शुरु भयो छठ
नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व आजबाट शुरु भएको छ ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसंगै शुरु भएको छ ।
सूर्यको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरि चोखोनिधो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।
यसैगरी, पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउंदो सूर्यलाई अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ ।
उदाउँदो सूर्यलाई दिइने यो अर्घ्लाई ‘भोरका अरख’ भनिने गरिएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक सँस्कृतिका जानकार बताउछन् ।
तराई क्षेत्रमा मनाइने यो पर्व केही वर्षदेखि नेपालका पहाडी जिल्ला जिल्लाहरुमा पनि उत्तिकै धुमधामका साथ मनाउन थालिएको छ ।
जियालाल साह