लक्ष्मीपूजामा एक हजार १०५ मेगावाट विद्युत् प्रयोग
काठमाडौं- लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन्।
लक्ष्मीपूजामा कुनै पनि घर अँध्यारो बस्न नहुन् भनेर व्यवस्था मिलाइएको र मागअनुसार खपत भएको विद्युत् प्राधिकरणले जनाएको छ। प्रयोग भने गत वर्षभन्दा कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। गत वर्षको लक्ष्मीपूजाको दिन एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए।
यस वर्ष कूल एक हजार २७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण प्राधिकरणको थियो। र, एक हजार ५०० मेगावाटसम्म आपूर्ति गर्न सकिने गरी व्यवस्थापन मिलाएको थियो। लक्ष्मीपूजामा प्रत्येक वितरण केन्द्रमातहत २५ जनाका दरले विशेष टोली परिचालन गरिएको थियो।
प्राधिकरणका देशभर करीब ३५ लाख घरेलु ग्राहक छन्। प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहक बढ्ने गरेका छन्।
२०७३ सालको लक्ष्मीपूजादेखि काठमाडौंमा विद्युत् भार कटौतीको अन्त्य गरेको थियो, प्राधिकरणले। त्यसयता विद्युत कटौती गर्नुपरेको छैन। कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४३९, निजी क्षेत्रको ३४१ र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको थियो। रासस