नेपाल र म्यान्मारबीच व्यापार सम्झौता
नेपाल र म्यान्मारबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारकी स्टेट काउन्सिलर आङसान सुकीबीच भएको भेट तथा द्विपक्षीय वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र म्यान्मारका अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरे।
दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ। दुई देशका उद्योग वाणिज्य महासंघबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ।
वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको छ। हाल नेपालमा म्यान्मारबाट दाललगायत खाद्यान्न आपूर्ति हुँदै आएको छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने समझदारी भएको छ। त्यसका कारण सन् २०२० का लागि घोषणा गरिएको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन सहयोग पुग्ने अपेक्षा छ।
प्रधानमन्त्री ओली र नेतृ सुकीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो। रासस