नेविसंघ महाधिवेशन शुरु
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसङ्घको महाधिवेशन २५ साउनमा समापन हुनेछ ।
महाधिवेशनमा मुलुकभरका करिब तीन हजार ४०० प्रतिनिधि सहभागी छन् ।
यता महाधिवशेनको उद्घाटन भए पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद कायमै छ। सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिल्न सकेको छैन ।
यता विधिसम्मत महाधिवेशन नभएको भन्दै आमरणमा अनशनमा रहेका दुई विद्यार्थी नेताहरु स्वास्थ्य अवस्था विग्रिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् । उनीहरुका मागबारे नेतृत्वले अहिलेसम्म सुनुवाइ गरेको छैन।
अध्यक्ष पदका लागि जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन्।