व्यवसायी भन्छन्– “अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौं”
सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरे। सन् २०१८ का १० महीनामा पनि पर्यटकको आगमन उत्साहजनक देखिन्छ।
अध्यागमन विभागका अनुसार यस वर्षका जनवरीदेखि अक्टोबरसम्म ८ लाख ८२ हजार ५३१ पर्यटक नेपाल घुम्न आएका छन्।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। र, २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। तथापि, प्रबर्द्धनात्मक गतिविधिले तीव्रता पाउन सकेको छैन।
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अघि बढेको छ। हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको इतिहासमै पहिलो पटक धावनमार्ग कालोपत्रेको काम अघि बढाइएको छ। विमानस्थलको उत्तरपूर्व र दक्षिण-पश्चिम क्षेत्रमा १० वटा साना ठूला जहाज अट्ने दुई नयाँ पार्किङ निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महीनामै सञ्चालनयोग्य हुने अधिकारीहरूले बताएका छन्। पर्यटकस्तरदेखि तारे
तथा चेन होटल धमाधम निर्माण भइरहेका छन्। सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्नेछन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायीहरूको विश्वास छ।
होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले पर्यटन प्रबर्द्धनात्मक गविविधि केही सुस्त देखिए पनि २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने बताए। “हामी अहिले नै २५ लाख पर्यटकलाई धान्नसक्छौं तर यो लक्ष्यले मात्रै पुग्दैन। पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ,” उनले भने।
अहिले होटलको ‘बेड’ संख्या ३७ हजार छ। सन् २०२० सम्म ५ देखि ६ हजार बेड थपिने शाक्यको भनाइ छ। काठमाडौं उपत्यका र बाहिर गरी १० वटा पाँचतारे होटल निर्माणाधीन छन्।
नेपाल भ्रमण वर्षका लागि छिमेकी मुलुक भारत र चीन लक्षित कार्यक्रमलाई तीव्रता दिइएको छ। पहिला दक्षिणपूर्वी एशियाली मुलुक मलेसिया, सिंगापुरलगायतमा केन्द्रित कार्यक्रमलाई भियतनाम, म्यानमार, कम्बोडियाजस्ता बुद्धिस्ट देशमा स्रोत बजारको रूपमा प्रबर्द्धनात्मक अभियान चलाउने सरकारी तयारी छ। रासस