‘मौनता पनि शब्द जस्तै लाग्छ मलाई। यसले सोच्न बाध्य बनाउँछ। फिल्मको गहिराइमा पुर्याउन पनि त्यो मौनता प्रयोग गरेको हो।’
साहित्यकार इन्द्रबहादुर राईले २०१८ सालमा विपना कतिपय पुस्तक ल्याएका थिए। त्यो कथासंग्रहमा एउटा कथा थियो, जार : भएकै एउटा कथा । साढे ६ दशकपछि त्यही कथालाई निर्देशक फुर्वा छिरिङ लामा ले फिल्मको रूप दिएका छन्, जार । अहिले देशभर प्रदर्शन भइरहेको फिल्म जार ले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
१४ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय निर्देशक लामाले यसअघि द विटन पाथ र द प्राइस अफ अ फिस वृत्तचित्र बनाएका थिए। पाँच वर्ष लगाएर बनाएको फिल्म जार बाट चर्चा र प्रशंसा बटुलिरहेका निर्देशक लामासँग हिमालखबर का लागि उर्मिला गम्वा थारू ले गरेको कुराकानी :
नेपाली दर्शकका लागि निर्देशकका रूपमा फुर्वा छिरिङ लामा नयाँ नाम हो। थोरै आफ्नोबारे बताइदिनुहुन्छ?
म दार्जीलिङको करसिङ भन्ने ठाउँबाट आएको हुँ। फिल्म क्षेत्रमा आएको १४ वर्ष जति भयो। फिल्म जार इन्द्रबहादुर राईको कथामा आधारित छ। यसको पटकथा पनि मैले लेखेको हुँ।
फिल्म बनाउनतिर कसरी लाग्नुभयो?
स्कूलमा हुँदा ‘के बन्छस्’ भनेर सोध्दा साह्रै डर लाग्थ्यो। आमाबुबाले ‘डाक्टर बन्नुपर्छ’ भन्थे। कलेजमा हुँदा पनि मलाई थाहा थिएन, के बन्छुँ भन्ने। यति चाहिं थाहा थियो, मलाई कथा मन पर्न थालेका थिए।
पछि पटकथा लेख्न थालें। पटकथा लेख्दालेख्दै फिल्मतिर लोभिएँ। पढ्दै जाँदा ‘म फिल्म बनाउन सक्छु’ भन्ने आँट आयो।
पुनेमा एउटा फिल्म इन्स्टिच्यूट छ। म पनि त्यहाँ पुगें। त्यहीं पुगेपछि मिडियाले नेपालीलाई कसरी चित्रण गरेको रहेको छ भनेर थाहा पाएँ। त्यो देखेर चित्त दुख्यो। अनि सोचें, आफ्नो कथा आफैं भन्नुपर्छ। त्यसैले जन्मायो, जार ।
नेपाली कथाप्रति कसरी आकर्षित हुनुभयो?
यसका लागि इतिहास पल्टाउनुपर्छ। जार को कथा २०० वर्षअघिको हो। त्यही भएर ऐतिहासिक पनि हो। इतिहास त जान्नै पर्यो।
यस कथामा नालापानीको कुरा, जंगबहादुरको कुरा छ। यो हाम्रै कथा हो। हाम्रै इतिहास हो। इतिहासलाई समेटिएको कथा भएकाले पनि जार रोजिएको हो।
त्यस्तै, हाम्रो परिवारबाट कोही न कोही सेनामा गएकै छ। त्यसकै इतिहास पनि जार ले छुन्छ। आउने पुस्ताले बुझ्नै पर्छ भन्ने लागेर यो कथा छनोट भएको हो।
नयाँ पुस्ताले यो कथा बुझ्नुपर्छ भन्ने किन लाग्यो?
अहिले ‘ग्लोबलाइजेशन’ को समय छ। एकअर्कासँग छिटै जोडिन सकिन्छ। पश्चिमाहरूको सिको गर्दागर्दै आफ्नै इतिहास बिर्सिरहेका छौं। आफ्नो धरातल र इतिहास बिर्सिनु हुन्न भन्ने ठानेर त्यस वेलाको समय बुझ्नुपर्छ भन्ने लाग्यो।
नेपाली इतिहास र साहित्यप्रति कतिको रुचि लाग्छ?
मलाई धेरै चासो छ। त्यही भएर इतिहास बुझ्न मन लाग्यो। नेपाल र दार्जीलिङ स्वर्ग जस्ता ठाउँ हुन्।
नेपालको इतिहास हेर्दै जाँदा बसाइँ सरेको पनि इतिहास त्यति नै छ। फिल्म पनि त्यसरी नै शुरू भएको छ। एउटा घले परिवार यात्रा गरिरहेको छ। त्यो समयमा पनि महिलाले पीडा महसूस गरिरहेका थिए होलान्, तर व्यक्त गर्न सकिरहेका थिएनन्। फिल्मको मुख्य पात्र ठूली इतिहासको त्यो पीडा भोगेकी पात्र हो र अहिले पनि यस्ता पात्रहरू छन्।
फिल्म बनाउन त धेरै समय लाग्यो नि, है?
