नेपाल र कम्बोडियाबीच सातामा १४ उडान हुने
नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ, जसअनुसार दुई मुलुकका विमानले एक अर्को देशमा साताको १४ उडान गर्न पाउनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ दी स्टेट सेक्रेटेरिएट अफ सिभिल एभिएसन माओ हेभेनिललले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कम्बोडिया नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक भएको छ। ९६ प्रतिशत बौद्ध धर्मावलम्बी भएको कम्बोडियासँगको सम्झौताले नेपालमा बौद्ध धर्मावलम्बी पर्यटकको आगमन बढ्ने सरकारी अपेक्षा छ। विगतमा कम्बोडियाका नागरिकले नेपाल आउन चीन, थाइल्याण्ड, भारतलगायत गन्तव्य हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो।