थिइन्। तिर्दा भने नगदै दिएको उनको भनाइ छ। “धेरै पैसा ब्यांकबाट कारोबार गर्नु हुँदैन। ब्यांकले सोध्छ भनियो,” विश्वास गरेर नगदै दिएको बताउँदै आशा थप्छिन्, “छोराले पठाएको पैसा निकाल्दै नगदै गीतालाई बुझाएँ।”
शुरूशुरूमा ब्यांकबाट कारोबार गर्न पनि नआएको उनी सुनाउँछिन्। त्यसैले उनको छोराले गाउँकै विभिन्न मान्छेका नाममा पैसा पठाउँथे। छोराले कति पैसा पठाए, कति पैसा गाउँलेले दिए भन्ने पनि यकीन गर्न नसकेको उनको भनाइ छ। जति पाइन्, सबै गीतालाई दिइन्। “दुई वर्षमा ३० लाखको ८१ लाख बुझाएँ। अझै ऋण सकिएको छैन,” आशा दुखेसो गर्छिन्।
आशाको पीडा यतिमै सकिएन। २०८१ भदौमा साहुकार गीताले जबर्जस्ती तमसुक बनाउन लगाइन्। “तीन जना मान्छे ल्याएर मेरो कोठामा आइन्। जबर्जस्ती एक करोड ऋण लिएको भन्ने तमसुकमा हस्ताक्षर गर्न लगाइयो,” उनी भन्छिन्।
आशाले एक करोड भने पनि हिमालखबर ले प्राप्त गरेका तीन वटा तमसुकमा एक करोड २० लाख ६० हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। उनले गीताबाट मात्र ऋण निकालेको भए पनि तमसुक भने अन्य दुई जना मुसिकोट-१ कै सृजना बुढा पुन र गीता थापा क्षेत्रीको नामबाट ऋण लिएको पनि बनाइएको छ।
आशा बुढाले एक करोड २० लाख ६० हजार रुपैयाँ ऋण लिएको भनेर एकै दिन बनाइएका तीन तमसुक। गीता पुनबाट ३० लाख ऋण लिएको भए पनि सृजना बुढा पुन र गीता थापा क्षेत्रीबाट ऋण लिएको भन्ने तमसुकलाई वडाध्यक्ष ज्ञान चन्द ठकुरीले प्रमाणित गरे।
गीता पुनबाट ५८ लाख ६० हजार, सिर्जनाबाट ३२ लाख र गीता थापा क्षेत्रीबाट ३० लाख रुपैयाँ ऋण लिएको तमसुकमा लेखिएको छ। तीनै जनाले ‘घरखर्च र व्यापारका लागि’ ऋण दिएको बताएका छन्। एकै दिन २०८० फागुन २९ मा बनाइएका तीन वटै तमसुक तुलाराम बुढाले लेखेका छन्।
त्यसको भोलिपल्ट फागुन ३० मा मुसिकोट नगरपालिका-१ को वडा कार्यालयमा तमसुक प्रमाणित गरिएको छ। वडा कार्यालयले प्रमाणित नगरेको तमसुकलाई अदालतले मान्यता दिंदैन। त्यसैले मुद्दामामिलाका लागि प्रमाण जुटाउन वडा कार्यालयबाट प्रमाणित गर्न थालिएको छ।
अझ रोचक त, ऋण नलिएका व्यक्तिबाट ऋण लिएको भनेर बनाइएको तमसुकलाई वडाध्यक्ष ज्ञान चन्द ठकुरीले प्रमाणित गरिदिएका छन्। हिमालखबर सँगको टेलिफोन कुराकानीमा वडाध्यक्ष ठकुरीले दुवै पक्ष आएर तमसुक दर्ता गरेको प्रतिक्रिया दिंदै आलटाल गर्न खोजे। कति पैसाको तमसुक छ भन्ने प्रश्नमा उनी भन्छन्, “वडा कार्यालयमा धेरैका तमसुक छन्, त्यसमा आशा बुढाको तमसुक पनि छ। जतिसुकैको तमसुक होस्, तपाईंलाई किन चाहियो, किन बताऊँ?”
