प्राविधिक समस्या सुल्झिन थालेपछि नेप्से ‘हरियो’
लगातार तीन दिन ओरालो लागेको नेप्से मंगलवार भने दोहोरो अंकमा बढेको छ। तीन दिनमा २५ अंक घटेपछि नेप्सेमा १४ दशमलव २४ अंकको वृद्धि भएको हो।
अनलाइन कारोबार शुरु भएपछि परिसूचक घट्न थालेको थियो। लगातार घटेपछिको सुधारका रूपमा पनि मंगलवारको कारोबारलाई लिन सकिन्छ।
शेयर ब्रोकरहरूको भनाइमा अनलाइन कारोबार शुरु भएपछि देखिएका प्राविधिक जटिलताले पनि यसअघिका दिनमा व्यापार खस्केको हो। अनलाइन कारोबार शुरु भएको पहिलो दिन नेप्सेको वेब पेजमा ‘मार्केट डेफ्थ’ देखिएको थिएन।
दोस्रो दिन त डिस्प्ले नै देखिएन। “अहिले त्यस्ता प्राविधिक समस्याहरू क्रमशः समाधान हुँदै गएकाले लगानीकर्तालाई सजिलो भएको हुनसक्छ,” एक ब्रोकरले भने, “यसले पनि बजारलाई उठाउन मद्दत गरेको छ।”
बजार सूचक मात्र होइन, मंगलवार व्यापार रकम पनि बढेको छ। अघिल्लो दिन रु. १३ करोडको कारोबार भएको नेप्सेमा मंगलवार रु. १७ करोड ४१ लाखको कारोबार भयो। यस दिन वित्त कम्पनीबाहेक सबै समूहगत परिसूचक उकालो लागेपछि समग्र नेप्सेमा सुधार भएको हो।
नेप्सेमा मंगलवार १५० कम्पनीका ६ लाख ५५ हजार कित्ता शेयर किनबेच भए। यसबाट १.१९ प्रतिशत बढेपछि नेप्से १२०७ अंकमा पुग्यो। प्रभु ब्यांकको सर्वाधिक १ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो।
सर्वाधिक मूल्यवृद्धि हुने कम्पनीमा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था (९.९७ प्रतिशत) र सबैभन्दा बढी सस्तिने कम्पनीमा एनएमबी माइक्रोफाइनान्स (८.५८ प्रतिशत) सबैभन्दा अगाडि देखिएका छन्।