आमा र छोरीको सम्बन्धका विविध आयामलाई आठ जना कलाकारले चिठी, तस्वीर, कविता, कला र चित्रकलाका माध्यमबाट अभिव्यक्त गरेका छन्, ‘पेटका केही कुरा’ मा।
सोच्छु,
आमालाई चिठी लेखूँ कि?
तर, त्यसको साटो रूखहरू हेर्दै टोलाउँछु,
र तिनकै तस्वीर कागजमा कोर्छु।
कलाकार श्रद्धा देवकोटाले कोरेको कविताका पंक्ति हुन्, यी। देवकोटा कवितासँगै ‘पर्फमेन्स आर्ट’ मार्फत आमालाई सम्झिन्छिन्। विवाहलाई कला मार्फत प्रस्तुत गर्दै आमाको स्मरण गर्छिन्।
यति वेला देवकोटा जस्तै आठ कलाकार आमालाई सम्झिरहेका छन्, बबरमहलस्थित नेपाल कला परिषद्मा। आमा र छोरीको सम्बन्ध बुझाउने ‘पेटका केही कुरा’ शीर्षकको प्रदर्शनीमा कलाका विभिन्न माध्यम प्रयोग गरेर कलाकारले आफूलाई प्रस्तुत गरिरहेका छन्। जहाँ कलाकारहरू देवकोटा, अस्मिता बादी, इरिना गिरी, रेचल लोव, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ र प्रतिभा तुलाधर आमालाई सम्झिरहेका छन्।
क्युरेटर बुनु ढुंगानाले सन् २०१८ मा ‘फोटो काठमाडौं’को प्रदर्शनीमा देखाएको काम ‘कन्फ्रन्टेशन’को एउटा पाटोले आमा-छोरीको सम्बन्धलाई हेरेको थियो। यस विषयमा उनले धेरै वर्षदेखि सोचिरहेकी थिइन् र उनका मनमा केही गहिरा प्रश्नहरू उब्जिरहेका थिए- आमालाई छोरीले कसरी बुझ्ने? छोरीलाई आमाले कसरी बुझ्ने? आमा र छोरीको सम्बन्धलाई कलामार्फत कसरी देखाउने? यी प्रश्नको उत्तर दिमागमा आइरहेको थिएन।
आमासँग उनको वेलावेला झगडा परिरहन्थ्यो। उनी रिसाउँदा आमा सम्झाउन खोज्थिन्। आमा घरीघरी भन्थिन्, “आमा-छोरी भनेको नङ र मासु हुन्। एक-अर्कालाई जसरी पनि चाहिन्छ।”
अर्कातिर, समाजले आमालाई ‘आइडल’ बनाएको, मान्छेभन्दा पर भगवान् जस्तै भाष्य बनाएको उनलाई मन परेको थिएन। यसमा उनको फरक मत थियो। “भगवान् बनाउने भाष्यले आमा-छोरीबीचको सम्बन्ध खुलेको छैन, बाँधिएर बसेको छ,” ढुंगाना भन्छिन्, “एक्लैले आमा-छोरीको सम्बन्ध बुझाउन नसकेर अरू कलाकारको सहयोग लिएकी हुँ।”
क्युरेटर ढुंगानाले दुई वर्षअघि नै कलाकारलाई आमा शीर्षक दिएकी थिइन्। आमा-छोरीको सम्बन्ध कसरी देखाउन सकिन्छ भनेर सोच्न भनेकी थिइन्। कलाकार सृष्टि श्रेष्ठले सोचिन्, ‘ख्याल राख्नु है!’
पाटनको पिम्बहालकी श्रेष्ठलाई घरबाट निस्किंदा आमा प्रायः भन्ने गर्थिन्, “ख्याल राख है!” फोनमा कुराकानी हुँदा पनि सोही वाक्य दोहोर्याउँथिन्। त्यही शीर्षकमा उनले आमासँग थुप्रै आमाहरूको मायालाई चित्रकला मार्फत देखाएकी छन्।
उनले लामो समय आमालाई नियाल्ने मौका पाएकी थिइनन्। कोभिड-१९ महामारीको बन्दाबन्दीमा घरमै बस्नुपर्यो। त्यो वेला आमासँगका दैनिक कामकाजलाई क्यामेरामा कैद गरिन्। तिनै तस्वीरलाई चित्रको रूप दिएको उनी बताउँछिन्। “कोभिडका वेला परिवारसँगै बसें। एकअर्काको ख्याल राख्यौं। त्यो वेला आमालाई अझ नजीकबाट बुझ्ने कोशिश गरें,” श्रेष्ठ भन्छिन्।
आमालाई प्रायः घरमै काम गरेको देखेकी थिइन्। कला मार्फत आमाको त्यो श्रमलाई पनि देखाएकी छन्। चित्र मार्फत आमाले कति ख्याल गर्नुहुन्छ भन्ने अनुभूत गराउन खोजेको उनी बताउँछिन्।
अर्की कलाकार एवं कवि उज्ज्वला महर्जन आमाबारे केकसरी लेख्ने भन्ने अन्योलमा थिइन्। किनकि उनी सानी छँदा हजुरआमा र काकीसँग बसिन्। कक्षा ५ पछि मात्र आमासँग बस्न थालेकी थिइन्। त्यसैले उज्ज्वला र आमाबीच धेरै कुराकानी हुन पाएन। “हामी एकअर्कालाई बुझ्न खोज्थ्यौं,” उनी भन्छिन्, “एकअर्कालाई चाहिने माया र खुशी नै हो।”