आशाले ऋण लिएको भनिएको तमसुक हिमालखबर ले प्राप्त गरेको र त्यो एक जनाको नभई तीन जनाको रहेको सुनाएपछि उनी केही शान्त भए। ऋण नलिएको मान्छेबाट ऋण लिएको भनेर बनाएको तमसुक किन दर्ता गर्नुभयो भन्ने प्रश्नमा उनी अकमकाए। “दुवै पक्षले वकील लगाएर कागजपत्र गरेपछि वडा कार्यालयले दर्ता गर्ने काम गरेको हो। दुवै पक्षको सहमति भएकाले दर्ता गरिदिएको हुँ,” वडाध्यक्ष ठकुरी उल्टै प्रश्न गर्छन्, “ऋण नलिएको भए आशाले किन कागजमा हस्ताक्षर गरेको त?”
वडाध्यक्ष ज्ञान चन्द ठकुरी।
आशाले तीनै जनाबाट ऋण लिएकाले तमसुक दर्ता गरिएको भनेर वडाध्यक्ष ठकुरीले अड्डी कसे पनि तमसुक बनाएकी सृजना भने यो झमेलाबाट पन्छिन खोज्छिन्। हिमालखबर सँगको टेलिफोन कुराकानीमा आफूले सीधै आशालाई पैसा नदिएको उनले स्विकार्छिन्। “मैले सीधै आशासँग कारोबार गरेकी होइन। आशाका लागि भनेर गीता पुनलाई पैसा दिएकी हुँ,” सृजना भन्छिन्। उनले योभन्दा बढी कुराकानी गर्न मानिनन्।
साहुकार गीता पुन भने आफूले तमसुक बनाउन दबाब नदिएको दाबी गर्छिन्। “जबर्जस्ती तमसुक बनाएकी होइन। मैले ऋण दिंदा वडा कार्यालयमा गएर तमसुक बनाएकी छु,” उनी भन्छिन्।
आशाले कति पैसा तिरेकी छन् भनेर सोध्दा गीताले खुलाउन चाहिनन्। “धेरै पैसा तिरेको भए अदालत गए हुन्छ। म पीडित हुँ,” उनी भन्छिन्, “छोरा अमेरिका जान ऋण मागेको हो। म प्रमाण जुटाएर अदालत जान्छु।”
आशालाई ३० लाख रुपैयाँ ऋण दिएको भनेर तमसुक बनाएकी गीता थापा क्षेत्रीको भने केही समय पहिले सडक दुर्घटनामा मृत्यु भएको थियो।
यसरी तमसुक बनाएको कुरा आशाले अमेरिकामा रहेका छोरालाई सुनाइन्। त्यो सुनेर छोरा पनि रिसाउन थालेको उनी दुखेसो गर्छिन्। जति पैसा दिंदा पनि नसकिने कस्तो ऋण निकालेको भन्दै छोराले आशालाई प्रश्न गरे। उनीसँग कुनै उत्तर थिएन। “एक जोर लुगा बोकेर गाउँ छोडें,” उनी भन्छिन्।
रुकुम पश्चिमबाट हिंडेकी उनी अहिले काठमाडौंमा छिन्। नगदको कारोबार गरेकाले प्रहरीमा उजुरी दिन पनि सकेकी छैनन्। बरु उल्टै गीताले चेक अनादरको मुद्दा हाल्ने धम्की दिइरहेको उनी दुखेसो गर्छिन्।
परिवार छिन्नभिन्न, गाउँबाट विस्थापित
अमेरिका पठाउन निकालेको ऋणका कारण गाउँ छोड्न बाध्य हुनेमा विमला र आशा मात्रै होइन, रुकुम पश्चिमका थुप्रै महिला छन्। ऋण तिर्न नसकेर गाउँ छोडेका केही महिलासँग हिमालखबर ले सम्पर्क गरेको थियो।
तिनैमध्ये एक हुन्, कमला (नाम परिवर्तन) । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१०, टकसेराकी कमला केही वर्षदेखि रुकुम पश्चिमको मुसिकोट-१, सल्लेमा बस्दै आएकी छन्। त्यहाँ उनको व्यापार-व्यवसाय छ।
कमलाका भाइ अमेरिका पुगेको डेढ वर्ष भयो। पहिलोपटक तल्लोबाटो गएका भाइलाई अमेरिकाले फर्काइदियो। त्यहाँ जान उनले दलाललाई ५० लाख बुझाएका थिए। भाइ फर्केपछि दलालले २५ लाख रुपैयाँ मात्रै फिर्ता गरेको कमला सुनाउँछिन्।