पाँच वर्ष लाग्यो। जुन प्रकारको फिल्म बनाएँ, त्यसमा समय लाग्ने नै भयो। अर्को, यस्तो फिल्ममा लगानी गर्ने पनि आउँदैनन्। मैले मसालेदार फिल्म बनाएको भए लगानी पनि पाउने थिएँ।
बाघको सिन गर्न नै तीन वर्ष जति लाग्यो। बनिसकेको फिल्म फेरि काटछाँट गरें। त्यही भएर पनि समय लाग्यो। फेरि फल पाक्न समय लाग्छ नै।
जार बनाउने क्रममा इतिहास खोतल्दै जाँदा केही कुराले चकित बनायो कि?
मेरै गाउँको कुरा सुनाउँछु। त्यो वेला जार ठाडै काट्न पाइन्थ्यो। हाम्रै गाउँमा ठूलो ढुंगा छ। त्यहाँ जारलाई सजाय दिने ठाउँ छ। सजाय दिने मान्छे पनि छन्। जारले त्यो वेला ६५ रुपैयाँ तिर्नुपर्थ्यो। त्यो वेलाका लागि धेरै हो।
जारले चाहिं घाँटीसम्म पुग्ने गरी बटन भएको शर्ट लगाएर आउनुपर्थ्यो रे! त्यहाँ आएपछि जार र श्रीमतीले श्रीमान्को टाङमुनिबाट छिर्नुपर्ने रहेछ। अनि त्यो शर्टको बटन च्यातिदिन्थे रे!
इतिहास पल्टाउँदै जाँदा धेरै देखिएको भनेको मुग्लान पस्ने चलन हो। जार काट्ने परम्पराकै कारण धेरै मुग्लान पसेको पाएँ।
यति धेरै मिहिनेत गरेर फिल्म बनाउनुभयो। कस्ता प्रतिक्रिया आइरहेका छन्?
राम्रै प्रतिक्रिया पाइराखेका छौं। कहिलेकाहीं फिल्म हलभित्र सुटुक्क पस्दा दर्शकले शान्तसँग हेरेको पाएँ। ‘बोर’ भएको जस्तो गरी बसेको पाइनँ।
जुन प्रकारको फिल्म बनाउन खोजेको हुँ, त्यस्तो बनाउँदा धेरै गाह्रो हुन्छ। यस कथालाई धेरै गाह्रो गरी यहाँसम्म ल्याएका छौं। सौगात र गीताञ्जलीलाई ल्याएर म सन्तुष्ट छु।
नयाँ पुस्ताका दर्शकले कसरी हेरिरहेको पाउनुभयो?
मन पराएका छन्। पुरानो कुरा पनि थाहा पाइराखेका छन्। नयाँ पुस्तालाई मात्र होइन, हाम्रो उमेरका मान्छेलाई पनि यसबारे कमै थाहा भएको पाएँ। कतिलाई ‘जार’ भनेको के हो भन्ने थाहा नभएको समेत पाएँ। यो कुरा बुझाउन सफल भएका छौं।
फिल्मको अन्तिममा संवाद हुँदा राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया पनि आइरहेका छन्। त्यस्तो गरेको भए हुन्थ्यो भन्ने लागेको छैन?
कम बोलेर धेरै देखाउन खोजेका हौं। तर कथामा जति छ, त्यही नै राखेको छु। मौनता पनि शब्द जस्तै लाग्छ मलाई। यसले सोच्न बाध्य बनाउँछ। फिल्मको गहिराइमा पुर्याउन पनि त्यो मौनता प्रयोग गरेको हो। दर्शकलाई संलग्न गराइराख्न शब्दभन्दा नेपथ्यमा सुनिने ध्वनि मुख्य हो। मैले त्यही गरें।
हामीले त्यो संवाद ‘शूट’ पनि गरेका थियौं, फेरि हटाएका हौं। ठूलीको चरित्र हेर्दै जाँदा उसले नगरेको कसूर भोगिरहेकी छ। तैपनि ऊ सबैभन्दा बलियो पात्र हो। उसले निर्णय लिइसकी नि, रुद्रमानसँग बस्ने। त्यो भागदौड भइसकेपछि ‘तँ बलियो, शक्तिशाली’ भन्नु परेन। उसले खुकुरी उठाउनु नै शक्तिशाली भएको प्रस्ट हुन्छ। अर्को, कथामा लेखिएको अन्तिम पाटो अलिकति नाटकीय पनि लाग्यो, त्यही भएर हटाइएको हो।
VIDEO