नेपालमा लगानी १५ बाट ९० अर्ब पुर्याउने आईएफसीको घोषणा
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ।
निर्वाचनबाट स्थायी सरकार निर्माण भएको अवस्थामा निजी क्षेत्रमार्फत दिगो विकासको लक्ष्यमा सहयोग गर्न लगानी वृद्धि गरिएको आईएफसीकी नेपाल, बंगालादेश र भुटानका लागि निर्देशक विन्डी जो वर्नरले बताइन्। हाल आईएफसीले नेपालमा करिब रु. १५ अर्ब लगानी गरिरहेको छ।
नेपालमा बजार र निजी क्षेत्रसम्बन्धी विश्व ब्यांकको अध्ययन सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा विन्डीले नेपालको विकासमा निजी क्षेत्रको लगानी बढाउनु आवश्यक रहेको औंल्याइन्। साथै, वित्तीय संघीयता कार्यान्वयनमा जोड दिइन्।
विश्व ब्यांकको प्रतिवेदनमा निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने अवसर भएको उल्लेख छ। कार्यक्रममा विश्व ब्यांकका क्षेत्रीय उपाध्यक्ष हार्टविग सेफेरले नेपालमा लगानीको पर्याप्त अवसर हुँदाहुँदै अस्थिर सरकारी नीति, भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताए।
निजी क्षेत्रको विकासका लागि सरकारले नीतिगत स्थायित्वको सुनिश्चितता गर्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकारले प्रतिस्पर्धी निजी क्षेत्र चाहेको बताए। सरकारले सार्वजनिक र निजी क्षेत्रलाई परिपूरक बनाउन खोजेको उनको भनाइ थियो।
नीतिगत स्थायित्व र अनुमानयोग्य कर प्रशासन बनाउन सरकार लागिपरेको बताउँदै खतिवडाले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। “सीमित स्रोतले जनताको असीमित आकांक्षा पूरा गर्न सकिँदैन भन्ने हामीले बुझेका छौं,” उनले भने, “सरकारको लागानीले मात्र आर्थिक समृद्धि हासिल गर्न कठिन हुनेमा सरकार सचेत छ। निजी क्षेत्रको चासोअनुसार कानून संशोधनको प्रक्रियामा छ।”