सुन-चाँदीको भाउ घट्यो
काठमाडौ- सुन तोलामा रु १ हजारले घटेको छ। आइतबार छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत मंगलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोबार भएको थियो। त्यसपछि तिहारका लागि बन्द भएको कारोबार आइतबारदेखि पुनः सञ्चालन भएको छ।
अन्तर्राष्ट्रिय बजारमा ‘पहेंलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ। यस्तै, चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।