स्वस्थ र आर्थिक हिसाबले सक्षम व्यक्तिहरू जीवनमा कम्तीमा एक पटक हज गर्न अनिवार्य जानुपर्ने इस्लामको मान्यता छ।
इस्लाम परम्परा अनुसार पवित्र केन्द्र मानिन्छन्, साउदी अरबका मक्का र मदिना। हज अर्थात् तीर्थयात्राका लागि हरेक वर्ष संसारभरका मुस्लिम धर्मावलम्बी साउदी अरब पुग्छन्।
नेपालबाट पनि बर्सेनि सयौं मुस्लिम हज गर्न जाने गरेका छन्। यस वर्ष एक हजार १७१ जना हजयात्री सहभागी हुँदै छन्। जेठ २ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई बिदाइ गरे। परापूर्वकालदेखि चल्दै आएको परम्परा जोगाउनुपर्ने भन्दै उनले हजयात्रीलाई शुभकामना दिएका थिए।
नेपाली हजयात्री विभिन्न चरणमा साउदी अरब गइरहेका छन्। यसमध्ये पहिलो उडान जेठ ३ गते राति भएको छ।
VIDEO
काठमाडौंको कश्मीरी मस्जिदमा भेटिएका बशीर बख्श मियाँ अहिले ७३ वर्षका भए। जति वेला उनी ५ वर्षका थिए, उनका बुबा हज गर्न जाँदा भारत हुँदै पानीजहाजबाट लामो यात्रा गरेका थिए। उनले सुने अनुसार त्यसरी जाँदा-आउँदा ६ महीनासम्म लाग्थ्यो।
कथा झैं लाग्ने त्यो अवस्था देखेका उनले देख्दादेख्दै हजयात्री विमान चढेर जान थाले। यसअघि आठ वर्ष पहिले हजमा गएका उनी यसपालि पनि जाँदै छन्।
नेपालमा सरकार मार्फत हजयात्रामा जाने क्रम २०२१ सालदेखि शुरू भएको हो। त्यसअघि नेपाली हजयात्री भारतको मुम्बई हुँदै पानीजहाजबाट साउदी अरब जान्थे।
हजयात्रीको सहजता र व्यवस्थापनका लागि अन्जुमन इस्लामिया संस्थाको अगुवाइमा २०२० सालमा रौतहटमा मुस्लिम अगुवाको भेला भएको थियो। भेलाले सरकारसँग हज समितिको माग गरेको थियो। सोही बमोजिम सरकारले २०२१ सालमा हज समिति गठन गर्यो।
हजयात्रामा पठाउने सम्पूर्ण व्यवस्थापन हाल गृह मन्त्रालय मातहत रहेको हज समितिले गर्दै आएको छ। समितिले यस वर्ष प्रतिव्यक्ति तीन लाख ७० हजार रुपैयाँका दरले शुल्क लिएको छ।
हजलाई इस्लामको पाँच स्तम्भमध्ये एक मानिन्छ। हिजरी पात्रोको बाह्रौं महीना जुलहिज्जाको ८ देखि १२ तारीखसम्म हजको मुख्य विधि गरिन्छ। यस बाहेक पनि हजयात्री महीना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन्।
सुनसरी इटहरीका मोहम्मद जैनुल यसपालि श्रीमती हबिबा खातुनसँग हजयात्रामा जाँदै छन्। उनी त्यहाँ पुगेर दुआ माग्ने बताउँछन्।
हज गर्न आफ्नो विशुद्ध कमाइको पैसा खर्च गरेर जानुपर्ने मान्यता छ। सुनसरी, हरिनगर गाउँपालिकास्थित घुस्कीका जलाउद्दीन अन्सारीले हज गर्ने उत्कट इच्छा भए पनि विगतमा पैसाको जोहो गर्न सकेका थिएनन्। ७३ वर्षको उमेरमा यसपालि बल्ल उनको सपना पूरा हुँदै छ।
नेपालबाट यस वर्ष जाने एक हजार १७१ हजयात्रीलाई ११ टोलीमा विभिन्न चरणमा पठाइनेछ। उनीहरू जेठ ३ गतेबाट जान शुरू गरी जेठ ८ गतेसम्म साउदी अरब पुगिसक्नेछन्। असार ११ मा फर्किनेछन्। फर्कंदा हाजीहरूले जमजम पानी, नमाज पढ्ने मुसल्ला, कालीन, अत्तर तथा इमली, खजुर, अन्जीर लगायत खानेकुरा कोसेलीका रूपमा ल्याउँछन्।