जलविद्युत् कम्पनीले सर्वसाधारणलाई शुरुमै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीहरूले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई वितरण गर्न पाउने भएका छन्।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरेको हो। रसुवागढी तथा साञ्जेन जलविद्युत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो। ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेका छन्।
कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो। तर, रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरू साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको बताउँदै बोर्डलाई विशेष अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो।
सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले जानकारी दिए।
स्थानीयवासीको माग सम्बोधन गर्दै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले अब कूल पूँजीको १५ प्रतिशतका दरले हुने साधारण शेयर आम सर्वसाधारणलाई पहिले बिक्री गर्नेछन्। त्यसपछि मात्रै आयोजना प्रभावित रसुवावासीलाई बिक्री गरिनेछ।
नयाँ व्यवस्थाअनुसार स्थानीयवासीले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिले सर्वसाधारणमा निष्काशन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्नेछन्।
बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार जलविद्युत् कम्पनीले सार्वजनिक निष्काशन गरेको ६ महीना वा विद्युत्को उत्पादन शुरु हुनुभन्दा ३ महीनामा जुन पहिले हुन्छ, त्यो समयभित्र स्थानीयवासीलाई शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। सोही प्रावधानका आधारमा रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको कम्पनीका प्रमुख कोइरालाले जानकारी दिए। रासस