प्राइम ब्यांकले ओमलाई प्राप्ति गर्ने
काठमाडौ- प्राइम कमर्सियल ब्यांकले ओम डेभलपमेन्ट ब्यांकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ।
नेपाल राष्ट्र ब्यांकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। र, त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएको छ।
ओमलाई प्राप्ति गरेपछि प्राइमको कूल चुक्ता पूँजी रु १० अर्बमाथि पुग्नेछ। हाल दुवै ब्यांकको सम्पत्ति मूल्यांकनको काम भइरहेको छ। कास्कीलाई केन्द्र बनाएर कारोबार गरिरहेको ओमको कूल शाखा ५५ छन् भने ‘क’ वर्गको प्राइमको ६५ शाखा सञ्चालनमा छन्।
सैद्धान्तिक सहमति प्राप्त गरेको तीन महीनाभित्रमा ब्यांक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय संस्था आपसमा गाभिने प्रक्रियाका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी सक्नुपर्नेछ। पछिल्लो दिनमा केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थालाई गाभ्न प्रेरित गर्दै आएको छ। रासस