अमेरिकाबाट फर्काइँदा पनि ऋण लागिसकेको थियो। त्यो ऋण तिर्न उनी फेरि अमेरिका जान तयार भए। दलाललाई फेरि ५० लाख रुपैयाँ बुझाए। त्यो सबै ऋण निकालेर दिएको कमला बताउँछिन्।
त्यसका लागि उनले २०७९ चैतमा लहरपरी पुनबाट ३८ लाख ५० हजार र चन्द्रकला पोखरेलबाट २० लाख रुपैयाँ ऋण लिएकी थिइन्। भाइले अमेरिकाबाट पैसा पठाउन थालेपछि ऋण तिर्दै गइन्। लहरपुरीलाई अहिलेसम्म ५५ लाख रुपैयाँ दिइसकेको उनको भनाइ छ। “मैले २० लाखको ४० लाख बुझाउँदा पनि ऋण सकिएन,” उनी भन्छिन्, “ब्याज आयो, सावाँ बाँकी छ भनेर सताए।”
यसअघि विमलासँगको कारोबारको विषयमा कुराकानी गरेकी लहरपरीले कमलासँगको कारोबारबारे भने बोल्न मानिनन्। “कमलाका विषयमा केही बोल्दिनँ,” उनको जवाफ थियो।
ऋण लिंदा उनले कमलाले पनि खाली चेक दिएकी थिइन्। त्यही चेकमा उनीहरूले मनपरी रकम लेखेर ‘बाउन्स’ गराएको उनको आरोप छ। त्यसपछि उनी विरुद्ध चेक अनादरमा उजुरी पर्यो। जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले वैशाख ५ मा उनलाई हिरासतमा लियो। मिलापत्र गरिएपछि चौथो दिन छुटेको उनी बताउँछन्। “प्रहरीले छाडेपछि गाउँमा बस्न सक्ने अवस्था भएन,” कमला भन्छिन्।
त्यसपछि उनी बालबच्चा बोकेर दाङ झरिन्। जिल्ला प्रहरी कार्यालय, दाङमा उजुरी दिइन्। तर दाङ प्रहरीले दर्ता गरेन। जाहेरी बोकेर अहिले रुकुम पश्चिम फर्किएकी छन्।
ब्यांक खाता र घरजग्गा रोक्का भएपछि न्यायका लागि गाउँ फर्किएको उनी बताउँछिन्। तर वडा, नगरपालिका र जिल्ला प्रशासन कार्यालय पुग्दा पनि सुनुवाइ नभएको उनी गुनासो गर्छिन्। “चर्को ब्याजका कारण आफू अन्यायमा परेकाले न्यायका लागि सबैलाई गुहारें, कसैले सुनेन,” कमला भन्छिन्, “घरमा बस्न सकेकी छैन, सदरमुकाममै चिनजानका मान्छेकहाँ बसिरहेकी छु।”
स्थानीय बासिन्दाका अनुसार श्रीमान् तथा छोरालाई अमेरिका पठाउँदा लागेको ऋणका कारण ११ जना महिलाले गाउँ छोडेका छन्। त्यस्तै, छोरा विदेश पठाउँदाको ऋण तिर्न नसकेपछि रुकुम पश्चिमकै एक पुरुषले पनि गाउँ छोडेका छन्। कोही भारततिर गएका छन् भने कोही नेपालमै छन्। नेपालमा भएकाहरू काठमाडौं र दाङ पुगेका छन्।
ऋण निकालेका महिलालाई अमेरिका पुगेका वा घरमै भएका पुरुषले पनि साथ दिने गरेका छैनन्। आशाले ऋण निकालेर छोरालाई अमेरिका त पठाइन्। तर ऋण तिर्न नसकेपछि श्रीमान्ले उनको साथ छोडे।
उनका दुई छोरा छन्। जेठो छोरा अमेरिका पुगेका छन् भने कान्छो छोरालाई लिएर पति दीपेन्द्र भारत गएका छन्। ऋणकै कारण झैझगडा गरेर श्रीमान् भारत गएको उनी सुनाउँछिन्। “जति पैसा तिर्दा पनि ऋण कहिल्यै सकिएन। के गरिस् पैसाले भनेर बुढाले कुटपिट गरे,” उनी भन्छिन्।
