‘चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्यको पहल गर्ने’
छिमेकी मुलुक चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरुले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘कूटनीति र वातावरण’ विषयक अन्तरक्रिया कार्यक्रममा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र चीनका लागि राजदूत लीलामणि पौड्यालले वातावरणको क्षेत्रमा साझा हितका लागि आफूहरुले राजदूतका रुपमा भूमिका खेल्ने बताए।
राजदूत उपाध्यायले २१ औँ शताब्दी पानीको शताब्दी भएको बताउँदै त्यसको उपयोगका लागि नेपालले राष्ट्रिय सोच बनाउनुपर्नेमा जोड दिए ।
आफ्नो ज्ञान, अनुभवको उपयोग गर्दै वातावरणको क्षेत्रमा भारतबाट नेपालले लिन सक्ने फाइदाका लागि प्रयत्न गर्ने उनको भनाइ छ ।
राजदूत पौड्यालले वातावरण सम्बद्ध तथ्याङ्क सङ्कलन, क्षमता अभिवृद्धि र साझा मुद्दामा चीनसँग सहकार्यका लागि आफूले पहल गर्ने बताए ।
केही महिनअघि भोटेकोसी नदीमा बाढी आउँदा सो नदीको उद्भव तिब्बतमा त्यसको अवस्थाबारे नेपालले जानकारी नपाउँदा समस्या परेको स्मरण गर्दे उनले सीमा जेडिएका नदीको अवस्थाको विषयमा तथ्याङ्क आदानप्रदान गर्न आफूले चीनसँग कुरा राख्ने बताए ।
पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले भारतले नेपालको ऊर्जामा भन्दा पानीमा मात्रै आँखा लगाएको जिकिर गर्दै सोहीअनुरुप नेपाल चनाखो हुन आवश्यक रहेको धारणा राखे ।
वातावरण मन्त्रालयका पूर्वसचिव कृष्ण ज्ञवालीले जलवायु परिवर्तनका कारण नेपालको हिमालमा हिँउ घट्ने, खाद्यान्न बाली पाक्ने समयमा परिवर्तन जस्ता समस्या भोग्न थालेको बताए ।
कार्यक्रममा नेफेजका महासचिव रमेश भुसालले ‘दक्षिण एसिया र चीनमा वातावरणीय कूटनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ।
रासस