साताको पहिलो दिन नै शेयर बजार दोहोरो अंकले ओरालो
शेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ। व्यापारबाहेक सबै समूह ओरालो झरेपछि आइतबार नेप्से १७.७३ अंकले घटेर ११३०.६३ विन्दुमा आइपुगेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह २.०६ प्रतिशतले घटेको छ।
आइतवारको कारोबारमा ब्यांकिङ समूह १५.५८, विकास ब्यांक समूह ११.३३, जलविद्युत समूह १६, माइक्रोफाइनान्स २८.८५, जीवन बीमा समूह १०५.६७ तथा निर्जीवन बीमा समूह १३९.५१ अंकले घटेका छन्। व्यापार समूह भने २.९६ अंकले बढेको छ।
आइतबार सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.७९ प्रतिशत गुमाएका छन् भने विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४९ प्रतिशत कमाएका छन्।
आइतबार रु. ४५ करोड ४६ लाख मूल्यबराबरका १४ लाख ४२ हजार कित्ता शेयरको कारोबार भयो।
गत आर्थिक वर्ष २०७४-०७५ को नाफाबाट कम्पनीहरूले लाभांश घोषणा गरिरहे पनि शेयर बजार परिसूचक भने लगातार ओरालो झरिरहेको छ। ब्यांकमा लगानीयोग्य पूँजीको अभाव तथा बजारको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल खस्किएको बताइन्छ।
लगानीकर्ताहरूको सम्पत्ति लगातार ओरालो लागेपछि ब्यांकमा शेयर धितो राखेर ऋण झिकेकाहरूलाई मार्जिन कलको जोखिम बढेको छ। पूँजीको सहज व्यवस्थापन र ठूला लगानीकर्ता नभित्रिएसम्म नेप्से ओरालो लाग्ने क्रम नरोकिने छाँट छ।
नेप्से परिसूचकले १५ भदौ २०६५ मा १ हजार १ सय ७५ विन्दुको उच्च रेकर्ड कायम गरेको थियो। त्यसपछि परिसूचक निरन्तर घट्दै गएर २ असार २०६८ मा २९२.३८ विन्दुसम्म ओर्लिएको थियो।
यो सरकार बनेयता बजार निरन्तर ओरालो लागिरहेको छ। ३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको अघिल्लो दिन १३८८.९४ अंकमा रहेको नेप्सेमा त्यसयता २५० भन्दा बढी अंक घटिसकेको छ।