अमेरिका गएका छोराका लागि ऋण निकालेको भए पनि सबै दोष आशाकै टाउकामा आयो। श्रीमान् झैझगडा गरेर भारत गए भने अमेरिका पुगेका छोरा पनि रिसाउन थाले। त्यसपछि घर छोडेर काठमाडौं आएको उनको भनाइ छ। “मैले ऋण निकालेर खाएकी त हैन। एकातिर श्रीमान् झैझगडा गर्न थाले, अर्कोतिर छोरा रिसाउन थाल्यो। केही सीप नलागेपछि घर छोडें,” आशा भन्छिन्।
विमलाको पनि त्यस्तै समस्या छ। अमेरिका पुगेका श्रीमान्ले पैसा कता हालिस् भनेर कराउने गरेको सुनाउँछिन्। “यतिका पैसा कता हालिस् भनेर कराउँछन्। बुढाले ‘बरु तँलाई छोड्दिन्छु, अब ऋण तिर्न सक्दिनँ’ भनेका छन्,” यति बोल्दा उनको गला अवरुद्ध भयो। रुन थालिन्।
कुराकानी गर्दागर्दै भक्कानिएकी विमला घर्ती बुढा मगर।
श्रीमान् अमेरिका गएपछि दुई छोराछोरीलाई रुकुम पश्चिमकै निजी विद्यालयमा पढाइरहेकी थिइन्। यो झमेलापछि गाउँ छोडेकी उनले छोराछोरीलाई पनि सँगै काठमाडौं ल्याएकी छन्। “स्कूल छुटाएर काठमाडौं आएका छौं। छोराछोरी ‘स्कूल जान्छौं’ भन्छन्, तर पढाउन पैसा छैन। गाँसवासकै टुंगो छैन, कसरी स्कूल भर्ना गरूँ,” विमला भन्छिन्।
उल्टै चेक अनादरको मुद्दा
रुकुम पश्चिमका अधिकांश युवा तल्लोबाटो अमेरिका जाने गरेका छन्। त्यसका लागि गाउँघरकै साहुकारबाट ऋण निकाल्ने गरिन्छ। ऋण लिंदा ‘सय कडा १०’ अर्थात् वार्षिक १२० प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। यसरी निकालेको ऋण सबैले तिर्नै सक्दैनन्। ब्याजमाथि ब्याज थपिने भएकाले जति तिर्दा पनि नसकिने गरेको पीडित बताउँछन्।
पुरुष अमेरिकातिर लागेपछि ऋणको जोहो महिलाले गर्छन्। ऋण दिने पनि महिला नै हुने गरेका छन्। प्रायः पहिले अमेरिका पुगेर कमाइ गर्न थालेका व्यक्तिका परिवारले नै गाउँमा ऋण लगाउँछन्। ऋण लिंदा साहुकारलाई दस्तखत गरेर खाली चेक दिने गरिएको छ। अहिले त्यसरी दिएको खाली चेक ऋणीलाई डुबाउने साधन बनिरहेको छ।
विमलाको निवेदन त प्रहरीले दर्ता गरेको छैन, बरु उल्टै विमला विरुद्ध जिल्ला अदालत, रुकुममा चेक अनादरको मुद्दा दर्ता भएको छ। विमला विरुद्ध पुतली खत्रीले वैशाख २ मा अदालतमा मुद्दा दायर गरेकी हुन्। विमलाले दिएको २५ लाखको चेक ‘बाउन्स’ भएको पुतलीले जिकिर गरेकी छन्।
विमलाले पुतलीबाट ऋण लिएकी पनि होइनन्। २०७८ सालमा उनले चन्द्रकलाबाट १३ लाख रुपैयाँ निकालेकी थिइन्। ऋण निकाल्दा चन्द्रकलालाई खाली चेक दिएकी थिइन्।
चन्द्रकलाको पुतलीसँग कारोबार थियो। चन्द्रकलाले खाली चेकमा २५ लाख रुपैयाँ लेखेर पुतलीलाई दिइन्। छोराले पैसा पठाउन छोडेपछि विमलाको खातामा पैसा थिएन। त्यही चेकलाई ‘बाउन्स’ गराएर अहिले पुतलीले विमला विरुद्ध मुद्दा हालेकी हुन्।
त्यस्तै, लहरपुरी पुन मगरले ६५ लाख, बनिता पुन र उनकी बुहारी तुलसा केसीले २५ लाखको चेक अनादरको मुद्दा हाल्ने धम्की दिएको विमला सुनाउँछिन्। “ऋण लिंदा केही धितो राख्नु पर्दैन, एउटा चेक दिए पुग्छ। पछि हरेक महीना चेक दिनुपर्छ,” विमला भन्छिन्, “मेरा आठ वटा ब्यांकमा खाता छन्। उनीहरूलाई २५-३० चेक दिएकी छु।”