त्यो माया र खुशीका लागि आमालाई भन्नुपर्ने धेरै कुरा थियो। तर कसरी भन्ने मेसो पाएकी थिइनन्। कवि महर्जनले कविता र चिठीको सहारा लिइन्। घरमा नेवारी भाषामै कुराकानी हुन्छ। नेवारीमै आमालाई चिठी लेखिन्।
कविता त सधैं कोर्थिन् नै, आमाबारे लेखिएका तिनै चिठी कला प्रदर्शनीमा प्रस्तुत गरेकी छन्, ‘कविता र चिठी के मेरी आमाले पढ्नुहुन्छ र?’ जसमा आमासँगै हजुरआमा, दिदीबहिनी, भाउजू, काकी र छोरीलाई पनि देखाएकी छन्।
कलाकार तृप्ति तामाङ पाख्रिनले आमालाई श्रमसँग जोडेकी छन्। होटल व्यवसायमा संलग्न परिवार भएकाले आमाको दैनिकी पनि होटलमै बित्छ। त्यसैलाई उनले भिडिओमा देखाएकी छन्। यससँगै तस्वीर र मूर्तिकला मार्फत पारिवारिक सम्बन्धमा हुने जटिलतालाई केलाएकी छन्।
आमालाई सम्झिन कलाकार अस्मिता बादीले कविता रोजेकी छन्। उनले आमाको सामीप्यलाई कवितामा उतारेकी छन्।
धेरै वर्षदेखि उनको मौनता हेर्दै आएको छु
उनको ज्यानमाथिको बोझ
उनका आँखा र अड्किंदै निस्कने शब्दहरू
म अड्कल्न मात्रै सक्छु
उनले नबिसाएको भारीमा के छन् होला?
कहिल्यै नसुनाएका सम्झना कस्ता होलान्?
अर्की कलाकार इरिना गिरीले आमा-छोरीको सम्बन्धलाई बुझाउन ध्वनिको सहारा लिएकी छन्। गिरी भन्छिन्, “मेरी आमासँग मेरो आफ्नै सम्बन्धलाई सीधै खोतल्ने हिम्मत मसँग छैन। हाम्रो सम्बन्ध बारम्बार पीडादायी सावित भएको छ।”
लेखक समेत रहेकी कलाकार प्रतिभा तुलाधरको भने अर्कै अनुभूति छ। उनले आमासँग कहिल्यै आफ्नै डेस्क नभएको पीडा ओकलेकी छन्। “सोच्ने, अभिव्यक्त गर्ने वा सिर्जना गर्ने ठाउँ चाहिन्छ। जसका लागि छुट्टै डेस्क हुनुपर्छ,” उनी भन्छिन्।
घरमा महिलाको किन छुट्टै डेस्क हुनुपर्छ भनेर तर्क गरेकी छन्। यसलाई महिलाको सम्पत्ति, छनोटको अधिकारसँग जोडेकी छन्। आमालाई मन पर्ने किताब र डेस्क राखिदिएकी छन् भने डेस्कलाई पहिचानसँग तुलना गरेकी छन्। तुलाधरले भनेकी छन्, “मेरी आमा र संसारका हरेक आमासँग आफ्नै डेस्क होस्।”
यो दृश्य हेर्दा सुमित्रा जोशी भावुक भइन्। प्रदर्शनी हेर्न आएकी जोशी केहीबेर टोलाइन्। उनलाई सन्चो थिएन। तैपनि फेसबूक मार्फत आमा र छोरीका कुरा प्रदर्शन भइरहेको थाहा पाएपछि हेर्न आएको सुनाउँछिन्। “मेरा दुई छोरी छन्, दुवै देश बाहिर छन्,” जोशी भन्छिन्, “छोरीहरूसँगै आउन पाएको भए हुन्थ्यो। यो हेरेर हामीबीच गुम्सिएका कुरा भन्न सक्थ्यौं होला।”
प्रदर्शनीमा राखिएका आमा र छोरीका चिठी नियालिन्। झोलाबाट मोबाइल झिक्दै सबै चिठी कैद गरिन्। निस्किंदै बोलिन्, “सबै चिठी छोरीलाई पठाउँछु।”
क्युरेटर ढुंगाना पनि कतिपय आमा र छोरीबीच धेरै कुराकानी नहुने र धेरै कुरा गुम्सिएरै रहने गरेको सुनाउँछिन्। पुस्तौंदेखिको आमा-छोरीबीचको सम्बन्धको कडी र भिन्नतालाई उजागर गर्न प्रदर्शनी गरिएको उनको भनाइ छ। “हामीले आमा र छोरीको सम्बन्धबारे गरेको कामले एकअर्कालाई बुझ्न सघाउनेछ,” ढुंगाना भन्छिन्।
कला प्रदर्शनीमा कविता, तस्वीर, चिठी, चित्रकला, ‘पर्फमेन्स आर्ट’, भिडिओ र ध्वनि मार्फत देखाइएको आमा र छोरीको सम्बन्धले अवलोकनकर्तालाई पनि सोचमग्न बनाउँछ। चिठी पढ्दा कतिका आँखा रसाउँछन्। आमा र छोरीबीचका विविध आयामलाई नेपाल कला परिषद्मा आउँदो जेठ २ गतेसम्म अवलोकन गर्न सकिनेछ।
VIDEO