प्राथमिक शेयर बिक्री गर्दै जोशी हाइड्रो पावर
जोशी हाइड्रो पावर कम्पनीले रु १४ करोड ४८ लाख ४६ हजार बराबरको प्राथमिक शेयर (आर्इपीओ) बिक्री गर्ने भएको छ।
कम्पनीले १६ मंसिरदेखि शेयर बिक्रीको तयारी गरेको हो। नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई १८ कात्तिकमा प्राथमिक शेयर बिक्रीको अनुमति दिएको थियो। कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ।
आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले ३ लाख ७१ हजार ४०० कित्ता अर्थात् रु तीन करोड ७१ लाख ४० हजार बराबरको शेयर छुट्याएको थियो। त्यसमा प्रतिशेयर रु एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो।
स्थानीय बासिन्दाले आवेदन नगरेको शेयरसमेत सर्वसाधारणलाई बिक्री गरिनेछ। कम्पनीले इलाममा ३ मेगावाट क्षमताको माथिल्लो पिलुवा-१ जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ।
आयोजनाको कूल लागत रु ५५ करोड ३५ लाख छ। यस आधारमा प्रतिमेगावाट लागत रु १८ करोड ४५ लाख छ। रासस