विमला घर्ती बुढा मगर।
आशा विरुद्ध पनि गीताले चेक अनादरको मुद्दा हाल्ने धम्की दिएकी छन्। तर उनीसँग चेक बाँकी नरहेकाले अहिलेसम्म मुद्दा हाल्न नसकेको र जबर्जस्ती तमसुक बनाउन लगाएको आशाको भनाइ छ। “मसँगको कारोबार सबै नगदबाट भएको छ,” उनी भन्छिन्, “करोडको तमसुक बनाइएको छ। त्यो तमसुक गीता पुनसँग मात्रै छ।”
अमेरिका जाने भनेर मिटरब्याजमा ऋण निकाल्ने गरिएको छ। ऋण निकाल्दा केही धितो राख्नु पर्दैन। बरु हस्ताक्षर गरेको खाली चेक दिए पुग्छ। त्यही खाली चेकमा मनलाग्दी रकम हालेर अनादरको मुद्दा हाल्न थालिएको हो।
वडाध्यक्ष ठकुरी पनि अमेरिका जानेलाई मिटरब्याजमा ऋण दिने गरिएको आफूले सुनेको बताउँछन्। “मैले पनि हल्ला सुनेको छु। तर मिटरब्याजमा परेको भनेर अहिलेसम्म कोही गुनासो गर्न वडा कार्यालयमा आएको छैन,” उनी भन्छन्। वडाध्यक्ष ठकुरीका अनुसार मुसिकोट-१ बाट मात्रै एक हजारभन्दा बढी युवा तल्लोबाटो अमेरिका गएका छन्।
यसरी पुरुष अमेरिका जाँदा महिलाले ऋण लेनदेन गर्छन्। यस्तो कारोबार मिटरब्याजमा हुने गरेको छ। यसबारे जनप्रतिनिधि पनि जानकार छन्। तर उनीहरूले बेवास्ता गरिरहेका छन्। “यो त सामान्य हो,” मुसिकोटका मेयर महेन्द्र केसी भन्छन्।
मिटरब्याजको ऋण जति तिर्दा पनि नसकिने गरेका कारण चेक अनादरका मुद्दा पनि आश्चर्यजनक रूपमा आएका छन्। जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चेक अनादरका २२ वटा जाहेरी परेका थिए। सबै जाहेरीमा अनुसन्धान गरेर अदालतमा पठाइएको प्रहरी निरीक्षक ऋषि पाठक बताउँछन्।
त्यस्तै, चालू आव २०८१/८२ को वैशाखसम्म २८ वटा जाहेरी आएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। पछिल्ला दुई वर्षमा एकाएक धेरै उजुरी आएको प्रहरी निरीक्षक पाठक बताउँछन्। “चेक अनादरको मुद्दा पहिला सीधै अदालतमा जान्थ्यो। प्रहरीले हेर्न थालेको तीन वर्ष जति भयो,” उनी भन्छन्, “दुई वर्षमा एकाएक बढेको देखिन्छ। कतिपय मुद्दामा मेलमिलाप पनि गराउँछौं।”
गत आव २०८०/८१ मा चेक अनादरको उजुरी परेको थिएन। के कति कारणले उजुरी आएका छन् भन्ने अध्ययनकै विषय रहेको चेक अनादर सम्बन्धी मुद्दा हेरिरहेका प्रहरी निरीक्षक पाठकको भनाइ छ।
२०७५ सालयता जिल्ला अदालत, रुकुममा चेक अनादरका ७१ वटा मुद्दा परेका छन्। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार ५५ वटा फैसला भइसकेका छन् भने १६ वटा विचाराधीन छन्।
विदेश जाँदा निकालेको ऋणका कारण चेक अनदारका मुद्दा बढेको देखिएको सूचना अधिकारी कोइराला बताउँछन्। “वैदेशिक रोजगारी, व्यवसाय र जग्गाजमीन जोड्नका लागि ऋण लिने गरेको देखिन्छ,” कोइराला भन्छन्, “सहमति अनुसार पैसा नबुझाएपछि अदालतमा आउने गरेका छन्।”